नेपाली कांग्रेसले निकै कष्टका साथ हिम्मत गरेर पुस्तान्तरणको लडाइँ जितेको छ। करिब ५४ प्रतिशतको हस्ताक्षरबाट विशेष महाधिवेशन गरेर महामन्त्री गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
विशेषगरी जेनजी आन्दोलनपछि बदलिएको परिवेशलाई मध्यनजर गरी कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निष्क्रिय हुने भन्दै नेता पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर बिदा भएका थिए। त्यसपछि देउवाको तारिफ गर्नेहरू धेरै भए। कांग्रेसमा अब यथास्थितिवादको युग सकियो, अग्रगमनसहितको सुधारिएको कांग्रेस बन्छ भन्ने धेरैले अनुमान गरे। लोकतन्त्रको लामो लडाइँ लडेको कांग्रेसभित्र समयको माग र जनताको चाहनाअनुसार आफैं बदलिएर अगाडि बढ्नुपर्छ भन्ने मान्यताबाट अगाडि बढ्ने हिम्मत गरेका गगन र विश्वहरूलाई संस्थापन पक्षले सुनेको थिएन।
लोकतान्त्रिक पार्टी भए तापनि पार्टीभित्र चरम अलोकतान्त्रिक अभ्यासहरू भइरहेका थिए भन्नेहरू कांग्रेसी नेताहरू थिए। त्यहाँभित्र नीति र नेतृत्व बदल्न चाहनेहरूमा एक प्रकारले उकुसमुकुस नै भइरहेको अवस्था बाहिर नै देखिन्थ्यो। जेनजीका भावनालाई कुल्चिन नहुने मत पार्टीभित्र बलियो बन्दै गइरहेको अवस्थामा १४ औं महाधिवेशनबाट सभापति भएका देउवा एकाएक पार्टीमा सक्रिय भएपछि त्यसको प्रतिवाद स्वरूप विशेष महाधिवेशनमा होमिएका गगन–विश्वहरूले अन्ततः नीति र नेता बदले। कांग्रेसमा गगनकुमार थापा सभापति निर्वाचित भएपछि नेपाली राजनीतिले नयाँ मोड लिएको धेरैको बुझाइ छ।
खासगरी स्टन्टको राजनीतिले हल्ला मच्चाइरहेको बजारमा एकाएक गगनहरू आन्तरिक विद्रोह गरी नेतृत्वमा आएपछि धेरैले भन्दै छन्, स्टन्टबाजी र हल्लाको राजनीति मन नपराउनेहरूका लागि गगनहरू विकल्पका रूपमा उदाए। तर पुरानो पार्टीको नाताले बालेन–रविको विकल्प नबन्ने मार्गबाट अगाडि बढ्दा कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले निकै विचार गर्नुपर्नेछ। एकातिर रिसाएका आफ्नै पार्टीभित्रका संस्थापन पक्षलाई पनि पाखा लगाउन नमिल्ने अवस्था छ भने अर्कातिर हल्लामा हुर्रिएको नेपाली राजनीतिलाई ट्र्याकमा लिएर जनभरोसाको केन्द्र बन्नुपर्नेछ। नेतृत्वले पार्टी तथा लोकतन्त्रका लागि आजीवन लडाइँ गरेकाहरूलाई पाखा पार्दै चरम कृपावाद–नातावादको अभ्यास गरेको थियो।
पद र सत्ताका लागि अन्य दलसँग गठबन्धन गरेको नेतृत्वबारे प्रश्न गर्दा निरन्तर बेवास्ता गरेको जनताको समस्यालाई बिर्सिएको भन्नेजस्ता असन्तुष्टिहरू व्यापक रूपमा चुलिँदै गएको अवस्था थियो। पार्टीको नेतृत्व पुस्तान्तरण हुनुपर्ने युवाले पार्टीलाई बदलिएको परिवेशअनुसार हाँक्नुपर्ने माग कांग्रेसभित्र पहिलादेखिकै हो।
तर विभिन्न कालखण्डमा युवा पंक्तिका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पार्टीभित्र कैयन् असन्तुष्टिहरू राख्दा पनि त्यसको सुनुवाइ नहुने गरेका पार्टीका व्यवहारले प्रस्ट देखाएकै थियो। विशेष महाधिवेशनबाट नेतृत्व चुनिँदै गर्दा संस्थापन पक्षले गगन र विश्वहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको कारबाहीको निर्णय सुनाइरहेको थियो। त्यो दृश्यलाई हेर्दा कांग्रेसभित्र बदलिन नचाहनेहरूको भिड ठुलै छ। सत्ता र पदका लागि बदलिने तर जनचाहनाअनुसार समयको मागअनुसार नयाँ परिवेशलाई स्वीकार गर्न नसक्नु नेपाली कांग्रेसको तत्कालीन नेतृत्वको कमजोरी थियो।
