अमेरिकी प्रभुत्वमा रहेको उदार अन्तर्राष्ट्रिय व्यवस्थाले प्रशंसा पाइरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई आफैंले नयाँ अवसर र वरदान दिएको कतिपय विश्लेषक ठान्छन्। ट्रम्पले ‘अप्रत्याशितता’लाई महत्त्व दिँदा चीनलाई विश्वव्यापी स्थयित्वको शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य जिनपिङको छ। यसरी, चीन एक बढ्दो राष्ट्रवादी र अन्य विश्वबाट अलग हुँदा सिर्जना भएको रिक्तता भर्न अगाडि बढेको व्यापक धारणा छ।
चिनियाँ नेतृत्वलाई अमेरिकी जुत्तामा खुट्टा राख्न कुनै रुचि देखिँदैन। त्यसो गर्ने प्रयास गरेमा चीनलाई निकै महँगो पर्न सक्छ। चीनले आन्तरिक रूपमा बृहत्तर आर्थिक पुनरसन्तुलनलाई महत्त्व दिइरहेको छ। अमेरिकी हस्तक्षेपवाद र पछिल्लो समयमा ट्रम्पको आक्रामक नीतिबाट विश्व थाकेको हुन सक्छ तर यसको अर्थ होइन कि विश्व एक संयमी महाशक्ति चीनलाई स्वागत गर्न तयार छ। आफ्नो नजिकका छिमेकीबाहेक टाढाका संकटमा संलग्न हुनबाट चीन सावधानीपूर्वक जोगिएको छ। उसले विकास, सुरक्षा र सभ्यताको नाममा विश्वव्यापी पहलको प्रस्ताव गरेको छ।
सबै देशलाई समान रूपमा हेरिने बहुध्रुवीयताको दृष्टिकोणलाई आत्मसाथ गर्नुपर्ने स्पष्ट धारणा उसले राखेको छ। चीनका यी लक्ष्य प्राप्त गर्ने प्रयास आर्थिक कूटनीतिभन्दा बाहिर गएका छैनन्। विदेशी टिप्पणीकारहरूले चीनको विश्व दृष्टिकोण के छ भनेर बहस गरिरहँदा चिनियाँ अधिकारी र बुद्धिजीवीहरू ट्रम्पले सिर्जना गरेको आँधीलाई कसरी सामना गर्ने भन्नेमा बढी चिन्तित देखिन्छन्।
चीनको मूल स्वार्थ
स्वतन्त्र टिप्पणीकार र चिनियाँ नेताले चीनका मुख्य राष्ट्रिय हित के हुन् भन्नेमा लामो समयदेखि विमर्श गरिरहेका छन्। बाहिरबाट हेर्दा यसको उत्तर प्रस्ट देखिन्छ–विश्व अगुवाका रूपमा अमेरिकालाई प्रतिस्थापन गर्नु। त्यो भूमिकाका पछाडि लाग्दै गर्दा आफ्ना अन्य महत्त्वपूर्ण चासो ओझेलमा पर्न सक्छन् भन्ने चीनको ठम्याइ छ। देशभित्रै शासनको वैधता र सुरक्षा कायम राख्ने, जीवनस्तर सुधारलाई निरन्तर वृद्धि गर्ने र ताइवान चीनसँग मिलाउने जस्ता विषय चीनका लागि पेचिला छन्। यी लक्ष्य प्राप्त गर्न अमेरिकासँग द्वन्द्वमा संलग्न हुनुको सट्टा शीत–शान्ति कायम राखेर अगाडि बढ्न सकिन्छ भन्ने कतिपय चिनियाँको बुझाइ छ।
अमेरिकी अनुभवका आधारमा चीनलाई थाहा भएको विषय हो– विश्व महाशक्ति बन्दा ऊ क्षेत्रीय द्वन्द्वहरूमा अनिवार्य रूपमा तानिनेछ। चीन यसबाट बच्न चाहन्छ। चीनलाई यो पनि ज्ञान छ कि अमेरिका र यसका सहयोगीले ल्याएको तुलनात्मक स्थिर विश्व अर्थतन्त्रबाट उसले ठुलो फाइदा उठाएको छ।
