अन्य

तिहारमा अभावको उल्झन

कहिल्यै नसुक्ने तेलको घेरा लगाउने दिदीबहिनीको मन यसपटकको तिहारमा फुस्रो भएको छ। सप्तरंगी टीका फिक्का लाग्दैछ। मनलाग्दो परिकार पकाएर खान, दाजुभाइलाई खुवाउन चुलो बल्न सकेको छैन। त्यसैले चाडबाडमा समेत जेनतेन छाक टार्नतिर लाग्दैछन्। ढिकमा फूलेका मखमली जति गाढा बन्दैछन्, नेपालीको मन भने फिक्का बन्दैछ।

हरेक सामानको मूल्य दिनहुँ बढ्दैछ। भारतीय नाकाबन्दीका कारण यसपालि चाडबाडमा त्यति उमंग र उत्साह छैन। यसै त भुइँचालोले लगाएको घाउ बिर्सन नपाउँदै अर्को विपत्तिले मन हल्लाएको छ। नाकाबन्दीका कारण सर्वसाधारणले दसैं पनि त्यति राम्ररी मनाउन पाएनन्। आउँदै गरेको तिहार पनि साबिकको भन्दा फरक हुनेछ। दैनिक उपभोग्य वस्तुको दिनप्रतिदिन अभाव बढ्दै छ। कालोबजारी, महँगीले चुली नाघ्न आँटिसक्यो। परिस्थिति सहज बन्ने कुनै संकेत देखिँदैन। परनिर्भरताले गाँजिएका हामी विकल्प खोज्नपट्टि नभई तेल, ग्यासको लाइन लाग्नमै व्यस्त छौं।

झिलिमिली दीपावली त्यति उमंग नभए पनि दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध भने मखमली फूलजस्तै गाढा र सुमधुर बन्ने अपेक्षा धेरैको छ।

दिदीबहिनीहरू दाजुभाइलाई टीका लगाउन सहज रूपमा पाइने सामान–सर्जाम जुटाउनपट्टि लागेका छन्। अघिल्ला सालजस्तै खोजेको बेलामा सामान नपाइने सुर्ताले अहिलेदेखि नै आवश्यक सामानको खोजीमा छन्, उनीहरू।

भक्तपुर थिमि बस्ने मैया बस्नेत बुधबार असनमा तिहारका लागि सामान किन्दै थिइन्। उनले यसपालि दुई दाजुभाइलाई टीका लगाउँदैछिन्। पोहोर जस्तो सेलरोटी पकाउने सामान उनीसँग छैन। ग्यास सकिएपछि अहिले उनको भान्सा छतमा सरेको छ, त्यहीँ दाउरा बालेर उनी भाँडा बसाल्छिन्। 'यस्तो कष्ट कहिल्यै भोगिएन। घरबाट ग्यास मगाउँदैछु,' धनगढी घर रहेकी उनले बताइन्, 'तिहारमा सेल पकाउन, दियो बाल्न तेल चाहिन्छ। तर पाइँदैन। पाए पनि महँगो भइसकेको छ।' तेलको समस्याले सेल पकाउन गाह्रो हुने भएपति उनको तिहार समान्य बन्नेछ। उनी कामना गर्छिन्, 'यस्तो अभाव त कहिले नआओस्।'

बस्नेत जस्तै थुप्रै महिला असन चोकमा दिनहुँ भाइटीकाका सामग्री किन्न पुग्छन्। काजु, किसमिस, सप्तरंगी टीका, माटोको पाला, मैनबत्ती, ओखर लगायतका सामग्री नाकाबन्दी कारण नपाइएला भन्ने डरले अहिले नै उनीहरू जोहोमा जुटेको देखिन्छ।

गोंगबुकी मीना नगरकोटी असन चोकमा सप्तरंगी टीका किन्दै थिइन्। पूजा गर्दा चाहिने सामग्री सप्तरंगी किनिन् उनले। भन्दै थिइन्, 'कति महँगो भएछ। पोहोर सय रुपैयाँमा टन्न पाइन्थ्यो, अहिले २ सय ५० रे।' उनका चार दाजुभाइ छन्। चारै जनालाई टीका लगाइदिनुछ। 'जसरी सकिन्छ, त्यसरी मनाउनुपर्ला। तेल पाइएन भने सेलरोटी नपकाउने,' उनले निराशा जनाइन्।

