विचार

राष्ट्रियताको विसङ्गति

नेपालको हरेक व्यवस्था तथा सरकार परिवर्तनको राजनीतिक परिघटनामा रेडिमेड, अविच्छिन्न र चयनपूर्ण प्रश्न उठान हुने गर्छ– राष्ट्रियताको सवाल। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् सुदन गुरुङ, गोरखा र टासी ल्हाजोम, हुम्लाले नेपाली राष्ट्रियताको प्रश्नले नवीकरण पाएर सहरमा हटकेक बनेको थियो। यस आलेखमार्फत नेपाली राष्ट्रवाद र राष्ट्रियताको मौजुदा कायम प्रश्नसँग स्वतन्त्रता र स्वस्थ विचारविमर्श गर्न चाहन्छु।

नेपाल र राष्ट्रवादको उल्टो यात्रा

नेपालको संविधान २०७२ को धारा ३ मा नेपाल राष्ट्रको परिभाषा उल्लेख गर्दै नेपालको विविध सांस्कृतिक पहिचान, भावनात्मक एकता र राजनीतिक स्वतन्त्रता वा स्वशासनलाई स्पष्टसँग किटान गरेको पाइन्छ।

युरोपमा १८ औं शताब्दीको अन्त्यतिर, विशेषगरी सन् १७८९ को फ्रान्सेली क्रान्तिपछि आधुनिक राष्ट्रवादको उदयको अवधारणा देशअनुसार फरक–फरक प्रयोग हुँदै आएको पाइन्छ तर यो अवधारणा नेपालसँग मेल खाँदैन। औपनिवेशिक देशबाट राजनीतिक स्वतन्त्रता र स्वशासन गर्न, हामी तिनीहरूभन्दा फरक, हाम्रो साझा भाषा, संस्कृति, इतिहास, आफ्नै राज्य प्रणाली र ‘हामी’ भन्ने अनुभूतिसाथ संगठित हुने अभिष्टले राष्ट्रवाद आएको पाइन्छ।

युरोपका जस्तो राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक समरूपता नेपालको होइन, छैन पनि। नेपाल विभिन्न राष्ट्रहरूको साझा देश हो। नेपाल शब्द प्रयोगमा आउनुभन्दा अगाडि नै यहाँ विविध राष्ट्र अस्तित्वमा थिए। युग पाठकको पुस्तक ‘मंगेना’अनुसार नेपाल शब्द करिब दुई हजार वर्षअगाडि प्रयोगमा आएको कुरा छ। यसको मतलब नेपाल शब्द दुई हजार वर्ष आसपासदेखि प्रचलित छ।

‘हाम्रो समाज: एक अध्ययन’ पुस्तकमा लेखक जनकलाल शर्माले काठमाडौं उपत्यकाको बुढानीलकण्ठमा प्राप्त मानवीय अवशेष करिब तीस हजार वर्षअगाडि मंगोलियाबाट आएर बसेका मानिसहरू तामाङ जाति हुन् भनेका छन्। पुरातत्त्वविद्, भाषा वैज्ञानिक र डिएनए परीक्षणबाट पनि करिब नौदश हजार वर्षअगाडिदेखि हालको काठमाडौं उपत्यका र आसपासको पहाडी क्षेत्रमा बसोबास गर्दै आइरहेका जातिहरू तामाङ हुन् भनेका छन्। विभिन्न इतिहासमा स्पष्ट छ कि काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वर्ष शासन गर्नेहरू किरात हुन्, जुन नेपाल शब्द प्रयोगमा आउनुभन्दा अगाडिको थियो।

राजनीतिशास्त्रीहरूले मध्यकालमा राष्ट्रवादको परिभाषामा भूमि वा सीमालाई प्रधानता दिए भने पछि सामन्तीवादीहरूले आफ्नो सामन्तलाई वैधानिकता दिन र पुँजीपतिहरूले अथाह नाफा आर्जन गर्न युरोपमा छापाखानाले विशेष भूमिका निर्वाह गरेको थियो। ईश्वरको अनुग्रहले शासन गरेको, शासकको आलोचना गर्नु दैवको आलोचना गर्नु हो, शासक नै देश, राष्ट्र र राज्य हो भन्ने मान्यता कायम थियो। नेपालमा यही कालतिर गोरखा राज्यबाट पृथ्वीनारायण शाह उदय भए। वर्तमान नेपाल देश निर्माणमा उनको योगदान छ, यद्यपि नेपालको इतिहासमा राष्ट्रवाद र राष्ट्रियतासँग पर्यायवाची भएर व्याख्या गरिएको छ। राष्ट्रवादको विसंगति त्यही बिन्दुबाट प्रारम्भ भयो।

