त्यसको केही दिन नबित्दै हावाबाट बिजुली निकाल्ने प्रधानमन्त्रीको अभिव्यक्ति आउँदा धेरैले विरोध गरे। 'हावा कुरा' भन्दै सामाजिक सञ्जाल फेसबुक र टि्वटरमा प्रधानमन्त्रीलाई उडाउने काम गरियो।
भूकम्पले थिलथिलो बनाएको नेपाली जनजीवन भारतीय नाकाबन्दीले झनै जर्जर बनाइदिएको छ। तीन महिना बितिसक्दा पनि नाका पूर्णतः खुल्न सकेको छैन। जनता धेर्यवान् छन्। राष्ट्रियताप्रति सहनशील छन्। तर, नाकाबन्दीप्रति नेताहरूको बेवास्ता देख्दा उनीहरूमा निराशा बढ्दो छ। लोडसेडिङ, तेलको समस्या, महँगी, कालोबजारी नियन्त्रणमा राज्य असफल भएपछि जनतामा राजनीतिप्रति वितृष्णा बढ्न थालेको छ। सार्वजनिक ठाउँमा सुनिने उनीहरूका गफ र सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाले यही बुझाउँछ।
पूर्व निजामति कर्मचारी रमानाथ शर्माले पनि यही बुझेका छन्। 'जनता एकछाक खाने भइसके। दुःख पाएका छन् तर आशा गरेअनुसार कुनै पनि काम भएको छैन,' उनले प्रतिक्रिया दिए। देशको अवस्थाबाट सबै निराश भएको उनको टिप्पणी छ। देशमा मौलाउँदै गएको नातावाद, कृपावादबाट दिक्क छन्, सर्वसाधारण। विकास निर्माणमा काममा नेताले एक घन्टा समय दिएको देखिँदैन। जहाँ पनि बिग्रने, बिगार्ने काममा उद्यत देखिँदा देशको राजनीतिले जनतलाई खुसी दिन नसकेको शर्माको बुझाइ छ। 'सबै पार्टीमा प्रतिबद्ध, इमान्दारलाई पाखा लगाउँछन्। ठेक्कापट्टा, दुई नम्बरी धन्दा गर्ने पार्टीभित्र हर्ताकर्ता हुन्छन्,' उनी निराशा व्यक्त गर्छन्, 'यस्तो राजनीतिक पार्टीले जनतालाई निराशाबाहेक के दिन्छन् र!'
नेताहरूमा पेसागत क्षमता नभएकाले जनतालाई पीडा भएको टिप्पणी छ वरिष्ठ प्रशासक भीम उपाध्यायको। उनी भन्छन्, 'आन्तरिक रूपमा नेपाली शान्त छन्। यो मुलुक समाजले चलाएको छ। सरकारले होइन।' नागरिकले नेता र कर्मचारीलाई पीडक मान्न थालेको र नेताहरूको राजनीतिक क्षमता नहुँदा राज्यसंयन्त्र बलियो हुन नसकेको उनी तर्क गर्छन्।
बृहत् नेपाली शब्दकोशका अनुसार राजनीति शब्दको अर्थ 'प्रजाको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने' उल्लेख छ। शब्दकोशले भनेअनुसार परिभाषा कार्यान्वयन नहुँदा नागरिक सन्तुष्ट देखिँदैनन्। त्यो असन्तुष्टि सामाजिक सञ्जाल, ब्लग, अनलाइन, विचारमार्फत प्रकट भइरहेको छ।
साढे तीन महिनाअघि सुरु गरिएको आन्दोलनले तराईवासीको रोजीरोटी खोसेको छ। व्यापार व्यवसाय ठप्प छ। विद्यार्थीहरू स्कुल जान पाएका छैनन्। ढुक्कसँग दुई छाक टार्न गाह्रो हुन लागेको छ।
देशमा सुख, शान्ति, नेपालीको ओठमा हाँसो ल्याउन ज्यानको बाजी थापेर गणतन्त्र ल्याउन सफल भए। त्यसपछिको राजनीतिक अस्थिरताले नेपाली सुख, शान्ति, अमनचयन लिन सकिरहेका छैनन्। पहिलो संविधानसभाले संविधान दिन सकेन। संविधानको नाममा अर्बौं रुपियाँ खर्च भयो। आठ वर्षसम्म संविधान नबन्दा नेपालीलाई निकै चिन्ताले पिरोल्यो। देशमा राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी दिनहुँ बढिरहेछ। नेपाली सुखले बाँच्न पाएका छैनन्।
सहिद परिवारको पीडा
छोरी सानी थिइन्। छोरा सगुन ११ दिनको हुँदा पतिले जया ताम्राकारको साथ छोडे। पतिले छोडे पनि छोराको आडभरोसामा दह्रो मन बनाएर जेनतेन दैनिकी सम्हालिरहेकी थिइन्, जया। छोराछोरीको भविष्य सोचेर रमाउँथिन्। सारा दुःख, पीडा भुलेकी थिइन् त्यस बेला।
नौबिसेमा रहेकी उनी पूजा गर्दै थिइन्। कसैले एक्कासि आएर भन्यो, 'सगुनको ममी तिमी काठमाडौं जानुपर्ने भयो। छोराको खुट्टामा गोली लागेको छ रे!'