चीनलाई आफ्ना ठुला चुनौती समाधान गर्न ठुलो मात्रामा स्थानीय स्रोत र जनशक्ति आवश्यक छ। सम्पत्ति, विकास र निर्यातबाट सञ्चालित अर्थतन्त्रमा धेरै भर नपर्ने गरी अगाडि बढ्ने चिनियाँ नेताको चाहना छ। तर, व्यापारिक साझेदारसँग सम्बन्ध टुटेको अवस्थामा पनि कसरी अर्थतन्त्रलाई सुरक्षित राख्न सकिन्छ भन्ने तयारीमा चीन जुटेको छ।
अमेरिकाले चीनमाथि लगाएको शुल्कले चेतावनीका रूपमा काम गरेको छ। व्यापार युद्धमा जे भए पनि चीनको ठुलो घरेलु मागलाई प्रोत्साहित गरेर आफ्नो अर्थतन्त्रलाई सन्तुलनमा राख्न आवश्यक छ।
चिनियाँ नेताहरूले लामो समयदेखि यसप्रकारको सन्तुलनको आवश्यकतालाई स्वीकार गरे पनि उनीहरूले आवश्यक नीति लागु गर्न ढिलो गरेका छन्। उनीहरूले जीवनस्तरभन्दा औद्योगिक उत्पादनलाई र उपभोक्ता खर्चभन्दा पुँजी लगानीलाई प्राथमिकता दिइरहेका छन्। तर आफ्नो सबैभन्दा ठुलो निर्यात बजार गुम्न सक्ने सम्भावनाका कारण यो प्राथमिकतालाई समीक्षा गर्नुपर्ने देखिएको छ। यस दिशामा चीनले ढिलाइ गर्नुहुँदैन, कुनै बहाना गर्नु हुँदैन।
प्राविधिक रूपमा लचिलो आपूर्ति शृङ्खला निर्माण गर्ने र अमेरिकी ‘चोकपोइन्ट’हरूलाई बेवास्ता गर्नेतर्फ चीनको रुचि देखिन्छ। चीनले राष्ट्रिय स्रोतको महत्त्वपूर्ण अंश घरेलु आविष्कारलाई बढावा दिन पुनः निर्देशित गरेको छ। विगत दशकमा चीन–अमेरिकी प्रतिस्पर्धा तीव्र हुँदै जाँदा चिनियाँ नेताले घरेलु आविष्कारलाई रणनीतिक आवश्यकताका रूपमा हेर्न थालेका छन्।
कतिपय अवसरहरूमा राष्ट्रपति सीले सार्वजनिक रूपमा चीन उन्नत सेमिकन्डक्टर र विमान इन्जिन जस्ता महत्त्वपूर्ण वस्तुको माग पूरा गर्न अन्य देशको दयामा बस्नु हुँदैन भन्दै आएका छन्। चीनले पछिल्ला वर्षमा वैज्ञानिक र प्राविधिक कार्यमा महत्त्वपूर्ण प्रगति हासिल गरे तापनि उसले आफ्नो मौलिक आविष्कार क्षमतालाई झन् सुदृढ पार्न आवश्यक छ, विशेषगरी चीनको खासखास प्रविधिगत आपूर्तिमा अरूको नियन्त्रण छ।
चीन उदीयमान प्रविधिसँगै विश्वव्यापी सुशासन अजेन्डाको अवसरलाई कब्जा गर्न उत्सुक देखिन्छ। एआईमा क्षेत्रमा हालैका सफलताबाट चीन हौसिएको छ। विशेषगरी चिनियाँ कम्पनी डिपसिकले शीर्ष अमेरिकी विकासकर्ता मोडेलहरूसँग कम लागतमै प्रतिस्पर्धा गर्न सक्नुले चीनलाई मजबुत प्रेरणा दिएको छ। सबैको आर्थिक भविष्य निर्धारण गर्ने प्रविधिमा मुठीभर धनी देशको एकाधिकार हुनुहुँदैन भन्ने चीनको भनाइ छ। यो विश्वका धेरै मानिसको चाहनासँग मेल खान्छ।
