विचार

मूर्खहरू युद्धमा जाँदा

युक्रेन र इरानका युद्धहरूबिच समानता भेट्टाउन कठिन भए पनि डोनाल्ड ट्रम्पले अप्रिल फुल्स डे (अप्रिल १) मा दिएको भाषणले ती समानतालाई अझ स्पष्ट बनाएको छ।

निश्चय नै युक्रेन एउटा (पूर्ण रूपमा नहोला) लोकतान्त्रिक देश हो र उसले युरोपसँग एकीकरणको प्रयास गरिरहेको छ। युक्रेन छिमेकीका लागि कुनै खतरा होइन। यसविपरीत इरान एक दमनकारी शासनद्वारा सञ्चालित छ, जसले आफ्ना नागरिकहरूलाई दबाएको छ, आतंकवादलाई बढावा दिएको छ र दशकौंदेखि मध्यपूर्वलाई अस्थिर बनाएको छ।

दुवै देश विश्व राजनीतिमा विपरीत ध्रुवमा छन्। इरानले रुसलाई ड्रोन प्रविधि दिएको छ र चीनलाई प्रतिबन्धित तेल बेचेर आम्दानी गरिरहेको छ। युक्रेन भने अमेरिका, युरोप र अन्य लोकतान्त्रिक देशहरूबाट सहयोग प्राप्त गरिरहेको छ।

यी नैतिक र रणनीतिक पक्षभन्दा बाहिर हेर्दा यी दुईबिच चाखलाग्दा समानता देखिन्छन्। मुख्य कुरा युद्ध सुरु गर्ने नेताहरूको स्वभाव हो। ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले सुरुमै युद्धको परिणाम गलत रूपमा आकलन गरे र अहिले आफूले सिर्जना गरेको समस्याबाट सम्मानजनक रूपमा बाहिर निस्कने उपाय खोजिरहेका छन्।

यसैले ट्रम्पले हालै सार्वजनिक गरेको १५ बुँदे ‘शान्ति योजना’ रुसले युक्रेनका लागि अघि सारेको २८ बुँदे योजनाजस्तै देखिन्छ। यी योजनाहरूलाई शब्दश: होइन, सांकेतिक रूपमा बुझ्नुपर्छ। अप्रिल १ को ट्रम्पको भाषण र यी दुई दस्ताबेज युद्धबाट बाहिर निस्कने सम्मानजनक प्रयास हुन्।

दुवै प्रस्ताव तुरुन्तै अस्वीकार गरिए। इरान आफ्नो परमाणु कार्यक्रम त्याग्न तयार छैन र हर्मुज जलडमरुमार्फत अमेरिकामाथि दबाब दिन चाहन्छ। युक्रेन पनि आफ्नो भूमि रुसलाई सुम्पन तयार छैन। दुवै देश भारी आक्रमण सहँदै गर्दा पनि झुक्न इच्छुक छैनन्।

यद्यपि युक्रेन र इरानका युद्धबिच नैतिक समानता छैन तर युद्ध सञ्चालनको तरिकामा भने समानता छ। दुवै युद्ध अत्यन्तै आशावादी अनुमानका आधारमा सुरु गरिएका थिए। पुटिनले केही दिनमै किभ कब्जा गर्ने सोचेका थिए भने ट्रम्पले पनि इरानमा छिट्टै शासन परिवर्तन हुने विश्वास गरेका थिए।

