विचार

हामीभित्रका अदृश्य छिद्रहरू

चिन्तन

जीवन एउटा किल्लाजस्तै हो। यसले हामीलाई जीवनका आँधीहुरी, असफलता, आलोचना र सङ्कटबाट जोगाउनुपर्छ। यस्तो किल्ला केवल अग्ला पर्खालले मात्र बलियो हुँदैन। त्यसका लागि मजबुत जग, गुणस्तरीय सामग्री र नियमित हेरचाह आवश्यक पर्छ। कहिलेकाहीं बाहिरबाट विशाल, सुन्दर र अभेद्य देखिने किल्ला पनि भित्तामा परेको सानो चिरा समयमै टालिएन भने कमजोर हुँदै जान्छ, अनि त्यही चिराबाट पानी पसिरहे एक दिन सिंगो पर्खाल नै गल्र्यामगुर्लुम खसेर ठुलो दुर्घटना हुन सक्छ।

मानिसको व्यक्तित्व पनि त्यस्तै किल्ला हो। हाम्रो बानी, मूल्य, सम्बन्ध, निर्णय र दैनिक व्यवहारका इँटा जोडेर यो किल्ला वर्षौंदेखि निर्माण भइरहेको हुन्छ। धेरै मानिस असफल हुनुको कारण उनीहरूमा क्षमता वा अवसरको कमी मात्र होइन, हामीले नदेखेका यस्तै छिद्रबाट आत्मविश्वास, ऊर्जा र नैतिक बल निरन्तर चुहिरहेको हुन्छ।

हाम्रा आनीबानी, सोच, व्यवहार र निर्णयमा सानो विचलनका रूपमा सुरु यी छिद्र लामो समय बेवास्ता गर्दै गएमा यिनले हाम्रो आत्मविश्वास, सम्बन्ध, चरित्र अनि भविष्यलाई खियाउँदै लैजान्छन् र जीवनलाई नै कमजोर तथा असफल बनाउँछन्। त्यसैले किल्लाजस्तै बलियो जीवन निर्माण गर्नु भनेको कमजोरी लुकाउनु होइन, आफ्ना कमजोरीहरू चिन्नु, तिनलाई स्वीकार गर्नु र ठुलो चिरा बन्नुअघि नै टाल्नु हो।

भावना, बुद्धि, समय, सम्बन्ध, आर्थिक व्यवहार र नैतिकता जस्ता ६ ओटा कुरामा अन्तर्निहित कमजोर व्यवस्थापनले मन्द विषका रूपमा जीवनको अर्थ र मूल्यलाई क्षति पुर्‍याएका हुन्छन्।

भावनात्मक वा संवेगात्मक छिद्रहरू

मानिसले संसारलाई केवल आँखाले मात्र देख्दैन, आफ्ना भावनाले पनि देखेको हुन्छ। एउटै घटना कसैका लागि सामान्य हुन सक्छ, तर अर्काका लागि भने त्यसैले गहिरो चोट पनि पुर्‍याउन सक्छ।

अरूको प्रतिक्रियाबाट आफ्नो मूल्य मापन गर्न थालेपछि भावनात्मक कमजोरी बढ्छ। कसैले प्रशंसा गर्‍यो भने आफू सफल लाग्छ, आलोचना गर्‍यो भने सबै प्रयास व्यर्थजस्तो लाग्न सक्छ। सामाजिक सञ्जालमा धेरै ‘लाइक’ आए मात्र खुसी हुने वा हाकिमले खुलेर तारिफ नगरे आफ्नो काम बेकार ठान्ने बानीले भावनात्मक शक्ति बिस्तारै चुहाउँछ।

हाम्रो समाजमा अरू मानिसले के भन्लान्् भन्ने डरले धेरै निर्णय चलेका हुन्छन्। आफ्नो मूल्य आफैंभित्र नभई अरूको प्रतिक्रिया र अनुमोदनमा अडिएको हुन्छ। त्यस्तै कसैले वर्षौंअघि बोलेको कठोर वाक्य, अपमान, विश्वासघात, असफल प्रेम, कसैले गरेको अन्याय वा पारिवारिक विवाद मनमा थुप्रिएर बसेका हुन्छन्। यस्ता कुरा वर्षौंसम्म बोकेर हिँड्दा त्यो घटना बितिसके पनि त्यसको विष मनमा बाँकी रहन्छ। यस्ता पीडाले वर्तमानको ऊर्जा चुसिरहेको हुन्छ। यस्तो बेला हामी बाहिर सामान्य देखिन्छौं, तर मनले पुरानो हिसाब बोकेर हिँडिरहेको हुन्छ। यस्ता चिराहरू टाल्न आफ्नै मनतिर फर्कनुपर्छ।

