अन्य

कर्मनासाले निम्त्याउन सक्छ विनास

कर्मनासा खोला मिचेर बनाएको लिटल एन्जल्स स्कुलको भवन ।तस्बिर/ नागरिक

गत बिहीबार भक्तपुरको हनुमन्ते खोलामा बाढी आएपछि भक्तपुर डुवानमा पर्यो । खोलाको वहाव क्षेत्र अतिक्रमण भएको र कंक्रिकले खुला ठाउँ भरिँदै गएपछि सहर डुवानमा परेको विज्ञहरूले निष्कर्ष निकाले।

यस्तै अवस्था छ, कर्मनासा खोलाको पनि । त्यसकारण बेलैमा ध्यान नपुर्याए ललितपुरको हरिसिद्धि–सिलौटे हुँदै बग्ने कर्मनासा खोलाले पनि विनास निम्त्याउन सक्ने विज्ञहरू बताउँछन् । ‘कर्मनासा अतिक्रमणका कारण साँघुरिँदै गएको छ, बेलैमा ध्यान नदिए यसले पनि हनुमन्ते खोलाजस्तै समस्या ननिम्त्याउला भन्न सकिन्न,’ वातावरणविद् भूषण तुलाधर भन्छन् । उनका अनुसार उपत्यकाका विभिन्न नदी तथा खोला अतिक्रमणमा पर्दै गएका छन् । त्यसकारण यिनको तत्काल संरक्षण गर्नुपर्ने उनी बताउँछन्।

१० वर्षअघिसम्म दुई सय फिट रहेको खोलाको वहावक्षेत्र अहिले २० फिटमा झरेको छ । स्थानीय र जग्गा व्यावसायीहरूले पछिल्लो समय खोलाको वहावक्षेत्र मिचेर प्लटिङ र पर्खाल उठाउन थालेसँगै खोलाको क्षेत्रफल साघुँरो भएको हो । कतिपय ठाउँमा खोला अतिक्रमण गरेर घर समेत बनाइएको छ।

स्थानीय विकास मर्हजनले खोलाको वहावक्षेत्र अतिक्रमण गरेर युरो र सिलौटे हाउजिङले जग्गा हडप्न थालेको बताए । उनका अनुसार सरकारी निकायले ध्यान नदिँदा बर्षेनी खोला क्षेत्रमा घर बनाउने र प्लटिङ गर्नेको संख्या बढेको छ ।

पाँच वर्षअघिसम्म सुनसान रहेको क्षेत्रमा अहिले धमाधम प्लटिङ गर्ने र घर बनाउनेको संख्या बढेको छ । पानी बग्ने खोलामा घर र प्लटिङ बनाउन थालेसँगै यसले अर्को समस्या निम्त्याउन सक्ने उनको अनुमान छ । ‘बेलैमा सचेत भएनौं भने भक्तपुरको जस्तै बेहाल नहोला भन्न सकिन्न,’ उनले भने, ‘यो खोला हरिसिद्धिवासीको जीवनसँग जोडिएको छ । बाहिरबाट जग्गा किनेर आउनेहरूले खोलाको क्षेत्रफल मिचेर घर बनाउन थालेका छन्, यसले भोली बाढी नआउला भन्न सकिन्न।’

‘कर्मनासा अतिक्रमणका कारण साँघुरिँदै गएको छ, बेलैमा ध्यान नदिए यसले पनि हनुमन्ते खोलाजस्तै समस्या ननिम्त्याउला भन्न सकिन्न,’ वातावरणविद् भूषण तुलाधर भन्छन् ।

स्थानीय राधाकृष्ण महर्जन पनि हरिसिद्धि सिलौटेस्थित खानेपानीको ट्यांकीले पनि खोलाको जग्गा मिचेको बताउँछन् । ट्यांकी बनाउँदा खोलाको धार नै परिवर्तन गरिएको छ । बाङ्गोटिङ्गो रहेको खोलाको धार अहिले सिधा पारिएको छ । सिलौटेबाट सुरु भएको खोलाको जग्गामा हात्तिवनमा रहेको लिटिल एन्जल्स स्कुलले पनि मिचेको छ । उक्त खोलाको गग्गामा आफ्नो निजी भवन बनाएको छ । ‘पुरानो नक्सा अनुसार यसको चौडा दुई सय फिट छ ।

