यतिबेलाको मौसम अत्यधिक चिसो छ। जाडोको यो समयमा श्वासप्रश्वास नलीसम्बन्धी रोग बढी मात्रामा देखिने चिकित्सकहरू बताउँछन्। बालबालिका, वृद्ध तथा गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जाडोको यो समयमा धेरै रोग लाग्ने गर्छ। जाडो याम सुरु भएलगत्तै धेरै रोगले सताउने भएकाले उनीहरूका लागि जाडो शत्रुबराबर हुन्छ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमका अनुसार जाडो मौसममा धेरै मानिसलाई निमोनियाको समस्याले सताउँछ। उनले जाडो सुरु भएलगत्तै अस्पतालमा निमोनियाका बिरामीहरूको चाप बढ्दै गएको बताए। चिसो मौसममा मानिसलाई सामान्य रुघाखोकी लाग्छ। तर, सामान्य रुघाखोकी ठानेर हेलचेक्य्राइँ गर्दा रुघाखोकी बिग्रिएर निमोनिया हुने गर्दछ।
डा. बमका अनुसार निमोनिया श्वासप्रश्वाससम्बन्धी रोग हो। यो रोग लाग्दा खोकी लाग्छ, ज्वरो आउँछ र सास फेर्न गाह्रो हुन्छ। अझ सबैभन्दा बढी बालबालिकालाई यो रोगले सताउने उनको भनाइ छ। उनका अनुसार बालबालिकाले निमोनिया भएपछि छिटो–छिटो सास फेर्न थाल्छन्। बालरोग विशेषज्ञहरूका अनुसार एक मिनेटमा एक वर्षे शिशुले ५० देखि ६० पटकसम्म सास फेरेमा छिटो सास फेरेको मानिन्छ।
आँखाले देख्न नसकिने कीटाणुबाट श्वासप्रश्वाससँग सम्बन्धित फोक्सो र त्यसका सहायक अंगहरूमा संक्रमण भई सास फेर्न असजिलो भएपछि निमोनिया हुने डा. बम बताउँछन्। उनका अनुसार निमोनियाले फोक्सो र त्यससंँग सम्बन्धित अन्य अंगमा असर गर्छ। उनले रुघाखोकीको समयमै घरेलु उपचार गरी निमोनिया हुनबाट जोगिन सकिने बताए।
बालरोग विशेषज्ञहरूका अनुसार निमोनिया भनेको फोक्सोको संक्रमण भई हुने रोग हो। नेपालमा बालमृत्युको सबैभन्दा प्रमुख कारण निमोनिया नै हो। छिटो सास फेर्नु निमोनिया भएको बच्चामा देखिने पहिलो लक्षण हो। स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाको पछिल्लो तथ्यांकअनुसार निमोनियालगायत श्वासप्रश्वाससम्बन्धी रोगबाट बर्सेनि २ लाख ८५ हजार बालबालिका पीडित हुने गरेका छन्। तीमध्ये १५ हजारको निमोनियाबाट मृत्यु हुने गरेको छ। महाशाखाको वार्षिक प्रतिवेदनअनुसार पछिल्ला तीन वर्षयता निमोनियाबाट संक्रमित हुने बालबालिकाको संख्या बढिरहेको छ।
निमोनिया विशेषगरी पाँच वर्षमुनिका बालबालिकालाई बढी हुने गरेको पाइएको छ। शिशुको कोखा हान्नुलाई पनि निमोनियाको लक्षण मानिने वरिष्ठ बालरोग विशेषज्ञ आरपी बिच्छा बताउँछन्। उनका अनुसार नङ तथा ओठ नीलो भए बिरामी गम्भीर भएको हुन्छ र अक्सिजन नै दिनुपर्ने हुन्छ। यी लक्षण देखापर्नासाथ बिरामीलाई जतिसक्दो छिटो अस्पताल पुर्याउनुपर्ने उनको भनाइ छ।