यसका लागि आत्मचेतना एउटा सुरक्षा कवच हो। आफूभित्र के भइरहेको छ भन्ने थाहा पाएपछि बाहिरी घटनाले हामीलाई सजिलै नियन्त्रण गर्न सक्दैन। यसो भएमा आलोचना सुन्न सकिन्छ, अस्वीकार सहन सकिन्छ तर त्यसकै आधारमा आफूलाई अयोग्य ठहर गर्नु पर्दैन।

बुद्धिमा देखिने छिद्रहरू

मानिसको स्वभाव जन्मजातै जिज्ञासु हुन्छ। बालबालिकाले हरेक कुरा छुन खोज्छन्, बुझ्न खोज्छन्। यही जिज्ञासा ज्ञानको पहिलो ढोका हो। जिज्ञासाले नै हामीलाई बोल्न, हिँड्न, पढ्न र संसार बुझ्न सिकाउँछ तर पछि उमेर बढ्दै जाँदा हाम्रो दिमाग ज्ञानले होइन, सूचनाको भिडले भरिन थाल्छ।

बुद्धिले खोजअनुसन्धानभन्दा सुनेको कुरामा भर पर्न थालेपछि मानिसभित्रको जिज्ञासु बालकको स्वभाव र आलोचनात्मक सोच हराउन थाल्छ। केही सेकेन्डका भिडियोबाट समाज, राजनीति, विज्ञान वा सम्बन्धको निष्कर्ष निकाल्न थालियो भने संसारलाई बुझ्ने हाम्रो दृष्टि साँघुरिँदै जान्छ।

 यस्तो अवस्थामा योजनाबद्ध रूपमा बुद्धिमा हुने चुहावट रोक्न सिक्नुपर्छ। फरक विचार भएका पुस्तक पढ्नुपर्छ। सुनेका कुरामाथि प्रश्न गर्नुपर्छ। कुनै सूचना पत्याउनुअघि स्रोत खोज्नुपर्छ। आफूले पहिलेदेखि विश्वास गरेको धारणासमेत गलत हुन सक्छ भन्ने बुझ्नुपर्छ।

त्यसैले जिज्ञासा सही दिशामा रह्यो भने हाम्रो दिमाग केवल सूचना राख्ने भाँडो हुँदैन, सत्य छुट्याउने साधन बन्छ। यसले नै भ्रम, प्रचार र मानसिक नियन्त्रणविरुद्ध सुरक्षा दिन सक्छ।

समय व्यवस्थापनमा देखिने छिद्रहरू

समय नै संसारमा सबैलाई सबैभन्दा समान रूपमा बाँडिएको सम्पत्ति हो। धनी होस् वा गरिब, विद्यार्थी होस् वा व्यापारी, सबैले दिनमा चौबिस घण्टा नै पाउँछन्। त्यसैले समयको व्यवस्थापन परिमाणमा होइन, त्यसको प्रयोगमा हुन्छ।

समयको नोक्सानी प्रायः ठुलो निर्णयबाट हुँदैन। पाँच मिनेट मात्रै भनेर फोन खोलिन्छ, आधा घण्टा बित्छ। एउटा भिडियोपछि अर्को आउँछ। एउटा धारावाहिक शृङ्खला तीनचार भागसम्म पुग्छ। पढाइ, व्यायाम, बचत योजना वा परिवारसँग समय बिताउने कामभन्दा तत्काल रमाइलो दिने गतिविधि हामीलाई आकर्षक लाग्छ।

यसरी हामी कहिलेकाहीं आफ्ना प्रियजनलाई सधैं उपलब्ध रहने मान्छे ठान्छौं र उनीहरूका लागि छुट्याउनुपर्ने समय क्षणिक रमाइलोमा खर्च गर्छौं। कहिलेकाहीं हामी टाढाका मानिसलाई प्रभावित गर्न समय खर्च गर्छौं, तर घरका वृद्ध आमाबुवासँग केहीबेर बस्न भ्याउँदैनौं। बच्चालाई खानेकुरा वा खेल्ने सामान दिन्छौं तर उसको कुरा सुन्न समय दिँदैनौं।

हामीले आफ्नो एक दिनलाई एउटा खाली भाँडो मानौं। त्यसमा सबैभन्दा पहिले परिवार, स्वास्थ्य, शिक्षा, अर्थपूर्ण काम र दीर्घकालीन लक्ष्यका ठुला ढुंगा राख्नुपर्छ। सुरुमा ससाना व्यस्तता, मोबाइल, निरर्थक गफ र क्षणिक मनोरञ्जनले भाँडो भरियो भने महत्त्वपूर्ण कुराका लागि ठाउँ बाँकी रहँदैन। त्यसैले बिहान उठेदेखि मोबाइल, अनियोजित भेटघाट, निरर्थक गफ र अनन्त मनोरञ्जनमा समय खर्च भयो भने जीवनका महत्त्वपूर्ण कामका लागि समय बच्दैन। यसरी कामलाई पर सार्नु पनि समयको चुहावट हो।

