विचार

जताततै प्रजनन दर किन घट्यो?

पछिल्लो आधा शताब्दी र त्यसको हाराहारीमा विश्वका झन्डै सबै देशमा जन्मदर घटेको छ। यो प्रक्रियाले यसका लागि कुनै साझा कारण जिम्मेवार रहेको संकेत गर्छ । महिलाहरूले बढी स्वतन्त्रता र निर्णयक्षमता प्राप्त गर्दै जाँदा उनीहरूले आफ्नो स्वतन्त्रताको प्रतिफल उपभोग गर्न चाहेका छन्। यसैगरी उनीहरूलाई पुरुष अथवा सम्बन्धित सरकारहरूले दिन सक्ने विश्वसनीय प्रतिबद्धतामा पनि असन्तुलन देखिएको छ।

पछिल्ला वर्षहरूमा अमेरिकासहित युरोप र एसियाका केही देशहरूमा घट्दो प्रजनन दरको विषयमा धेरै चर्चा हुने गरे तापनि यो प्रवृत्ति वास्तवमा विगत आधा शताब्दीमा विश्वव्यापी नै छ। संसारका झन्डै सबै देशले जन्मदरमा उल्लेखनीय गिरावट अनुभव गरेका छन्।

सन् २०२२ सम्म संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये आधाभन्दा बढी राष्ट्रमा कुल प्रजनन दर (प्रति महिला औसत सन्तान संख्या) को प्रतिस्थापन दर २.१ भन्दा तल झरिसकेको छ। विकसित देशहरूमा दशकौंअघि सुरु भएको यो गिरावट अहिले आएर अन्य कैयौं देशमा फैलिएको छ। आधुनिक युगको एउटा ठुलो जनसांख्यिकीय आश्चर्य भनेको प्रतिव्यक्ति आय र प्रजनन दरबिच देखिएको नकारात्मक सम्बन्ध हो।

सन् १९६० को दशकदेखि अर्थशास्त्रीहरूले यस सम्बन्धबारे अध्ययन गर्दै आएका छन्। कसैले कम आय भएका परिवार र तत्सम्बन्धित देशहरूमा गर्भनिरोधक ज्ञान तथा प्रविधिको अभावलाई कारण माने भने कसैले आय बढेसँगै सन्तानको पूर्ण लागत बढ्ने तर्क गरे। हुन पनि उत्तम स्वास्थ्य, शिक्षा र तालिमका आर्थिक मूल्य अधिक हुन्छ तर यीमध्ये धेरै व्याख्याहरू अपूरा वा गलत साबित भएका छन्।

उदाहरणका लागि आधुनिक गर्भनिरोधकको प्रयोग फैलिँदै जाँदा पनि उच्च आय भएका परिवारहरूमा सन्तान संख्या घटिरह्यो, जसले अर्को कुनै कारक जिम्मेवार रहेको संकेत गर्छ। प्रभावकारी गर्भनिरोधक वा कानुनी गर्भपतन उपलब्ध गराउनु मात्र जन्मदर घटाउन पर्याप्त वा सधैं आवश्यक हुँदैन, अमेरिकामा १९औं शताब्दीमै जन्मदरमा आएको ठुलो गिरावट यसैको प्रमाण हो। दीर्घकालीन र ठुलो गिरावटका लागि सन्तान जन्माउने उमेरका व्यक्तिहरूले आफैं कम सन्तान चाहने निर्णय गर्नुपर्छ र जन्मदर बढाउन दम्पतीले बढी सन्तान चाहनु आवश्यक छ, साथै महिलाले आफ्ना सन्तानको हेरचाह सुनिश्चित हुने भरोसा पाउनुपर्छ।

मेरो आफ्नै अनुसन्धानले देखाउँछ कि प्रजनन दर घट्नुको मुख्य कारण महिलाको बढ्दो एजेन्सी हो। उनीहरूले आफ्नो शिक्षा र पेसाबाट आर्थिक तथा व्यक्तिगत प्रतिफल पाउन सकिन्छ कि सकिँदैन र आफ्ना सन्तानका लागि पर्याप्त स्रोत उपलब्ध हुन्छ कि हुँदैन भन्ने अनिश्चिततासँग जुध्नुपर्छ। वास्तविक समस्या महिलाको आवश्यकताहरू र पुरुषहरू (र सरकारहरू) ले दिन सक्ने विश्वसनीय प्रतिबद्धताबिचको असन्तुलन हुन सक्छ।

कुनै महिलाले उच्च शिक्षा लिन र करियर बनाउन सक्छिन् भने सन्तान जन्माउने निर्णयमा एउटा मुख्य प्रश्न हुन्छ– के सन्तानका पिता घरायसी काम र हेरचाहको जिम्मेवारी बाँड्न तयार छन्? यस्ता आश्वासन नपाए (वा सरकारबाट बालहेरचाह सुविधा तथा आर्थिक सहयोग नपाए) उनी सन्तान जन्माउन ढिलाइ गर्न वा टार्न सक्छिन्। त्यसैले पुरुषहरूले आफू भरपर्दो पिता हुने विश्वसनीय संकेत दिन सके जन्मदर उच्च रहन सक्छ। तर पुरुष र महिलाको प्राथमिकताबिच ठुलो अन्तर भएको अवस्थामा प्रजनन दर तीव्र रूपमा घट्न सक्छ।

