अहिलेको तिहारमा व्यवसायी शशिकान्त अग्रवाल त्यति रौनक पाउँदैनन् । 'म सानो छँदाको तिहार पो तिहार !' त्यो बेलाको तिहार रसिलो लाग्नुमा उनीसँग केही कारण छन्।
'नयाँ लुगा सिलाइन्थ्यो, एक हप्ताअघि नै हलुवाई बोलाएर मिठाई बनाउन लागाइन्थ्यो, तिहारको बास्नै बेग्लै,' अहिले उनी तिहारको 'एक्साइटमेन्ट' घटेको ठान्छन् ।
उसैपनि मारवाडी समुदायको लक्ष्मीपूजा धुमधाम हुन्छ । अग्रवाल लक्ष्मीपूजालाई सबैभन्दा ठूलो चाड मान्छन् । दसैंमा टीका थापेजस्तो उनी पनि मान्यजन कहाँ जान्छन्, उनीकहाँ आउनेको संख्या पनि ठूलै हुन्छ । परिवार बढ्दै गएपछि पातलिँदै जाने भेटघाट लक्ष्मीपूजाकै अवसरमा नवीकरण हुन्छ मारवाडी समुदायमा ।
उनलाई लक्ष्मी दाहिना बनाउनुछ । धनधान्यकी देवीलाई प्रसन्न बनाउने पूजामा अग्रवाल सक्रियतापूर्वक भाग लिन्छन् । पूजा गर्दा शास्त्रसम्मत हुनुपर्ने दरिलो अडान राख्छन् । भएको कारोबार चिरस्थायी बनाउने, नयाँ कारोबार थप्ने मनोकांक्षाका साथ उनी लक्ष्मीको बन्दना गर्छन् ।
'अप्राप्तं लक्ष्मी प्राप्त, प्राप्तं लक्ष्मी चिरस्थायी'
सफा र शुद्ध ठाउँमा लक्ष्मी बास गर्छिन् भन्ने मान्यतासँग सहमत हुँदै उनी तिहार आउनु एक हप्ताअघिदेखि नै घर र अफिस सफा गराउँछन् । अफिसमा थुप्रिएका अनावश्यक काजजात फाल्न लगाउँछन् । 'लक्ष्मीलाई फोहोर मन पर्दैन' भनेर सबैलाई अथ्र्याउँछन् ।
उनी घरको कुनाकाप्चा सबै सफा गराउँछन् । घरको डेकोरेसन फेरिन्छ । 'मरेका साङ्ला र मुसा पनि भेटिन्छ । लक्ष्मीलाई सफा ठाउँमा भिœयाउने जमर्को गर्दा आफ्नो निवास पनि शुद्ध बन्छ,' उनी भन्छन् ।
पहिले–पहिले उनको घरमा राति १२ बजे लक्ष्मीपूजा हुन्थ्यो । पछि पण्डितहरूले लक्ष्मीपूजा दिउँसो गरे पनि उत्तिकै फल मिल्छ भन्न थालेपछि राति पूजा गर्न छाडे । करिब डेढ घन्टामा लक्ष्मीपूजा सक्छन् । 'घर र अफिसमा पूजा हुन्छ । खाता, एकाउन्ट किताब र सेफको पूजा गर्छौं । सबै हर हिसाब कम्प्युटरमा हुने भएकोले यसको पनि पूजा हुन्छ,' पूजामा विधिभन्दा श्रद्धाभावमा उनी बढी विश्वास गर्छन् ।
...
काठमाडौंको झोँछेमा जन्मिएका हुन् अग्रवाल । १०७ वर्षअघि उनका जिजुबुवा व्यापार गर्न काठमाडौं छिरे । राणाको दरवारमा कपडा बेच्न जाने उनले नेपाल बस्न पाउने खड्ग निशान पाए । त्यसले नेपालमा व्यापार विस्तार गर्न सजिलो भयो । बाबु बाजेले सुरु गरेको व्यापारलाई फैलाउन कम्मर कसेर लागेका छन् शशिकान्त ।
'सायद माछालाई पानीबाट झिकेजस्तो हुन्छ होला,' व्यापाररहित जीवनको कल्पना गर्दा उद्योगी÷व्यवसायी शशिकान्त अग्रवाल भन्छन् ।
परिवार, इष्टमित्र, साथीभाइ, सिनेमा र मनोरञ्जन पनि उनको जीवनमा छ, तर व्यापारको कचेटमराइबाट फुर्सद मिल्दामात्र ।
परिवारसँग फिल्म हेर्न जान उनी निकै रुचाउँछन् । शनिबार साथीभाइसँग तास खेल्न पनि पल्किएका छन् । 'तर धेरै पैसाको हैन । १० देखि ५० रुपैयाँ प्वाइन्टसम्मको म्यारिज खेल्छौं,' तास खेल्न दसैं÷तिहार नपर्खने उनी जुवाको खालमा ठूलो हारजितमा उत्रिने शैलीको विरोधी हुन् ।
'दसौं लाख हारजित हुने गरी जुवा खेल्नेहरू पनि देखिन्छन् तिहारमा । त्यो त मनोरञ्जनभन्दा पनि जुवाडे प्रवृत्ति हावी भएको हो । हार्दा असर नपर्नेसम्मको खेल मनोरञ्जन हो,' उनी भन्छन् ।
तिहार र जुवाबीच कुनै सम्वन्ध नरहेको तर्क गर्दै उनी यसलाई जुवाडेको अवसर नबनाउन सुझाव दिन्छन् ।
...
