सेन्ट्रल लन्डनको वेस्टमिनिस्टर अगाडि उभिएको गान्धीको सालिकले त्यहाँ पुग्ने जोकोहीलाई उनीप्रति सम्मानभाव मात्र व्यक्त गराउँदैन, बेलायतको उदार मनको खुलेर प्रशंसा पनि गर्न बाध्य तुल्याउँछ। आफैंविरुद्ध लडेको विदेशीको सालिकलाई आफ्नै भूमिमा राखिनुलाई बेलायतीहरु इतिहासमाथिको सम्मान ठान्छन्। राजधानी लन्डनका सडक, चोक र पार्कमा यस्ता सालिक भेटिनु कुनै अनौठो दृश्य होइन। ती सालिक सोख र सनकको भरमा नभई इतिहासलाई जीवन्त राख्ने बिम्बका रुपमा ठड्याइएका हुन्।
बेलायती इतिहासबारे दक्खल राख्ने खोजपत्रकार मार्क वेभस्टेरको जवाफ निकै घतलाग्दो थियो। 'यी हाम्रा साझा सम्पति हुन्,' उनी भन्दै थिए, 'यिनले इतिहास सम्झाउँछन्,' गत सेप्टेम्बरमा लन्डनमा भेटिँदा उनले सुनाएका थिए।
नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहदेखि उनका सन्तानका सालिकसमेत तोडफोड भएको तितो वर्तमान भोगेका नेपालीका लागि बेलायतीको 'इतिहास संरक्षण मोह' अनुकरणीय छ। सन् १६३३ मा ट्राफलगार स्क्वायरमा चार्ल्स प्रथमको सालिक ठडिएयता बेलायतका विभिन्न ठाउँमा राजा–रानी, सैनिक, राजनीतिज्ञ, लेखक–साहित्यकार, कलाकार, वैज्ञानिक आदिका थुप्रै सालिक बनाइएका छन्। दिनहुँ हजारौं पर्यटक ती सालिक नियाल्ने र सालिकसँग गर्वसाथ तस्बिर लिने गर्छन्।
नेपालमा भने परिवर्तनका नाममा ऐतिहासिक सम्पदाका रुपमा रहेका सालिक तोडफोड गर्ने काम भइरहेको छ। २०६२/६३ को आन्दोलन र गणतन्त्र स्थापनापछि राजतन्त्रका अवशेष मेट्ने नाममा यस्ता थुप्रै हर्कत भए जो इतिहासमाथिका निर्मम प्रहार थिए। त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका सहप्राध्यापक पीताम्बर ढकाल नेपालमा आवेग र उत्तेजनाको भरमा राजनीतिक विकासक्रम हुने अवस्थाले संस्कृतिका अभिन्न अंग भइसकेका सम्पदा ध्वस्त गर्ने काम भएका बताउँछन्।
'सालिक जोसुकैका किन नहोऊन्, ती व्यक्तिले आफ्नो कालखण्डका योगदानको कदर गर्दै बनाइएका हुन्,' उनी भन्छन्, 'आवेगका भरमा ध्वस्त गरिँदा त्यसले जीवन्त इतिहास मेट्ने काम गरेको हुन्छ।'
पृथ्वीनारायण शाहका सन्दर्भमा त नेपाल सरकारै निर्मम बनेको उनको विश्लेषण छ। राष्ट्र एकीकरण निर्माता शाहको सम्मानमा मनाइँदै आएको पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस सरकारी दिवसको सूचीबाट हटाइनुलाई उनी योगदानको अवमूल्यन सम्झन्छन्।
'पछिल्लो समय केही राजा–महाराजाले जे गरे पनि पृथ्वीनारायण शाहले टुक्राटुक्रामा रहेको नेपाललाई एकढिक्का बनाएका हुन् भन्ने वास्तविकता बिर्सन हुँदैन,' उनले भने, 'एकता दिवस 'डिलिट' गर्नु इतिहासको यथार्थलाई अस्वीकार गर्नु हो।'
नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा राजनीतिशास्त्रमा पिएचडी गरिरहेका अर्जुनबहादुर अयडी पुरानोलाई पूर्ण ध्वस्त पारेर मात्र नयाँ सिर्जना गर्न सकिन्छ भन्ने उत्तरआधुनिकतावादी धारणा हावी हुँदा नेपालमा इतिहास बिर्सने काम भएको बताउँछन्। उनको विचारमा पुराना नकारात्मक कुरालाई राखेर पनि त्यसबाट शिक्षा लिन सकिन्छ। 'पश्चिमाहरु इतिहासका नकारात्मक पात्रहरु नै किन नहोऊन्, संरक्षण गरेर राखियो भने त्यसबाट केही न केही शिक्षा ग्रहण गर्न सकिन्छ भन्ने मान्यता राख्छन्,' उनले भने, 'हाम्रोमा भने नकारात्मक कुरालाई नामेट नगरी परिवर्तन हुन सक्दैन भन्ने गलत मान्यता स्थापित छ।'