ग्यासको समस्याले उनलाई पनि छोडेको छैन। तिहारमा धेरै खालका परिकार पकाउनुपर्छ, ग्यासमा यो सम्भव छैन।

डल्लु निवासी सुनिता मगरका पनि चार दाजुभाइ छन्। उनले तिहारका लागि सेलरोटी पकाउन इन्द्रचोक आएर ओदान किनिन्। ग्यास नभएपछि ओदान राखेर दाउरा बाल्ने उनको योजना छ। 'तेल त पहिल्यै किनेर राखेकी छु। दाउरामै भए पनि तिहारका लागि परिकार बनाउँछु,' ग्यास नहुँदाको उनको सास्ती यस्तो छ। नाकाबन्दी छ भनेर तिहार खल्लो बनाउन नहुने उनको विचार छ। 'दाउरामै पकाएर भए पनि वर्ष दिनको चाडलाई खल्लो त बनाउन दिनुभएन नि,' उनी भन्छिन्।

अभावको बीचमा आइरहेको तिहार आफ्नो गच्छेअनुसार मनाउने सोचमा छन्, दिदीबहिनीहरू। जे भेटिन्छ, सकिन्छ, त्यसमै रमेर तिहार मनाउने सुरसारमा छन्।

तिहारमा प्रयोग हुने सामग्री भारतबाट आयात हुने हुँदा नाकाबन्दीका कारण सर्वसाधारण हैरानी खेप्दैछन्। चिनी, फलफूल, दूध, सप्तरंगी टीका, खाने तेलसमेत भारतबाटै आउने गर्छ। दुई महिनादेखि सामान नआएका कारण जताततै अभाव देखिएको छ।

संस्कृतिविद् तुलसी दिवस भन्छन्, 'अभाव होस् या भरिपूर्ण। चाडपर्व भावनात्मक रूपले त्यत्तिकै प्रगाढ हुन्छन्।' तर पनि आनुष्ठान सम्पन्न गर्दा आवश्यक भौतिक सामग्री जुटाउन हम्मेहम्मे परेको प्रस्ट देखिन्छ। चाडपर्व, उत्सव भनेको परिवारका सदस्यबीच घनिष्ठता ल्याउने माध्यम पनि हो। त्यसैले आफ्नो गच्छेअनुसार मनाउन उनी सुझाउँछन्।

हामी परनिर्भर भएकाले चाडबाडका लागि अत्यावश्यक सामग्री जुटाउन नसक्ने अवस्थामा छौं। परनिर्भरताका कारण विभिन्न समस्यामा फस्नुपरेको उनले बताए। आवश्यक सामान बाहिरबाट आउनुपर्ने हुँदा यसपटकको दसैं–तिहार अभावमै बितेको उनले बताए। भन्छन्, 'अभावमै भए पनि रीतिरिवाज सम्पन्न गर्नुपर्छ।'

भावनात्मक धुलोमैलो शुद्धिकरण गर्ने माध्यम चाडबाड भएकाले चाडपर्वको मूलभूत उद्देश्यलाई असर पार्न नहुने बताउँछन्, दिवस। चाडबाड भनेको सम्बन्ध प्रगाढ बनाउने, सुख–दुःखका कुरा गर्ने अवसरका रूपमा पनि लिइन्छ। चाडबाड संस्कृति, सामाजिक, आर्थिक, राजनीतिक जीवनसँग सम्बन्धित छ।

स्रोतसाधनको प्रयोगबाट वञ्चित भइरहेको बेला आत्मनिर्भरतामा जोड दिन पनि उनले सुझाव दिए। अभावका बीच मानसिक रूपमा तयारी हुनुपर्छ। अभावसँगै आपसी सम्बन्ध स्थापना गरेर चाडबाड मनाउनुपर्छ।

दिवस भन्छन्, 'केही रीतिरिवाज छोट्याउनुपर्ने बाध्यता हुन्छ। संस्कृति विगतसँग मात्र होइन, वर्तमान र भविष्यसँग सम्बन्धित हुन्छ। प्रविधिमा आएको परिवर्तनले असर प्रभाव छ। संस्कृतिलाई निरन्तर बगिरहने खोलाको पानीजस्तो शुद्धिकरण गर्न आवश्यक छ।'

बिहीबार नौ घन्टा पेट्रोलको लाइनमा रहेका दिवसले आफूले अभाव अनुभूत गर्दा समयको खर्चसँगै मानसिक समस्या झेलेको अनुभव सुनाए।