छिमेकी निगरानी
चिनियाँ रणनीतिकारले लामो समयदेखि विदेश नीतिको उद्देश्य घरेलु आर्थिक विकासका लागि अनुकूल बाह्य वातावरण सिर्जना गर्नुलाई मान्दै आएका छन्। यो धारणा देङ सियापिङको समयदेखि चलिआएको हो। अहिलेको अशान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरणमा अगाडि बढ्न वर्तमान चिनियाँ नेतृत्व अगाडि बढेको छ।
फेरि विश्वव्यापी नेतृत्वमा आएको अचानकको रिक्ततालाई भर्ने काम र यो उद्देश्यबिच मेल खाँदैन। उदाहरणका लागि अमेरिकाले चर्काे शुल्क लगाउने घोषणा गरेसँगै चीनले शक्तिशाली पोलिटब्युरो सदस्य र विदेशमा रहेका चिनियाँ राजदूतलाई बोलाएर एक अनौपचारिक बैठक गर्यो। बैठकमा सहभागीले चीनले आफ्नो रणनीतिक चाहनालाई विश्वव्यापी नबनाई आफ्नै क्षेत्रमा केन्द्रित रहन सुझाव दिएका थिए।
चीनको सबैभन्दा महत्त्वपूर्ण क्षेत्रीय साझेदार रुस हो। चीन क्रेमलिनसँग बलियो सम्बन्ध कायम राख्न पूर्ण प्रतिबद्ध देखिन्छ। दुई देशको ४,२०९ किलोमिटर (२,६१६ माइल) लामो सीमाले चीनलाई क्रेमलिनसँग मिलेर काम गर्न पर्याप्त आधार दिन्छ। चीनको ध्यान अमेरिकासँग रहेको प्रतिस्पर्धामा छ, रुससँग होइन। राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सामीप्यले चीनलाई नियन्त्रण गर्ने अमेरिकी चाहनालाई रोक्न सकिने चिनियाँ धारणा छ।
चीनले भारतसँग रहेको तनावलाई कम गरिरहेको छ। चीनको ठुलो आणविक–सशस्त्रयुक्त छिमेकी भारत हो। आफूहरूबिच रहेको संरचनात्मक र ऐतिहासिक तनाव तथा पारस्परिक अविश्वास सजिलै हट्नेछैन भन्ने दुवै देशलाई थाहा छ। दुई देशबिचको स्थिर सम्बन्धले फाइदा हुनेछ भन्ने पनि दुवै देशको बुझाइ छ। विशेषगरी नयाँ बहुध्रुवीय व्यवस्थाको सन्दर्भमा यो झन् लाभदायक हुने दुवै देशको ठम्याइ छ।
व्यवस्थित बहुध्रुवीयता
आफ्ना निकटका छिमेकीसँगको सम्बन्ध व्यवस्थापन गर्नुका साथै चीनले बहुपक्षीय संस्थाहरूमा सुधारका लागि ‘ग्लोबल साउथ’लाई परिचालन गर्ने प्रयास गरेको छ। जतिबेला चिनियाँ नेता र कूटनीतिज्ञहरू ‘व्यवस्थित बहुध्रुवीयता’को कुरा उठाउँछन्, त्यतिबेला उनीहरू गैरपश्चिमी विश्वको प्रभावसहितको एक अन्तर्राष्ट्रिय व्यवस्थाको कल्पना गरिरहेका हुन्छन्। हालैको ब्रिक्स समूहको विस्तारका लागि पैरवी गर्नु र पश्चिमी–प्रभुत्व भएका अन्तर्राष्ट्रिय वित्तीय संस्थामा मतदान गर्ने विद्यमान व्यवस्थालाई समीक्षा गर्नुपर्ने चिनियाँ माग यसको उदाहरण हो।