त्यसकारण समयको प्वाल टाल्न स्पष्ट योजना हुनुपर्छ। यसका लागि कडा अनुशासन चाहिन्छ। त्यसर्थ समय जोगाउनु मात्र पर्याप्त छैन, त्यसलाई सही ठाउँमा लगाउनु आवश्यक छ।

जीवन एकै दिनमा बन्दैन। एउटा–एउटा इँटा थपिँदै बनेको हुन्छ। व्यक्तित्व पनि घण्टा–घण्टाको सही प्रयोगबाट निर्माण हुन्छ। त्यसर्थ आफ्नो समय जोगाउनु भनेको आफ्नो जीवनको जग जोगाउनु हो।

सम्बन्धमा देखिने छिद्रहरू

मानिस सामाजिक प्राणी हो। हाम्रा सम्बन्धले हाम्रो पहिचान, आत्मविश्वास र मानसिक स्वास्थ्यलाई गहिरो रूपमा प्रभाव पारेका हुन्छन्। तर आधुनिक जीवनले सम्बन्धको गुणस्तरभन्दा सङ्ख्यालाई ठुलो देखाउने वातावरण बनाएको छ। यसो हेर्दा हाम्रा सामाजिक सञ्जालमा सयौं साथी हुन सक्छन्। विवाह, भोज, पार्टी वा घुमघाममा साथ दिने मानिसको कमी नहुन सक्छ तर रमाइलोको भिड हुनु र जीवनमा भरोसा गर्न सकिने सम्बन्ध हुनु एउटै कुरा होइन।

परिवारका सदस्य, नजिकका मित्र, विश्वासिला गुरु र भरपर्दा सहकर्मीले हाम्रा सम्बन्धलाई बलियो र रमाइलो बनाएका हुन्छन्। यसरी सत्य बोल्ने साहस दिने, गल्ती देखाइदिने र कठिन समयमा चुपचाप साथ दिने धैर्य राख्न सक्ने सम्बन्धहरू हामीले जानेर पनि गुमाउँदै गइरहेका छौं।

सम्बन्धको चुहावट तब सुरु हुन्छ, जब हामी गहिरा सम्बन्धलाई सामान्य ठान्छौं र सतही चिनजानमा बढी ऊर्जा खर्च गर्छौं। बाहिरका मानिससँग विनम्र हुने तर घरमा रुखो बोल्ने, साथीको पोस्टमा शुभकामना लेख्ने तर आफ्नै दाजुभाइसँग वर्षौं संवाद नगर्ने पक्कै राम्रो होइन।

हाम्रो परिवारमा प्रेम धेरै भए पनि त्यसको अभिव्यक्ति कम हुने गर्छ। साँचो सम्बन्ध केवल रमाइलोमा सँगै हुनु होइन। गल्तीमा सचेत गराउने, सङ्कटमा साथ दिने र सफलतामा ईष्र्याबिना खुसी हुन सक्ने सम्बन्ध नै जीवनका वास्तविक आधार हुन्।

आर्थिक छिद्रहरू

पैसा नै सफलताको अन्तिम मापदण्ड होइन तर आर्थिक अनुशासनले जीवनको स्थिरता, स्वतन्त्रता र आत्मविश्वासमा ठुलो भूमिका खेलेको हुन्छ। मानिसहरू धनी हुन धेरै कमाउनुपर्छ भन्ने ठान्छन्, यो पनि सत्य होइन। वास्तवमा आर्थिक मजबुती आफूसँग भएको रकम सही रूपमा व्यवस्थापन गर्न सिकेपछि सुरु हुन्छ। स्वास्थ्य, शिक्षा, सम्बन्ध र मानसिक शान्तिसम्मका कुराहरू पैसाको अनुशासनसँग जोडिएका हुन्छन्।

कहिलेकाहीं हामी दुःख, तनाव वा निराशा कम गर्न किनमेल गर्छौं। नयाँ लुगा वा सामानले केही समय खुसी दिन्छ तर त्यो खुसी छोटो हुन्छ, खर्चको भार लामो रहन्छ। दराज कपडा, जुत्ता र झोलाले भरिँदै जान्छ, तर बचत खाता खाली रहन्छ। बचतले पैसा मात्र जम्मा गर्दैन, आत्मसंयम, दूरदृष्टि र आत्मविश्वास पनि निर्माण गर्ने भएकाले आर्थिक चुहावटमा ध्यान दिनु पनि उत्तिकै आवश्यक छ।