हावाको वेगमा हुर्रिंदै आएको यही एक वाक्यले उनी अवाक् बनिन्। बाटो अवरुद्ध थियो। गाडी चलेका थिएनन्। एम्बुलेन्समा साथीहरूसँग काठमाडौं आइन्। उनलाई सरासर टिचिङ अस्पताल पुर्यायइयो। त्यहाँ पुगेपछि एक्कासि धर्ती भासिएझैं भयो। रिंगटा लाग्यो। मुर्छा परिन् उनी।
१५ वर्ष टेक्दै गरेको कलकलाउँदो छोरोलाई गोली लागेको थियो। अस्पतालको बेडमा छातीमा गोली लागेको छोरो देख्नासाथ उनले एकाएक अँगालेमा बेरिन्।
सगुनलाई २०६२/०६३ को जनआन्दोलनमा कलंकी चोकमा गोली लागेको थियो। जनआन्दोलनका सहिद सगुनकी आमा जया अहिलेको देशको अवस्था देख्दा निराश बन्छिन्। भन्छिन्, 'जुनसुकै सरकारले राम्रो गरिदिए हुन्थ्यो। देशमा राम्रो भइदिए छोराको आत्माले शान्ति पाउँथ्यो।' देशमा बढिरहेको अराजकता, अस्थिरताले उनको मन कटक्क खान्छ।
देशमा शान्ति र लोकतन्त्रका लागि लडेका सहिद परिवार, घाइते, अपांगता भएकाहरू देशको परिस्थिति देखेर निराश छन्। उनीहरू जनतालाई पीडा दिने नेतालाई दिनहुँ धिक्कारिरहेछन्।
'मेरो बुढेसकालको सहारा छिन्यो। घरको बत्ती निभ्यो। सहारा छिनेपछि पागलजस्तै भएकी थिएँ। कति नेतासँग रोएँ, कराएँ। देशमा केही होला भनेर छोराले बलिदानी दिएको थियो,' एउटी सहिदकी आमाको भनाइ हो यो। बिहानै छोराको नाममा दीप जलाउँछिन्। जल चढाउँछिन्। खानेकुरा पाक्दा छोराले खायो कि खाएन भन्ने लाग्छ। अनि छोराकै नाममा चढाउँदै भन्छिन्, 'बाबु कहिल्यै दुःख नपरोस्।'
स्टोभ, ग्यास चुलो मर्मत गरिने सानो पसल छ उनको। माटोको चुलो पनि बनाउँछिन्। सानै छँदा साथीको बुबाले गरेको देखेर सिकेको कामलाई व्यवसायमा बदलेकी छिन्। रोइकराइ विद्युत प्राधिकरण धार्केको म्यादी जागिर कतिखेर खुस्किने हो कि! उनलाई यो चिन्ता छ।
१४ वर्ष पूरा भएको छोरा पढ्दै थियो। २०६२/०६३ को जनआन्दोलन सुरु भयो। नेपाली कांग्रेसले धादिङबाट काठमाडौंमा आन्दोलनका लागि घरैपिच्छे मान्छे जान ह्वीप जारी गरेको थियो।
उनी भन्छिन्, 'मेरो छोराले बलिदान दिएर ल्याएको गणतन्त्र संस्थागत हुन सकेको छैन। देशमा शान्ति छैन। अराजकता फैलिँदैछ। यस्तो अवस्था छ देशको, मेरो छोराजस्तै सहिदको आत्माले शान्ति कहिले पाउला!'
