विचार

विचारको शक्ति जीवनमा चमत्कार

वैज्ञानिकहरूका अनुसार मानिसको मस्तिष्कमा दिनभरि हजारौं विचारहरू आउँछन्। विभिन्न अध्ययनहरूले औसत मानिसले दिनमा पचास हजारभन्दा बढी विचारहरू गर्ने अनुमान गरेका छन्। यी सबै विचार हाम्रो चेतना, व्यवहार, निर्णय, सम्बन्ध र अन्ततः जीवनको दिशासँग जोडिएका हुन्छन्। मानिसमा दैनिक पचास हजार विचारहरू आउँछन् भने दैनिक पचास हजार सकारात्मक विचार राखेर जीवनलाई चमत्कार बनाउने अवसर र रोजाइ मानिसलाई नै छ किनकि मानिसको जीवन उसले गर्ने कर्मले मात्र होइन, उसले गर्ने सोचले पनि निर्माण हुन्छ। मस्तिष्कबाट आउने हजारौं विचारलाई राम्रो सोच्ने, सकारात्मक बन्ने, प्रेम फैलाउने, आशा जगाउने र आफ्नो जीवनलाई सुन्दर बनाउने अवसरका रूपमा लिने अभ्यास गर्न सकिन्छ। प्रश्न यो होइन कि हाम्रो मनमा कति विचार आउँछन्, प्रश्न यो हो कि ती विचार कस्ता छन् र मैले नै सिर्जना गरेका कर्ममार्फत आउने विचार हुन् कि होइनन्?

विचारको शक्ति

हाम्रो जीवन बाहिरी परिस्थितिले भन्दा धेरै हदसम्म हाम्रो सोचाइले निर्धारण गर्छ। एउटै परिस्थितिलाई दुई व्यक्तिले फरक ढंगले हेर्न सक्छन्। एकले समस्यामा अवसर देख्छ भने अर्कोले अवसरमा पनि समस्या देख्छ।

भगवद्गीतामा भनिएको छ–

‘उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।

आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः।’

अर्थात्, मानिस आफैं आफ्नो मित्र पनि हो र आफैं आफ्नो शत्रु पनि। यदि सोच सकारात्मक छ भने त्यो मित्र बन्छ, नकारात्मक छ भने शत्रु। हाम्रो जीवनको गुणस्तर धेरै हदसम्म हाम्रो विचारको गुणस्तरमा निर्भर हुन्छ। विचार अदृश्य हुन्छ तर यसको प्रभाव अत्यन्त शक्तिशाली हुन्छ। एउटा सानो विचारले कुनै व्यक्तिलाई महान् वैज्ञानिक, कलाकार, समाजसेवी वा आध्यात्मिक साधक बनाउन सक्छ। त्यही विचारले मानिसलाई निराशा, क्रोध, ईष्र्या र दुःखको खाडलमा पनि धकेल्न सक्छ।

भगवान बुद्धले भन्नुभएको छ–

‘मनोपुब्बङ्गमा धम्मा, मनोसेट्ठा मनोमया।’

अर्थात्, सबै कुरा मनबाट सुरु हुन्छन्। मन नै प्रधान हो। हामी जे सोच्छौं, बिस्तारै त्यही बन्न थाल्छौं। त्यसैले विचारको चयन जीवनको चयन हो।

महान् दार्शनिक ओशो भन्नुहुन्छ, ‘सोच आवश्यक छ तर सोचमा हराउनु आवश्यक छैन। विचार प्रयोग गर तर विचारको दास नबन। जागरुक बन, साक्षी बन अनि जीवन पूर्ण रूपमा जिउ।’

कल्पना गरौं, कसैले तपाईंलाई दिनमा पचास हजार पटक सफल हुने अवसर दियो भने के तपाईं त्यसलाई गुमाउनुहुन्छ? अवश्य होइन। हाम्रो प्रत्येक विचार एउटा बिउजस्तै हो। सकारात्मक विचार रोप्यौं भने आत्मविश्वास, आनन्द, स्वास्थ्य र सफलता फल्छ। नकारात्मक विचार रोप्यौं भने तनाव, डर, क्रोध र असन्तुष्टि बढ्छ।

त्यसैले दिनभर आउने प्रत्येक विचारलाई अवसरको रूपमा लिन सकिन्छ। जस्तै राम्रो सोच्ने अवसर, धन्यवाद दिने अवसर, अरूलाई प्रेम दिने अवसर, आफैंलाई स्वीकार गर्ने अवसर, नयाँ सम्भावना देख्ने अवसर, आध्यात्मिक रूपमा अघि बढ्ने अवसर आदि।

नकारात्मक विचार किन आउँछ?