लन्डनमा गान्धीको सालिक निर्माणकै प्रसंगलाई उनी इतिहासबाट शिक्षा लिन खोजिएको रुपमा अर्थ्याउँछन्। उनको विचारमा अंग्रेज साम्राज्यविरुद्ध लडेका गान्धीलाई सामुन्ने राखेर बेलायतीहरु विगतबाट पाठ सिक्न चाहन्छन्। 'इतिहासमा गलत ठानिएको कुराले वर्तमानमा झझल्को दिइरहन्छ जसले सच्चिएर अघि बढ्न शिक्षा प्रदान गर्छ,' उनी भन्छन्, 'त्यही भएर उनीहरु इतिहासलाई सम्मान र संरक्षण गर्छन्।'
बेलायतमा गान्धीको मात्र होइन, जवाहरलाल नेहरुको समेत अर्धकदको सालिक छ। मोन्टेरियल प्लेसमा राखिएको सालिकमा उनलाई प्रसिद्ध राजनेताका साथै आधुनिक भारत निर्माणकर्ताका रुपमा चिनाइएको छ।
इतिहासकार रमेश ढुंगेल हुलमुल (युद्ध, आन्दोलन) का बेला जे–जस्तो भए पनि सामान्य समयमा भने इतिहास सम्झनुपर्ने बताउँछन्। इतिहासमा तानाशाह भनेर चिनिएका हिटलर, विस्मार्क, नेपोलियन बोनापार्टलाई समेत उनीहरुको देशमा सम्भि्कने गरेको उनको भनाइ छ।
'हाम्रोमा ज–जसका सालिक ढालिएका छन्, उनीहरुलाई तानाशाह भन्न सकिने आधारै छैन,' उनी भन्छन्, 'हुलमुलमा गरिएको गल्ती अब सच्याउनुपर्छ।' कुनै पनि शासकलाई तानाशाह भन्नका लागि 'परिभाषित' हुनुपर्ने र त्यसरी अहिलेसम्म कोही पनि शासक तानाशाहमा किटान नभएको उनको भनाइ छ।
राजनीति र इतिहासका विज्ञ राजतन्त्रसँग रिसइबी साँधेर पुस २७ मा मनाइँदै आएको राष्ट्रिय एकता दिवस कटौती गर्नु इतिहासमाथिको अपमान ठान्छन्। २०६२/६३ को जनआन्दोलनपछि गणतन्त्र आएसँगै उक्त दिवस मनाउन छाडिएको हो। अयडीको विचारमा राजनीतिक प्रणाली परिवर्तन भइसकेपछि पुरानो प्रणालीअन्तर्गत रहेका व्यवस्था नमान्नु अस्वाभाविक होइन, तर राष्ट्र निर्माणको झल्को दिने महŒवपूर्ण दिवस नै बिर्सनु गलत हो।
'यो दिवसको कुरा मात्र होइन, इतिहासका नकारात्मक पक्षबाट पनि थुप्रै शिक्षा ग्रहण गर्न सकिन्छ,' उनी भन्छन्, 'हामीले अहिले इतिहासबाट शिक्षा लिन सकेनौं भने भोलिको पुस्ताले पनि इतिहासलाई सम्मान गर्न सक्दैन।'
कुरूप सहर
२०६२/६३ को आन्दोलनमा नेपालगन्जको धम्बोझी र सुर्खेतको वीरेन्द्रचोकस्थित राजा वीरेन्द्रको सालिक तोडफोड भयो। सहरको बीच भागमा अवस्थित यी सालिक तोडिँदा त्यसले सहरको अनुहारै कुरुप बनाइदियो।
एमाले बाँके जिल्ला सचिव रत्न खत्री इतिहासको पहिचान हुने गरी निर्माण गरिएका सम्पदा जुनसुकै बहानामा तोडफोड गरिनु बेठिक भन्छन्। 'जसको सालिक हो, उसका राम्रा/नराम्रा पक्षबारे बहस गर्न सकिएला, त्यो बेग्लै कुरा हो,' उनी भन्छन्, 'इतिहासै नामेट हुने गरी तोडफोड गर्ने कुरालाई भने उचित मान्न सकिँदैन।' अब ती ठाउँमा समाज विभाजित नहुने गरी सबैलाई मान्य हुने स्मारक स्थापना गर्नुपर्ने उनको तर्क छ।
सुर्खेतमा वीरेन्द्रको सालिक मात्र तोडिएन, वीरेन्द्रनगर नगरपालिकाको नाम नै परिवर्तन गर्ने प्रयास भयो। नगरपरिषदले वीरेन्द्रनगरको सट्टा सुर्खेत नगरपालिका नाम राख्न सिफारिस गरेर पठाएको छ। यद्यपि, सरकारले निर्णय भने गरिसकेको छैन। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक विष्णुकुमार खड्का पुर्खाले गरेका कामको मूल्यांकन गर्न छाडेर कला–संस्कृतिसँग जोडिएका सालिक भत्काउने कामलाई अतिवादी सोच भन्छन्।
'हामीले नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भनेकै इतिहास हो,' उनी भन्छन्, 'त्यही इतिहास हामीले ध्वस्त पार्यौंन भने भोलि के दिएर जाने?'
प्रकाशित: २४ पुस २०७२ २०:५२ शुक्रबार