अहिले पनि शासकीय चरित्र, राज्यसँग प्रश्न, शासक तथा स्थापित सांस्कृतिक पहिचानप्रति आलोचनात्मक चेत हुनु अराजकता वा अराष्ट्रिय साबित हुनुपरेको छ। राष्ट्रवाद शासकीय चरित्र, संस्कृतिमा पूर्ण समर्पित अवधारणा होइन।

नेपालमा राष्ट्रवादको उठान संरचनात्मक लाभ प्राप्ति गर्ने वर्ग र समुदायले गर्नु नै अमिल्दो विषय छ। राज्य निर्माणसँगै ती राष्ट्रहरूले आफ्नो एकल पहिचान र प्रभावशाली शासन गरिरहेका छन्। अझै पनि ती समुदाय र वर्गले राष्ट्रवाद र राष्ट्रियताको विषय उठान गर्नु नेपालको विविधतालाई पूर्ण रूपमा निषेध गर्नु मात्रै नभई राष्ट्रिय द्वन्द्वलाई सुयोजित ढंगले निमन्त्रण गर्नु हो।

असली रूपमा राष्ट्रवादको वास्तविक हकदाबेदार इतिहासमा आफ्नो राज्य र पहिचान विविध कारणले गुमेकाहरू हुन्, जसको साझा भाषा, संस्कृति, इतिहास र निश्चित सीमाको राज्य थियो। ती राष्ट्रहरूले आफूलाई राजनीतिक स्वतन्त्रता र स्वशासन योग्य छ भनी मजबुत र दृढतासाथ दाबी गर्छन्। ती राष्ट्रहरूले वर्तमान नेपाल शब्द र नेपाल देश निर्माणभन्दा अगाडिको अवस्थालाई आधार मानेर आफूहरूलाई न्यायप्राप्तिका लागि उठान गर्ने अवधारणा राजनीतिकभन्दा बढी सांस्कृतिक पहिचानसँग सम्बन्धित हुन्छ र हुनु पनि पर्छ। राष्ट्रवादको उचित गन्तव्य यही हो। नेपालमा राष्ट्रवादको असली मार्ग हिँड्ने हो भने देशको नक्सामा परिवर्तन हुन सक्छ।

समाजशास्त्री तथा मानवशास्त्रीहरूले राष्ट्रवादलाई आधुनिक दृष्टिकोणबाट व्याख्या गरेका छन्, जसअनुसार राष्ट्र हुनलाई भूमि वा सीमा अपरिहार्य तत्त्व छैन। कहिल्यै प्रत्यक्ष भेट नभएका मानिसहरू पनि ‘हामी’ भन्ने कल्पना गर्ने समुदाय नै राष्ट्र हो भनेका छन्। आधुनिक परिभाषाले राष्ट्रलाई साझा भाषा, इतिहास, पहिचान, साझा भूभावना, साझा राजनीतिक चेतना र साझा संस्कृति भएका जनता हुन् भनेको छ।

सन् १६४८ को वेस्टफेलिया सन्धिपश्चात् राष्ट्र, राष्ट्रवाद र राष्ट्रियताको अवधारणाले गर्दा तीस वर्षसम्मको युद्ध अन्त्य गरी युरोपमा नयाँ–नयाँ देशहरू निर्माण भए। राष्ट्रवाद एक साँघुरो जातिवादका रूपमा विकसित भयो। सन् १८७८ को वर्लिन सम्मेलनले सर्वियन जाति भएको बोस्निया हर्जगोभिना सहर अस्ट्रिया–हंगेरीलाई दिने निर्णय गरेपछि पहिलो विश्वयुद्ध, जर्मनीमा हिटलरले ६० लाख यहुदीहरूको नरसंहार, अहिले रुसले युक्रेनमा आक्रमण, इजराएल–प्यालेस्टाइन, भारत–पाकिस्तान आदि राष्ट्रवादकै युद्धका स्वरूप हुन्।

नेपाली राष्ट्रियता: एक उत्तेजित भावना

युरोपेली लेखकहरूले नामकरण गरिदिएको नेपाल र दार्जिलिङका लेखकहरूले जग बसालिदिएको नेपाली राष्ट्रियता कति स्वीकार्य छ? दार्जिलिङमा जुन कल्पना गरेर नेपाली राष्ट्रियताको अवधारणा आयो, त्यो त्यहाँको इतिहास र संस्कृतिका लागि उपयुक्त छ किनकि उनीहरूले आफ्नो देश गुमाएका थिए। नेपालमा वर्तमान नेपालीहरूले नै आफ्नो देश गुमेको इतिहास छ। यसर्थ दार्जिलिङका नेपाली राष्ट्रियता र नेपालको राष्ट्रियताको समान अर्थ, प्रयोग र बुझाइ हुनु आफ्नै देशको इतिहास अस्वीकार गर्नु हो।