धेरै मानिसलाई लाग्छ, ‘सकारात्मक सोच यति महत्त्वपूर्ण छ भने नकारात्मक विचार किन आउँछन् ?’ यसका धेरै कारण हुन सक्छन् र धेरैको दैनिकी र जीवनसँग मिल्न पनि सक्छन्, जस्तै विगतका अनुभव। पुराना दुःखद घटनाहरूले मनमा छाप छोडेका हुन्छन्। ती स्मृतिहरू बारम्बार विचारको रूपमा आउँछन् र नकारात्मकताले भरिदिन्छन्।

त्यसैगरी डर र असुरक्षा, भविष्यको चिन्ता, असफलताको डर र असुरक्षाले नकारात्मक सोच बढाउँछ। त्यस्तै सामाजिक प्रभावले पनि नकारात्मकताको विकास गरिरहेको हुन्छ। हामीले सुन्ने समाचार, हेर्ने सामग्री र वरपरको वातावरणले पनि सोचलाई प्रभावित गर्छ। साथै, हाम्रो अवचेतन मनमा रहेको भावले पनि नकारात्मकता बढाउने गर्छ। वर्षौंदेखि सञ्चित विश्वास र धारणाहरूले विचारको स्वरूप निर्माण गर्छन्।

राम्रो कुरा के हो भने विचार आउने कुरा हाम्रो नियन्त्रणमा नहुन सक्छ तर कुन विचारलाई महत्त्व दिने भन्ने कुरा हाम्रो नियन्त्रणमा हुन्छ।

सकारात्मक सोच के हो?

सकारात्मक सोच भनेको समस्यालाई नदेख्ने होइन। सकारात्मक सोच भनेको समस्या देखेर पनि समाधान खोज्ने दृष्टिकोण हो। सकारात्मक व्यक्तिले नै समस्यामा पनि सकारात्मकता र कठिनाइमा पनि अवसर देख्छ। असफलताबाट सिक्छ र अरूको सफलतामा खुसी हुन्छ। भविष्यप्रति आशावादी रहन्छ। वर्तमान क्षणमा बाँच्न सिक्छ। सकारात्मक सोच अन्धाधुन्ध आशावाद होइन, यो सचेत र सन्तुलित दृष्टिकोण हो।

उपनिषद्मा भनिएको छ– यद्भावं तद्भवति। अर्थात्, जस्तो भावना र सोच हुन्छ, त्यस्तै जीवन बन्छ।

दैनिक बिहानको पहिलो विचार

दिनको सुरुवात कस्तो विचारबाट हुन्छ, त्यसले दिनभरको मानसिक अवस्था प्रभावित गर्न सक्छ। त्यसैले अभ्यास गर्न सकिन्छ– बिहान उठ्नेबित्तिकै आफूसँग भएका प्रत्येक चिजप्रति धन्यवाद व्यक्त गरौं। आजको दिन सुन्दर हुनेछ भन्ने विश्वास राखौं। आफू स्वस्थ, शान्त र सक्षम भएको अनुभूति गरौं। दिनभर गर्ने कर्ममा सकारात्मक संकल्प लिऔं। जस्तै कि आज म शान्त रहनेछु, आज म आफू खुसी रहने र घरपरिवार अनि कार्यक्षेत्रका मेरा सहकर्मीलाई पनि खुसी बनाउने प्रयास गर्नेछु, आज म हरेक कर्ममा अवसरहरू देख्नेछु।

ध्यान र जागरुकताको भूमिका

विचारलाई नियन्त्रण गर्ने प्रयासभन्दा विचारलाई बुझ्ने प्रयास बढी प्रभावकारी हुन्छ। त्यसैले दैनिक बिहानको एक घण्टा ध्यान अर्थात् कुनै पनि समय निकालेर ध्यानमा बस्ने अभ्यासले जागरुक बनाउँछ। ध्यानको नियमित अभ्यासले सिकाउँछ– विचारलाई हेर्न, विचारसँग नबग्न, वर्तमानमा रहन र मनलाई शान्त बनाउन।

जब हामी जागरूक हुन्छौं, तब नकारात्मक विचार आए पनि त्यसले हामीलाई नियन्त्रण गर्न सक्दैन। त्यसैले त ओशोले बारम्बार भन्नुहुन्थ्यो कि विचारसँग लड्नुपर्दैन, केवल त्यसलाई साक्षी भएर हेर्नु पर्याप्त हुन्छ।

साथै हामीमा कृतज्ञताको अभ्यास पनि हुनुपर्छ। सकारात्मक सोच विकास गर्ने सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो कृतज्ञता। हरेक दिन याद गरौं– मसँग के–के छ ? ककसले मेरो जीवनमा योगदान गरेका छन् ? आज मैले के राम्रो अनुभव गरेँ ? कृतज्ञताले भरिएको मनमा गुनासो कम हुन्छ र आनन्द बढ्छ।

शब्द र विचारको सम्बन्ध

हामीले प्रयोग गर्ने शब्दले पनि विचारलाई प्रभावित गर्छ। हामी बारम्बार सोच्छौं– म सक्दिनँ, मेरो भाग्य खराब छ, सबै कुरा बिग्रियो भने मनले त्यसलाई सत्य मान्न थाल्छ। त्यसको सट्टा म प्रयास गर्छु, म सिक्दै छु, यो पनि बितेर जानेछ, म समाधान खोज्न सक्छु जस्ता शब्द प्रयोग र भाव विकासले सकारात्मक सोचको विकास सम्भव हुन्छ।

