अन्य

सेतो पर्दा : महोत्सव ‘एक पाठशाला’

राजधानीको कुमारी हलमा यही बिहीवारदेखि पाँच दिनसम्म काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) हुँदैछ। 'किम्फ'को यसपालि १२ औँ संस्करण हुन लागेको हो। नेपालमा वार्षिक रूपमा नियमित हुँदै आएको सबैभन्दा पुरानो फिल्म महोत्सव यसैलाई नै मान्नुपर्छ।
संसारको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फिल्म महोत्सव चाहिँ इटालीमा हुन्छ। भेनिस फिल्म फेस्टिभल नामक उक्त आयोजनाको अहिलेसम्म ७१ औँ संस्करण भइसकेको छ। त्यस्तै फ्रान्सको कान्स फिल्म फेस्टिभलले ६७ औँ र जर्मनीको बर्लिन फिल्म फेस्टिभलले ६४ औँ संस्करण पार गरिसकेको छ। भारतकै 'इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया'को ४५ औँ संस्करण गत महिनामात्र भएको थियो।
संसारमा थुप्रै फिल्म महोत्सव भइरहन्छन्। धेरैजसो देशमा शहरपिच्छे फिल्म महोत्सव चलिरहेको हुन्छ। महोत्सवको उद्देश्य फिल्म देखाउने र हेर्ने नै हो। संसारमा हजारौँ फिल्म हल हुँदाहुँदै पनि फिल्म देखाउन किन महोत्सव आयोजना हुन्छन् ?
यसको जवाफ सरल छ। महोत्सवले सम्बन्धित शहरका हलहरूमा रिलिज नभएका र नहुने खालका फिल्मसमेत प्रदर्शन गर्छ। नेपालका हलमा नेपालीबाहेक भारत र अमेरिकाका फिल्ममात्र रिलिज हुन्छन्। तर, संसारमा राम्रा फिल्म बनाउने देश अरू पनि थुप्रै छन्। ती देशका फिल्म नेपालका हलमा आइपुग्दैनन्।
अमेरिकाको बक्सअफिसमा विदेशी फिल्मको उपस्थिति लगभग एक प्रतिशतमात्र छ। हलहरूमा अमेरिका, बेलायत वा अस्ट्रेलियामा बनेका अंग्रेजी फिल्ममात्र हेर्नुपर्ने बाध्यता धेरैजसो अमेरिकीलाई छ। त्यसैले अमेरिका वा नेपाल जहीँ पनि फिल्म महोत्सवहरू संसारका उत्कृष्ट फिल्म हेर्ने माध्यम हुँदै आएको छ। यसपालिको 'किम्फ'मा २० देशका ७५ भन्दा बढी फिल्म देखाइनेछ।
फिल्म महोत्सवले दर्शकलाई देशविदेशका फिल्मकर्मीसँग प्रत्यक्ष भेटघाट पनि गराइदिन्छ। नेपाली र विदेशी फिल्मकर्मीबीच चिनजान हुने अवसर महोत्सवमा जुरिरहेको हुन्छ। विदेशका फिल्मकर्मीले कसरी काम गरिरहेका छन् ? अनुभव आदानप्रदान गर्ने मौका नेपाली फिल्मकर्मीलाई मिल्छ। किम्फमा यो वर्ष ३० जना विदेशी फिल्मकर्मी उपस्थित हुँदैछन्।
फिल्म हेर्ने संस्कृतिलाई बलियो बनाउनु फिल्म महोत्सवको मुख्य उपलब्धि हो। दर्शकले महोत्सवमा फरकफरक भौगोलिक, सांस्कृतिक, राजनीतिक र भाषिक परिवेश भएका फिल्म हेर्न पाउँछन्। यसले दर्शकको 'फिल्म लिटरेसी' बढ्दै जान्छ। 'फिल्म लिटरेसी' बढ्नु भनेको राम्रा फिल्म बनाउनेको बजार बढ्नु हो। राम्रा र कलात्मक फिल्म चलाउँदा हलमा दर्शक नआउने समस्याले ग्रस्त नेपाली फिल्म उद्योगलाई महोत्सवहरूको आवश्यकता अझ बढी छ।
