अन्य

वैकल्पिक इन्धन

उपत्यकाको सडकमा गुडिरहने एउटा गाडीमा 'दिस भेइकल रन अन बायो डिजेल' लेखिएको छ। ती अक्षरमा कतिको आँखा पर्छ/पर्दैन। यदि कसैको आँखा पर्योभ भने र उक्त व्यक्ति जिज्ञासु रहेछ भने बायो डिजेलका बारेमा सोधीखोजी पक्कै गर्छ।काठमाडौं बौद्धका विश्व मास्केले यो गाडी चढ्न थालेको सात वर्ष भइसक्यो। कतिले उनको सिको गरे गरेनन्, उनलाई त्यति भेउ छैन। नेपालमा पेट्रोलियम पदार्थ हाहाकार भइरहेका बेला बायो डिजेलको ठूलो महत्व बढ्न थालेको छ। उनलाई भने त्यति समस्या छैन। 'बुझ्नेलाई श्रीखण्ड' भनेझैं आफ्नै ठाउँमा उत्पादित यो इन्धनको निश्चित मात्रा डिजेलमा मिसाएर गाडी चलाउन सकिन्छ। मास्केले आफैं उत्पादन गरेको डिजेल गाडी र उनले सञ्चालन गरेको क्याफेमा चल्ने जेनरेटरमा प्रयोग गरेका छन्। उनको गाडी र जेनरेटर फ्युल अभावमा रोकिनुपरेको छैन।

बायो डिजेलका लागि मास्केले भान्साबाट खेर जाने तेल जम्मा पार्छन्। वैज्ञानिक तरिकाबाट बायो डिजेल तयार पार्छन्। सिधै गाडीमा राखेर चलाउँछन्। डिजेलमा ४० प्रतिशत बायो डिजेल सिधै राखेर मज्जाले गाडी गुडाउन सकिन्छ। यसबाट नेपालीको कम्तीमा ४० प्रतिशत डिजेल त बचत हुँदो रहेछ।

सजिलो प्रविधिबाट यसको उत्पादन गर्न सकिने भए पनि कसैले ध्यान नदिएको मास्के बताउँछन्। अहिलेसम्म सरकारको कुनै पनि निकायले सरोकार नराखेको उनले बताए। नास्टले यो प्रविधिबाट बायो डिजेल निकालेर प्रयोग गरिरहेको बताए पनि मास्केको यो उत्पादन आफ्नै दिमागी उपज हो।

मास्के घरमा बसेर टिभीमा 'डिस्कभरी च्यानल' हेर्दै थिए। पकाएर बाँकी रहेको तेल भ्यानमा राखेर चलाएको देखायो। उनमा जिज्ञासा बढ्यो र चीनबाट इन्धन बनाउन चाहिने सामग्री ल्याए। तुरुन्तै प्रयोगमा ल्याइहाले।

२०६२/६३ सालको जनआन्दोलनका बेला पेट्रोलियम पदार्थ सजिलै पाइएन। त्यति बेलै सामान लिएर आउँदै गरेको गाडी भीमफेदीमा रोकियो। खोजेको बेला तेल पाइएन। उनले गाडीमा राखेको बायो डिजेल राखे, र गाडी चलाए। मज्जाले गाडी चल्यो। बल्खु आइपुग्दा उनले महसुस गरे— आफूले ठूलो काम गरेको छु। 'तेल नभएको बेला भीमफेदीबाट गाडी काठमाडौं आइपुग्दा आफैलाई संसारकै महान्,' उनले खुसी हुँदै भने, 'गर्व लाग्यो। आत्मसन्तुष्टि बढ्यो।'

जर्मनीमा एक धनाढ्य बास्नादार फूलबाट तेल निकालेर गाडी चढ्थे। गाडीले फाल्ने धुवाँमा निकै बास्ना आउँथ्यो। त्यो बास्ना सुँघ्न मानिसहरू गाडीको पछाडि दौडिन्थे। डिजेल नभएर होइन, उनी सोखले त्यो गाडीमा बास्नादार फूलको तेल प्रयोग गर्थे। यसबाट थाहा हुन्छ— वैकल्पिक इन्धन तयार पार्न त्यति गाह्रो छैन।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले नेपालमा बायो डिजेलको उत्पादन र प्रयोग गरिसकेको छ। तर, मास्के भने त्यसबारे जानकारी नभएको बताउँछन्। इन्टरनेट हेरेरै बायो डिजेल तयार पारेको उनको दाबी छ। अहिलेसम्म बायो डिजेलबाटै ३८ हजार किमी गाडी चलाइसकेका उनी जाडो महिनामा डिजेलमा ३० प्रतिशत बायो डिजेल मिसाउँछन्। गर्मी महिनामा ४० प्रतिशत बायो डिजेल मिसाएर गाडी कुदाउँदै आइरहेका छन्, उनी।

उनको आफ्नै 'जी–क्याफे' सञ्चालनमा छ। त्यहीँ विभिन्न खाद्य परिकार बनाएर उब्रेको तेलबाट प्रशोधनमार्फत उनी बायो डिजेल बनाउँछन्। क्याफेमा दैनिक ३० लिटर खानेकुरा तारेको तेल जम्मा हुन्छ। भान्सामा एकपटक मात्र तेल प्रयोग गर्दा ३० प्रतिशत तेल काम लाग्दैन। बाँकीलाई उनी बायो डिजेल बनाउँछन्। भान्सामा समेत बायो डिजेलबाट चल्ने चुलो बनाउने योजनामा रहेको उनले बताए।

बायो डिजेलबारे सिक्न जाने जो कोहीलाई पनि उनी खुसीसाथ सिकाउँछन्। कति गैरसरकारी संस्थाले बायो डिजेलको प्रयोग र विस्तारका लागि उनलाई अफर पनि गरे। 'म आफैंलाई ठग्न चाहन्नँ। स्वाभिमान बेच्दिन,' उनी भन्छन्, 'केही गर्न मन छ भने विज्ञ हुनु पर्दैन। इच्छाशक्तिमा भर पर्छ।' मन भएको खण्डमा मान्छेले जे पनि गर्न सक्ने उनी तर्क गर्छन्। भन्छन्, 'मन भनेको डरलाग्दो चिज हो। आमा भन्नुहुन्छ- एकाग्र इच्छाशक्ति हुनु नै ५० प्रतिशत जित हो।'

नेपालीमा बढ्दै गएको विदेशमोह देखेर उनी छक्क परेका छन्। तुरुन्त पैसा कमाउने सपनाले गर्दा युवाहरू देशको अवसर छाडेर बिदेसिएका छन्। 'नेपालमा के छैन? हामी यति धनी छौं। केही पनि गर्न सकेका छैनौं, नेपालीमा पैसाले सब चिज किन्न सकिन्छ भन्ने बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

व्यावसायिक रूपमा काम गर्न बायो डिजेल नै एउटा सम्भावना रहेको उनी बताउँछन्। उनले आफ्ना क्याफेमा तयार पार्ने खाजा, खानाहरू निकै परिश्रमबाट तयार पारेका छन्। उनकै नेतृत्वमा मोबाइल एप तयार गरिएको छ, जुन क्याफेमा प्रयोग हुन्छ।

प्रकाशित: २२ आश्विन २०७२ २२:०२ शुक्रबार