चीनले संयुक्त राष्ट्र संघसम्बद्ध संस्थामा पनि आफ्ना अजेन्डालाई आकार दिने प्रयास गरेको छ। ऐतिहासिक रूपमा कम प्रभाव रहेका संयुक्त राष्ट्र संघीय व्यापार र विकास तथा साउथ सेन्टरमा अमेरिकाको भूमिका उल्लेख्य छ। फेरि, चीनको लक्ष्य अमेरिकी नेतृत्वको उदार अन्तर्राष्ट्रिय व्यवस्थालाई पूर्ण रूपमा पल्टाउनु नभई व्यावहारिक रूपमा आफ्नै राष्ट्रिय हितलाई अगाडि बढाउनु हो।
यस सन्दर्भमा विकासोन्मुख विश्वमा अमेरिकी प्रभावलाई सूक्ष्म रूपमा प्रतिकार गर्ने विदेश नीतिप्रति चीनको रुचि देखिन्छ। त्यही उद्देश्यका लागि चीनले लोकतन्त्र, मानवअधिकार र जवाफदेहितामा खास रुचि नराखी ठुलो मात्रामा पूर्वाधार निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ।
सुरक्षा ग्यारेन्टी दिनुको साटो चीनले सडक र पुलहरू निर्माण गरिरहेको छ। उसले महत्त्वपूर्ण कच्चा पदार्थमा पहुँच सुरक्षित गर्न पनि चाहेको छ। यसले आफ्नो सरकारी स्वामित्वका उद्यम र निजी कम्पनीका लागि नयाँ बजारहरू खोल्न सक्ने चीनको ठम्याइ छ। अमेरिका र युरोपले आफ्ना ढोकाहरू बन्द गरिरहेका बेला चीनले यसो गरिरहेको छ।
विकासोन्मुख देशहरूमा व्यापक आर्थिक कूटनीति अनुशरण गर्न चीन इच्छुक भए पनि चीन विश्वका अन्य भागमा रहेका जटिल सुरक्षा मामिलामा संलग्न हुन हिचकिचाउँछ। विश्व मामिलामा अभैm पनि अमेरिका केन्द्रीय खेलाडीकै रूपमा देखिन्छ।
चीनले इरान र साउदी अरेबियाबिच मेलमिलाप गराउन प्रयास गर्यो। चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभले आतंकवाद–विरोध, साइबर सुरक्षा, जैविक सुरक्षा र उदीयमान प्रविधिजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग बढाउने लक्ष्य राखेको छ। तर, रुस–युक्रेन र इजरायल–हमास युद्धको विषयमा कुनै प्रत्यक्ष भूमिकामा चीन देखिएन।
रुस–युक्रेन युद्धमा चीनको स्वघोषित तटस्थता विवादरहित छैन। युक्रेनी र युरोपेली संघका अधिकारीका अनुसार रुसमाथि लगाएका प्रतिबन्ध छल्न चीनले सहयोग गरेको छ र सैन्य प्रविधिसमेत प्रदान गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गाजामा युद्ध जारी राख्ने अजेन्डालाई अमेरिकाले समर्थन गरेकोमा चीनले आलोचना गरेको छ।
विदेशी द्वन्द्व समाधानका लागि शान्ति वार्ता गराउने विषयमा चिनियाँ अनिच्छाले कतिपय देशलाई निराश पार्न सक्छ। मध्यपूर्व, अफ्रिका वा युक्रेनसँग सम्बन्धित जटिल वार्तामा आफू नफसीकनै आफ्नो हितलाई अगाडि बढाउन सकिन्छ भन्ने चीनको ठम्याइ छ। चीनको तुलनात्मक लाभको क्षेत्र व्यापार हो। उसको रणनीतिक योजना अमेरिका–केन्द्रित सुरक्षा व्यवस्थालाई चुनौती दिने होइन।
