विचार

शोकको सामना विज्ञान

कसैले पनि नचाहने तर ब्यहोर्नैपर्ने भयानक क्षति हो शोक। आफन्तको मृत्यु, सम्पत्तिको विनास, सम्बन्धविच्छेदजस्ता भयानक प्रकृतिका घटनाले व्यक्ति असह्य पीडामा पर्छ । मानसिक रूपमा विक्षिप्त बन्छ। ढिलो–चाँडो सबैले ब्यहोर्नैपर्ने भीमकाय हानिको सामना गर्ने क्षमता भने प्रत्येक व्यक्तिमा फरक हुन्छ। समान प्रकृतिको क्षतिबाट कोही तुरुन्तै बाहिर निस्कन्छ भने कसैलाई सामान्य जीवनमा फर्कन महिनौं लाग्छ।

अमेरिकी साइकोलोजिकल एसोसिएसनका अनुसार शोकबाट बाहिरिन मानिसलाई ६ महिनादेखि दुई वर्ष लाग्न सक्छ। शोकको उचित व्यवस्थापन गर्न नसक्दा केही मानिस भने दिमागी सन्तुलन गुमाउँदै मरणको शरणमा पनि पुग्छन्।

साइकोलोजिकल मेडिसिन जर्नलमा प्रकाशित एक अध्ययनले शोकमा रहेका पति वा पत्नीको मृत्युको सम्भाव्यता कन्ट्रोल समूहको दाँजोमा ४० प्रतिशतले उकासिने देख्यो। पीडाका बखत शारीरिक बायोलोजीमा व्यापक उथलपुथल हुने भएकाले उक्त अवधिमा शोकसन्तप्त परिवारलाई थप हेरचाहको आवश्यकता पर्छ। शोकको मनोविज्ञान, बायोलोजीलगायत केकस्तो संहिताको पालनाले व्यक्ति अकल्पनीय दुःखको दलदलबाट छिटो निस्कन्छ भन्ने कुराको चिरफार यो आलेखको लक्ष्य रह्यो।

परिवारको सदस्यको मृत्यु हुँदा शरीरमा बेग्लै हर्मोन बन्ने होइन, बरु शारीरिक दुखाइमा उकासिने कोर्टिसोल, एड्रिनालिन तथा नोरिपोनेफरिनजस्ता रासायनिक तत्त्वहरू नै पैदा हुन्छन्। सामान्य पीडाका बखत पैदा भएका उल्लिखित केमिकलहरूको घनत्व केही समयपछि सामान्य बन्छ तर शोकका कारण उकासिएका रासायनिक तत्त्वहरू भने शरीरमा महिनौंसम्म कायम रहन्छन्। लामो समयसम्म हर्मोनहरूको उकासिँदो घनत्वले व्यक्तिमा अनिद्रा, कमजोर प्रतिरक्षा प्रणाली, मुटुरोगलगायत समस्याहरूलाई हौस्याउँछ।

‘शोकलाई स्मरण शक्ति मजबुतीकरण बनाउने प्रकृतिको अनुपम उपहार ठान्छिन्,’ युनिभर्सिटी अफ मेरिल्यान्डकी प्राध्यापक डा. लिसा सुलमेन भन्छिन्। स्मृति शक्ति सबल बन्नका लागि ब्रेनका कोष, न्युरोनहरू एकआपसमा गुजुल्टिएर जटिल संरचना निर्माणको आवश्यकता पर्छ।

उक्त न्युरोनको जालो निर्माण प्रक्रियालाई न्युरोप्लास्टिसिटी भनिन्छ। न्युरोनको जालो जति क्लिष्ट भयो, सम्झने तागत त्यही अनुपातमा सबल हुन्छ। समस्याविहीन दैनिक बिताएका समूहमा न्युरोनको संरचना सरल हुने भएकाले स्मरण शक्ति शिथिल हुन्छ भन्ने सुलमेनको दाबी रह्यो।

अल्पकालीन शोकको अनुभूति हुनु ब्रेन हेल्थका लागि लाभप्रद देखियो भने व्यक्ति लामो समयसम्म पारिवारिक मृत्युको दलदलबाट निस्कन सकेन भने व्यक्ति अन्य जटिलतामा फस्ने देखियो। आफन्तको मृत्युका कारण लामो शोकमा फसेको व्यक्ति पनि पूजाआजा, भजनकीर्तन, परामर्श, दैनिकी परिवर्तनलगायतका परिमार्जनपछि तुसविहीन रूपमा फेरि सामान्य दैनिकीमा फर्कन सक्ने देख्छिन् चिकित्सक सुलमेन।

