सन् १९६० को जुलाई १४ अर्थात् आजभन्दा ६५ वर्षअघि, कुनै औपचारिक वैज्ञानिक अध्ययन नभएकी २६ वर्षीया युवती जलयात्रा गर्दै तान्जानियाको ‘गोम्बे स्ट्रिम गेम रिजर्भ’ पुगिन्। उनी जंगलमै बसेर चिम्पान्जीमाथि अनुसन्धान गर्न थालिन्। उनको अध्ययनले जनावरहरूको व्यवहारबारे हाम्रो बुझाइलाई मात्र बदलेन बरु मानव हुनुको परिभाषा नयाँ ढंगले प्रस्तुत गर्यो।
बाल्यकालदेखि नै जनावरसँग बस्ने र तिनीहरूलाई अध्ययन गर्ने सपना बोकेकी ती युवती जेन गुडलले बिबिसीलाई १९८६ मा भनेकी थिइन्, ‘जब म साढे एक वा दुई वर्षकी थिएँ, मैले किराफट्यांग्रा र जे–जस्ता जनावर देखेँ, तिनलाई नियालेर हेर्थें, पछि डा. डुलिटल र टार्जनजस्ता किताब पढेँ अनि अफ्रिकाको सपना देख्न थालेँ।’
विद्यालय सकेपछि उनले सेक्रेटरियल प्रशिक्षण लिइन्, वेट्रेस र चलचित्र सहायकको रूपमा काम गरिन्। सन् १९५७ मा केही पैसा बचाएर एकजना साथी भेट्न केन्या पुगिन्। त्यहीं रहँदा उनले प्रसिद्ध मानवशास्त्री लुइस लिकीलाई भेटिन्। स्वअध्ययनबाट उनले सिकेको वन्यजन्तुसम्बन्धी ज्ञानबाट लिकी प्रभावित भए। उनको त्यही दृढ इच्छाशक्तिलाई देखेर लिकीले उनलाई प्रकृति संग्रहालयमा आफ्नै सहायकको रूपमा राखे।
पछि गएर लिकी नै गुडलकी मार्गदर्शक बने। ‘लिकीले चिम्पान्जीका बारेमा अध्ययन गर्न अनुसन्धानकर्ता खोजिरहेको र उनीहरूको व्यवहार अध्ययनले प्रारम्भिक मानव व्यवहार बुझ्न सहयोग पुग्न सक्छ भनेको’ गुडल सम्झिन्छिन्। लिकीलाई लाग्यो– गुडलको वैज्ञानिक शैक्षिक पृष्ठभूमि नभएकाले, उनी स्थापित सिद्धान्तले प्रभावित हुने छैनन्।
उनको सुरुवाती यात्रा एक्लो थिएन। त्यो बेलाको उपनिवेशकालीन सुरक्षानियमअनुसार उनकी आमालेसँगै जंगल जानुपथ्र्यो। ‘त्यो बेलाको ब्रिटिस सरकारले भन्यो कि एउटी जवान केटीलाई जंगलमा एक्लै पठाउनु अमर्यादित हुन्छ। त्यसैले आमासँगै म तीन महिना बसें’, उनले भनिन्।
जंगल बसाइ आफैंमा निकै कठिन थियो। आमा–छोरी दुवैलाई मलेरिया लाग्यो। सुरुमा चिम्पान्जीहरू मानिसको पाइला सुन्ने बित्तिकै जंगलतिर भाग्थे। उनले चिम्पान्जी हिँड्ने जंगलका बाटोहरू बुझ्दै गइन् र विस्तारै चिम्पान्जीहरूसँगको दूरी घटाउँदै गइन्।
‘मैले हरेक दिन एउटै रङको लुगा लगाएँ। कहिल्यै उनीहरूलाई दबाब दिइन। उनीहरू नियमित आउने फलफूल पाकेको रुखमुनि बसें। उनीहरू गएपछि विस्तारै पछ्याउन थालेँ। उनीहरूले मलाई खतरा नभएको मान्न थाले’, गुडलले २०१४ मा बिबिसीलाई भनिन्।
अध्ययनको क्रममा उनी चुपचाप बसेर घण्टौंसम्म चिम्पान्जीहरूको व्यवहार नियाल्न थालिन्। उनले पत्ता लगाइन्, चिम्पान्जीहरू शाकाहारी मात्र होइन, मांसाहारी पनि हुँदा रहेछन्। तिनीहरू सँगै शिकार गर्छन्, आ–आफ्नो विशेषता अनुसार व्यवहार फरकफरक देखाउँछन्।
‘चिम्प समाजमा एउटी पोथीले सबै भालेसँग समागम गर्न सक्छिन् अथवा कुनै एक भालेले एक्लै साथ लिएर उनलाई लैजान सक्छ भालेहरूबीच बलियो मित्रता हुन्छ। उनीहरूले समुदायको सीमाना संरक्षण गर्छन्, बाहिरियालाई हटाउँछन्, नयाँ पोथीहरू भिœयाउँछन्, र सबै बच्चाहरूप्रति सुरक्षात्मक हुन्छन्’, गुडलले भनिन्।