वर्ष दिनमा एकपटक आउने चाडबाडमा भौतिक सामग्रीको अभाव भए पनि सद्भाव नटुक्रिएको तर्क छ, साहित्यकार गीता केशरीको। 'यो चाडले नातेदार र परिवारलाई जुटाउने काम गर्छ। खेतीपाती जम्मा गर्ने बेला, दुःखसुख साट्ने बेला हो यो,' उनले भनिन्।

भूपरिवेष्टित देशमा आएको यो समस्याले सर्वसाधारणलाई छाक टार्ने समस्या छ। 'अरू बेलाको चाडजस्तो रहेन। दिदीबहिनी–दाजुभाइबीच आशीर्वाद, सद्भाव आदानप्रदान गरेर मनाउनेछौं,' उनले भनिन्।

वर्षौंदेखि मनाउँदै आएको चाडपर्वमा सामग्रीको अभाव भए पनि सद्भाव टुक्रन दिनुहुन्न भन्नेमा उनी सचेत छिन्। भौतिक सामग्रीविनै मनले अर्पण–टीका लगाइदिने। टीका नपाए देशको माटो, आफ्नै आँगनमा उम्रेको दुबोको माला लगाएर भए पनि चाडबाड मनाउन उनको सुझाव छ।

तिहारका लागि ग्यास, खाने तेल, बाल्ने तेल नभएकाले संकटमा खानेकुरालाई पनि कटौती गर्न सुझाउँछन्, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन। 'विकराल परिस्थितिलाई मनन् गर्दा तिहारमा परम्परागत रूपमा गरिँदै आएका खानेकुरालाई न्युनतम प्रयोग गर्नुपर्छ,' उनी भन्छन्, 'अभावलाई मनन् गर्दै सेलरोटी, मिठाई खानैपर्छ भन्ने छैन। जे छ त्यसमै चाडबाड मनाऔं।'

सरकारको बलबुतामा पनि समस्याको समाधान देख्दैनन्, उनी। 'सरकारले भन्सार नाकामा आएका खाद्यान्नलाई उपभोक्ता समक्ष पुर्यासउन पहल गर्नुपर्छ,' उनी भन्छन्, 'सहरी क्षेत्रमा इन्धनको विकल्पको रूपमा विद्युत उपयोग गर्न पाउनुपर्छ। साँझ–बिहान विद्युतबाट खानेकुरा पकाउन सकिने हुनाले सरकारले नियमित विद्युत दिनुपर्छ।' उनको कार्यालयमा इन्धन नपाएको भन्दै गुनासो गर्ने उपभोक्ताहरू धेरै छन्।

गत वर्ष असोज महिनामा तिहारलाई लक्षित गरी विभिन्न सामान भित्रिएको थियो। यसपालि त्यो अवस्था शून्यप्रायः छ। व्यापार तथा निकासी प्रवर्द्धनका अनुसार मासुका लागि १६ करोड रुपैयाँको बाख्रा भित्रिएको थियो। तिहारको समयमा फूल २ करोड रुपैयाँको, ५ करोडको फलफूल, ४ करोडको नरिवल, काजु ८ करोड, ओखर २ करोड, बदाम ३ करोड, सुपारी ३८ करोड, सुकमेल डेढ करोड, धनियाँ ७ करोड, जिरा डेढ करोड, पियोर मसला डेढ करोड, सन फ्लावर तेल ३ करोड ५० लाख, कच्चा सन फ्लावर तेल ४८ करोड, ह्विस्की ११ करोड, घिउ १ करोड ५३ लाख, आलु १ करोड, १ अरब ७० लाखबराबरको काँचो भट्मासको तेल, भटमासको तेल २२ लाखको, काँचो पाम तेल ३९ करोड ८३ लाख, १६ करोड ७७ लाख रुपैयाँको चक्लेट र चिनी ७ करोड रुपैयाँभन्दा बढीको आयात हुने गरेको तथ्यांक छ।

अहिले भने नाकाबन्दीका कारण वैधानिक रूपमा सामान भित्रिन सकेका छैनन्। विज्ञहरू सुझाउँछन्, 'यस्तो संकटको बेला जे सकिन्छ त्यसमै चित्त बुझाएर सामान्य तरिकाले तिहार मनाऔं, सद्भावलाई मर्न नदिऔं।'

प्रकाशित: २० कार्तिक २०७२ २०:२३ शुक्रबार