विचार

मङ्सिरको ग्रहयोग : अनिष्ट कि अनुकूल सङ्केत?

पछिल्लो समय मङ्सिरदेखि माघसम्म नेपालमा ठूलो राजनीतिक उथलपुथल हुने ज्योतिषीय भविष्यवाणीहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चित छन्। यस्ता अभिव्यक्तिले कतिपयमा आशङ्का र अन्योल उत्पन्न गरेका छन्। तर राष्ट्रको भविष्यसम्बन्धी फलादेश कुनै एउटा ग्रहयोग वा राशिगत स्थितिबाट मात्र गर्न मिल्छ? प्राचीन संहिता ज्योतिषमा सङ्क्रान्ति, ग्रहचार, संवत्सर, ग्रहपरिषद्, स्तम्भबल र आर्षमानसमेतको समग्र विचार गर्ने पद्धति छ। यसैले वर्तमान ग्रहस्थितिका अनुकूल र प्रतिकूल दुवै पक्षको शास्त्रीय विवेचना आवश्यक देखिन्छ।

मङ्सिर सङ्क्रान्ति र पञ्चवारफल

प्रचलित नेपाली पञ्चाङ्गमा मङ्सिर १ गते मङ्गलबार वृश्चिक सङ्क्रान्ति उल्लेख छ। तर चित्रापक्षीय अयनांशमा आधारित सूक्ष्म दृग्गणनाअनुसार सूर्यले कात्तिक ३० गते सोमबार साँझ करिब ८ बजे वृश्चिक राशिमा प्रवेश गरेको देखिन्छ। त्यस समयमा शुक्ल सप्तमी, श्रवण नक्षत्र, वृद्धि योग र वणिज करण विद्यमान थिए।

सङ्क्रान्तिको वार, नक्षत्र, करण र मुहूर्तअनुसार फलविचार गर्ने परम्परा छ। सङ्क्रमणक्षण फरक परे यी अङ्ग र तिनका फलसमेत बदलिन्छन्। प्रस्तुत अध्ययनमा चित्रापक्षीय दृग्गणनालाई आधार मानिएको छ।

संहितागत वारफलअनुसार सोमबारको सङ्क्रान्ति आरोग्य, कृषिवृद्धि र शासकीय कल्याणका दृष्टिले तुलनात्मक अनुकूल मानिन्छ। कश्यपादिको वर्गीकरणमा यसको संज्ञा ध्वाङ्क्षी हुन्छ, जसलाई व्यापारीवर्गको अनुकूलतासँग जोडिएको छ। तर श्रवण नक्षत्र महोदरी वर्गमा पर्ने भएकाले चोरी तथा उपद्रवका प्रतिकूल सङ्केत पनि छन्।

सङ्क्रान्ति रात्रिको प्रथम प्रहरमा परेको छ। डा. सुरेशचन्द्र मिश्रको संवत्सरफलसम्बन्धी विवेचनामा सामान्य रात्रिकालीन सङ्क्रान्तिलाई असामाजिक गतिविधिमा नियन्त्रणको सङ्केत मानिएको छ। वणिज करणमा सङ्क्रान्ति निविष्ट अर्थात् बसेको अवस्थामा हुने मान्यता छ, जसको फल धनधान्य, आरोग्य र जनसुखसँग सम्बन्धित छ।

मुहूर्तचिन्तामणिमा श्रवण समसंज्ञक नक्षत्र भएकाले यसको मुहूर्तसङ्ख्या ३० र आर्थिक फल मूल्यमा समता मानिएको छ। यहाँ मुहूर्तसङ्ख्या नक्षत्रवर्गअनुसार निर्धारित मान हो, सङ्क्रान्ति परेको घडीको क्रमसङ्ख्या होइन।

बृहत्संहिताको सस्यजातकाध्यायमा वराहमिहिरले बादरायणको मतअनुसार वृश्चिक सङ्क्रान्तिको ग्रहस्थितिबाट गहुँ, जौ, चना र तोरीलगायत ग्रीष्मसस्यको शुभाशुभ विचार गर्ने व्यवस्था उल्लेख गरेका छन्। यसबाट सङ्क्रान्तिफल राजनीतिक विषयमा मात्र सीमित नरहेको बुझिन्छ।

यस वर्ष मङ्सिरमा पाँच मङ्गलबार परेका छन्।भद्रबाहुसंहिताको पच्चीसौँ अध्यायसँग सम्बन्धित पञ्चवारफलको व्याख्यात्मक विवेचनामा यस्तो संयोगलाई अग्निभय, वर्षामा अवरोध, अन्नको मूल्यमा उतारचढाव तथा अस्त्रशस्त्र र यन्त्रका कलपुर्जाको मूल्यवृद्धिसँग जोडिएको छ।

