‘ग्लोबल मनी विक’ विश्वव्यापी रूपमा वित्तीय जागरुकता अभिवृद्धि गर्ने अभियान हो, जसको उद्देश्य बालबालिका र युवाहरूलाई सानै उमेरदेखि वित्तीय रूपमा सचेत बनाउनु हो। यस अभियानले उनीहरूलाई क्रमशः वित्तीय ज्ञान, सिप, दृष्टिकोण र व्यवहार विकसित गर्न मद्दत गर्छ, जसका कारण उनीहरू सही वित्तीय निर्णय गर्न सक्षम हुन्छन् र अन्ततः वित्तीय कल्याण तथा वित्तीय स्थायित्व प्राप्त गर्न सक्छन्।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरतामा पहुँच विकास र विस्तार गरी समग्र वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यसाथ आर्थिक सहयोग तथा विकास संगठनको संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाइँदै आएको छ। यसै सन्दर्भमा आगामी मार्च १६ देखि मार्च २२ (२०८२ चैत्र २ देखि चैत्र ८) सम्म ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ ग्लोबल मनी विकको १४ औं शृंखला मनाइने भएको छ । यस विश्वव्यापी वित्तीय चेतनामूलक कार्यक्रम हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका र युवामाझ पुगेर वित्तीय साक्षरता प्रदान गरिसकेको छ।
ग्लोबल मनी विक २०२६ को नारा: स्मार्ट मनी टक्स
ग्लोबल मनी विक २०२६ को विषयवस्तु ‘बुद्धिमत्तापूर्ण वित्तीय संवाद’ रहेको छ। यो कार्यक्रम डिजिटल वित्तमा भएका नवीनतम विकासहरू र वित्तीय सेवाहरूसँग अनलाइन अन्तरक्रिया गर्ने तरिकाहरूमा आएको परिवर्तनसँग सम्बन्धित छ। डिजिटल वित्तमा भएका विकासहरू र उपभोक्ताहरूले अनलाइन वित्तीय सेवाहरूसँग अन्तरक्रिया गर्ने तरिकामा आएको परिवर्तन जस्तै फिनफ्लुएन्सरहरूको उदयदेखि लिएर कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगसम्म, जस्ता वित्तीय साधनको विकास तथा विस्तारले विशेष गरी युवाहरूका लागि भरपर्दो जानकारी र सल्लाह पहिचान गर्न गाह्रो बनाइरहेको अवस्था छ।
साथै भिडको मानसिकताजस्ता भावनात्मक प्रवृत्ति र व्यवहारजन्य पक्षहरूका कारण सामाजिक सञ्जालको प्रभाव वा साथीसँगको दबाबमा परेर गलत वित्तीय निर्णय लिन सकिने अवस्था पनि हुन्छ । यस्तो सन्दर्भमा युवाहरूले सुदृढ वित्तीय व्यवस्थापनका ज्ञान तथा सिप विकास गर्नु, भावनात्मक उच्छालहरू पहिचान गर्न सक्नु र जानकारीका स्रोतहरूलाई आलोचनात्मक दृष्टिकोणले हेर्न सक्नु अत्यन्त आवश्यक छ। वित्तीय साक्षरताको सुदृढीकरणले युवाहरूलाई वित्तीय बजार र यसका नयाँ–नयाँ उपकरणहरू राम्रोसँग बुझ्न, लोभलाई नियन्त्रण गर्न र पूर्वाग्रही सल्लाह छुट्याउन मद्दत पुर्याउन सक्छ, जसले अन्ततः अझ सुदृढ र प्रभावकारी वित्तीय निर्णय लिन सहयोग गर्छ।
युवाहरूको वित्तीय जीवन निर्णयहरूले भरिएको हुन्छ– पहिलो कमाइदेखि ऋण व्यवस्थापनसम्म, लगानी बुझ्नेदेखि ठगीबाट बच्नसम्म, खर्चको हिसाब राख्दै साथीहरूसँग वित्तीय तालमेल मिलाउनसम्मका वित्तीय निर्णय लिनुपर्ने हुन्छ। व्यक्तिगत वित्तीय विषयहरू कठिन, तनावपूर्ण वा वर्जितजस्तो लाग्न सक्छन्। धेरै युवाले पैसासम्बन्धी प्रश्न सोध्न आत्मविश्वास महसुस नगर्न सक्छन्, कसलाई सोध्ने भन्ने थाहा नहुन सक्छ वा आफ्ना समस्याहरू साझा गर्न डराउन सक्छन् तर बोल्न, अनुभवहरू साझा गर्न र सही व्यक्तिहरूसँग प्रश्न सोध्न सक्दा युवाहरूले पैसालाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न आवश्यक आत्मविश्वास र सिप प्राप्त गर्न सक्छन्। वित्तीय साक्षरताले युवाहरूलाई स्वस्थ वित्तीय बानीहरू बनाउन, जालसाजीबाट बच्न र आफ्नो वित्तीय यात्रामा विवेकपूर्ण निर्णय लिन सक्षम बनाउँछ।