आफन्तको अपत्यारिलो मरणको खबरले व्यक्तिको मस्तिष्क बिथोलिन्छ। दिमागले स्नायुप्रणालीका नसारूपी संयन्त्रमार्फत शरीरका अंगहरूमा खटन गर्छ। मस्तिष्कको सन्देश सही रूपमा पुर्‍याउन स्नायुप्रणालीका कारिन्दारूपी न्युरोट्रान्समिटरहरू क्रियाशील हुन्छन्। दिमागले न्युरोट्रान्समिटरको व्यवस्थापनमार्फत नै शरीरलाई चाहिने इन्जाइम्स तथा हर्मोनहरूको उत्पादन गर्छ। चाहिनेभन्दा कम र अधिक दुवै हानिकारक हुने भएकाले हर्मोनको मात्राले मानवीय स्वास्थ्यलाई निर्देशित गर्छ।

दिमागमा एक्कासी थकान आउँदा न्युरोट्रान्समिटरमा बेथिति सिर्जना हुन्छ। हर्मोनहरूको सन्तुलन बिग्रन्छ। परिणामस्वरूप व्यक्तिको मुटु, कलेजो, फोक्सो, मिर्गौलाजस्ता महत्त्वपूर्ण अंगहरूको चालढाल बिग्रन्छ। मुटु, फोक्सोजस्ता भाइटल अग्र्यान्सहरूमा खराबी आउँदा व्यक्तिको तत्कालै मृत्यु हुन सक्छ। नसोचेको शोकले व्यक्तिको स्नायुप्रणालीमा आघात पार्ने अनि व्यक्तिको तत्कालै मृत्यु समेत हुने भएकाले दुःखको झट्का कम गरी सभ्यता जोगाउन प्रकृतिले मानिसलाई मनोवैज्ञानिक तागत दिएको ठान्छन् विज्ञहरू।

बिनाप्रशोधन शोकको खबर मस्तिष्कले तत्कालै ग्रहण गर्ने हो भने व्यक्तिको तत्कालै मृत्यु हुन सक्ने भएकाले सायद भगवान्ले सन्देश प्रशोधनको कवचको कल्पना गरे। हालै प्रकाशित आँकडाले शोकको समयमा व्यक्तिको प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ब्याक्टेरिया, भाइरस लगायतका बाह्य सूक्ष्माणुको सामान्य संक्रमण पनि ठुलो शारीरिक समस्या साबित हुन सक्छ भन्ने कुरा बिर्सनुहुँदैन। कोभिडकालमा शोकमा परेकाको मृत्यु प्रतिशत अधिक देखिनु केवल संयोग मात्र थिएन।

सन् १९६९ मै प्रकाशित भए पनि एलिजाबेथ कुबलर रोसको पुस्तक ‘अन डेथ एन्ड डाइङ’ले मृत्यु, जीवन र संक्रमण अवधिका सम्बन्धमा दिएका जनउपयोगी सुझाव आज पनि उत्तिकै लाभप्रद छन्।

काम, क्रोध, लोभ, मोहसँग विच्छेद गरी जीवनको उत्तरार्धमा मरण कुरेर बसेका दर्जनौं मानिसको भोगाइलाई केन्द्रमा राखिएको उक्त मनोवैज्ञानिक कृतिले मानिसले शोकमा भोग्ने विभिन्न चरणको चर्चा गरेको छ। अस्वीकृति, रिस, सम्झौता, डिप्रेसन र सम्मतिमार्फत मानवले शोकको झट्का सहन सक्ने तागत प्रकृतिले दिएको उपहार ठान्छिन् कुबलर रोस।

शोकको अपत्यारिलो खबर सुन्दा सर्वप्रथम दिमागले उक्त सन्देशलाई अस्वीकार गर्छ, गलत ठान्छ। उक्त ब्रेन बफरले शोकको झट्काबाट दिमागलाई जोगाउँछ। त्यस्तै, मोटरसाइकल दुर्घटनामा बितेको पुत्रलाई आफैंले बाहन किनिदिएकोमा आफैंसँग ग्लानि हुन्छ । सधैं सेवा गरेको भगवान्ले आफ्नो छोरालाई जोगाउन नसकेकोमा उसलाई ईश्वरसँग रिस उठ्छ। भाग्यलाई अपजस दिन्छ।

