विचार

जेठा सन्तानका जिम्मेवारी

भगवान्को इच्छा अनुरूप पाइने जन्मक्रम कसरी तोकिन्छ मानवलाई थाहा हुने प्रश्न भएन । परापूर्व कालदेखि नै जेठो सन्तान बाबुको उत्तराधिकारी बन्ने प्रचलन चल्यो । बाबुपछिको जेठो दाजु अनि ठुली दिदीको महत्व आमाभन्दा कम छैन भन्ने बारम्बार सुनिन्छ । 

राजाको जेठो छोरा नै युवराजधिराज हुने अनि बाबुको शेखपछि महाराज बन्ने परम्परा चल्नुमा कुनै वैज्ञानिक कारण होला कि त्यसै स्थापित भएको एउटा चलन मात्र हो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । त्यस्तै समाजमा जेठो सन्ततिलाई भावी घरमुलीको स्थान दिनु संयोग मात्र हो कि उमेरको बढोत्तरीसँगै उनीहरूमा केही अभिभावकीय अंश पनि आउँछ होला ? एकै परिवारमा जन्मिएका सन्तानमध्ये जन्मको क्रम अनुरूप उनीहरूको बानी, व्यवहार, ज्ञान र स्वास्थ्य पृथक् हुन्छ ? भन्ने प्रश्न उठ्छ । 

प्रथम सन्तान तुलनात्मक रूपले चलाख हुन्छन् अनि उसले अन्य भाइ बहिनीको दाँजोमा अधिक पारिवारिक आकांक्षा र सामाजिक चुनौतीको सामना गर्नुपर्छ । परिणामस्वरूप ठुलो छोराको बानी अन्य सन्ततिभन्दा फरक हुन्छ । जेठो सन्तानमा देखिने यस्तो पृथक् चरित्रलाई ‘ओल्डेस्ट चाइल्ड सिनड्रोम’ भनिन्छ ।

अमेरिकाको अलाबामा राज्यमा साइकोलोजिष्टको रूपमा लामो समयदेखि मनोवैज्ञानिक परामर्शसेवा दिँदै आएका डा. ब्रान्डी स्मिथको विचारमा अधिकांश जेठा सन्तान अरुभन्दा धेरै दृष्टिले पृथक् हुन्छन् । उनीहरूले आफूलाई अधिक जबाफदेही महसुस गर्छन् भन्ने ठान्छिन्– उनी । अग्रज सदस्यको रूपमा जन्मने बित्तिकै किन अधिक दायित्व बोक्न चाहन्छ भन्ने कुराको उत्तर ठ्याक्कै नभए पनि प्रथम सन्ततिको रूपमा आगमन हुने बित्तिकै पारिवारिक वातावरणले नै उसलाई थप बोझ बोक्न सक्ने हैसियत बनाउँछ भन्छिन्– डा स्मिथ । 

बोलीचाली र काम गराइकै आधारमा पनि अमूर्त व्यक्ति प्रथम सन्तति हो होइन ठम्याउन कठिन नहुने ठान्छिन्– उनी । जबाफदेही बोक्नु, सतप्रतिशत दुरुस्त बन्न खोज्नु, मातापिता अनि आफन्तलगायत भरसक सबैको चित्त बुझाउनेतिर लाग्नु, आफूmलाई नेतृत्वकर्ताको भूमिकामा उतार्नु लगायतका प्रतिस्पर्धी चरित्र बोकेर हुर्कन्छन् जेठा सन्तानहरू भन्छिन्– डा. स्मिथ । 

अध्ययनहरूले पनि जेठा सन्तति अन्यको तुलनामा ज्ञान र सिप आर्जनको हिसाबले अग्रस्थानमा देखिन्छन् । परिवारमा एक मात्र बच्चा भएकाले माता र पिता दुबैबाट अविभाजित माया, हेरचाह अनि कैशल आर्जनको अवसर प्राप्त गर्ने भएकाले प्रथम सन्तान पछिल्ला बच्चाका तुलनामा बौद्धिकता र स्कुले ज्ञान आर्जनको सबालमा अगाडि हुन्छन् भन्ने अन्वेषण प्रकाशित गरे न्युजर्सी राज्यको रर्जर्स युनिभर्सिटीका प्राध्यापक रुफान ल्युको समूहले सन् २०२२ मा जर्नल ‘फ्रन्टियर्स इन साइकोलोजी’मा । 

