विचार

‘पेनिसिलिन’ र अमेरिकी शक्ति

प्रविधिगत नेतृत्वलाई संस्थागत क्षमताका रूपमा नभई  प्रायः एकल र नाटकीय आविष्कारको परिणामका रूपमा बुझ्ने गरिन्छ। तर दोस्रो विश्वयुद्धकालमा भएको पेनिसिलिनको तीव्र विकासले देखाउँछ कि समन्वित सार्वजनिक नेतृत्व, बलिया अनुसन्धान संस्था र गतिशील निजी क्षेत्र मिलेर काम गर्दा अरू कुनै नवप्रवर्तन प्रणालीले हासिल गर्न नसक्ने परिणाम सम्भव हुन्छ।

हुन पनि जब हामी युद्धकालीन नवप्रवर्तनबारे सोच्छौं, प्रायः नाटकीय उपलब्धिहरू दिमागमा आउँछन्– एलन ट्युरिङले नाजीहरूको ‘एनिग्मा कोड’ भंग गर्नु, राडारको आविष्कार वा म्यानहाटन परियोजनाबाट परमाणु बमको विकास यसमा पर्छन् तर कम देखिने एउटा जैविक नवप्रवर्तन अर्थात् पेनिसिलिनको ठुलो मात्रामा उत्पादन  पनि उत्ति नै रूपान्तरणकारी थियो।

त्यसो त वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले सन् १९२८ मै पेनिसिलिनको जीवाणुनाशक गुण पहिचान गरे तापनि, अर्थपूर्ण मात्रामा उत्पादन हुन एक दशकभन्दा बढी समय लागेको थियो। दोस्रो विश्वयुद्धका बेला मात्र पेनिसिलिनलाई उत्पादन, वितरण र व्यापक रूपमा प्रयोग गर्न सकिने उपचारमा रूपान्तरण गरियो।

त्यसो त दाउ निकै ठुलो थियो। सैनिक अभिलेखका अनुमानअनुसार पहिलो विश्वयुद्धमा घाइते भएका करिब १२–१५ प्रतिशत सैनिकहरूको मृत्यु जीवाणु सङ्क्रमणका कारण भएको थियो। केही चोटपटकमा, विशेषगरी जाँघको हड्डी भाँचिनुका कारण मृत्युदर ८० प्रतिशतसम्म पुग्थ्यो, जसको प्रमुख कारण घाउपछि आउने जटिलताहरू नै थिए। बाँच्नका लागि चोटको गम्भीरताभन्दा पनि भाग्यमा बढी निर्भर हुनुपर्थ्याे।

दोस्रो विश्वयुद्धको अन्तिम वर्षहरूमा लडाइँको एक मोर्चामा रहेका राष्ट्रहरूले पेनिसिलिनको ठुलो मात्रामा उत्पादन सुरु गरेपछि चिकित्सा नतिजाहरू नाटकीय रूपमा बदलिए। सैनिक अभिलेखले करिब ९५ प्रतिशतसम्म सङ्क्रमण निको भएको दर देखाउँछन्, जुन अघिल्ला एन्टिसेप्टिक र सल्फा औषधीहरूभन्दा धेरै प्रभावकारी थियो। समान प्रकारका घाउ सङ्क्रमणबाट हुने मृत्युदर झरेर करिब ३–४ प्रतिशतमा आयो र पेनिसिलिनले रोग फैलिन नदिन पहिल्यै आवश्यक ठानिने दशौं हजार अंगच्छेदन रोकिदिएको अनुमान छ। उत्तिकै महत्त्वपूर्ण कुरा, यसले निको हुने समयलाई पनि धेरै घटायो, महिनौं लाग्ने आराम अवधि केही हप्तामै सीमित भयो।

