अन्य

‘लमी’ हुनुको दुःख

उपत्यकाका रैथाने नेवार समुदायका पहिले–पहिले ‘लमी’कै भरमा विवाह गराउने चलन थियो । केटा वा केटीको विवाहमा ‘लमी’ले बुबाआमाको भन्दा ठूलो भूमिका निभाएका हुन्थे।

उनीहरूले दुवै पक्षमा विवाहको कुरा मिलाएर विवाह सम्पन्न गराइदिन्थे । त्यतिबेलाका ‘लमी’को भूमिका केटा वा केटी जुटाइदिने मात्रै हुदैन्थ्यो । आफूले खोजिदिएको बेहुलीको बाटैमा निधन भयो भने पनि उसको काजक्रिया लमीले नै गर्नुपथ्र्याे । यो परम्परा करिब ६० वर्ष अघिसम्म उपत्यकामा कायम थियो।

त्यतिबेला नेवार समुदायमा प्रायः केटाको विवाह गराउन लमीकै बाटो अपनाउने चलन थियो । लमीले केटीको घरमा गएर विवाहको छिनोफानो टुंग्याउँथे । त्यसपछि बेहुलाका बुबा र लमी गएर बेहुली ल्याउँथे । घरमा ल्याइसकेपछि मात्रै बेहुलाले बेहुलीलाई प्रत्यक्ष रूपमा हेर्न र कुराकानी गर्न पाउथे । नत्र विवाह अघि केटाले प्रत्यक्ष रूपमा बेहुलीसँग कुरा गर्न पाउँदैनथे । संस्कृतिविद् चुण्डा बज्राचार्यका अनुसार यहाँका रैथाने नेवार जातिका विभिन्न विवाह परम्परा छन् । जसमध्ये यस्तोखाले विवाह परम्परा पनि एक हो । यो चलन करिब ६० वर्ष पहिलेसम्म थियो।

समाज परिवर्तन र आधुनिकताको उपजसँगै बिहे परम्परामा पनि व्यापक परिवर्तन भयो । त्यसले गर्दा परम्परागत विवाह पक्रिया तोडिएको उनको भनाइ छ । ‘६० वर्ष पहिलेसम्म यो चलन कायम थियो,’ संस्कृतिविद् बज्राचार्यले भनिन्, ‘त्यसभन्दा अघिसम्म केटाको बिहे लमीकै भरमा हुन्थ्यो।’

उनले त्यतिबेला लमीबाटै केटाको बिहेको हल्ला चलाइने र उसैले नै केटी पक्षकालाई विवाहका लागि रुजु गराउने चलन रहेको सुनाइन् । ‘त्यतिबेला योे परम्परा निकै चर्चित पनि मानिन्थ्यो । बेहुला नै सहभागी नभएरै गरिने विवाह उच्च कोटीका नेवार जातिले बढी मान्ने गर्थे,’ उनले थपिन्, ‘बज्रचार्य, ज्यापु, श्रेष्ठ, राजोपाध्यायलगायत थरमा लमी विवाहलाई नै प्राथमिकतामा राख्ने चलन थियो ।’ उनका अनुसार अहिले यो चलन एकाएक हराएको छ । उतिबेला नेवार समुदायमा १४ वटा विवाह प्रक्रियाहरू थिए।

तीमध्ये धेरै पक्रिया अहिले लोप भएर गए ।  पुरातत्वविद् विरेन्द्रभक्त श्रेष्ठले विवाहको बेला दुलाह घर बाहिर नजाने र उसको सबैखाले पक्रिया लमीले नै गर्नुपर्ने चलन रहेको बताए । ‘लमीले बिहेको कुरा छिनिसकेपछि केटा पक्षको बुबा र लमी भएर केटी लिन जान्थे,’ उनले भने, ‘त्यहाँ गएर केटीको परिवारलाई मनाएर बेहुलीलाई बेहुलाको घरमा लान्थे, त्यसपछि मात्रै बेहुला र बेहुलीको राम्ररी चिनजान हुन्थ्यो, उनीहरू एकले अर्कालाई चिन्न र बुझ्न पाउँथे।’