डा. बिच्छाका अनुसार बच्चाले छिटो–छिटो सास फेरेमा, कोखा हानेमा, धेरै सुतिरहने अथवा ब्युँझाउन गाह्रो भएमा, झोल कुरा पिउन नसकेमा, आमाको दूध राम्ररी खान नसकेमा, कडा कुपोषण भएमा तुरुन्त स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ। साथै, ज्वरो आएमा, नाइटो पाकेमा र छालामा पीपले भरिएका फोका भएमा पनि उपचारका लागि स्वास्थ्य संस्थामा लानुपर्ने उनको भनाइ छ।
निमोनियाबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको नै चिसो लाग्नबाट जोगिनु हो। काठमाडौँमा बढ्दै गएको चिसो, वायु प्रदूषण र धुलो–धुवाँका कारण छातीको संक्रमण भई निमोनियाको संक्रमण बढी देखिन थालेको डा. बम बताउँछन्। उनका अनुसार बढी जनघनत्व, सरसफाइको कमी र उचित हेरचाहको अभावका कारण निमोनियाको संक्रमण बढ्दै गइरहेको छ।
निमोनियाका कारण धेरै ज्वरोसमेत आउने भएकाले आफूखुशी सिटामोल अथवा अन्य ज्वरो कम गर्ने औषधि खानु वा खुवाउनु हुँदैन। चिकित्सकका अनुसार निमोनिया भएमा तुरुन्त औषधिबाट उपचार गर्न सकिन्छ तर साधारण रुघाखोकीमा औषधि प्रयोग गर्दा पाँच वर्षमुनिका बालबालिकामा नराम्रो असर पर्न सक्छ। त्यसैले बच्चालाई औषधि सेवन गराउनुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ।
डा. बमका अनुसार चिसोको समयमा हुने निमोनियाको सजिलै उपचार भएन भने ब्रोङ्काइटिस हुन्छ। यस्तो समस्या आएमा बिरामीको मुखबाट खोक्नेबित्तिकै पहेँलो र बाक्लो गन्हाउने खकारमात्र आउँछ। यस्तो समस्यामा जुनसुकै एन्टिबायोटिकले पनि काम नगर्ने हुनसक्छ। जटिलता बढ्दै गएपछि रगत पनि आउने र रोग नै निको नहुने पनि हुनसक्छ।
ब्रोङ्काइटिसको राम्रोसँग उपचार हुन सकेन भने सुरुमा सुक्खा खोकी लाग्छ। यस्तो अवस्थामा चिसोबाट बच्ने प्रयास पनि नगर्ने र चिसो चिज पनि खाइरहने भएको छ भने ब्रोङ्काइटिसपछि ब्रोङकोएक्टासिस हुन्छ। यस अवस्थगामा पहेँलो खकार आउने तथा सास फेर्ने नली र फोक्सोभित्रको मासुमा सधैँभरि इन्फेक्सन गरिराख्ने रोग उत्पन्न हुन्छ। दमको रोग उत्पन्न भएमा दमसँगै खोकी बढी लाग्छ। स्वाँ–स्वाँ बढी हुन्छ र त्यही समयमा शरीर कमजोर हुन्छ। यसपछि क्षयरोग पनि लाग्नसक्छ। समस्या बढ्दै गएमा क्यान्सर र साइकोटोसिस पनि हुनसक्छ। त्यसकारण समयमा नै उपचार गर्न ध्यान दिनुपर्ने डा. बमको सुझाव छ।
घरेलु उपचार
चिकित्सकका अनुसार निमोनिया औषधिले मात्र निको हुने संक्रमण होइन। यसको सबैभन्दा महत्त्वपूर्ण उपचार भनेको चिसोबाट जोगिनु तथा सरसफाइ र हेरचाहमा ध्यान दिनु हो। निमोनियाका लक्षण देखिएमा बिरामीलाई न्यानो कपडा लगाउन दिनुपर्छ र न्यानो स्थानमा राख्नुपर्छ। बच्चाहरूलाई पटकपटक आमाको दूध खुवाइराख्नुपर्छ। किनकि, एकैपटक बच्चाले धेरै दूध चुस्न सक्दैन। खोकी बढी लागेको छ भने घरेलु औषधि, जस्तै मह, अदुवाको रस, तुलसीको पात राखेर उमालेको पानीमा बेसार मिलाएर खुवाउनु राम्रो मानिन्छ। यसका साथै बिरामीलाई गेडागुडीको झोल बनाएर पटकपटक खुवाउनुपर्छ। युवा तथा वृद्धहरूले धूम्रपान गर्न छाड्नुपर्छ।
प्रकाशित: २५ पुस २०७१ १०:३७ शुक्रबार