ट्रम्पले ‘अपरेसन इपिक फुरी’ले इरानमा तुरुन्तै शासन परिवर्तन गर्ने अनुमान गरेका थिए। उनले सोचेका थिए कि शीर्ष नेतृत्वको हत्या गरेर आयतोल्लाहरू र इरानी ‘रिभोलुसनरी गार्ड कोप्र्स’लाई सजिलै झुकाउन सकिन्छ। उनले भेनेजुएलामा जस्तै कुनै कठपुतली सरकार स्थापना गरेर अमेरिकाको इच्छाअनुसार काम गराउन सकिने विश्वास पनि राखेका थिए। तर यी दुवै योजनाहरू कति अवास्तविक थिए भन्ने कुरा चाँडै स्पष्ट भयो। युक्रेन स्वतन्त्र रहन दृढ थियो र सन् २०१४ मा क्रिमिया गुमाउँदा भन्दा अहिले धेरै राम्रो तयारीमा र सुसज्जित थियो। त्यस्तै, इरानको जटिल, युद्ध-अनुभवी र कट्टर शक्ति संरचना भेनेजुएलाको सत्तारूढ समूहजस्तो व्यवहार गर्ने कुनै सम्भावना थिएन।

यी दुवै आकलन चाँडै असफल साबित भए। युक्रेन स्वतन्त्र रहन दृढ थियो र यसका लागि ऊ पहिलेभन्दा धेरै तयार थियो। इरान पनि जटिल र शक्तिशाली संरचनासहितको देश भएकाले सजिलै झुक्न तयार थिएन।

मुख्य प्रश्न योजना सफल हुन्छ कि हुँदैन भन्ने होइन, किन यस्तो गलत निर्णय गरियो भन्ने हो। किन ट्रम्प र पुटिनले साना देशहरूले असममित युद्ध गर्ने सम्भावना बुझेनन् ? आफ्नो अस्तित्वको रक्षा गर्न कुनै पनि देशले सबै उपाय अपनाउने कुराको हेक्का हुनुपर्ने थियो।

आक्रमणमा परेका दुवै देशले के गर्ने भन्ने राम्रोसँग जानेका थिए। इरानले रुसलाई ड्रोन दिएको थियो र युक्रेनले ती प्रविधि प्रयोग गरेर रुसलाई ठुलो क्षति पुर्‍याएको देखेको थियो। त्यसै आधारमा इरानले पनि विश्व अर्थतन्त्रलाई दबाबमा पार्ने रणनीति अपनायो।

ट्रम्प भने यसबाट अचम्मित देखिए। उनले सैन्य सल्लाहको बेवास्ता गरे। इरानसँग अमेरिकाभन्दा सस्ता र धेरै ड्रोन थिए, जसले युद्धको समीकरण बदलिदियो।

यस्तै गल्ती पुटिनले पनि गरे, जब उनले किभतर्फ जाँदै गरेको लामो सैन्य लस्करलाई सजिलै रोक्न सकिने कुरा अनुमान गर्न सकेनन्। यी गलत निर्णयहरू अझ गहिरो समस्याका संकेत हुन्। कुनै एक व्यक्तिले मात्र देशलाई विनाशतर्फ लैजान सक्दैन, जबसम्म त्यस देशका संस्थाहरू कमजोर हुँदैनन्। ट्रम्प र पुटिन दुवैले आफ्ना वरिपरि ‘हो-हो’ भनिरहने मानिसहरू मात्र राखेका थिए, जसले वास्तविक जोखिमबारे चेतावनी दिएनन्।

रुसमा यस्तो हुनु अपेक्षित मान्न सकिन्छ तर अमेरिकाजस्तो देशमा पनि राष्ट्रपति सैन्य सल्लाह बेवास्ता गरी संसद् वा जनतालाई नसम्झाई युद्ध सुरु गर्न सक्छ भने त्यो संस्थागत कमजोरीको संकेत हो।

पुटिन र ट्रम्प फरक व्यक्ति हुन् तर उनीहरूमा केही समान गुण छन्- सहानुभूतिको अभाव, झुट बोल्ने प्रवृत्ति, सही-गलतप्रति उदासीनता र आलोचनाप्रति प्रतिशोधी व्यवहार। इरानसँगको युद्धले विश्वव्यापी आर्थिक मन्दी ल्यायो भने त्यसको मूल कारण अमेरिका हुनेछ।
-फुबिनी ‘डेला सेरा’का वरिष्ठ सम्पादक हुन्। 
(प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २४ चैत्र २०८२ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %