प्ा्रेम शब्द उच्चारण नै सुन्दर। प्रेम जसले सुन्छ, पढ्छ र बुझ्छ। ऊ मुस्कुराउँछ। प्रेम हृदयबाट प्रस्फुटित हुन्छ। अनि हृदयमै पुगेर टुंगिन्छ। एउटा अथाह भाव। जसले जीवन डोर्याउछ। जीवनमा इन्द्रेणी रंग भर्छ। जसले हरेकलाई जीउने प्रेरणा दिन्छ। प्रेमरसमा मोतीराम भट्टले पनि लेखे।
यसो कोल्टे फेरि हेर्यो्
झुकाई लाजले आँखा
गजलका सेर झै लाग्यो
मलाई गाजले आँखा
यही प्रेमील संसारमा एक मन। अर्को मन हुँदै करोडौ मनसँग जोडिन्छन्। भनिन्छ मानिस जन्मँदा पहिलो पटक मुस्कुराउँदैनन्। रुन्छन्। तर त्यही रुवाई खुशी बन्छ। एउटा आमाका लागि जब शिशु अग्लिन्छ। उसको बालापनमा प्रेम छचल्किन्छ। घर, आँगन जताततै रंगिन्छन् बालापनको प्रेम।
किशोरवय, प्रेमको कसिलो उमेर। लाली अनुहारभरी पोखिन्छन्। फूलमा प्रेम। भवँरामा प्रेम। चौतारो, नदीकिनार जताततै फैलन्छ प्रेम। कवि श्रवण मुकारुङ प्रेमिल छन्। प्रेम सृष्टीसँग गाँसिएको हुन्छ। 'मानिस छ त प्रेम छ,' मुकारुङ प्रेमको गाँठो फुकाउँछन्। संसार बिग्रेको प्रेम विर्सेर हो भन्ने ठहर छ उनको।
मायालुसँगको प्रेम। प्रकृतीले सुन्दर छटासँग गर्ने प्रेम। यही त छ मजा प्रेमको। उनका धेरै कविताले प्रेमका भाषा बोल्छन्। कवितामा प्रेम हुनु मानिसको भावनामा प्रेम हुनु हो। प्रेमरसले सबैलाई भिजाउँछ। 'कहाँ हुन्न र प्रेम', मुकारुङ मुस्कुराउदै भन्छन् ,'सबैलाई प्रेमकै आवश्यकता छ।'
मुकारुङको नजरमा प्रेममा धोका खानु पनि प्रेमकै हिस्सा हो। उनको कवितामा आदर्श प्रेम बोल्छन्। एकतर्फी पागल प्रेम झल्किन्छन्। पाठकले त्यही पागलपनमा मुकारुङलाई खोज्छन्। प्रेममय शब्दजालमा रुझ्छन्।
प्रेमले जात हेर्दैन। न धर्म हेर्छ। न छेकेर छेकिन्छ। न कसैले रोकेर रोकिन्छ। यो त अनायास हुन्छ। थाहै नपाई मनको कुनामा बस्छ। प्रेम गीत गाउने गायिका रजिना रिमाल यस्तै स्वर भर्छिन, 'पागल म बन्न सक्छु, क्दिन तिमीलाई भुल्न।'
उनले गाउँदै गर्दा थाहै नपाई अरु धेरै प्रेममा पागल भए। उनको प्रेममा पागल बने विनोद श्रेष्ठ। साढे तीन वर्षको प्रेमलाई बिहेको डोरीले चटक्कै कसेको वर्ष दिन वित्न लाग्यो। प्रेमगीत गाएरै रजिना स्रोतामाझ चर्चित भईन। 'प्रेम गीत गाउँदा फरक फिलिंग्सले मन रमाइलो बनाउँछ', उनले भनिन्।
उनको पछिल्लो गीत 'मुटुको त के कुरा जिउ ज्यान तिमीलाई दिइसके' युट्यूवमा पाँच लाखले हेरिसके। कति रैछन् प्रेमको रंगमा डुब्नेहरु। प्रेम गीत सदाबहार हुन्छन्। प्रेमका गीतहरु म्ाुना मदन, मुमताज र बादशाह जस्तै हुन्। जो मरेर पनि अमर छन्।
मनमा हरदम छाप छाडेकै हुन्छ प्रेमगीतले। गीतकार श्रीपुरुष ढकाल प्रेमका गीतले रौसिन्छन्। संसार प्रेममै अडेको छ। प्रेम त अनुभुतीको शिलशिला हो। न कहिल्यै टुंगिन्छ। यो त नदीसरि बगिरहन्छ। प्रेमसागरको बाटो खोज्दै।
म सपनाको कुरा गर्छु
तिमी आँखाको मोल सोध्छौ
म ढुकढुकीको बयान गर्छु
तिमी मुटुको तौल सोध्छौ
एउटा प्रेमीले प्रेमिकाको मन छाम्न खोज्दा ढकालले लेखे। प्रेम गर्न सहज छैन। जति सहज ठानिन्छ। सुन पगाल्न आगोको राप काफी होला। मन पगाल्न आगो हैन प्रेमको राप चाहिन्छ।