पुरानो इतिहास बोकेको राणाकालदेखि गणतन्त्रसम्म आइपुग्दा लोकतान्त्रिक धारको अगुवाइ गरेको पार्टी कांग्रेस पनि हल्लातिर हुर्रिँदै सत्ताको स्वादमा मात्रै रमाउन थालेपछि पार्टीप्रति जनभरोसा ओरालोतिर लागेको आम बुझाइ छ। ठुला ठुला भ्रष्टाचार काण्डमा एकअर्कालाई साथ दिएको काण्ड लुकाउन एक अर्काको काँध थाप्ने प्रवृत्तिलाई कांग्रेसको नेतृत्वले साथ दिएको आरोप पार्टीले खेपिरहेको थियो। चुनाव नजिकिँदै जाँदा फेरि जनताको घरमा मत माग्न जाँदा पुरानै ढर्रामा कसरी जाने भन्ने अप्ठ्यारोमा गुम्सिएको कांग्रेसले नयाँ नेतृत्वसँगै धेरै लोकप्रिय नीतिहरू पनि विशेष महाधिवेशनबाट अनुमोदन गराएको छ।
ती लोकप्रिय नीति र व्यवस्थालाई कार्यान्वयन गर्न सफल भएमा कांग्रेसको नवनेतृत्व साँच्चै रवि–वालेनहरूको विकल्प बन्नेमा कुनै शंका छैन। नेपाली राजनीति अहिले हल्लाको लहडमा लोकरिझ्याइलागि एकअर्कालाई कटाक्ष गर्ने मार्गमा कुदिरहेको छ। आफ्ना नीति कार्यक्रम भन्दा पनि अरूको कटाक्ष गर्नेमा नेताहरूलाई समय खर्चिने अभ्यास संस्थागत नै बनिसक्यो।
यस्तो परिस्थितिमा नेतृत्वमा उदाएका गगनहरूले निकै सजगताका साथ जनताको मन जित्नुपर्नेछ। हल्लाको मार्केटमा बिकेको राजनीतिले मुलुकलाई सही मार्गमा लैजान कठिन हुने राजनीतिज्ञहरूको भनाइ छ। राजनीति गरेर सिक्ने होइन, सिकेर राजनीति गर्ने हो भनिन्छ।
राजनीतिलाई पेसाभन्दा पनि सेवाका रूपमा अंगीकार गर्न सकियो भने समय र परिवेशलाई बुझेर जनस्तरका अवस्था बदल्न समय लाग्दैन। जब नेतृत्वले जनभावनाको कदरभन्दा पनि आफू केन्द्रित निर्णयहरूमा अभ्यस्त हुन्छ भने त्यो पार्टी जनमैत्री नबन्ने पक्का छ। अहिले नव नेतृत्वको जिम्मेवारीमा पुगेका गगनले विशेष महाधिवेशनको ५४ प्रतिशतको भरोसालाई टिकाइ राख्न र बिच्किएको संस्थापन पक्षलाई साथमा लिन धेरै मेहनत गर्नुपर्ने देखिन्छ। एकातिर राजनीति नै तरलतामा बगिरहेको छ, लोकरिझ्याइमा दौडिएको छ। त्यो अपेक्षा मात्रै हुन्छ व्यवहारमा देखिन्न। यहाँ राजनीति बुझेकाले गर्नेभन्दा पनि सेलिब्रेटीहरूले राजनीति गर्ने होड मच्चिएको अवस्थामा जनताको गतिलो भरोसा गगनहरू बन्ने प्रबल सम्भावना छ। त्यसलाई बुझेर कृपावाद नातावादलाई निष्क्रिय बनाउँदै आमजनस्तरका मुद्दामा केन्द्रित बन्दै पार्टीलाई जीवन्त बनाउन आवश्यक देखिन्छ।
नवनिर्वाचित सभापति गगनकुमार थापा जनताले गरेको अपेक्षालाई टिकाउन चुके भने कांग्रेस कहिल्यै नउठ्नेगरी पल्टिने पक्का छ। कांग्रेस पल्टियो भने मुलुकको लोकतन्त्र नै धरापमा पर्ने सम्भावना त्यत्तिकै छ। त्यसैले मुलुकले खोजेको जनताले रोजेको आम भरोसाका लागि नेपाली कांग्रेसलाई बलियो, भरोसायुक्त, देश बदल्ने, जनताको अवस्था बदल्ने पार्टी बनाउनुपर्छ। हल्लाको लोकरिझ्याइका हुर्रिइरहेको राजनीतिलाई लोकतान्त्रिक ट्र्याकमा ल्याउन्, जेनजीको भावनालाई नजिकबाट बुझ्ने, मुलुकमा मौलाइरहेको भ्रष्टाचारलाई शून्यतामा लाने जिम्मा गगनकुमार थापाको काँधमा आएको हुनाले अबका दिनमा बलियो मनोभावनासाथ सबैलाई मिलाएर अगाडि बढाउन र लोकतन्त्रलाई अझै बलियो बनाउनतर्फ लाग्न आवश्यक छ।
नेपाली राजनीतिमा कांग्रेसले लिएको मार्गमा आम मानिसको चासो हुने भएको हुँदा रवि–बालेनबाट हरेस खाएका, रवि–बालेनप्रतिको भरोसामा विश्वास नगर्नेहरूको विकल्प गगन नै हुन् भन्ने आधार अब कांग्रेसले तयार गर्न सकेन आम शुभचिन्तकको अपमान हुने पक्का छ।
प्रकाशित: ६ माघ २०८२ १०:०९ मंगलबार