अमेरिकादेखि द्वितीय विश्वयुद्धपछि तीव्र विकास गरेका अन्य देशहरूमा हेर्दा पनि कम जन्मदरको प्रमुख कारक महिलाको बढ्दो एजेन्सी र पुरुषहरूमा पर्याप्त परिवर्तन नहुनु देखिन्छ तर सबै देशको कथा समान छैन।

अमेरिकामा जन्मदर धेरै अघि घट्न थाल्यो किनभने महिलाहरूले ढिलो विवाह गर्ने, उच्च शिक्षा लिने र विवाहअघि बढी कामको अनुभव हासिल गर्ने अवसर पाए। कलेज शिक्षित कामदारको सापेक्ष आय बढेसँगै महिलाका विकल्पहरू अझ मूल्यवान् बने तर भरपर्दो पुरुषहरूको अनुपात त्यही स्तरमा नबढेको हुन सक्छ, जसले शिक्षित महिलाका लागि सन्तानको लागत बढायो।

केही देशमा कथा आर्थिक वृद्धिको गति र त्यसले सिर्जना गर्ने पुस्तागत तथा लैंगिक द्वन्द्वसँग जोडिन्छ। मेरो मोडलिङले देखाउँछ कि प्रतिव्यक्ति आर्थिक वृद्धि जति छिटो हुन्छ, पुरुष र महिलाले चाहने सन्तान संख्याबिचको अन्तर त्यति बढ्छ। त्यसैले सन् १९५०–७० को दशकमा तीव्र आर्थिक उछाल अनुभव गरेका देशहरूमा प्रजनन दरमा ठुलो गिरावट आयो, जबकि स्थिर र निरन्तर वृद्धि भएका देशहरूमा गिरावट अपेक्षाकृत कम रह्यो।

कारण के रह्यो भने तीव्र विकासले परम्परालाई आर्थिक यथार्थसँग तादात्म्य राख्ने समय दिँदैन। पुरुषहरू प्रायः आफ्ना बुबा–हजुरबुबाको परम्परासँग बढी जोडिएका हुन्छन्, जबकि महिलाले ती परम्परा तोडेर बढी लाभ लिन सक्छन् तर पुरुष स्वभावतः बढी परम्परावादी हुने कारणले यो भएको होइन, बरु पितृसत्तात्मक परम्पराबाट पुरुषले बढी फाइदा लिन्छन्, जबकि लैंगिक समानताबाट महिलाले बढी लाभ पाउँछन्। विशेषतः ग्रामीण क्षेत्रबाट सहरतर्फ ठुलो बसाइँसराइ भइरहेका तीव्र विकासका अवधिमा छोराहरूले अतीतसँग जोडिएर फाइदा लिन सक्छन् तर छोरीहरूले विद्यमान अवसर शिक्षा र रोजगारीबाट बढी लाभ लिन सक्छन्।

वास्तवमा छोराहरूले के लाभ पाउँछन् भन्ने कुरा घरभित्रको कामको विभाजनबाटै स्पष्ट हुन्छ। तीव्र रूपमा आधुनिकीकरण भएका हालका विकसित देशहरूमा पुरुषहरूले महिलाको तुलनामा घरायसी काम र हेरचाहको जिम्मेवारी निकै कम वहन गर्छन्, जबकि निरन्तर र क्रमिक आर्थिक वृद्धि भएका देशहरूमा पुरुषहरूले तुलनात्मक रूपमा बढी घरायसी तथा हेरचाहको काम गर्छन्।

समग्रमा विविध देश र समाजमा प्रजनन दर घट्नुले साझा कारक सक्रिय रहेको देखाउँछ। महिलाहरूले आफूले चाहेको व्यक्तिसँग आफूले चाहेको समयमा विवाह गर्ने, शिक्षा र भविष्यमा लगानी गर्ने तथा सुरक्षित प्रजनन स्वतन्त्रता प्राप्त गर्ने क्षमतामा वृद्धि भएसँगै फरक चाहना राख्ने देखिएको छ। तर सामाजिक र व्यक्तिगत सम्बन्धमा असन्तुलन, प्रतिबद्धताको समस्या र बाध्यकारी सम्झौता गर्न नसक्नु जस्ता कारणले जन्मदर अपेक्षाभन्दा तल झरेको हो।

त्यसो भए अब के गर्ने त? अमेरिकामा केही सरकारी अधिकारी र निजी क्षेत्रका नेताहरूको भनाइ तथा सर्वेक्षणले लैंगिक समानताको दिशामा सामाजिक मान्यता धेरै टाढा गएको दाबी गर्छन् तर यस्तो परिवर्तन उल्ट्याउँदा असन्तुलन झन् बढ्न सक्छ र जन्मदर अझ घट्न सक्छ।

सम्भावित आमाहरूलाई पर्याप्त सहयोगको सुनिश्चितता छैन भने महिलाको बढी स्वतन्त्रताले जन्मदर घटाउनेछ। तर पर्याप्त समर्थनको ग्यारेन्टी गरिएमा यही स्वतन्त्रताले उच्च जन्मदर, श्रम बजारमा महिलाको बढी उत्पादकता र अझ समान तथा सुखी परिवार जन्माउन सक्छ।

- गोल्डिन हार्वर्ड विश्वविद्यालयमा अर्थशास्त्रकी प्राध्यापक साथै सन् २०२३ की अर्थशास्त्रको नोबेल पुरस्कार विजेता हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २१ फाल्गुन २०८२ १०:१३ बिहीबार