यो अभियानको अन्तिम लक्ष्य सबै बालबालिका र युवाहरूलाई उच्च–गुणस्तरीय वित्तीय शिक्षा प्राप्त गर्न सुनिश्चित गर्नु हो, जसले उनीहरूलाई पैसासँग सम्बन्धित विषयहरू सिक्न, बुद्धिमानीपूर्ण वित्तीय निर्णय लिन र भविष्यमा वित्तीय स्थिरता तथा समृद्धि हासिल गर्न सक्षम बनाउँछ । वित्तीय साक्षरताको सुदृढीकरणले युवाहरूलाई वित्तीय बजारहरू राम्रोसँग बुझ्न, लोभ वा प्रलोभनको सामना गर्न र पक्षपाती सल्लाहहरू छुट्याउन सहयोग पुर्याउँछ। यसले अन्ततः उनीहरूलाई अझ बुद्धिमानीपूर्ण वित्तीय निर्णयहरू लिन सक्षम बनाउँछ।
नेपालको सन्दर्भ
यस सन्दर्भमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालमा नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा वित्तीय प्रणालीमा आबद्ध संघसंस्थाहरूको बृहत् सक्रिय सहभागितामा ‘ग्लोबल मनी विक–२०२६’ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। नेपालको सन्दर्भमा समग्र शैक्षिक साक्षरता दर कमजोर रहेको अवस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्न चुनौती रहेको छ।
युवाहरूलाई वित्तीय ज्ञान, सिप र मनोवृत्तिका साथसाथै व्यावहारिक रूपमा सबल र सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै समग्र आर्थिक समृद्धिमा टेवा पुर्याउनका लागि नेपालमा यो कार्यक्रमको अझ बढी महत्त्व रहेको छ। यस साप्ताहिक कार्यक्रममार्फत बालबालिका र युवा पुस्तामा वित्तीय शिक्षाको प्रवर्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवर्धनका माध्यमबाट स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नेपालको वित्तीय प्रणालीमा आबद्ध सम्पूर्ण संघसंस्थाहरूको व्यापक र सक्रिय सहभागिताको आवश्यकता रहेको छ।
साथसाथै सम्पूर्ण वित्तीय प्रणालीमा आबद्ध संघसंस्थाहरूले यस कार्यक्रमलाई औपचारिकताका लागि साप्ताहिक रूपमा मात्र नभई योजनाबद्ध रूपमा समग्र वित्तीय साक्षरता अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा सहयोग पुर्याउनु अपरिहार्य रहेको छ।
वित्तीय साक्षरता अभिवृद्धिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को भूमिका
नेपालको पुँजी बजारको एक मात्र बजार सञ्चालक तथा पुँजी बजारको अग्रपंक्तिको नियामक निकायको रूपमा नेप्सेले समग्र वित्तीय साक्षरता अभिवृद्धि गर्न विगत लामो समयदेखि विभिन्न कार्यक्रम तथा गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ। पुँजी बजार आफैंमा बृहत् र जटिल तथा सूचना–संवेदनशील वित्तीय प्रणालीको एक अभिन्न अंग भएकाले यसमा वित्तीय साक्षरताको विषय निकै महत्त्वपूर्ण हुन्छ।
