गोविन्दपुरका दीपनारायण यादवको छोरीको विवाहको लागि शनिबार राति करिब दश बजे मटकोर कार्यक्रम हुँदै थियो । उक्त अवसरमा बजाइएको डिजे साउन्डमा युवा युवतीहरु नाचगान गरिरहेका थिए। सोही क्रममा दुई पक्षबीच विवाद भएपछि घटनास्थल नजिकै रहेको इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी हवल्दारले गोली चलाउँदा दुई जना घाइते भएको स्थानीय रोशन यादवले जानकारी दिए।
जिल्ला प्रहरी प्रमुख एसपी रामदत्त जोशीले घटनाको पुष्टी गर्दै वैवाहिक कार्यक्रममा स्थानीय दुई समूहबीच झगडा हुँदा छुट्याउन पुगेका प्रहरी हवल्दारमाथि नै जाइलागेपछि आत्मरक्षाको लागि गोली चलाएको बताए। 'केही युवाहरु रक्सी खाएर मातेका थिए। उनीहरु आफैमा लड्न थालेपछि नजिकै रहेको इलाकाबाट हवल्दा र एकजना सिपाही पुगेर झगडा छुट्याउने प्रयास गरे। तर, नसाले मातेका केही युवाहरु प्रहरीमाथि नै जाइलागेपछि आत्मरक्षाको लागि एक फायर गरेको हो', एसपी जोशीले भने ।
एकजनाको कमरको समान्य छाला छेडेको र अर्काको घुँडामुनि गोली लागेकोले एकै गोलीबाट पनि दुवैलाई लागेको हुनसक्ने अनुमान जोशीको छ । तर, यो अनुमान मात्रै भएको भन्दै उनले घटनावारे थप अनुसन्धानको लागि तत्कालै डिएसपी नकुल पोखरेलको नेतृत्वमा एउटा टोली खटाएको जानकारी दिए ।
प्रकाशित: १६ फाल्गुन २०७२ ००:०४ आइतबार