पेनिसिलिनको ठुलो मात्रामा उत्पादन मित्रराष्ट्रहरूको युद्ध प्रयासका लागि क्रिप्टोग्राफी वा परमाणु भौतिकीजस्ता कुनै पनि उपलब्धिजत्तिकै निर्णायक थियो। तर बलियो वैज्ञानिक क्षमताका बाबजुद जर्मनी यसमा असफल रह्यो। अनुसन्धान ढिलो सुरु भयो, केही विश्वविद्यालय प्रयोगशालामा सीमित रह्यो र प्रयोगात्मक चरणमै अड्कियो, किनकि नाजी वैज्ञानिकहरूसँग उच्च उत्पादन दिने जीवाणु जात, उन्नत फरमेन्टेसन प्रविधि र सबैभन्दा ठुलो मात्रामा उत्पादनका लागि आवश्यक संस्थागत समन्वयको अभाव थियो।

लडाइँका अर्कातर्फ रहेका मित्रराष्ट्रहरूको अनुभव भने पूर्णतः फरक थियो। सन् १९४१ देखि नै अमेरिकाले भ्यानेभार बुसको अफिस अफ साइन्टिफिक रिसर्च एन्ड डेभलपमेन्टमार्फत आफ्नो वैज्ञानिक र औद्योगिक पूर्वाधार परिचालन गर्‍यो। विश्वविद्यालय, सार्वजनिक प्रयोगशाला र निजी कम्पनीहरूमा समानान्तर अनुसन्धान परियोजनाहरूलाई लगानी गरियो र वित्तीय तथा वैज्ञानिक जोखिम राज्य स्वयंले नै वहन गर्‍यो। खाद्य प्रशोधन र औद्योगिक रसायन क्षेत्रमा विकसित ‘डिप ट्यांक फरमेन्टेसन’ प्रविधि अपनाएर फाइजरसहित २१ अमेरिकी कम्पनीहरूले  विजयअगाडि नै लाखौं मात्रामा पेनिसिलिन उत्पादन गर्न सके।

अमेरिकी नवप्रवर्तन प्रणालीका तीन विशेषताहरू निर्णायक साबित भए। पहिलो, पेनिसिलिन उत्पादन विस्तार सम्भव हुनुको कारण युद्धअघि नै विकास गरिएका नागरिक प्रविधिहरू, जस्तै फरमेन्टेसन र सूक्ष्म जीवविज्ञान तथा औद्योगिक इन्जिनियरिङमा गरिएको दीर्घकालीन लगानी थियो। यो गैरसैन्य प्रविधिगत आधार नै युद्धकालीन रणनीतिक सम्पत्ति बन्यो। कृत्रिम रसायनशास्त्रमा बलियो हुँदाहुँदै पनि जर्मनीसँग एन्टिबायोटिक ठुलो मात्रामा उत्पादन गर्न आवश्यक विविध औद्योगिक पारिस्थितिकी थिएन।

दोस्रो, अमेरिकी सरकार नवप्रवर्तनको जोखिम लिन  तयार थियो।  युद्धको सुरुवातमा पेनिसिलिन प्रयोगात्मक, महँगो, र अत्यन्त अनिश्चित थियो, जसले निजी कम्पनीहरूलाई लगानी गर्न कम प्रोत्साहन दियो। तर राष्ट्रपति फ्यांकलिन रुजवेल्टको प्रशासनले बुझ्यो कि प्रविधिगत प्रगतिका लागि असफलतालाई समेत सहन सक्ने  र सिक्ने क्षमता चाहिन्छ।

उक्त कार्यालयमार्फत धेरै अन्वेषणात्मक प्रयासहरूमा लगानी गरियो, धेरै असफल हुने अपेक्षासहित। यसले सबैभन्दा आशाजनक उपायहरूलाई उभिन र विस्तार हुन दियो। यसविपरीत जर्मनीको बढी केन्द्रीकृत अनुसन्धान प्रणालीले तत्काल सैन्य प्रतिफललाई जोड दिँदा खुला प्रयोगलाई निरुत्साहित गर्‍यो।

