अन्य

सेतो पर्दा : प्रश्नमय 'पिके'

छोटो नाम तर लामो काम। 'पिके' फिल्म हेर्नेहरूलाई यस्तै लाग्नसक्छ। फिल्मको नाममात्र होइन यसका अभिनेता आमिर खानको शारीरिक कद पनि अरू बलिउड स्टारभन्दा छोटो छ। तर, 'पिके' र आमिर दुवैले आफ्नो कलात्मक उचाइ अरूको भन्दा विशाल साबित गरिदिएका छन्।
सामान्यतया फिल्मको पर्दामा होचो कलाकारलाई अग्लो देखाउन विभिन्न उपाय निकालिन्छ। कहिले 'लो एंगल'बाट खिचिन्छ त कहिले पिर्कामाथि उभ्याइन्छ। आमिर भने आफ्नो शरीरको उचाइ होइन फिल्मको उचाइ बढाउन मिहेनत गर्छन्। 'पिके'मा उनी अभिनेत्री अनुष्का शर्माभन्दा होचा देखिन्छन्। तैपनि उनलाई यसको पर्वाह छैन।
नेपालका अधिकांश कलाकारहरू आफूमाथि मात्र ध्यान केन्द्रित गर्छन्। आफ्नो हाइट, हेयर स्टाइल, ड्रेसअप र मेकअपमा उनीहरू मिहेनत गर्छन्। फिल्मको पटकथामा आफ्नो भूमिकाको औचित्यप्रति भने अन्जान रहन्छन्। अभिनयमा नयाँपन कसरी प्रदर्शन गर्ने भन्ने सोच्दैनन्। त्यहीभएर कलाकार टिलिक्क टल्के पनि फिल्म अन्धकार लाग्छ। आमिरले 'पिके'मा यसलाई सन्तुलित गरेका छन्।
पिके भोजपुरी बोल्छ। अर्कै ग्रहबाट आएको हुनाले उसले सुरुमा कुनै पनि भाषा बुझ्दैन। एकदिन एउटी नगरबधुको हात समात्दै उसले भोजपुरी भाषा आफ्नो मस्तिष्कमा 'डाउनलोड' गर्छ। फिल्मभित्र पिकेले ६ घण्टामा भोजपुरीको ज्ञान हासिल गर्छ। यथार्थमा भने आमिरलाई भोजपुरी भाषा सिक्न दुई वर्ष लागेको थियो।
'पिके'को निर्माण क्रममा विभिन्न झमेला भएको थियो। महादेवको भेषमा रहेको व्यक्तिले चलाएको रिक्सामा बुर्का लगाएका दुई महिला सवार भएको दृश्य दिल्लीमा सुटिङ गर्दागर्दै रोकियो। हिन्दू अतिवादीहरूको विरोधका कारण फिल्ममा उक्त दृश्य समेटिएको छैन। फिल्मको सुटिङ चलिरहेकै बेला अदालतले अभिनेता सञ्जय दत्तलाई मुम्बई बमकाण्डसँग जोडिएको पुरानो मुद्दा पल्टाएर जेल सजाय तोकिदियो। जेल जानुअघि सञ्जयले हतारहतार आफ्नो काम गर्नुपरेको थियो। त्यतिबेला आमिर पनि अरू सबै व्यस्तता पन्छाउँदै सञ्जयसँग सुटिङमा सहभागी भएका थिए।
फिल्मलाई गत जुन महिनामै रिलिज गर्ने भनिएको थियो। तर, पहिलो सम्पादित संस्करण हेरेपछि आमिरलाई चित्त बुझेन। उनले रिलिज डेट छ महिना पछाडि धकेलिदिए। आमिरको अघिल्लो फिल्म 'धूम ३' पनि डिसेम्बरको अन्त्य अर्थात् क्रिसमसको अवसरमा रिलिज भएको थियो। क्रिसमस र नयाँ वर्षको चिसोमा केही वर्षदेखि आमिरले दर्शकलाई आफ्ना फिल्ममार्पmत न्यानो छर्दै आएका छन्।
'थ्री इडियट्स' खेल्ने आमिरले 'तलाश' वा 'धूम ३'जस्तो फिल्ममा काम नगरेको भए हुन्थ्यो भन्ने खालका तर्क बेलाबेला सुनिन्छन्। 'तलाश'मा भूतप्रेतजस्तो अन्धविश्वासलाई प्रवद्र्धन गरिएको आरोप उनलाई लगाइएको थियो। त्यस्तै 'धूम ३'लाई हावादारी सूत्रबद्ध फिल्म मानियो।
आमिर एक गम्भीर अभिनेता तथा निर्माता हुन्। समाजलाई कुनै न कुनै पाठ सिकाउने फिल्म खेलिरहेका छन्। त्यसैले उनीमाथि फरक अपेक्षा लिइनु स्वाभाविक हो। यसपालि पनि 'पिके'मा अर्को ग्रहको पात्रलाई प्रस्तुत गरिएकोमा केहीले चित्त दुखाएका छन्। यथार्थ पात्रलाई छानिनुपथ्र्यो भन्ने सुझाव उनीहरूको छ।