नेप्से वित्तीय प्रणालीअन्तर्गतको पुँजी बजार सञ्चालक भएको नाताले वित्तीय साक्षरताअन्तर्गत पुँजी बजार साक्षरतासम्बन्धी विविध कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरी आम लगानीकर्तालाई सचेत र विवेकशील लगानी निर्णय गर्न सहयोग गरिरहेको छ।
यसै क्रममा ‘ग्लोबल मनी विक–२०२६’को सन्दर्भमा विगतका वर्षहरूमा जस्तै नेप्सेले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशन तथा मापदण्डअनुसार विभिन्न कार्यक्रम तथा गतिविधिको आयोजना गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्दै छ। यस वर्षको ‘ग्लोबल मनी विक’ कार्यक्रमअन्तर्गत नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेप्सेले विभिन्न प्रदेशमा कम्तीमा पाँच स्थानमा विद्यार्थीहरूलाई वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने तथा नेप्सेको वेबसाइटमार्फत ग्लोबल मनी विक अवधिभर आर्थिक सहयोग तथा विकास संगठनले निर्देशित गरेबमोजिमको लोगोसहित वित्तीय साक्षरतासम्बन्धी अनलाइन सन्देशहरू प्रवाह गर्नेछ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले विगत लामो समयदेखि समग्र पुँजी बजार साक्षरता अभिवृद्धि गर्न पुँजी बजार साक्षरतासम्बन्धी सचेतनाका लागि विभिन्न जानकारीमूलक श्रव्य, दृश्य तथा पाठ्यसामग्री उत्पादन गरी विभिन्न सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गर्दै आएको छ। साथै नेप्सेको परिष्कृत वेबसाइटमार्फत सूचीकृत कम्पनीका मूल्य–संवेदनशील सूचना तथा जानकारीहरू, त्रैमासिक तथा वार्षिक वित्तीय विवरणलगायत अन्य लगानीसम्बन्धी सूचना समयमै प्रसारित गरी आमलगानीकर्तालाई सुसूचित गर्दै विवेकशील लगानी निर्णय लिन सहयोग गरिरहेको छ। साथै सामाजिक सञ्जालअन्तर्गत फेसबुक पेज सञ्चालन गरी विभिन्न सूचना तथा जानकारीहरू तथा लगानीसम्बन्धी सचेतनामूलक भिडियो, अन्तर्वार्ता आदि प्रसारण गर्दै आएको छ।
साथै देशका विभिन्न प्रदेश, जिल्ला तथा दुर्गम स्थानहरूमा वित्तीय साक्षरता अभिवृद्धिका लागि पुँजी बजार साक्षरता सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम नेप्सेको वार्षिक नीति तथा कार्यक्रममा समेटेर नियमित रूपमा सञ्चालन गरिँदै आएको छ। देशभरका विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै पुँजी बजारसम्बन्धी सचेतना कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरिँदै आएका छन्।
नेपालको पुँजी बजारको दोस्रो बजार कारोबारसम्बन्धी जानकारी दिन क्याम्पस तहमा अध्ययनरत विद्यार्थीहरूलाई ‘भिजिट नेप्से’ कार्यक्रमअन्तर्गत अन्तरक्रिया तथा अवलोकन भ्रमण गराउँदै आइएको छ। यस कार्यक्रमअन्तर्गत हालसम्म एक सयभन्दा बढी क्याम्पसका करिब आठ हजारभन्दा बढी विद्यार्थीले नेप्से भ्रमण गरी पुँजी बजारसम्बन्धी जानकारी हासिल गरेका छन्। साथै यसै लेखमार्फत इच्छुक क्याम्पसलाई नेप्सेमा सम्पर्क गरी अध्ययनरत विद्यार्थीहरूलाई नेप्से अवलोकन भ्रमण गराई पुँजी बजारसम्बन्धी जानकारी हासिल गर्न अनुरोध गर्छु।
- रिजाल नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कामु सहायक प्रबन्धक हुन्।
प्रकाशित: २ चैत्र २०८२ ०७:३८ सोमबार