स्कन्दपुराणमा श्रावण महात्म्य श्रावणमा पर्ने बताइएकाले अन्य महिना भन्दा श्रावण शुभकर्मका लागि महत्वपूर्ण मानिन्छ। त्यसो त प्राकृतिक दृष्टिले वर्षा ऋतु खेतीपातीको समय र जताततै हरियाली हुने हुँदा पनि मन, भावना र आध्यात्मिक ऊर्जाको लागि महत्त्वपूर्ण वातावरण बन्ने नै भयो। यसै समयमा हरिशयनी एकादशी अर्थात् चतुर्मास सुरु हुने भएकाले आदि देव शिवको उनको प्रिय उपासना महिना भनिन्छ। त्यसैले वैदिक सनातनीहरूले श्रावण धार्मिक कार्य गर्न उत्तम महिना मान्दछन्।
श्रावण महिनाभरि सात्विक खाने, शुद्ध आचरणमा रहने, सोमबार शिवजीको पूजा आराधना र व्रत गर्ने चलन चल्दै आएको छ। शिव पार्वतीको आराधनाका रूपमा रहेको श्रावण मात्र नभएर सृष्टिको आधारमा हिन्दु दर्शनले स्त्री र पुरुषलाई अलग नभई परिपूरक रूपमा हेर्ने दृष्टिकोण राख्छ। यसको सर्वोत्कृष्ट प्रतीक भनेको अर्धनारीश्वरको रूप हो– शिव र शक्तिको समन्वय।
अर्धनारीश्वर भन्नाले एउटा शरीरमा अर्ध भाग शिव (पुरुष) र अर्को अर्ध भाग पार्वती (स्त्री) रहने दैवी रूप हो, जुन समता, सन्तुलन र सहअस्तित्वको अद्भुत उदाहरण हो। मानव सृष्टिलाई धार्मिक दृष्टिले सन्तुलन र सहअस्तित्वका रूपमा जसरी व्याख्या गरेको छ त्यसरी हाम्रो व्यवहारमा लागु हुन सकेको भए विभेदको मानसिकता रहने थिएन।
अर्धनारीश्वरः समता र पूरकतत्त्वको प्रतिक।
सृष्टिको आरम्भदेखि नै ऊर्जा (शक्ति) र चेतना (शिव) को एकता आवश्यक छ भनेर प्रमाणित भएको छ। शिवलाई चेतना मानिन्छ भने शक्ति त्यो चेतनालाई क्रियाशील बनाउने ऊर्जा हो। शिवबिना शक्ति शव समान हो भनिन्छ, अर्थात् ऊर्जा बिना चेतनाले केही गर्न सक्दैन।
त्यसैगरी शक्तिबिना शिव पनि निराकार र निष्क्रिय हुन्छन्। यो तत्त्वज्ञानलाई आत्मसात गर्ने हो भने यसको महत्त्वपूर्ण सन्देश भनेको महिला र पुरुष दुवैको बराबरी सहभागिता विना न परिवार समृद्ध हुन्छ, न समाज विकासोन्मुख हुन्छ, न राष्ट्र सशक्त हुन्छ।
मूर्तिमा अभिव्यक्त र आस्थाको अर्धनारीश्वरको दर्शनले हामीलाई धर्मको मर्म सम्झाउँछ भने यसको व्यावहारिकता लागु हुने हो भने स्पष्ट हुन्छ कि– पुरुषमा भएको तर्क, धैर्य र स्थिरताको सन्तुलनका लागि महिलामा भएको करुणा, सिर्जनशीलता र संवेदनशीलताले परिपूर्ण गर्दछ। दुबैमा रहेका यी गुण मिलेर मात्र पूर्ण मानवता सम्भव हुन्छ। त्यसैले अर्धनारीश्वर केवल आध्यात्मिक चिन्तन होइन यो जीवनशैली हो, जहाँ लैंगिक समानता, सहकार्य र सम्मानको मूल भावना आत्मसात हुनुपर्छ। केवल कर्मकाण्ड, मन्दिर दर्शन र व्रत उपासनाले यो मर्म आत्मसात हुँदैन। शिव स्तुतिमा जसरी–‘शिवायै नमः शिवायै नमः शिवशक्तिस्वरूपायै नमः।’
अर्थात् शिवलाई नमस्कार, शक्तिलाई नमस्कार, र शिवशक्तिको समन्वित रूपलाई नमस्कार भनेर आराधना गरिन्छ। शिव–शक्तिको अद्वैत भावनालाई उजागर गरेको छ र त्यो महिला पुरुषबिचमा समभाव विकास हुने हो भने अराजकता कसरी सिर्जना हुन पाउँथ्यो र?