यस वर्षको वारसंयोगमा अर्को रोचक पक्ष छ। साउनमा पाँच शनिबार, भदौमा पाँच मङ्गलबार, असोजमा पुनः पाँच शनिबार र कात्तिकमा पाँच आइतबार परेका थिए। अहिले मङ्सिरमा फेरि पाँच मङ्गलबार परेका छन्। यसरी लगातार पाँच महिनामा शनि, मङ्गल र रविसँग सम्बन्धित पञ्चवारसंयोग देखिएको छ। परम्परागत ज्योतिषमा यी तीनै नैसर्गिक पापग्रह मानिन्छन्। यस अवधिमा नेपालले भोगेका प्राकृतिक विपत्ति, दुर्घटना तथा सामाजिक–राजनीतिक घटनाक्रमलाई शास्त्रीय पञ्चवारफलसँग तुलनात्मक अध्ययन गर्नु विचारणीय छ।

यसैबीच नेपालसहित विश्वका विभिन्न स्थानमा आगलागीका समाचार सार्वजनिक भएका छन्। कात्तिकको अन्त्यमा थाइल्यान्डको फुकेटमा भीषण आगलागीबाट ११ जनाको मृत्यु भयो भने मङ्सिरको पहिलो दिन झापाको चिया उद्योगमा आगलागी भएको समाचार आयो। फलितज्योतिषमा सूर्यको आगामी राशिसम्बन्धी फल सङ्क्रमणअघिदेखि विचार गर्ने परम्परा पनि उल्लेखनीय छ। तथापि राशिगत गोचरफल र मासको पञ्चवारफल पृथक् विषय हुन्। यी घटनाले अग्निभयसम्बन्धी शास्त्रीय सङ्केतलाई समसामयिक अध्ययनको विषय बनाएका छन्।

पुस र माघमा यस्तै पाँच मङ्गलबार, शनिबार वा आइतबारको संयोग छैन। त्यसैले मङ्सिरको पञ्चवारफललाई माघसम्म निरन्तर रहने अनिष्टको आधार बनाउन मिल्दैन।

परिवर्तनशील ग्रहस्थिति र नेपालको राशिगत विचार

नेपालको प्रचलित वृश्चिक राशिबाट कुम्भस्थित राहु चौथो भावमा पर्छ। यस गोचरका सन्दर्भमा मैले यसअघि अतिवृष्टि र जलजन्य क्षतिको सम्भावना औँल्याएको थिएँ। यस अवधिमा जेनजी आन्दोलनबाट जनधनको क्षति, रसुवाको भोटेकोशी बाढीबाट मितेरी पुलसहितका पूर्वाधारमा नोक्सानी तथा विभिन्न स्थानमा बाढीपहिरोका घटना भए। यी घटनालाई परम्परागत गोचरफलसँग तुलना गर्न सकिन्छ।

अब राहु मकर राशिमा प्रवेश गरेपछि नेपालको वृश्चिक राशिबाट तेस्रो भावमा पुग्नेछ। परम्परागत गोचरफलमा तेस्रो राहुलाई तुलनात्मक अनुकूल मानिन्छ। यसर्थ अघिल्लो अवस्थाकै निरन्तरता हुने निष्कर्ष उचित हुँदैन।

मीनस्थित शनिको गोचर भने अझै प्रतिकूल विचारणीय छ। शनि मार्गी हुँदैमा सबै प्रतिकूलता समाप्त हुँदैन। अर्कोतर्फ, बृहस्पतिको आगामी वक्रत्वलाई स्वतः अशुभ भन्न मिल्दैन। बृहस्पति नैसर्गिक शुभग्रह हो र वक्रग्रहको चेष्टाबलसमेत फलविचारको विषय हो।

पुसमा सूर्य धनु र शनि मीन राशिमा रहँदा परस्पर केन्द्रीय सम्बन्ध बन्नेछ। शनिको दशम दृष्टि सूर्यमा पर्ने भए पनि दुवै ग्रह बृहस्पतिको राशिमा रहनु र सूर्यमा बृहस्पतिको शुभदृष्टि पर्नुले यसलाई एकपक्षीय अशुभ मान्न मिल्दैन।

हाल सिंह राशिमा गुरु–मङ्गलको युति छ। सूर्यको मित्रराशिमा परस्पर मित्र यी ग्रहको युतिलाई स्वतः अशुभ मान्न मिल्दैन। बृहस्पतिको संसर्गले मङ्गलको फलमा अनुकूलता थपिन सक्ने पक्ष पनि विचारणीय छ।

अझ महत्त्वपूर्ण संयोग सूर्य–मङ्गलको परस्पर राशिपरिवर्तन हो। सूर्य मङ्गलको राशि वृश्चिकमा र मङ्गल सूर्यको राशि सिंहमा छन्।फलदीपिका (६/३२–३४) मा परिवर्तनयोगका शुभाशुभ भेद वर्णित छन्। नेपालको वृश्चिक राशिलाई लग्नवत् विचार गर्दा लग्नेश मङ्गल राज्यभावमा र दशमेश सूर्य लग्नमा छन्। मङ्गलको चौथो पूर्णदृष्टि आफ्नै राशि वृश्चिकमा समेत पर्छ। यसबाट राजकीय तथा प्रशासनिक विषयमा तुलनात्मक अनुकूल सङ्केत विचार गर्न सकिन्छ। यद्यपि जन्मकुण्डलीको परिवर्तनयोगलाई गोचरमा जस्ताको तस्तै लागू गर्न मिल्दैन।

