अन्य

१२ हात्ती दोस्रो चरणमा

चितवन- शनिबार शुरु भएको हात्ती महोत्सवको पहिलो दिन भएको हात्ती लस्काइ प्रतिस्पर्धामा १२ हात्ती दोस्रो चरण पुगेका छन्। २० हात्तीको सहभागिता रहेको स्पर्धामा हरेक चरणमा पाँच हात्ती प्रतिस्पर्धामा थिए।अघिल्ला वर्षमा हात्तीले दौडेर निश्चित दुरी पार गर्दथ्यो भने यसपालि त्यो तरिका परिवर्तन गरी 'इलाफेन्ट फास्टवाक' का नाममा हात्ती लस्काइ प्रतिस्पर्धा गरिएको हो। हात्ती दौडाउँदा उसको अधिकारको हनन् भएको भन्दै विभिन्न संरक्षणकर्मीले विरोध गरेपछि हात्ती दौडाउन बन्द गरेर हात्तीको वास्तविक लस्काइलाई नै प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएको हो।

लस्कोमा जसले अघि तोकिएको दुरी पार गर्र्दछ, त्यही हात्ती नै दोस्रो चरणमा पुग्न सफल भयो ।

पहिलो चरणमा समूह 'क' बाट रानीमायाकली, जुनकली र इच्छाकली दोस्रो चरण पुगेे। समूह 'ख' एकताकली बी, एकताकली ए र आशाकली, समूह 'ग ' बाट अप्पुकली, ब्युटीकली र रुक्सीकली, समूह 'घ' बाट जानकीकली, मरुतीकली र पूजाकली अघिल्लो चरण प्रवेश गरेका छन्।

हात्ती लस्कदा अघिल्ला वर्षहरूमा जस्तो हुटिङ भने भएन। प्रतियोगिताको स्वरुप फेरिएको थाहा नपाएका दर्शकले हात्ती किन दौडिएन भन्दै चिच्याए। विदेशी पर्यटक भने हात्तीको चाल हेर्दै तस्बिर लिन व्यस्त रहे।

हात्तीको छावा फुटबलको भने शनिबार मैत्रीपूर्ण एक खेलमात्र भयो।

वनमन्त्री अग्नी सापकोटा सहितका अतिथि छावाको फुटबल हेरेर मन्त्रमुग्ध भए। ससाना छावाले बल खुट्टाले हान्दा दर्शकदीर्घाबाट सिटी मजैले बज्यो।

आइतबार भने प्रतियोगितात्मक रूपमा खेल हुने नतिजा प्रकासन समिति संयोजक ऋषिराम तिवारीले बताए। त्यस्तै डुंगा दौड, टाँगा दौड, गोरुगाडा दौड पनि आइतबार नै हुनेछन्।

प्रकाशित: ११ पुस २०७२ २२:४३ शनिबार