शिवशक्तिः एक अर्काका आधार।
शिव भनेका तपस्या, शान्ति र ध्यानका प्रतीक हुन् भने शक्ति भनेकी प्रेरणा, ऊर्जा र क्रियाशीलताको स्रोत हुन्। दुबै मिलेर मात्र सृष्टिको सन्तुलन सम्भव हुन्छ। यसैले शक्ति बिना शिव अधुरा हुन् भनिएको हो। अर्धनारिश्वरको इशारा त महिला सशक्तिकरणको आध्यात्मिक जग हो।
यो दर्शनले महिलालाई घर र बालबालिका मात्र सम्हाल्ने पात्र होइनन्, समाजको नीति निर्माण, नेतृत्व र सिर्जनात्मक क्रियाकलापहरूमा पनि समान उत्तरदायित्व र अधिकार भएको व्यक्तित्वका रूपमा चित्रण गर्छ जुन धर्मशास्त्रले व्याख्या गरेको छ। किनभने महिला सशक्तीकरण भन्नुको अर्थ केवल महिलालाई अवसर दिनु मात्र होइन, तिनमा अन्तर्निहित शक्ति, प्रतिभा र निर्णय क्षमतालाई सम्मान गर्दै सक्रिय सहभागी बनाउनु पनि हो।
महिलाको ऊर्जा र संवेदनशीलताविना समाज अधुरो रहन्छ भन्ने सन्देश नै अर्धनारीश्वरले दिन्छ। आजको समाजमा पनि हामीले अनुभूति गरेका छौं जहाँ महिलाहरूलाई शिक्षा, स्वास्थ्य, आर्थिक स्रोत र नेतृत्वमा समान पहुँच दिइन्छ, त्यो समाज मात्र सशक्त र समुन्नत हुन्छ। अर्धनारीश्वरको मूलभाव आजको महिला सशक्तीकरण आन्दोलनसँग प्रत्यक्ष जोडिन्छ– जहाँ पुरुष र महिलाले सहकार्य गर्दै पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनमा समान योगदान दिनु आवश्यक छ।
समता, पूरकतत्त्व र महिला सशक्तीकरणः एक आध्यात्मिक दृष्टिकोण देवी उपासनामा व्याख्या गर्दै भनिएको छ–
‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।’
अर्थात् सम्पूर्ण प्राणीहरूमा देवी शक्ति स्वरूपले महिलालाई अबला नभई ‘शक्ति’ का रूपमा बुझ्न उत्प्रेरित गर्छ। महिलालाई प्रकृतिले दिएको ममता, सहनशीलता, ज्ञान, नेतृत्व र ऊर्जाको संगम समाजको समुन्नतिका लागि, महिलाको सम्मान, सहभागिता र सशक्तीकरणका लागि अपरिहार्य छ। यो मानव जीवनका लागि मार्गदर्शक मूल्य हो। यो दर्शनले महिला र पुरुषबीच प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक रहेको सन्देश दिन्छ। महिलाको अस्तित्व शिवशक्तिको अभिन्न अंश हो र सिर्जनाको मेरुदण्ड हो।
महिला र पुरुष दुबैले समान उत्तरदायित्वका साथ संसारलाई अगाडि बढाउनुपर्छ भन्ने मर्म सृष्टिको आरम्भदेखि नै भएको पाइन्छ। आध्यात्मिकता भन्नाले केवल मन्दिरमा पुजा गर्नु, मन्त्र जप्नु वा ध्यान गर्नु मात्र होइन। आध्यात्मिकता भनेको जीवनलाई चेतनाको आँखाबाट हेर्नु हो। त्यो चेतना जुन सारा सृष्टिमा समान रूपमा व्याप्त छ, जीव, निर्जीव, स्त्री, पुरुष सबैमा।