नैतिकतामा देखिने छिद्रहरू

नैतिकता मानिसको चरित्र अडिने जग हो। कसैले नदेखेको बेला पनि हामीले गर्ने निर्णयलाई हाम्रा मूल्य र मान्यताले नै दिशा दिन्छन्। नैतिकताको चुहावट प्रायः ठुला अपराधबाट होइन, साना–साना सम्झौताबाट सुरु हुन्छ। छलकपट बानीको रूपमा बन्दै जाँदा र झुटलाई परिस्थितिको बहाना दिएर सही ठहर्‍याउन थाल्दा चरित्रको जग चर्किन थाल्छ। त्यसपछि अरूले हामीमाथि गर्ने विश्वास मात्र होइन, आफ्नै नजरमा रहेको आत्मसम्मानसमेत खस्किँदै जान्छ।

नैतिकताको प्वाल टाल्न आफ्ना सिद्धान्तप्रति सचेत र दृढ प्रतिबद्धता चाहिन्छ। परिस्थिति जति अप्ठ्यारो भए पनि आफ्ना कामलाई आफ्ना मूल्य र मान्यतासँग मिलाएर अघि बढ्नुपर्छ। इमानदार हुँदा घाटा बेहोर्नुपर्ने वा अप्रिय परिणाम सामना गर्नुपर्ने अवस्था आउन सक्छ। नैतिकता उच्च राख्ने हो भने यसका लागि पनि हामी तयार रहन सक्नु पर्छ। यस्तो बेला सत्यको पक्षमा उभिन सक्नु नै नैतिकताको अग्निपरीक्षा हो।

सबैले आफैंभित्र रहेका छिद्रहरू जाँचौं

व्यक्तित्वलाई कमजोर र असफल पार्ने चुहावटहरूमध्ये प्रत्येकलाई अलग–अलग हेर्दा सानो र सामान्य लाग्न सक्छन् तर सबै चुहावट वा प्वाल एकसाथ खुला रहे भने तिनैले मानिसको व्यक्तित्व कति कमजोर बनाउँछन् भन्ने कुरा अनुमान समेत गर्न सकिँदैन।

सबै छिद्र एकै दिनमा टाल्न सकिँदैन। सबैभन्दा पहिले आफ्ना कमजोरीप्रति सचेत हुन आवश्यक छ। सचेतताले सुधारको बाटो देखाउँछ र सुधारले विकासतर्फ डोर्‍याउँछ। हाम्रो उद्देश्य कहिल्यै गल्ती नगर्ने मानिस बन्नु होइन, बरु आफ्ना सोच, व्यवहार र निर्णयप्रति अझ जिम्मेवार र सजग बन्नु हो।

जीवनमा आँधी नआउने कुरा सुनिश्चित गर्न सकिँदैन। असफलता, आलोचना, आर्थिक संकट, सम्बन्धको बिछोड र अनिश्चितता जीवनका स्वाभाविक कुरा हुन्। मूल प्रश्न आँधी आउँछ कि आउँदैन भन्ने होइन, हाम्रो किल्लालाई सहन सक्ने गरी बनाएका छौं कि छैनौं भन्ने हो।

हरेक अनुशासित निर्णयले जगमा एउटा ढुंगा थप्छ। हरेक इमानदार व्यवहारले भित्तालाई मजबुत बनाउँछ। हरेक अर्थपूर्ण संवादले भित्री खम्बा बलियो पार्छ। बुद्धिमानीपूर्वक प्रयोग गरिएको हरेक घण्टा, सोचेर गरिएको हरेक खर्च र सिक्न गरिएको हरेक प्रयासले जीवनको किल्लालाई सुरक्षित बनाउँछ।

यसरी बनेको किल्लाले आँधीबाट आफूलाई मात्र जोगाउँदैन। त्यो अरूका लागि पनि आश्रय बन्छ। दिशाहीनलाई मार्गदर्शन दिन्छ, थाकेकालाई भरोसा दिन्छ र निराश भएकालाई फेरि उठ्न प्रेरणा दिन्छ।

त्यसैले सधैं बाहिरी संसार मात्र नहेरौं। आफ्नै किल्लाको भित्ता पनि जाँचौं। कतै सानो चिरा वा चुहावट देखिए समयमै टालौं किनकि जीवनलाई ढाल्ने आँधी सधैं बाहिरबाट मात्र आउँदैन। कहिलेकाहीं विनाशको सुरुवात हामी आफैं भित्रबाट पनि भइरहेको हुन्छ।

प्रकाशित: २३ श्रावण २०८३ ११:२८ शनिबार