प्रेममा नाटक हुन्न। न चाप्लुसी। फास्टफुड खाएजस्तो हतार हतार खानु प्रेम हैन। प्रेम त सुस्तरी छाउँछ। प्रेम गीतले मान्छेमा प्रेम जन्माउँछन्। त्यसैले उनी गीतबाटै भन्छन् ,'मेरा साथीहरुको माझ तिम्रो चर्चा चलेजस्तै, मेरो चर्चा चल्छ कि चल्दैन।'
उनीसँगै सहमत छिन् गजलकार शीतल गुरुङ कादम्बिनी। जतिसुकै क्रुरलाई पगाल्न सक्ने मन्त्र प्रेम हो भन्छिन्। स्वच्छ, निर्मल बग्छ प्रेमका गीत। न त्यहाँ कसैलाई दोष लाइन्छ। न गुनासा र पीडाको बोध नै हुन्छ।
कादम्बिनी र प्रेमविनोद नन्दन कुनैबेला चितवनमा प्रेम गजलको दोहोरी खेल्थे। एक पटक नन्दनले भने 'माफ गर्नु है, मैले अलिकति पिएर आएको छु। नरिसाउनु है , मैले आफुलाई कतै दिएर आएको छु।' कादम्बिनी झन मुग्ध हुँदै जवाफ दिन्छिन् 'रुधिर त पिउँछन् ,मदभरि नयन पिएर के भो। अथाह सागर नै मेरो हो एक बुँद दिएर के भो।'
भेटै नहुने मान्छे । बोलचालै नहुने मान्छे। झन अगाध प्रेम बस्छ त्यहाँ। 'म पनि त्यस्तै प्रेमलाई धेरै मिस् गर्छु' उनको प्रेम अनुभवले भन्छ। शरिरलाई छुनै पर्छ। अंगालोभरि कस्नैपर्छ। प्रेमको नाममा भोग गर्नै पर्छ भन्ने उनी सोच्दिनन्।
प्रेमका गजलले उनलाई उर्जा दिन्छ। मन चंगा पार्छ। उनका गजल श्रृंगारिक हदभित्र फुल्छ। छोटा छोटा मिनिस्कर्टमा कर्के नजर लाउनेतिर झुल्किन्न प्रेम गजल। बरु बनारसी साडीमा थोरै नाइटो देखिएको होस। मदहोस पार्ने रंग, रुप र श्रृंगारभित्र रम्छ उनको प्रेम। धेरै कुरा पर्दाभित्र। तर प्रेमको ग्ल्यामर त्यहाँ पनि हुन्छ। व्यक्त नगरेे पनि हरेक मनलाई छुन्छ।
मायालु शब्द खेलाउन खप्पिस छन् उपन्यासकार सुविन भट्टराई। प्रेम नगरेको मान्छे सायदै होलान दुनियाँमा। उनको लेखक अनुभवले भन्छ, प्रेम संसारमा सबैभन्दा पढिने विषय हो। त्यसैले प्रेमका भाव शब्दभरि छरपस्टाउन मन पर्छ उनलाई। 'समर लभ' र 'साया' उपन्यास प्रेम प्रतिक हुन्।
प्रेमका शब्द कोर्न मजा आउँछ। 'इन्जोय गर्छु म', उल्लास बटुल्दै भन्छन्,'समर लवका केही हरफ लेख्दा जिउँमा जिरिङ काँडा उम्रे।' त्यही शक्ति छ प्रेमका शब्दमा लेख्ने र पढ्ने दुबैलाई रोमान्टिक मुडमा पुर्याीइदिन्छन्।
एउटा विशेष मान्छे किन मन पर्छ? पहिले त आँखाबाटै शुरु हुन्छ प्रेम। उनका हरेक अंग प्रत्यंग सुन्दर लाग्छन्। सुविन बोलाईमा पनि प्रेम नै पाउँछन्। उनकी पत्नी मुनासँग प्रेमको तुना कस्सिएपछि फुकाउनै सकेनन्। उनीसँग जोडिएको पेशा, बानी बेहोरामात्र हैन। सिंगो सुविन बुझिन मुनाले। र त प्रेममा सँगै छन्। उही मोतीराम फेरि प्रेममा झुकेर बोल्छन्।
दुई आँखी भौ त तयार छन्
तरबार पो किन चाहियो
तिमी आफै मालिक भै गयौ
सरकार पो किन चाहियो
प्रेम क्षणभरको हैन टिकाउ हुनुपर्छ। एउटाले रिसाए अर्कोले फकाउने सामर्थ्य हुनुपर्छ। प्रेम सिजनल हुन्न। ऋतुहरु आउँछन्। जान्छन्। प्रेमको रुप सँधै प्रेमिल। पतझडमा पात खसेका रुखमा आँकुरा पलाउन बसन्त नै चाहिन्छ। प्रेम पतझडमा वर्षिदिन्छ। निरन्तर निरन्तर...।
प्रकाशित: २९ माघ २०७२ २२:२० शुक्रबार