आगामी दिनमा आंशिक वा सीमित विश्वव्यापी नेतृत्वको खोजीमा चीनले तीन ठुला चुनौतीको सामना गर्नुपर्नेछ। पहिलो, अन्तर्राष्ट्रिय मामिलाबाट अमेरिका टाढा जाँदै गर्दा चीनले विश्वका कैयन् भागमा आफ्नो व्यावसायिक संलग्नता कायम राखिराख्न संघर्ष गर्नुपर्ने हुन सक्छ। चीनसँग व्यापार गर्नेहरूमाथि अमेरिका कडा शुल्क लगाउन चाहन्छ।
दोस्रो, चीन विश्वका खतरनाक सुरक्षा मामिलाबाट सधैं टाढा रहन सक्दैन। ढिलो चाँडो चीनले विश्वव्यापी विदेशनीति विकास गर्नुपर्ने हुन्छ। आफ्नै ग्लोबल सेक्युरिटी इनिसिएटिभलाई व्यवहारमा ल्याउन र अजेन्डा तय गर्न पनि यो आवश्यक छ। चीनले अन्तर्राष्ट्रिय नेतृत्वका लागि गर्ने प्रयासलाई अरू राष्ट्रले कसरी प्रतिक्रिया दिन्छन् भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ। विश्व मामिलाबाट अमेरिका पछि हट्न सक्छ तर चीनले आफ्नो प्रभाव बढाउन गर्ने प्रयासलाई अमेरिकाले चुपचाप हेरिरहन्छ भन्न सकिन्न।
तेस्रो, चीनले अझै पनि घरेलु आर्थिक सन्तुलन मिलाउन आवश्यक छ। यसको विश्वव्यापी प्रभाव पनि हुनेछ। निर्यात व्यापारका आधारमा विगतमा आर्थिक वृद्धिलाई अत्यधिक घरेलु उपभोगमा आधारित बनाउन अझै वर्षौं लाग्नेछ। विश्वव्यापी उत्पादन शक्तिका रूपमा रहने चीनको महत्त्वाकांक्षासँग यसले तादाम्यता राख्दैन।
युरोप र केही विकासोन्मुख देशका निर्माताहरू चिनियाँ इलेक्ट्रिक गाडी बिवाइडीसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका छन्। यी देशले अमेरिकी चर्काे शुल्कलाई घृणा गर्न सक्छन् तर चिनियाँ प्रतिस्पर्धाबाट पनि सतर्क छन्। चिनियाँ नेता परिस्थिति बुझेर अगाडि बढ्नुपर्ने देखिन्छ।
यसरी, आफ्नो अर्थतन्त्र बढ्दै गए पनि चीन ठुलो मात्रामा आत्मकेन्द्रित र अनिच्छुक महाशक्तिका रूपमा रहनेछ। आफ्नो घरेलु राजनीतिक अर्थतन्त्रका कारण चीनले थप संयमित विदेशनीतिको अवलम्बन गर्न आवश्यक छ। मुख्य रूपमा चीन आफ्ना निकट छिमेकी र ग्लोबल साउथमा रहेका व्यावसायिक अवसरमा केन्द्रित हुनुपर्ने देखिन्छ।
यसरी, विश्वले अमेरिकी शक्तिको पतन र बहुध्रुवीयतातर्फको परिवर्तनसँग संघर्ष गरिरहेको पृष्ठभूमिमा चीन विश्व अर्थतन्त्रमा गुरुत्वाकर्षणको केन्द्र बन्नेछ। राजनीतिक तथा सैन्य महाशक्ति र आर्थिक महाशक्तिबिचको प्रतिस्पर्धा सबैका लागि खतरनाक हुन्छ। यो परिप्रेक्ष्यमा भविष्यमा पछुताउनुपर्ने आर्थिक युद्धलाई रोक्न सावधानीपूर्वक पाइला चाल्नुपर्छ।
(प्रोजेक्ट सिन्डिकेटबाट)
- यु जिई एसिया–प्रशान्त कार्यक्रमका लागि चिनियाँ अनुसन्धानकर्ता हुन्।
प्रकाशित: १० श्रावण २०८२ ०५:५७ शनिबार