लोकतन्त्रको प्रमुख पहरेदार मानिएको नेपाली कांग्रेस पार्टी गुटको भुमरीमा रुमल्लिएर फुटको डिलमा पुगेको छ।
भर्खरै नेपाली कांग्रेसको करिब देशैभरिबाट सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि भेला भई सम्पन्न १५औं महाधिवेशनले युवा नेता गगनकुमार थापालाई सभापतिमा चयन गरी सम्पन्न भएको छ।
हुन त कांग्रेसमा ५४ प्रतिशत हस्ताक्षरसहितको मागबाट गरिएको विशेष महाधिवेशनताका नै धाँजा फाटिसकेको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बनाएर १४औं महाधिवेशनबाट सभापति चुनिएका शेरबहादुर देउवा उपचारको बहानामा विदेश गएका थिए। जेनजी आन्दोलनमा देउवामाथि भौतिक आक्रमण भएपछि देउवा त्यसै विरक्तिएका थिए। चुनावताका देउवाले देश छाडेपछि कांग्रेसलाई एउटै दलिन बनाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको काँधमा थियो। एकातिर जेनजी आन्दोलनले कोल्टे फेरेको परिस्थितिलाई सामना गर्नुपर्ने, अर्कातिर गगन थापाहरू नेतृत्व पुस्तान्तरणको अभियानमा जोडतोडका साथ लागिरहेका थिए।
कांग्रेसभित्रकै नेताहरूको अनुमान थियो, विशेष महाधिवेशनबाट गगनकुमार थापालाई सभापति चुनेपछि देउवाहरू आफैं पाखा लाग्छन् तर त्यस्तो भएन। गगनकुमार थापा पक्षधरले चुनावमा आफ्नो पोल्टामा जनमत ल्याउने आशामा विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा चुनावमा होमियो। कांग्रेसभित्रकै एकथरी नेताको बुझाइ थियो, गगनले प्रधानमन्त्री हुने महत्वाकांक्षाले नेतृत्व हत्याउन हतार गरे। अहिले देउवाकै नेतृत्वमा चुनाव जाने र १५औं महाधिवेशनबाट सहज रूपमा युवाको नेतृत्वमा कांग्रेसलाई फेरि लोकतन्त्रको बिगुल फुक्न ब्युँझाउने पार्टीभित्रकै अर्काथरी नेताको बुझाइ थियो। जसरी हुन्छ, विशेष महाधिवेशनको माग गर्ने र देउवालाई पाखा लगाउने, गगनको नेतृत्वमा पार्टीको उडान भर्ने। खासमा दोस्रो विकल्पमा पार्टी गयो। विशेष महाधिवेशनबाट गगनको काँधमा कांग्रेसको जिम्मेवारी आयो तर चुनावमा लाजमर्दो हार बेहोर्नुपर्यो।
विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा नै चुनावमा हराइए। संसदीय उडानमा ब्रेक लाग्यो। धेरैले भने, देउवाको सराप लाग्यो कांग्रेसलाई। आफ्नै देशमा फेरि गुमेको विश्वास फर्काउने भन्दै देउवा स्वदेश फर्किएपछि धेरैले भन्थे, अब देउवाले सहज रूपमा १५औं महाधिवेशनबाट युवा पुस्तामा पार्टीलाई जिम्मा दिन्छन् र आफू संरक्षक भएर बस्छन्। त्यो अनुमान देउवाले सरासर झुटो साबित गरिदिए।
१५औं महाधिवेशन गर्न गगनकुमार थापाहरू लागिरहँदा देउवा पक्ष भने च्याँखे दाउ थापेर अदालतले हामीलाई आधिकारिकता बनाउँछ भन्दै कोठे बैठकमै अलमलिइरहेका थिए भने गगनहरू देशैभरिबाट १५औं महाधिवेशन गर्ने अभियानमा जुटिसकेका थिए। १५औं महाधिवेशनको उद्घाटन सत्र देउवाबाट नै गराउन निमन्त्रणा पनि बुझाइएको भनिन्छ तर देउवा समूहको उपस्थिति नै भएन।
लोकतन्त्रको रथ हाँकिरहेको नेपाली कांग्रेसका लागि त्यो एउटा दुर्भाग्य नै बन्यो। देउवालाई जसले गगनको पोल्टामा पार्टी छोडेर बस्नु हुँदैन भनेर उचाले, तिनैले १५औं महाधिवेशनमा देउवा सहभागी नहुने भन्दा धमाधम देउवाको साथ छोडेर गगनतिर मिसिन आए। महाधिवेशनमा गगनको पक्षमा खुलेर लागेका प्राय: सबैले चुनाव जिते भने शेखर देउवामा भएका तर चुनावमा गगनपट्टि ढल्किएकाहरूले चुनाव हारे। अहिले गगन भन्दै छन्– नेपाली कांग्रेसमा कुनै फाटो छैन, एउटै छौं, केही असन्तुष्ट पक्षहरू छन्, उनीहरूलाई एउटै रुखको छायामा ल्याउँछु।
तर देउवा पक्ष भन्नेहरू धमाधम जिल्ला अधिवेशन गर्दैछन्। अब प्रदेश अधिवेशन सकेर मंसिरको २३ देखि २६ सम्म काठमाडौंमा १५औं महाधिवेशन गर्दै छन्। अहिलेको कांग्रेसको चरित्रलाई हेर्दा कांग्रेस अब औपचारिक रूपमै फुटेको छ। दुई चोइटा परेको छ। गगन र देउवाको छुट्टाछुट्टै झाँगिएको गुटको भुमरीले आखिर कांग्रेसलाई चोइटो बनाएरै छाड्यो। अब धमाधम स्थानीय र प्रदेशको चुनाव संघारमा छ। गुमेको विश्वासलाई फर्काएर लोकतन्त्रको जगलाई अझै जनमैत्री बनाउने अभियानमा होमिनुपर्ने ढिला भइसकेको बेला गुटगत महाधिवेशनको किचलोमा भुलेको छ कांग्रेस।