चार वर्षको हुँदा नहुँदै प्रथम सन्ततिको बौद्धिक विकास, वाकपटुता अनि कारक र परिणामको अन्तर्सम्बन्ध स्थापित गर्न सक्ने हुन्छन् । यसरी स्कुल जाने उमेर पुग्दा नपुग्दै प्रथम सन्तान बौद्धिकता, अध्ययन र गणितीय दक्षताका आधारमा अरु सन्ततिको दाँजोमा झन्डै दुई वर्षको अतिरिक्त ज्ञान आर्जन गर्छन् । यसरी उमेर नपुग्दै प्रथम सन्तान परिपक्व मात्र हुँदैनन् बरु तार्किक निर्णय दिन सक्ने हैसियतमा पुग्छन् ।

व्यक्तिपरक मनोविज्ञान (इन्डिभिजुअल साइकोलोजी)का संस्थापक अल्फ्रेड एडलरको विचारमा मानिसको जन्मक्रमले उसको व्यक्तिगत विकास र सामाजिक जबाफदेही निर्देशित गर्छ । प्रथम सन्तानलाई अभिभावकले आफ्नो उत्तराधिकारीको रूपमा विकास गर्ने भएकाले सानैदेखि उसले पिताको चाहना अनुसार चल्नुपर्ने हुन्छ । 

बुबाका आकांक्षालाई यथार्थमा बदल्न प्रथम सन्तानले स्वयमलाई खरो उतार्नुपर्छ । पारिवारिक दबाबका कारण भाइ बहिनीका अगाडि आफूmलाई प्रेरणा बनेर देखाउनुपर्ने अतिरिक्त मेहनतका कारण प्रथम सन्तानले दिमागी थकान महसुस गर्छन् । त्यस्तो मानसिक दबाबलाई अस्वाभाविक मान्दिनन् संयुक्त राज्य अमेरिकामा क्लिनिकल थेरापिष्ट निकोलेट लियन्जा । मानसिक परामर्शका लागि आउने रोगीको झुन्डमा जेठो सन्तानको संख्या अधिक देखिन्छ पनि भन्छिन्– डा लियन्जा ।
  
घरको प्रथम बच्चा अर्को भाइबैना जन्मने बित्तिकै मातृत्वकरण (प्यारेन्टिफाइड)को चरणमा पुग्छन् । भाइले सुसु गर्दा भिजेको लुगा सुकाउनेदेखि बैनीलाई खुवाएर व्यस्त आमाको जीवनलाई सरलीकृत गर्ने कामसम्मको दायित्व कलिलै उमेरमा लिनुदेखि पिताजीलाई सामान्य कामधन्दामा हातेमालो गर्दागर्दै प्रथम सन्तान बच्चै उमेरमा वयस्कझै व्यवहार गर्ने स्थितिमा पुग्छ । यस्तो अतिरिक्त दायित्वका कारण बच्चाले आफ्नो स्वभाविक बायोलोजिकल विकासको अनुभूति गर्न पाउँदैन भन्ने ठान्छिन्– परामर्शदाता डा. लियन्जा । 

जन्मँदै बच्चाको चरित्र आकलन गर्न सकिने सवालमा अमेरिकाको क्लिभल्यान्ड क्लिनिककी साइकोलोजिष्ट केट एसलम्यानको विचार अन्य विज्ञभन्दा फरक छैन । प्रथम सन्तान प्राय: चलाख, बुद्धिमान, अनि कुनै पनि कुरा सतप्रतिशत सही हुनुपर्ने गुण बोकेको नेतृत्वकर्ता हुन्छ । अनि जीवनमा लक्ष्य भेदन गर्न सक्ने सामर्थ्य विकास गर्छ– उसले । अर्कातिर कान्छो छोरा भने राम रमाइलो मनपराउने अनि दीर्घकालीन समाधानको बदला काम चलाऊ निदान खोज्नतिर लाग्छ । 

अन्तिम सन्ततिको कारण पाएको पारिवारिक लाडप्यारका कारण वयस्क उमेर पुग्दासम्म पनि अरुले आफूलाई ध्यान दिएको हेर्न मन पराउँछ । जबाफदेही बोक्न नपरोस् भन्ने ठान्ने तर अरुले भने आवश्यकताका बखत तत्परताका साथ सहयोग गरोस् भन्ने चाह राख्छ कनिष्टले । कनिष्ठ सन्तानको रूपमा पाएको दीर्घकालीन माया अनि दायित्वबाट पर भाग्ने चरित्रको दोहरो मारमा परेका कारण कान्छो सन्तान दायित्व निर्वाह गर्न असफल भई जीवनको दौडमा पछाडि पर्न सक्ने सम्भावना देखिन्छ । 