गुडलले अन्य अनुसन्धानकर्ता जस्तो संख्यामा गणना मात्र गर्ने होइन, हरेक चिम्पान्जीलाई फरक फरक नाम दिइन्। एउटा भालेको नाम उनले डेविड ग्रेवेर्ड राखिन्। उसलाई हेर्दै गर्दा उनले देखिन, ऊ साना हाँगा टिपेर धमिरा खान प्रयोग गरिरहेको थियो। यसअघि वैज्ञानिकहरूले मात्र मानवले उपकरण बनाउने भन्ने मान्यता राखेका थिए।
‘उनीहरूले हाँगाको बोक्रा फालेर सानो लट्ठी बनाएर कमिला खान प्रयोग गर्छन्। सानो प्वालबाट पानी निकाल्न पातको प्रयोग गर्छन् र पानी पिउँछन्। रगत पुछ्न पातकै प्रयोग गर्छन्। ढुंगा हानेर अथवा हाँगा देखाएर अन्य जनावरलाई डर देखाउँछन्’, उनले भनिन्।
त्यस बेलाको वैज्ञानिक सोचका लागि यो कुरा निकै क्रान्तिकारी थियो। पछि धेरै जनावरले उपकरण प्रयोग गर्ने गरेको पाइएको थियो। उदाहरणस्वरूप, इन्डोनेसियाली अक्टोपसले मानिसले फालेको नरिवलको बोक्रालाई शत्रुविरुद्ध लडने औजारको रूपमा प्रयोग गर्छ, न्यू कालेडोनियनका कागले रुखका हागा बंग्याएर बल्छी जस्तो बनाएर रुखको बोक्राभित्र रहेका किराका लार्भा खान्छन्।
गुडलले चिम्पान्जीहरूको पारिवारिक सम्बन्ध, संकेतद्वारा आपसमा सञ्चार स्थापना गर्न क्षमता अवलोकन गर्दै गइन्। ‘उनीहरू छुट्टिएर भेटिएपछि हात समाउँछन्, अँगालो मार्छन् र चुम्बन पनि गर्छन्’, उनले बताइन्।
उनले भनिन्, ‘मानिस र चिम्पान्जीमा देखिने व्यवहार सम्भवतः हाम्रा साझा पूर्वजबाट आएको हो। त्यसैले म कल्पना गर्छु– ढुंगे युगमा मानिसहरू एक–अर्कालाई अँगालो हाल्थे, साना हाँगाबाट खाना खान्थे र पारिवारिक सम्बन्धमा स्नेह बाँड्थे।’
सन् १९६२ मा गुडलले स्नातक डिग्री नभए पनि लिकीको सल्लाहमा आफ्नो अध्ययनमाथि पिएचडी सुरु गरिन्। सोही वर्ष नेसनल जियोग्राफिकले ह्युगो भान लाविकलाई उनको काम क्यामेरामा कैद गर्न पठायो। सोही कामले सन् १९६५ मा ‘मिस गुडल एन्ड द वाइल्ड चिम्पान्जिज’ नामक वृत्तचित्र बन्यो, जसले उनीप्रति विश्वभर ध्यान खिच्यो। लाविकसँगै उनको बिहे भयो। सन् १९६७ मा उनीहरूका छोरा ‘ग्रब’ जन्मिए। चिम्पान्जीबाट सुरक्षित राख्न उनले छोरा हुर्काउने एउटा छुट्टै संरक्षणकक्ष बनाइन्।
‘चिम्पान्जीहरू पनि हामी जस्तै शिकारी हुन्’, गुडलले भनिन्। ‘उनीहरूले मिलेर शिकार गर्छन्, कहिलेकाहीँ मानव बच्चा पनि उनीहरूको सिकार हुनेगर्छ। त्यसैले ग्रब सानो हुँदा हामीले उसलाई जालीले ढाकिएको बरन्डामा राख्थ्यौं।’
गुडलको कार्यले प्रमाणित गर्यो– मानिस अन्य जनावरभन्दा अलग छैन, हामी सबै एउटै जैविक वंशज हौं। अनुसन्धानले चिम्पान्जी र मानिसको वंशाणु (जिन) ९८.६ प्रतिशतसम्म मिल्दो रहेछ भन्ने देखायो।
‘मुख्य कुरा यही हो’, गुडलले भनिन्, ‘आज हामीले मानिस र चिम्पान्जीबिच देख्ने व्यवहार उस्तै हुनुमा सम्भवतः हाम्रा पूर्वज एउटै भएकाले पनि हुन सक्छ। त्यसैले म कल्पना गर्छु- ढुंगे युगका मानिसहरू आफ्ना परिवारका सदस्यहरूसँग दीर्घकालीन मित्रतापूर्ण सम्बन्ध राख्थे, साना हाँगाबिँगा प्रयोग गरेर खाना खान्थे र एक–अर्कालाई अँगालो हाल्थे। मलाई यस्तो कल्पना गर्न मन पर्छ।’
(बिबिसी)
प्रकाशित: ३२ असार २०८२ ०८:२५ बुधबार