प्रयोगात्मक फिल्म बनाउनेका लागि गतिलो मञ्च हो महोत्सव। सस्तो प्रविधि र सानो बजेटमा धेरैले प्रयोगात्मक फिल्म बनाइरहेका हुन्छन्। त्यस्ता फिल्मकर्मीका लागि आपूmलाई चिनाउने सजिलो माध्यम महोत्सव हो।
प्रयोगात्मक फिल्मले विचार, कथावाचन र प्रविधिमा नयाँ शैलीको आविष्कार गरिरहेका हुनसक्छन्। त्यस्ता फिल्म हेरेमा तथाकथित मूलधारका फिल्मकर्मीको भलो नै हुन्थ्यो। अरूले गरेको काम हेरेर आपूूmले सिक्नुपर्छ।
तर, विडम्बना मूलधारका अधिकांश फिल्मकर्मी महोत्सवमा त्यति देखिँदैनन्। बरु महोत्सवका फिल्मलाई डकुमेन्ट्री टाइपका भनेर आफ्नै बेइज्जत गर्न चुक्दैनन्। आपूmले हेर्दै आएका फिल्मभन्दा फरक फिल्म हेर्न उनीहरू उत्साही हुँदैनन्। डकुमेन्ट्री फिल्म त झन् उनीहरूको मेनुमा पर्दै पर्दैन।
नेपाली फिल्मको विषयवस्तु र शैली सधैँ एकनासको र साँघुरो हुनुको कारण फिल्मकर्मीहरू अन्तर्राष्ट्रिय फिल्मको ट्रेन्डसँग अपडेट नहुनु हो। त्यसैले नेपाली फिल्मकर्मीले महोत्सवका फिल्म अझ बढी हेर्न जरुरी छ। समाजका विषयवस्तुलाई फिल्ममा रचनात्मक र कलात्मक शिल्पका साथ उठान गर्न महोत्सवका फिल्मले सिकाउन सक्छन्।
नेपालका फिल्मसम्बन्धी सरकारी निकायले पनि फिल्म महोत्सव आयोजनालाई उत्साहजनक रूपमा हेरेको पाइँदैन। अरू शीर्षकमा लाखौँ खर्च गर्ने चलचित्र विकास बोर्डले काठमाडौँमा हुने फिल्म महोत्सवमा अवार्डका रूपमा केही हजार रुपैयाँमात्र सहयोग गर्दै आएको छ, जुन निराशाजनक हो।
फिल्म महोत्सवले सम्बन्धित देश वा शहरको पर्यटन प्रवर्द्धन पनि गरिरहेको हुन्छ। महोत्सवमा सहभागी हुन आउने फिल्मकर्मी र दर्शक प्रत्यक्ष पर्यटक हुन्। त्यसबाहेक महोत्सवमा भाग लिन आएका विदेशी फिल्मकर्मीले नेपालमा फिल्म र डकुमेन्ट्री खिचेर फर्किने सम्भावना पनि हुन्छ। यसले पर्यटनमा दीर्घकालीन फाइदा पुग्छ।
फिल्म महोत्सव फिल्मको हाटबजार हो। महोत्सवमा एउटा देशको फिल्मकर्मीले अर्को देशको फिल्मको प्रवद्र्धन र बजार व्यवस्थापनमा सहयोग गर्नसक्छ। महोत्सवमा फिल्मकर्मी, समीक्षक, टेलिभिजन च्यानल संस्था, वितरक तथा प्रदर्शकको उपस्थिति हुन्छ। फिल्म राम्रो भए फिल्मकर्मीले अरू महोत्सव वा देशमा तुरुन्तै निम्तो पाउन सक्छ।
फिल्म महोत्सव सम्बन्धित शहरको संस्कृतिको एक अभिन्न अंग बनिसकेको छ। त्यसैले फिल्म महोत्सवलाई हौसला प्रदान गर्नु दर्शकको मात्र होइन, संस्कृतिप्रेमीको समेत दायित्व हो।

प्रकाशित: २७ मंसिर २०७१ १०:०८ शनिबार