अन्य

घुस सहित बाराका जिशिअ भण्डारी पक्राउ

बारा-अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौडाले बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीलाई घुस लिदा लिदै मंगलवार पक्राउ गरेको छ ।


गढीमाई १६ मा रहेको शान्ति प्राथमिक विद्यालयकी शिक्षिका भवानी सुवेदीसँग दश हजार घुस लिँदै गर्दा सिमराको झापाली होटेलबाट भण्डारी पक्राउ परेका थिए।

अख्तियार क्षेत्रीय कार्यालय हेटौडाका प्रवक्ता नरेन्द्र भट्टराईले शान्ति प्राविकी शिक्षिका भवानी सुवेदीले बाकी रहेको २०७० सालको अन्तिम चौमासिक रकम निकासा दिनको लागि घुस मागेका थिए। सोहि अवस्थामा भण्डारीलाई पक्राउ गरिएको भट्टराईले जानकारी दिए। अख्तियारका प्रहरी निरीक्षक ढुण्डीराज न्यौपाने नेतृत्वको टोलीले जिशिअ भण्डारीलाई घुस लिँदा लिँदै पक्राउ गरेको थियो।

मधेस आन्दोलन शुरु भएपछि बाराका जिशिअ सिमरा र हेटौडाका होटलहरुमा बसी शिक्षा कार्यालयका कामकाज संचालन गर्दै आएको उजुरी अख्तियारमा परेपछि अख्तियारले जिशिअ माथि निगरानी बढाएको थियो ।

भण्डारीले बाराका शिक्षकहरुको असोजमा निकासा गरिएको पहिलो चौमासिक तलबमा समेत कमिशन खाएको गुनासो अख्तियामा परेको थियो। कमिशन नदिएका शिक्षकहरुको कागजपत्र नमिलेको भन्दै तलव निकासा नदिने गरेको पीडित शिक्षकको गुनासोका आधारमा अख्तियारले अनुसन्धान अगाडी बढाएको थियो।

प्रकाशित: २२ मंसिर २०७२ ०६:०७ मंगलबार