तेस्रो, अमेरिकाले विकेन्द्रीकृत तर अत्यन्त एकीकृत नवप्रवर्तन प्रणाली निर्माण गर्‍यो, जसले सार्वजनिक लगानी, शैक्षिक खोज, र औद्योगिक कार्यान्वयनलाई जोड्यो। सरकारले प्राथमिकता निर्धारण गर्‍यो र प्रारम्भिक जोखिम वहन गर्‍यो। विश्वविद्यालय र प्रयोगशालाले विज्ञान अगाडि बढाए र निजी कम्पनीहरूले खोजलाई ठुलो मात्रामा उत्पादनमा रूपान्तरण गरे। यही श्रम विभाजनले मित्रराष्ट्रहरूलाई नाजी जर्मनीले नक्कल गर्न नसक्ने प्रविधिगत लाभ दियो।

हालैको एउटा शोधपत्रमा मेरा सहलेखक र मैले तर्क गरेका छौं– पेनिसिलिनको कथा अमेरिकी प्रविधिको विकासमा देखिने व्यापक ढाँचाको उदाहरण हो। दोस्रो विश्वयुद्धपछि सेमिकन्डक्टरदेखि जैवप्रविधिसम्मका सबैभन्दा रूपान्तरणकारी अमेरिकी नेतृत्वका उपलब्धिहरू एउटा विशिष्ट संस्थागत संरचनामा आधारित रहे। त्यसमा सार्वजनिक रूपमा वित्तपोषित आधारभूत अनुसन्धान, बलिया विश्वविद्यालय र अनुसन्धान संस्था, नयाँ प्रविधि विस्तार गर्न सक्षम प्रतिस्पर्धी निजी क्षेत्र र स्वास्थ्य तथा शिक्षामा सार्वजनिक लगानीबाट प्राप्त ठुलो सामाजिक प्रतिफल पर्छन्।

रक्षा लगानीका रूपमा सुरु भएको पेनिसिलिनले अन्ततः युद्धमा कुनै पनि हतियारजत्तिकै प्रभाव पारेको मात्र होइन, नागरिक चिकित्सा र विश्वव्यापी स्वास्थ्यलाई पनि रूपान्तरण गर्‍यो। यस अर्थमा अमेरिकाको सबैभन्दा शक्तिशाली युद्धकालीन सम्पत्ति कुनै एक प्रविधि होइन, त्यस्ता उपलब्धिहरू सम्भव बनाउने अनेक प्रणाली थिए।

मित्रराष्ट्रहरूका विजयका कथाहरूले प्रायः सीमित प्रविधिगत उपलब्धिहरूलाई मात्र उजागर गर्छन्। तर वास्तविकता के हो भने मित्रराष्ट्रहरू केवल राम्रो हतियार बनाएकाले मात्र विजयी भएनन्, उनीहरू विजयी यसकारण भए कि उनीहरूले वैज्ञानिक ज्ञानलाई व्यावहारिक, जीवनरक्षक उपकरणमा रूपान्तरण गर्न सक्ने गहिरो र लचिलो नवप्रवर्तन पारिस्थितिकी निर्माण गरेका थिए।

यो समग्र प्रणाली संयोगले बनेको थिएन। यो शैक्षिक अनुसन्धान, औद्योगिक क्षमता र संस्थागत विकासलाई जोड्ने जानाजानी गरिएका नीतिगत निर्णयहरूको परिणाम थियो। त्यही संयोजनलाई डोनाल्ड ट्रम्पको प्रशासनले आधारभूत अनुसन्धान र लक्षित लगानी, विशेषगरी स्वास्थ्य  र विज्ञान क्षेत्रमा बजेट कटौती गरेर जोखिममा पारिरहेको छ।

आजका नीति निर्माताहरूले पेनिसिलिनको युद्धकालीन विकासबाट सिकिएको पाठ सम्झनुपर्छ, वास्तविक सुरक्षा हतियारमा मात्र होइन, नवप्रवर्तनको संवर्धनमा पनि निर्भर हुन्छ।

–सुरिको लन्डन बिजनेस स्कुलका अर्थशास्त्र विभागका प्राध्यापक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २२ माघ २०८२ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App