त्यस्तै, फोक्सोको क्यान्सरले मरेको पतिको चुरोट–रक्सी खाने बानीलाई दोष दिन्छ मृत्युका लागि। खराब आदतले गलत नतिजा दिने कुराको अनुभूति गर्छ मानिसले। उल्लिखित परिदृश्यमार्फत मन बुझाउन नसके व्यक्ति डिप्रेसनमा जान्छ। समय बित्दै जाँदा व्यक्तिले शोकलाई अन्ततः स्वीकार गर्छ । यसरी मृत्युको यथार्थलाई विभिन्न चरणमा बुझ्दा दिमागलाई अधिक भार पर्दैन।

सबै व्यक्ति दुःखका समयमा उल्लिखित सबै चरणबाट पार गर्छन् भन्ने कुरा मान्दैनन् अनुसन्धानकर्ता एलिजाबेथ । तसर्थ, शोकको अवधि व्यक्ति नै पिच्छे फरक हुन्छ। जति छिटो पीडितले यथार्थलाई स्वीकार गर्छ, त्यही रफ्तारमा व्यक्ति महादर्दबाट निस्कने देखियो।

ढिलो–चाँडो सबैलाई पर्ने शोकको सामना सबैले गर्नुपर्छ। जति छिटो दैनिकीलाई सामान्य बनाउन सक्यो, स्वयं र परिवारमा पीडाको प्रभाव कम हुन्छ। केकस्तो दैनिकी र प्रचलनको अवलम्बन गर्दा व्यक्ति शोकको दलदलबाट छिटो बाहिरिन्छ, त्यता हेरौं।

स्वयंको हेरचाह र संयमित दैनिकीले जीवनमा सधैं महत्त्व राख्छ। स्वस्थ खानपिन, समयमा सुत्ने–उठ्नेलगायतका कार्यसूचीमा बाँधिँदा पीडाको बोझ कम हुन्छ । आफन्तको मृत्युमा स्वयंलाई भागीदार बनाउनुभन्दा यथार्थको बोध लाभप्रद देखियो। एकपटक सबै मर्छन् अनि आफू जस्तै जटिलतामा बाँच्ने धेरै छन् भन्ने कुराले पनि आफ्नो दर्दलाई कम गर्छ। त्यस्तै, एकांकी दैनिकीको बदला स्वयंलाई मन पर्ने विषयमा आफूलाई व्यस्त राख्दा फाइदा हुन्छ। दुःखको क्षणमा सहयोगका लागि हात बढाउनेहरूसँग समय बिताउँदा पनि पीडा कम हुन्छ भने आवश्यकताअनुसार पेसेवर परामर्शदाताको सामीप्य पनि नकार्नुहुँदैन।

त्यस्तै, भगवत् ज्ञान, धार्मिक तथा अन्य उपयोगी पुस्तकको अध्ययन तथा श्रव्यदृश्य सामग्रीको पुनरावलोकनले पनि शोकबाट उकास्न मद्दत गर्छ।

शोकमा परेका व्यक्तिलाई दलदलबाट छिटो उकास्न आफन्त तथा साथीसँगीले गर्न सक्ने धेरै छन् । आवश्यकताअनुरूप सशरीर उपस्थित भएर पीडामा रहेकालाई घरायसी श्रम सहयोग, कुराकानी गर्दा अनि दुःख सुनिदिँदा मात्र पनि लाभ हुन्छ। शोकमा परेकालाई साथीभाइले विगतको परिदृश्य चर्चा गरिदिँदा पनि ओखतीको काम गर्ने ठान्छन् विज्ञहरू।

शोकले एक व्यक्तिको उत्पादकत्वमा मात्र ह्रास ल्याउँदैन, बरु परिवार नै क्षतिग्रस्त हुन पुग्ने भएकाले समाज नै एकजुट भएर एकअर्कालाई सहयोग गर्न आवश्यक देखिन्छ। दुःख झेलेकालाई केवल आफन्त तथा साथीको सामीप्य मात्रले पनि ओखतीको काम गर्छ भन्ने कुरा बिर्सनु हुँदैन।

प्रकाशित: ५ फाल्गुन २०८२ ११:०० मंगलबार