यसरी लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीमा नेताको गुटमा कार्यकर्ताको हुटिङ थपिएपछि स्वत: पार्टी टुक्रा भयो। यसरी टुक्रिएको पार्टीले गगन पक्ष र देउवा पक्ष कसैलाई पनि फाइदा दिँदैन र लोकतन्त्रको खम्बा बन्न पनि कठिन हुने पक्का छ। बिपीको समाजवाद कुन दर्शनमा हराउने हो, पत्तो छैन।
अब फेरि देउवा पक्षको महाधिवेशनबाट को सभापति चुनिने हुन्, अनुमान गर्न सकिएको छैन। नेपाली कांग्रेसको अहिलेको दृश्यले देखाउँछ कि देउवाको राजनीतिक बिदाइ सुखद रहेन। आफ्नै भित्रकाहरूले उचाले अनि अब थेचार्न खोज्दै छन्। अबको मंसिरमा हुने महाधिवेशनबाट शेखर कोइराला नै सभापति भए भने पनि देउवाको राजनीतिक जीवनमा पूर्णविराम लाग्छ। कांग्रेसभित्रकै धेरै नेताले भन्थे, यही १५औं महाधिवेशनबाट युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरिदिए आगामी जीवनमा सम्मानसहित पार्टीको अभिभावक भएर बस्दा राम्रो।
तर देउवा उचाल्नेहरूले छोड्नै नहुने, हामी नै हो, युवालाई पनि समेट्नेलगायतका कुरा गरे तर नेतृत्व युवालाई नदिने रोइलो गरे। आखिर यो सबै घटनाक्रमले नेपाली कांग्रेसलाई फुटाएरै छाड्यो। नेतामा फाटो, कार्यकर्तामा विभाजन ल्याएर गुटको आराले कांग्रेसको रुख चिर्यो। फाटेको कांग्रेस फेरि सिलाएर एक हुन्छ कि हुँदैन, त्यो त समयले देखाउला नै तर नेपाली राजनीतिमा गुटको आराले नेताहरूको विश्वास र भरोसामा चिराचिरा पार्न भने छोडेको छैन। वामपन्थी भनिएकाहरू पनि यही गुट र स्वार्थको सिकार भए। कैयौं टुक्रामा टुक्रिएर छिन्नभिन्न भएका छन्।
अहिले फेरि राजनीतिक स्वार्थको रोटी सेक्न एक हुने, एकता गर्ने भन्दै छन् तर त्यो नटिक्ने त विगतका दृश्यहरूले पुष्टि भइसकेको विषय हो। राजनीतिक संस्कारमा हुर्किएका पार्टीहरूको आन्तरिक विभाजनले गर्दा नै वर्तमान परिस्थिति जन्मिएको सत्य हो। राजनीतिलाई सेवाभन्दा पनि पेसाको रूपमा विकास गर्दै लगियो। पार्टीभित्र नै स्वार्थ हुर्कियो। पार्टीभित्र नै गुटको धार धारिलो हुँदै गयो। अनुशासनको औषधिले काम गरेन। गुटबन्दीलाई संस्थागत रूपमा उचालिँदै गयो। समयअनुसार जिम्मेवारी हस्तान्तरणको प्रक्रियालाई स्वीकार गर्न मनले मानेन।
आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खोजिएन। चुनाव भनियो, खल्तीबाट नाम घोषणा गरियो। विशेष भनियो, आफैंप्रति सबैलाई एकोहोरो बनाइयो। पुस्ताको अनुभवलाई सम्मान गरिएन। सिस्टम आफैंले बनाइयो तर त्यसलाई फलो गर्ने हिम्मत गरिएन। सत्तामा पुग्न आफैंलाई हतार भयो। सत्तामा पुगेर पनि जनताको दु:खलाई बिर्सियो। विकासले जनताको मन जोड्नेभन्दा पनि एकअर्काको कटाक्ष गरेर मन फटाउनेतिर लागियो। समयअनुसारको परिमार्जन र रूपान्तरण आफूलाई गर्न सकिएन। हिजोबाट नै चल्न खोजियो तर आजलाई बुझ्ने आँट गरिएन।
सबैको विचार सुन्ने, भावनाको सम्मान गर्ने, सामूहिकतामा विश्वास गर्नेभन्दा पनि एकल निर्णयको अभ्यासलाई तीव्र पारियो। यी र यस्ता गतिविधिहरूले गर्दा पार्टी जीवनमा लामो विरासत बोकेका पार्टीहरू आज छिन्नभिन्नको अवस्थामा खण्डीकरण भइरहेका छन्, जुन बहुदलीय व्यवस्थामा सकारात्मक संकेत होइन। यस्तै सवालहरूको सिकार भएर आज नेपाली कांग्रेसले पनि च्यातिएको मन लिएर स्थानीय र प्रदेशको चुनावमा आफ्नो उपस्थिति देखाउन लाग्दै छ तर यसको नतिजा रमाइलो नहुने आशंका धेरै छन्। पार्टीभित्रैबाट एकअर्काका उम्मेदवार हराउने र तेस्रो पक्षलाई सत्ता सुम्पिने वातावरण नबन्ला भन्न सक्ने अवस्था छैन।
प्रकाशित: १७ कार्तिक २०८३ १०:३२ मंगलबार