तर, अहिले नक्साविपरित धमाधम खोला क्षेत्रमा घर बनाउने, जग्गा प्लटिङ गर्ने र व्यापारिक हाउजिङ बनाउने क्रम बढेको छ,’ उनले भने, ‘यो खोला सानागाउँ, टीकाथली, इमाडोल हुँदै बग्ने गोदावरी खोलामा मिसिन्छ । हात्तिवनदेखि इमाडोलसम्म नै खोलो क्षेत्रफल साघुँरो पारिएको हो ।’ उनका अनुसार पहिले–पहिले यो क्षेत्रमा धेरै कृषि उत्पादन हुन्थ्यो । इँटाभट्टा र प्लटिङले पछिल्लो समय खेतीयोग्य उर्बर माटो रुखो र कडा बनाएको छ । सबैले भट्टा सञ्चालन गरेपछि जग्गाको साइज पनि बिग्रिएको छ ।

प्लटिङ थालेसँगै हरिसिद्धि सिलौटेस्थित कर्मनासा खोला आसपासको करिब दुई सय रोपनी खेतीयोग्य जमिन पनि टुक्रे जग्गामा परिणत भएको छ । यो नेपालको एकमात्र दक्षिणबाट उत्तरतर्फ बग्ने खोला पनि हो।

ललितपुर महानगरपालिका–१५ का वडाध्यक्ष सुदर्शन मिश्रले जनप्रतिनिधि चुनिएसँगै खोला अतिक्रमण रोक्न निगरानी बढाएको बताए । उनले भने, ‘यस क्षेत्रबाट बालकुमारीसम्म जोडिने करिडोर खोल्ने योजना अघि बढेकाले खोला आसपासका घरहरू भत्काउँछौं,’ उनले भने, ‘यहाँ धेरै पहिलेदेखि मनपरीरूपमा घर बनाएर बस्दै आएका केही समुदाय छन् । करिडोरको काम सुरु भएसँगै ती सबै हटाउँछौ ।’ उनले करिडोरको काम तीन महिनापछि सुरु हुने बताए । ‘स्थानीयले मिचेको जग्गा हामीले जसरी पनि फिर्ता ल्याएर खोलाको वहाव क्षेत्रलाई पूरानै स्थानमा पु¥याउँछौं, सार्वजनिक जग्गा त्यसरी हडप्न दिन्नौं,’ उनले भने ।

महानगरका मेयर चिरिबाबु महर्जनले यसलाई संरक्षणका लागि छुट्टै योजना बनाएको जानकारी दिए । उनले भने, ‘कर्मनासा खोलालाई हामीले बचाउ गर्छौं, ज–जस्ले खोला मिचेको छ कारबाहीसहित खोलाको क्षेत्र फिर्ता ल्याउँछौं ।’ हात्तीवनदेखि इमाडोलसम्म करिडोर खोल्ने योजना बनाइरहेकाले त्यसबेला कर्मनासा खोलाको क्षेत्रफल हेरिने बताए।

खोलाको जग्गामा अपार्टमेन्ट

भूमाफियाले कर्मनासा खोलाको वहाव परिवर्तन गरी संरचना बनाएका छन् । ०२१ सालको नापीअनुसार यो जग्गा २८ नम्बर वडामा थियो । अहिले महानगरको २३ वडामा पर्छ । महानगरपालिकाले करिब पाँच महिनाअघि कर्मनासा करिडोर अध्ययनका लागि ‘कर्मनासा करिडोर सहजीकरण समिति’ गठन गरेको थियो । समितिले डिपिआर तयार पारिसकेको छ । समिति अध्यक्ष वडाध्यक्ष छन् ।

समितिले अधिकारसम्पन्न बाग्मती आयोजनासँग समन्वय गर्दै आएको छ । समितिले नियम बनाएर वहाव क्षेत्र पहिलेकै स्थानमा ल्याउन लागेको छ । खोला छेवैमा घर बनाउँदा दायाँ-बायाँ १० मिटर छाड्नुपर्ने तथा १५ मिटर वहाव क्षेत्र निर्धारण गरिएको छ ।

सबैभन्दा जटिल पक्ष ‘मेरो सिटी अपार्टमेन्ट’ रहेको महानगरले जानकारी दिएको छ । गणेश अग्रवालको स्वामित्वमा रहेको अपार्टमेन्ट महानगरपालिकाको मापदण्डविपरित छ । ‘खोला छेवैमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउँछौं,’ महानगरका मेयर महर्जनले भने, ‘यो मुद्दा अझै सकिएको छैन, यसबारे हामीले चासो दिएका छौं ।’
 

प्रकाशित: ४ श्रावण २०७५ ०३:०० शुक्रबार

कर्मनासाले निम्त्याउन सक्छ विनास