तर, फिल्म भनेको एउटै जान्रा वा विधाका हुँदैनन्। कुनै फेमिली ड्रामा त कुनै प्रेमकथा, त्यस्तै कुनै फेन्टासी त कुनै यथार्थपरक कथामा आधारित फिल्म हुन्छन्। 'तलाश', 'धूम ३' र 'पिके'का पात्रहरू कति तर्कसंगत छन् ? बहस चर्काउन सकिन्छ।
तर, त्यस्ता फिल्म बन्नै हुँदैन भन्ने तर्क भने नाजायज हो। अतिकाल्पनिक विषयवस्तु र पात्रलाई प्रस्तुत गरेर पनि समाजका गम्भीर मुद्दाहरूको विवेचना गर्न सकिन्छ। 'पिके'ले गरेको यही हो।
'पिके' हिट भएपछि यसलाई अक्षय कुमार अभिनीत तथा उमेश शुक्ला निर्देशित फिल्म 'ओ माई गड'को नक्कल भनियो। एउटै कथा भएकाले आमिरले 'ओ माई गड'को सुटिङ रोक्न निर्देशक शुक्लालाई आठ करोड भारुको प्रलोभन देखाएको हौवा पनि पिटाइएको छ।
जब कि 'ओ माई गड' पनि गुजराती नाटक 'कान्जी विरुध कान्जी'मा आधारित हो। आमिरले खण्डन गर्दै भारतीय मिडियालाई भनेका छन्, 'यस्तो विषयवस्तुमा सयभन्दा बढी फिल्म बनेका छन्। 'पिके'ले नक्कल गरेको भन्ने कुरा सरासर झुट हो।' ८० करोड भारुमा बनाइएको 'पिके'को पटकथा कुनै अरू फिल्मबाट चोरेको समाचार विश्वास गर्ने आधार पनि छैन।
'पिके'लाई 'ओ माई गड'को नक्कल मान्नु भनेको 'चक दे इन्डिया'लाई 'लगान' र 'मेरी कोम'लाई 'भाग मिल्खा भाग'को नक्कल मान्नुजस्तै हो। यी फिल्मका विषयवस्तु एउटै भए पनि फिल्ममा कथा, पात्र र प्रस्तुति फरक थिए। 'पिके'को पनि फरक छ।
फेसबुक र ट्वीटरमा समेत 'पिके'को चर्चा छ। ट्वीटरमा त 'बाइकट पिके' र 'वी सपोर्ट पिके' गरी दुई विपरीत अभियान चलिरहेका छन्। यसैबीच एक हिन्दूवादीले मंगलवार फिल्मविरुद्ध मुद्दा दर्ता गराएका छन्। आमिर, निर्देशक राजकुमार हिरानी, सिद्धार्थ रोय कपुर र विधुविनोदलाई विपक्षी बनाइएको छ। धार्मिक आस्थामा चोट पुगेको भन्ने खालका आरोप लगाउनेलाई 'पिके'कै एउटा संवाद काफी छ, 'यत्रो ठूलो ब्रह्माण्डको रचना गर्ने भगवान्लाई एउटा सानो मान्छेले रक्षा गर्छु भन्न सुहाउँदैन। भगवान्‌ले आफ्नो रक्षा आफैँ गर्न सक्छ।'
'पिके'ले भारतको बक्सअफिसमा चौथो दिनसम्म १ अर्ब १७ करोड ६१ लाख भारु उठाइसकेको छ। सामान्यतया सोमवार ठूलो ब्यानरका फिल्मको आम्दानी ६० प्रतिशतको रेखासम्म ओर्लिनसक्छ। तर, पिकेको अभैm पनि ७५ प्रतिशतभन्दा माथि कलेक्सन छ। नेपालमा पनि मंगलवारसम्म यसले तीन करोड रुपैयाँको कारोबार गरिसकेको छ।
आमिरले 'पिके'लाई आफ्नो टीभी कार्यक्रम 'सत्यमेव जयते'जस्तै एउटा सामाजिक जागरणको रूप दिएका छन्। धर्म र परम्पराका नाममा मान्छेलाई मूर्ख बनाउने हरकतहरूप्रति प्रश्न उठाउन 'पिके'ले सिकाउँछ। 'रङ नम्बर'लाई बेलैमा चिन्ने प्रेरणा दिन्छ।
फिल्मभित्र आमिरले यति उटपट्याङ हरकत र प्रश्न गर्छन् कि, सबैले उनलाई हिन्दीमा सोध्छन्, 'पिके हो क्या? (पिएर आएको हो?)' सबैले आफूतिर हेरेर पिके–पिके भन्न थालेपछि उनलाई आफ्नो नाम पिके नै हो भन्ने लाग्छ।
सबैले पिकेलाई 'जँड्याहा' वा 'पागल' ठान्छन्। फिल्म हेर्दा महसुस हुन्छ, उसलाई देखेर खिल्ली उडाउनेहरू चाहिँ भ्रम र अन्धविश्वासमा बाँचिरहेका छन्। ऊ बरु होशमा छ, सद्दे छ। अरूलाई पनि होशमा फर्काउने उसको लक्ष्य छ।

प्रकाशित: १० पुस २०७१ ११:३१ बिहीबार