उनले नेवारी परम्परा अनुसार बेहुली माइतबाट हिँडाएको दिन बाटोमै राख्नुपर्ने चलन रहेको बताए । ‘माइतबाट बेहुलीलाई हिँडाएको रात बाहिर राख्ने चलन थियो,’ श्रेष्ठले भने, ‘त्यो रात बीच बाटोमा केटीको आफन्त, केटाको आफन्त वा लमीको घरमा राख्ने चलन थियो । त्यसको भोलीपल्ट बल्ल बेहुलाको घरमा तामझामका साथ बाजा बजाएर बेहुली भिœयाउने चलन थियो।’

श्रेष्ठका अनुसार त्यतिबेला विवाह गराइदिने चर्चित लमीहरू थिए । उनीहरू पढेलेखेका समेत हुन्थे । तल्लो तहदेखि माथिल्लो घनाढ्य समुदायसम्मका केटाको लागि तीनै लमीहरूले केटी खोजिदिन्थे । त्यसो त त्यतिबेला बेहुलाको घरमा सुनसान हुन्थ्यो भने बेहुलीको घरमा निकै चहलपहल देखिन्थ्यो । लमी र केटाका बुबा बेहुली लिन जादा केटी पक्षका सबै आफन्त विवाह घरमा जम्मा हुन्थे।

नेवार समुदायमा प्रायः केटाको विवाह गराउन लमीकै बाटो अपनाउने चलन थियो । लमीले केटीको घरमा गएर विवाहको छिनोफानो टुंग्याउँथे । त्यसपछि बेहुलाका बुबा र लमी गएर बेहुली ल्याउँथे । घरमा ल्याइसकेपछि मात्रै बेहुलाले बेहुलीलाई प्रत्यक्ष रूपमा हेर्न र कुराकानी गर्न पाउथे । नत्र विवाह अघि केटाले प्रत्यक्ष रूपमा बेहुलीसँग कुरा गर्न पाउँदैनथे ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार विवाहका बेला लमीलाई नै केटी खोज्न र रोज्न पठाइन्थ्यो । लमीले केटालाई केटीका गुण र चरित्रबारे जानकारी गराउँछ । सोही अनुसार केटाका आफन्तलाई बुझाउँछ । यतिकैमा केटी पक्षका मञ्जुर भएभने लमीले दुवै पक्षतिर  विवाह गर्ने टुंगो लगाएर केटीको घरमा जान्छ ।उनले यसरी जमानत बसेर विवाह गराउँदा त्यतिबेलाको समाजमा कुनै पनि किसिमका बेमेल घट्ना नभएको बताए।

‘उपत्यकामा धेरै माथिल्लो तहका मानिने नेवार समुदायले पनि यसरी नै विवाह गरेको पाइन्छ,’ उनले भने, ‘अहिले त लगभग सबै समुदायको विवाह परम्परा एउटै भएको छ । ’ संस्कृतिविद् जोशीले माइतबाट विवाह गरेर बेहुलाको घर ल्याउँदै गर्दा कुनै कारणले बेहुलीको मृत्यु भयो भने त्यतिबेलाको भागिदार समेत लमी नै हुनुपर्ने परम्परा रहेको सुनाए । ‘नेवार समुदायमा यो परम्परा चर्चित मानिन्छ,’ उनले भने, ‘अहिले त्यता चलनहरू लोप भए।’

उनका अनुसार नेवार समुदायमा विवाहको बेला बेहुलीलाई तासको लुगा लगाइदिने चलन पनि छ । यो लुगामा सुन, चाँदी र धागो प्रयोग भएको हुन्छ । यो चलन अझै पनि कायम छ। ‘पुरानो मान्यता अनुसार विवाह गर्ने चलन अझै पनि कहिँकतै चलेको छ,’ उनले थपे, ‘केटा र केटीका बाबु–आमाबीच कुराकानी मिल्यो भने अझै पनि लमीले विवाह गराइदिने चलन छ।’

 

प्रकाशित: २३ चैत्र २०७४ ०१:०२ शुक्रबार

लमी हुनुको दुःख