अन्य

दुई नाबालक सन्तानको हत्या आरोपमा आमा–बुबा पक्राउ

उदयपुर– आफ्नै सन्तान मारेको अभियोगमा यहाँकी एक महिला पक्राउ परेकी छन्।जिल्लाको पश्चिम पहाडी गाविस ओख्ले ३ मा आफ्नै नाबालक दुई सन्तानको हत्या अभियोगमा २८ वर्षीया सरिता मगर पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उनीमाथि चार वर्षीय छोरा रुसम र दुई महिनाकी छोरी सोनियाको हत्या गरेको आरोप छ। प्रहरीका अनुसार अघिल्लो राति घरमै सुतिरहेका सन्तालाई धारिलो हतियारले काटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बेलाबेलामा मानसिक सन्तुलन गुमाउने गरेकी उनले सुरुमा खुकुरी लिएर श्रीमान्लाई काट्न झम्टेकोमा श्रीमान् भागेपछि सन्तानको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

सन्तानको हत्यापछि घर छाडेर गाउँमै लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङले बताए। दुवै बालकको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा ल्याइएको छ भने अभियुक्त सरितालाई कटारी प्रहरी कस्टडीमा राखेर अनुसन्धान अघि बढाइएको छ भने उनीसँगै श्रीमान ३६ वर्षीय यामकुमार मगरलाई पनि नियन्त्रणमा लिइएको एसपी गुरुङले बताएका छन्।

प्रकाशित: ७ आश्विन २०७२ ०१:१७ बिहीबार