त्यस्तै प्रथम र कनिष्ठको तुलनामा मध्यम सन्ततिको दिमागी विकास पृथक् ढंगले भएको देखिन्छ । दुई भाइका बिच चेप्टिन पुगेका बिचरा भाइले जेठा र कान्छा सन्तानलाई जोडने सेतुरुपी दायित्व भने सफलतापूर्वक निर्वाह गर्नसक्छ । प्रथम सन्ततिको रूपमा परिवारमा भित्रिएको मोती र कनिष्ठलाई अबोधको रूपमा आमाबाबुले सोची दिँदा मध्यम सदस्यको दिमागमा जिद्दीपनले खासै स्थान पाउँदैन । अस्तित्वका लागि नै संघर्ष गर्नुपर्ने माइलाले सहजताका लागि ‘गो विथ द फ्लो’ अथवा समय अनुकूल ढाल्नसक्ने चरित्र विकास गर्छ भन्छिन्– डा. एसलम्यान । 

विश्वको विभिन्न भौगोलिक इलाकालाई आधार मानी गरिएका दर्जनौँ अध्ययनले निकालेका नतिजाको विश्लेषण गर्दा एकै घरमा अनि त्यही मातापिताकै भए पनि ज्येष्ठ सन्नतिको दिमागी क्षमता अन्यको भन्दा फरक हुन्छ । दिमागी रूपले चलाख मात्र होइन बरु जेठो सन्तानले आफूmलाई पितापछिको अभिभावक ठान्ने भएकाले परिवारमा भएका साना मसिना कुराले समेत उसलाई मानसिक थकान दिन्छ । मानसिक बोझले रक्तचाप, मधुमेह जस्ता समस्याले सताएको देखिन्छ । 

त्यस्तो अवस्थामा अभिभावकले जेठो सन्तानले सबै समस्या समाधानमा मदत गरिरहेको छ भनेर प्रसन्न हुनुभन्दा उसलाई स्वस्थ लक्ष्मण रेखा कोरी सहयोग गर्नुपर्ने हुन्छ । अभिभावकले जेठो बच्चालाई सद्चरित्र र असल बानी व्यवहार प्रदर्शन गरी पछिल्ला सन्ततिका लागि ‘रोल मोडल’का रूपमा मात्र विकास गर्न खोज्नुपर्छ न कि मातापिताको उत्तराधिकारी होस् भन्ने चाहना भन्ने ठान्छिन्– क्लिभल्यान्ड क्लिनिककी डा. एसलम्यान । सबै सन्तान फरकफरक हुन्छन् अनि उनीहरूको लक्ष्य पनि पृथक् हुन सक्ने भएकाले सबैलाई एकै किसिमको उपचार खोज्नु हुँदैन । 

पारिवारिक बनोट र अभ्यासका कारण जेठो सन्तान अन्यको दाँजोमा चलाख हुन्छन् । जन्मकै कारण अन्य भन्दा फरक चरित्र भएको जेठो सन्तानले आवश्यक सहयोग पाए असल छोरा अनि समाज उपयोगी नागरिक बन्न सक्ने देखियो । अर्कोतिर मानसिक थकान व्यवस्थापनमा सहयोग नपाए जेठो सन्ततिको जीवन बर्बादसमेत हुन सक्छ । जेठो सन्ततिले समेत आफूmले थेग्नै नसक्ने बोझ बोक्नुभन्दा गर्न नसक्ने कर्मबाट आफूmलाई पृथक् राख्नुपर्छ । त्यस्तै मातापिताले समेत प्रथम सन्तानलाई अनावश्यक झमेलामा पार्नु हुँदैन । परिवारको समष्टिगत सफलतामा बाबुआमा पछि जेठो दाइ दिदीको योगदान हुन्छ भन्ने कुराको स्मरण गर्दै उनीहरुको उचित कदर र सम्मान गराैँ । 

प्रकाशित: ३१ भाद्र २०८२ ०८:४३ मंगलबार