उनको भक्कानो छुट्छ, 'छोराहरूको बलिदानबाट प्राप्त भएको हो गणतन्त्र। जुनै सरकार आए पनि सहिदको मूल्य बिर्सनुहुन्न।'
महिला ऊर्जामन्त्री हुँदा स्थायी जागिरको विषयमा अनुनय गरेकी थिइन् उनले। तर, कतैबाट सुनुवाइ भएन। आफू कुनै एउटा पार्टीको नभई सहिदको आमा भएकाले सबैले बराबर हेर्नुपर्ने उनको भनाइ छ।
पसलको सामान लिएर काठमाडौंबाट फर्कंदा बाटोमा सुरक्षाकर्मीले झोला खोल्थे। आमाछोरा कुरा गर्थे, 'देशमा कहिले शान्ति आउँछ!' सगुन भन्थे, 'ममी हाम्रो देशमा शान्ति नै छैन। व्यापार गरेर खान नपाउने भयौं। कहिले आउला है शान्ति!'
त्यसैले उनी आन्दोलनमा होमिएका थिए। आमाले सम्झाउँदै भनेकी थिइन्, 'गोली लाग्ला राम्रोसँग ख्याल गरेस्।' नभन्दै छोरालाई पानी पनि खुवाउन पाइनन् उनले। न त अन्तिमपटक बोल्न नै पाइन्। अहिले उनमा त्यही पीडा पटकपटक बल्भि्कइरहन्छ।
सगुनले पढेको मछिन्द्र माध्यमिक विद्यालयमा सालिक राख्ने धोको छ। छोराको नामबाट प्रतिष्ठान बनाउने सपना छ।
जनआन्दोलनमा पार्टीको ह्वीपका बीच शान्ता बस्याल सडकमा गइन्। पुलिसको लाठी टाउको र ढाडमा बजि्रयो। कम्मर र आँखाको समस्याले रोगी बनायो। हिँड्दा गोडा दुख्छन्, हात दुख्छन्। राजनीतिले दिएको यो पीडा उनीजस्ता धेरैको हो। आन्दोलनलाई हतियार बनाएर खानेहरू देखेर उनलाई दिक्क लाग्छ। 'ममात्र होइन, थुप्रै साथी आँसु पिएर बाँचेका छन्,' नेकपा एमालेमा आस्थावान् बस्याल भन्छिन्, 'तातोपानीको थैलो पिठ्युँमा राखेर सुत्नुपर्छ।'
शारीरिक पीडालाई भुल्न उनले अनेक गरिन्, देशको परिस्थितिले सहजै भुल्न दिएको छैन।
तीन दशकदेखि संगठनमा लागेकी उनी आफूलाई राजनीतिमा अलग राख्न भने सक्दिनन्। थला परे पनि उनमा गुनासो छैन। आफूलाई त उनी 'इतिहासले मागेका बेला आन्दोलनमा घाइते भएको' सहर्ष बताउन हिचकिचाउँदिनन्। 'ममात्र होइन, सयौं साथी घाइते भए। अझै पनि छन्,' भन्छिन्, 'राजनीतिले बेलाबेलामा खुसी खोस्छ। तर, राजनीति चटक्क छोड्न सक्दिनँ।'
नेताहरूले चर्चा बटुल्न जे पनि बोलिदिने संस्कृति देखेर दिक्क लाग्छ उनलाई। देशको गन्जागोलभित्र राज्यका नागरिकले राम्रा नेता पाउन नसकेको टिप्पणी छ। 'कतिपय व्यक्ति नेताको पुच्छर समाएर वैतरणी तरिसके। मजस्तै स्वाभिमानहरुको अनुहारमा हाँसो छर्न सकेका छैनन्,' अलिकति गुनासो भने उनमा रहिरहेकै छ।
घाइतेको घाउ निको भइसकेको छ। तर उनीहरूको पीडा भने बल्भि्करहन्छ। जाडोको समयमा शरीर दुखिरहन्छ। जीवनभर औषधि खाँदा निकै कमजोर महसुस गर्छन्। उनी भन्छिन्, 'घर परिवार पनि धेरै समय स्याहार गरिरहन झन्झट मान्छन्। थुप्रै घाइते साथी पीडामै जीवन बिताउन बाध्य छन्।'
बस्याललाई शारीरिक पीडाभन्दा पनि ठूलो देशको पीडाले सताउँछ। 'राज्यका सबै नागरिकले सुविधा पाएको भए मैले पनि पाउँथे,' उनी आशा गर्छिन्, 'देशमा जति बेला जनताको हित हुन्छ, त्यति बेलाचाहिँ आफ्नो पीडा भुल्न सकिन्छ कि!'
प्रकाशित: ३ पुस २०७२ २३:२० शुक्रबार