हिन्दु दर्शनले हामीलाई देखाएको मार्गमा, समता, पूरकतत्त्व र शक्तिको अवधारणा निकै गहिरो र आधारभूत छन्। प्रत्येक मनुष्यभित्र देवी तत्त्वको पुनर्जागरण गर्नु भनेको आत्मसम्मान, निर्णय क्षमता, स्वावलम्बन र सेवा भावको स्थापना हुनु हो। समता आत्मचेतनाको मूल हो। पूरकतत्त्व सृष्टिको सूत्र हो। सशक्तिकरण देवी तत्त्वको जागरण हो।
यी तीनवटै आध्यात्मिक गुण हुन् जसले मानव जीवनलाई पूर्णता दिन्छन्। हामी जब स्त्री र पुरुषलाई समान दृष्टिले हेर्छौं, पूरक भूमिका स्वीकार्छौं र महिलालाई आत्मनिर्भर, सक्षम र निर्णायक बनाउँछौं, त्यसैमा वास्तविक आध्यात्मिक प्रगति हुन्छ।
जीवनशैली सकारात्मक र सुन्दर बन्दै जान्छ। आत्मा सबैमा समान हुने भएकाले महिला पुरुषबीचको समता केवल सामाजिक होइन, आध्यात्मिक सत्य पनि हो। अर्धनारीश्वरको रूपले शिव–शक्तिको पूरक सम्बन्ध देखाउँछ, जहाँ जीवनको सन्तुलन दुबैको सहभागिताबाट सम्भव हुन्छ। महिला सशक्तीकरणलाई देवी तत्त्वको जागरणका रूपमा प्रस्तुत गर्दै महिलामा निहित शक्ति, ज्ञान र करुणालाई सक्रिय गरिनु आवश्यक छ भन्ने सन्देश धर्मशास्त्रमा पनि दिइएको छ। यी गुण मानव चेतनाको उन्नति गर्ने आध्यात्मिक गुणहरू हुन्।
धार्मिकता र आध्यात्मिकता आराधनामा होइन, जीवन प्रयोगमा छ। शक्ति, ज्ञान र करुणाको विकास भयो भने मन्दिर जानु मात्र होइन, मर्म बुझ्नु र जीवनमा उतार्नु महत्त्वपूर्ण लाग्न थाल्छ। करूणा अन्तरात्माको संवेदना हो जुन व्यवहारमा अभिव्यक्त हुन्छ। वास्तविक आध्यात्मिकता तब बोध हुन्छ जब आत्मा, विवेक र व्यवहारको शुद्धता विकसित हुँदै जान्छ। जब सम्पूर्ण मनुष्यमा आत्मनिर्भरता, शिक्षित र संवेदनशीलता विकसित हुन्छ, त्यहीँबाट धर्म, संस्कृति र समाजको पुनर्जागरण सम्भव हुन्छ।
शिवशक्तिको उपासना केवल पुजा वा आरतीमा होइन, हाम्रो व्यवहार, सोच, निर्णय, र दायित्वमा देखिनुपर्छ। हामीमा जब शिवमा जस्तो स्थिरता, विवेकको गहिराइ र महिला शक्ति जस्तो प्रेरक, क्रियाशील र करुणाशील बन्छौं तब शिवशक्तिको सही उपासना जीवनशैली बन्दछ। अर्थात् शिवको जस्तो मौन–ध्यान र आत्मनियन्त्रण, शक्तिको जस्तो ऊर्जा, साहस र परिवर्तन ल्याउने चेतना र परिवार, समाज वा कार्यस्थलमा शिवको न्याय दृष्टि र शक्तिको सेवा भावना जागृत होस् तब हाम्रो साधना सार्थक हुनेछ ।
प्रकाशित: ५ श्रावण २०८२ ०८:१८ सोमबार