अन्य

एक्लो उपत्यका

आफ्नो जीवनलाई सार्थक बनाउन
सिकाएका थिए बाले
स्वाभिमानको पहिलो कखरा
लाखे नृत्यको धाय्ँ बाजाको ताल
देवी नृत्यको खिं, भुस्याय्ँ, मुस्याय्ँ र मुहालीको संगीत
उभिएर सभ्यताको खुला विश्वविद्यालयमा
दाफा भजनको सुफी
लुसी प्याखंको तरन्नुम र ज्यापूनृत्य–धिमेको लोक लय

जीवनलाई जुनीमा रूपान्तरण गरून् सन्तानले भन्दै
पढाइन् मलाई मेरी आमाले
राष्ट्रियताको प्रथम सरगम
चर्या नृत्यको आसन र अनुशासन
घिन्ताङ्घिसिको मौलिकताले माताहामचागना तय्को सारेगमप
उभिएर संस्कृतिको मौलिक महाविद्यालयमा
नवदुर्गा नाचको धिंताल
नागाचानाचको त्वाक, टिक त्वाक र सिनाज्या–नशालु भाका।

बाले कहिल्यै आफ्ना लागि कमाएन्
आमाले कहिल्यै आफ्ना लागि बाँचिनन् !

बितिरहेको उमेरलाई गनेर
कहिल्यै बताएनन् बाले
हुनेसँग खाना साट्न, समयसँग समय बिताउन
शक्तिको भक्ति र अन्यायसँग सम्झौता।

घट्दै गइरहेको उमेरलाई ह्याप्पी बर्थ डे भन्दै
कहिल्यै सिकाइनन् आमाले
गिलाससँग गला मिलाउन
कहिल्यै सिकाइनन्– शक्तिको नशामा डुब्न
हिंसाको सुरक्षा र वर्गको दासता।

अरू त अरू
यो पनि बताएनन् बाले कि
सफलसँग सेल्फी खिँचेर– सफल बनिन्छ
मालिकको जुत्ता सिलाएर उद्योगपति भइन्छ
हुनेखानेसित हिँडेर– इज्जत धानिन्छ
सरसंगत र उठबस मिलाए– वर्गीय भनिन्छ।

बाले समता र न्याय सिकाए
आमाले संघर्ष र सभ्यता सिकाइन्

पुर्खाको धरोहरमा उभिरहेको म आदिपूmललाई
जिन्दगीले पनि कहिल्यै सिकाएन
घरघर धाएर बधाई माग्न !
शक्तिकै हिपहपगाउँदै
रविन्द्र संगीतको तालमा हरिभजन गाउन

यो जुनीमा लेखेकै रहेन छ
शक्तिको भक्ति सायद
बरु सिकायो एक्लो– एक्लव्य बन्न
एक्लो उपत्यकाजस्तै
बरु हिँडायो कुमारको बाटो

यद्यपि
यहाँ जुगौँदेखि
गणेशमार्ग
सुपर–डुपर हिट छ।

प्रकाशित: ८ मंसिर २०७५ ०३:४८ शनिबार

कविता एक्लो_उपत्यका