शशिकान्तले आदर्श विद्या मन्दिरबाट एसएलसी पास गरे । सरस्वती क्याम्पस पढ्न थालेपछि पुख्र्यौली व्यापारमा संलग्न भए । पहिले भारतबाट कपडा झिकाउने व्यापारलाई शशिकान्तको फराकिलो बनाउन खोजे । कपडा व्यापार तेस्रो मुलुकसँग पनि हुन थाल्यो ।
मोटर पार्टस्, घरेलु उद्योग आदिलाई बाबुको सल्लाहमा उनले विस्तार गरेर देखाए । स्टिल, कपडा, चिनी र धागो उद्योगमा उनको एमएस गु्रपले ठूलो फड्को मा¥यो । हाउजिङ र होटल व्यवसायमा पनि उनको संलग्नता छ ।
विभिन्न उद्योग÷व्यवसायमा संलग्न अग्रवाल 'लक्ष्मी' रिझाउन सफल छन् । उनलाई एउटा कुराको सधंै डर रहन्छ । 'कतै लक्ष्मी उम्किने पो हो कि !' उनले बुझेका छन् । 'लक्ष्मी' आफैं आउने चिज होइन । लक्ष्मी चञ्चल छिन्, सधैं एउटाको वशमा बस्दिनन् । तर, कर्म मेहनत, इमान र बफादारितामा कमी नल्याउने हो भने लक्ष्मीलाई रिझाइरहन सकिन्छ भन्ने उनको विश्वास हो ।
'लक्ष्मी प्राप्तिप्रति मैले असन्तोष गर्ने ठाउँ छैन । सन्तोष मानेर केही नगरी बस्न पनि सक्दिनँ । जति भयो उति लक्ष्मी पाउन मन लाग्छ,' उनी लक्ष्मीको कृपा र आर्शीवाद पाउन अझै लालायित छन् ।
'गृहलक्ष्मीलाई खुसी नपारी लक्ष्मी खुसी हुन्नन्,' यही कुरा बुझेर उनी वर्षको कम्तीमा एकपटक घुमफिरमा निस्कन्छन् । दसैंमा उनी फुर्सदमा हुन्छन् । कर्मचारीहरू लामो बिदामा रहने हुनाले अफिसको कामकाज पनि हुँदैन । १५ वर्षदेखि दसैंको अवस पारेर उनी परिवारसहित भ्रमणमा रम्दै आएका छन् ।
नेपालका गन्तव्य मध्य पोखरा उनलाई रमणीय लाग्छ । वर्षको एकपटक उनी यो ठाउँ पुगेकै हुन्छन् । ट्रेकिङको पारखी यी व्यवसायी अन्नपूर्ण ट्रेल र स्याङ्बोचे आसपासका क्षेत्रसँग परिचित छन् ।
हिमाली क्षेत्रपछि उनको रोजाइमा पर्छ समुद्री किनार । समुद्री सौन्दर्य खोज्दै उनी बेलाबखत थाइल्यान्ड पुग्छन् ।
कम्युनिस्ट शासनका कारण पर्यटकका लागि खुला नभएका नयाँ युरोपेली मुलुक घुम्न मन गर्छन् उनी । 'यसपालि दसैंमा जर्मनी, युगोस्लाभियासहित युरोपका पछि टुक्रिएका मुलुकको यात्रा ग¥यौं । १० वर्षयता ती मुलुकले पर्यटन क्षेत्रमा गरेको उन्नति निकै लोभ्यायो,' ती मुलुकका व्यवसायीले पर्यटकको बसाइ लम्ब्याउन लगाएको जुक्ति देख्दा उनी चकित परे । उनी दसैंको 'लङ होलिडे' यसै गरी घुमेर बिताउने पक्षमा छन् ।
उनी धार्मिक पर्यटक बन्न पनि खुब रुचि गर्छन् । मुक्तिनाथ, केदारनाथ, बद्रीनाथ, वैष्णदेवी आदि उनले बारम्बार यात्रा गर्ने तीर्थस्थल हुन् । कृष्ण जन्माष्टमी, राम नवमीलगायत धार्मिक उत्सवमा भाग लिन्छन्, ३० वर्षदेखि दैनिक पशुपति र गुह्येश्वरी दर्शन गरेरमात्र खाना खाने गरेका छन् ।
पशुपति दर्शनमा पायक पार्न भनेरै झोँछेबाट बत्तिसपुतली सरेको उनी बताउँछन् ।
उनको घरमा माछा, मासु र मदिरा निषेध छ । उनी भने 'सोसल हुन' कहिलेकाहीँ पार्टीमा पिउँछु भन्छन् । पार्टी आयोजनाको समेत उत्तिकै सोखिन अग्रवालको २० जना आत्मीय साथी छन् । यो समूह हप्ताको पाँचदिन जमघटमा जुट्छ, अफिसको काम सकेर । 'डाक्टर, इन्जिनियर, व्यापारी, राजनीतिजस्ता विभिन्न क्षेत्रका साथीभाइ छौं समूहमा,' उनी भन्छन्,' उनी भन्छन्, 'त्यो हाम्रो जिरो आवरजस्तै हो ।'
उनी राजनीतिसँग पनि निकट छन् । भन्छन्, 'व्यापारमा राजनीति हाबी भयो, व्यापार चलाउनै मुस्किल पर्ने गरी । राजनीतिक दलहरूको व्यापारिक क्षेत्रको नीति बुझ्न अन्तक्र्रिया गर्ने सिलसिला बढ्दै जाँदा राजनीतिले पनि छोयो ।'
प्रकाशित: १५ कार्तिक २०७० २२:३७ शुक्रबार