अन्य

जडिबुटी अध्यक्ष अन्सारी जेल चलान

नेपालगन्ज- प्रतिबन्धित झ्याउ अवैध रुपमा भण्डारण तथा ओसार्ने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारी जेल चलान भएका छन्।बाँके, जिल्ला अदालतका न्यायाधीश बलराम त्रिपाठीको एकल इजलासले प्रतिबन्धित झ्याउ ओसार पसार सम्वन्धी मद्दामा अन्सारीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रकृया अगाडि बढाउने आदेश दिएको सहायक वन अधिकृत नारायण पार्धेले जानकारी दिए।

गत फागुन ९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी) र मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले नेपालगन्जका १३ वटा जडिबुटीको गोदाममा छापा मारेकोमा अन्सारीको राँझास्थित गोदामबाट ५ सय ४२ बोरा (झण्डै १ सय ३५ क्वीन्टल) प्रतिवन्धित जडिबुटी झ्याउ फेला पारेको थियो।

व्यवसायी अन्सारी प्रतिवन्धित जडिबुटी झ्याउ भन्डार र ओसार पसारमा संलग्न रहेको ठहर गर्दै २ लाख ३ हजार २ सय ५० रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना, एक वर्ष कैदको माग गर्दै जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको वन कार्यालय बाँकेले जनाएको छ। संघका अध्यक्ष अन्सारी पक्राउ परेपछि व्यवसायीहरुले उनलाई छुटाउन निकै प्रयास गरेका थिए।

प्रकाशित: ४ चैत्र २०७२ २३:१० बिहीबार