सोच्नु भन्नाले अरूका लागि राम्रो सोच्नु पनि सोचको सही उपयोग गर्नु हो। सकारात्मक सोच केवल आफ्ना लागि मात्र होइन। जब हामी अरूको भलो चाहन्छौं, तब मन हलुका हुन्छ। सम्बन्ध राम्रो बन्छ, एकआपसमा ईष्र्या घट्छ र करुणा बढ्छ। त्यसैले बौद्ध परम्परामा ‘मैत्री भावना’ अर्थात् सबै प्राणीप्रति प्रेम र शुभेच्छा राख्ने अभ्यास गरिएको हो।

बालबालिकामा बढाउने सकारात्मक सोच

बालबालिकाले आफूभन्दा बढी अभिभावकको सोचबाट सिक्छन्। त्यसैले यदि घरमा एकआपसमा आशा छ, प्रोत्साहन छ, सम्मान छ र सकारात्मक संवाद छ भने बालबालिकाको मानसिक विकास स्वस्थ हुन्छ। त्यसैले सकारात्मक सोच केवल व्यक्तिगत अभ्यास होइन, यो परिवार र समाज निर्माणको आधार पनि हो।

बालबालिकालाई सानैदेखि आत्मविश्वास जगाउने शब्द, असफलताबाट सिक्ने संस्कार र अरूप्रति सम्मान तथा करुणाको भावना सिकाउनुपर्छ। घरको सकारात्मक वातावरणले उनीहरूमा समस्या समाधान गर्ने क्षमता, भावनात्मक सन्तुलन र जीवनप्रति आशावादी दृष्टिकोण विकास गर्न मद्दत गर्छ, जसले भविष्यमा जिम्मेवार र सफल नागरिक बन्ने आधार तयार गर्छ।

चुनौतीको समयमा सकारात्मक सोच

जीवन सधैं सहज हुँदैन। नचाहेर पनि विभिन्न प्रतिकूलता आउन सक्छन्। शारीरिक अस्वस्थता, आर्थिक समस्या, सम्बन्धमा तनाव वा अन्य कठिनाइ आउन सक्छन्। यस्ता बेलामा सकारात्मक सोचको वास्तविक परीक्षा हुन्छ किनकि सकारात्मक सोचको अर्थ नै समस्या स्वीकार गर्नु र समाधानको खोजी गर्नु हो। आशा नछोड्नु अनि आफ्नो आन्तरिक शक्तिलाई महसुस गर्नु हो।

सूर्यलाई बादलले केही समय ढाक्न सक्छ तर सूर्य हराउँदैन। आशा पनि कहिलेकाहीं ढाकिन्छ, समाप्त हुँदैन। त्यसैले सकारात्मक सोच आध्यात्मिकताको मर्मसँग पनि जोडिएर आएको हुन्छ। आध्यात्मिकताको मूल उद्देश्य बाहिरी संसारबाट भाग्नु होइन, भित्री संसारलाई बुझ्नु हो। जब हामी ध्यान, प्रार्थना, योग वा आत्मचिन्तन गर्छौं, तब विचारहरू स्पष्ट हुन थाल्छन्।

जब मन शान्त हुन्छ, तब विचार पनि शुद्ध र सकारात्मक हुन्छन्। हाम्रा प्रत्येक विचार एक बिउका रूपमा रहेका हुन्छन्। हामी कल्पना गर्न सक्छौं– हाम्रो मन एउटा विशाल बगैंचा हो। प्रेमका विचार फूल हुन्, करुणाका विचार सुगन्ध हुन्, आशाका विचार हरियाली हुन्। नकारात्मक विचार झारपात हुन्। जुन बिउलाई मल र पानी दिइन्छ, त्यही बिउ बढेर बोट हुन्छ।

त्यसैले प्रत्येक विचार छनोट गर्दा सचेत हुनु आवश्यक छ। सबै विचार सकारात्मक नहोलान् तर हामी प्रत्येक दिन केही विचारलाई सचेत रूपमा सकारात्मक बनाउन सक्छौं। यही सानो अभ्यासले बिस्तारै व्यक्तित्व, सम्बन्ध, स्वास्थ्य र जीवनको दिशा परिवर्तन गर्न सक्छ।

‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।

सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग्भवेत्।’

अर्थात्, सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले शुभ कुरा देखून् र कसैले पनि दुःख भोग्न नपरोस्। अनेकौं विचारमध्ये केही विचारलाई पनि प्रेम, करुणा, कृतज्ञता र आशाले भरिदिन्छौं, तब केवल हाम्रो जीवन मात्र होइन, वरपरको संसार पनि सुन्दर बन्न थाल्छ। यही सकारात्मक सोचको वास्तविक शक्ति हो।  

प्रकाशित: ५ असार २०८३ ०८:५९ शुक्रबार