देशका सीमाहरू कहिलेकाहीं विविध कारणले बदलिन सक्छन्। राष्ट्रियता भनेको भूगोल र राज्यसँगको सामीप्य मात्रै होइन, विदेशमा बसेर पनि आफ्नो देश र नागरिकको हित तथा कल्याणको कल्पना गर्नु पनि हो। देश र नागरिकको हितको कल्पना गर्नु भनेको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा राज्यबाट लाभांश प्राप्त संरचनात्मक वर्ग वा समुदायप्रति आलोचनात्मक नहुनु होइन।

हामी उत्तरआधुनिक युगमा छौं । यसमा सत्यताहरू सापेक्ष वा बहु हुन्छन्। कुनै देशमा राज्य सञ्चालन गर्न त्यही देशमा जन्मिनुपर्ने, राज्य–संरक्षित सभ्यतालाई मात्रै परम सत्य स्वीकार गर्नुपर्ने कुरा मध्यकालीन चेतनाको उपज हो। मानवीय आवश्यकताको सीमा बढेको तथा भूमण्डलीकरणको कारण मानिस एक देशमा सीमित छैन। मानिसले जुन देशमा गए पनि राजनीतिक चासो र नेतृत्व लिने प्रयास सधैं गर्छ। नेपालका भद्रकुमारी वाइवा, सुकीर्ति भट्टले अस्ट्रेलियाको सिड्नीमा काउन्सिल सदस्य, ह्यारी भण्डारीले मेरिल्यान्ड राज्यबाट राज्य–सांसद निर्वाचित, युगान्डामा जन्मेका जोहरन मान्दानी न्युयोर्कको मेयर निर्वाचित, बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, अमेरिका पूर्वराष्ट्रपति बाराक ओबामाले नेतृत्व लिए। शंका वा आत्मसन्तुष्टिका लागि राष्ट्रियताको प्रश्नले प्रश्रय कहिले पायो ? अहिले बहुराष्ट्रियता हुन्छन्। एक देशमा जन्मेर अर्को देशमा नेतृत्व लिन सक्छन्। मूलधारले किनाराहरूलाई अवसर र शक्तिको लक्ष्मणरेखा निर्धारण गर्ने उत्तेजित भावनात्मक अवधारणा हो अहिलेको नेपाली राष्ट्रियता।

समावेशी राष्ट्रवाद: सहअस्तित्व र अन्तरघुलन

नेपाल राज्य निर्माण गर्न धेरै राष्ट्रहरूको बौद्धिक र भौतिक सामूहिक योगदान र हिस्सा छ। कुनै एकल समुदायको मात्रै योगदान छैन तर विडम्बना, राज्यले जुन भाष्य र नीति सिर्जना गरेको छ, त्यो एकांगी छ, सत्यतापूर्ण छैन । धेरै देशले इतिहासमा आफू र आफ्ना पुर्खाले गरेको विभेद र अन्यायपूर्ण नीति तथा व्यवहारप्रति सार्वजनिक रूपमा माफीसमेत मागेका छन्।

शासकीय राष्ट्रवाद नभई देशका सम्मानित नागरिक अथवा इतिहासमा देश र राज्य गुमेका राष्ट्रहरूको अस्तित्वको सम्मान र अवसर प्रदान गर्नु समावेशी राष्ट्रवादको असल मार्ग हो। सबैको समान अस्तित्व र सहभागिताले देशका विविध राष्ट्रहरूको आत्मगौरव अनुभूति, राज्य सञ्चालनमा क्षमता अभिवृद्धि गरी देशमा थप एकता, सुदृढता र अगाडिको पथ पक्रन सहज हुन्छ।

देशमा बस्ने सबैले एउटै सभ्यता, संस्कृति र राजनीतिक प्रणालीमा मौन स्वीकृति दिनु समावेशी राष्ट्रवाद होइन। कुनै पनि देशको पहिचान निर्माण गर्दा सत्यता र बहुलतालाई अस्वीकार गर्नु कालान्तरमा देशको हितविपरीत हुन्छ। नीतिगत संरचनाका कारण बंगलादेश र म्यानमारमा आरक्षण दिँदाका नतिजा तितो साबित भएका छन्।

हिजोको नेपाली समाज र राज्यमा नीतिगत समस्याहरू यथेष्ट थिए। ती समस्या २१औं शताब्दीको राष्ट्रवादको मार्गदर्शन कसरी बन्न सक्छन्? समावेशी र सहभागितामूलक लोकतन्त्र भनेको एकल राष्ट्रलाई नायकत्व स्वीकार गर्नु होइन। अब समाज र राज्यका सबै सामाजिक संस्थामा विविध राष्ट्रहरूलाई समावेश गर्नु राज्यका लागि अचुक बुटी हुन्छ।

प्रकाशित: ३ वैशाख २०८३ ०८:२९ बिहीबार