सन् २०१३ नोभेम्बरमा पनि सूर्य–मङ्गलको यस्तो राशिपरिवर्तन बनेको थियो। त्यही नोभेम्बर १९ मा नेपालमा दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भई राजनीतिक शक्तिसन्तुलनमा परिवर्तन आएको थियो। अहिले ग्रहस्थिति फरक भए पनि स्पष्ट संसदीय बहुमतप्राप्त सरकारका प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणसमेत यस अध्ययनको समसामयिक सन्दर्भ हो।

संवत्सर, शुक्रोदय र स्तम्भबल

हालै प्रकाशित मेरो शुक्रोदयसम्बन्धी लेखमाबृहत्संहिताको शुक्रचाराध्यायअनुसार चित्रा नक्षत्रमा भएको पूर्वोदयका अनुकूल सङ्केत र तृतीय मण्डलका प्रतिकूल फलको चर्चा गरिएको थियो। समग्र फलविचारमा दुवै पक्ष उपेक्षणीय छैनन्।

यस वर्ष रौद्र संवत्सरको समग्र फल प्रतिकूल र मन्त्री मङ्गलको फलमा उपद्रवका सङ्केत छन्। तर बृहस्पति वर्षका राजा हुनु, ग्रहपरिषद्का अधिकांश विभाग शुभग्रहको अधीनमा रहनु तथा पुष्य नक्षत्रमा बृहस्पतिको उदयबाट पौष महावर्ष आरम्भ हुनु अनुकूल पक्ष हुन्।

बृहस्पतिको राजत्वका आधारमा संवत्सरवाहन नौका मानिएको छ, जसको फलमा कृषिहानि, जनविस्थापन र पशुधनलाई कष्टको सङ्केत छ। मङ्गल अधिपति रहेको ज्येष्ठ अधिकमासको प्रतिकूल मेदिनीय फल पनि विचारणीय छ।

संहिता ज्योतिषमा जल, तृण, वायु र अन्न गरी चार स्तम्भ तथा चार आर्षमानको अध्ययनलाई विशेष महत्त्व दिइन्छ। मेरो गणनात्मक अध्ययनमा यस वर्ष तृतीय आर्षमान तुलनात्मक कमजोर भए पनितृतीय वायुस्तम्भ चारै स्तम्भमध्ये बलियोरहेको देखिएको छ। कात्तिक पूर्णिमा र कृत्तिकाको संयोगबाट बन्ने चतुर्थ आर्षमान पनि बलियो रहने सङ्केत छ। यसको फल संवत्सरका अन्तिम महिनाहरूमा विशेष विचारणीय हुन्छ।

भविष्यवाणीमा शास्त्रीय विवेक

वराहमिहिरलेबृहत्संहिताको दोस्रो अध्यायमा योग्य सांवत्सरिक ज्योतिषीका लागि देशकालको ज्ञान, शुद्ध गणना तथा गणित, संहिता र होराग्रन्थको सम्यक् अध्ययन आवश्यक बताएका छन्।

मङ्सिर सङ्क्रान्तिको वार, रात्रिकाल, करण तथा मुहूर्तसङ्ख्यामा अनुकूल सङ्केत छन् भने नक्षत्रसंज्ञा, पाँच मङ्गलबार, रौद्र संवत्सर, शनिगोचर, संवत्सरवाहन र अधिकमासको प्रतिकूल पक्ष छन्। राहुको परिवर्तन, गुरु–मङ्गलको युति, सूर्य–मङ्गलको राशिपरिवर्तन तथा तुलनात्मक रूपमा बलियो वायुस्तम्भ र चतुर्थ आर्षमानले अर्को पक्ष प्रस्तुत गर्छन्।

यसको अर्थ अप्रिय घटना हुनै सक्दैन भन्ने होइन। राजनीतिक घटनाका सामाजिक, आर्थिक तथा संस्थागत कारणको स्वतन्त्र महत्त्व रहन्छ।एउटा ग्रहयोगका आधारमा अनिवार्य राजनीतिक अनिष्टको घोषणा गर्नु जति अपूर्ण हुन्छ, प्रतिकूल सङ्केत लुकाएर सबै शुभ छ भन्नु पनि त्यत्तिकै एकपक्षीय हुन्छ।

ज्योतिषीय फलादेशको विश्वसनीयता भय उत्पन्न गर्ने अभिव्यक्तिमा होइन, शुद्ध गणना, मूलग्रन्थको प्रमाण, शुभाशुभको निष्पक्ष विवेचना र जिम्मेवार प्रस्तुतिमा निर्भर हुन्छ।

पोखरेल वास्तु एवं ज्योतिष अध्येता तथा परामर्शदाता हुन् । 

प्रकाशित: २ मंसिर २०८३ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %