समृद्ध राष्ट्रहरू प्राकृतिक स्रोतका कारण मात्र समृद्ध भएका होइनन्, उनीहरूले आफ्नो तुलनात्मक क्षमता पहिचान गरी त्यसलाई राष्ट्रिय विकासको रणनीतिमा रूपान्तरण गरेका कारण आजको अवस्थामा पुगेका हुन्। मध्यपूर्वले पेट्रोलियम, जापानले प्रविधि र नवप्रवर्तन, जर्मनीले इन्जिनियरिङ, दक्षिण कोरियाले अनुसन्धान तथा औद्योगिक विकास, अनि अस्ट्रेलिया, बेलायत, क्यानडा, आयरल्यान्ड, सिंगापुर र मलेसियाले शिक्षालाई आर्थिक समृद्धिको प्रमुख आधार बनाए।
नेपालसँग विशाल औद्योगिक आधार, समुद्री बन्दरगाह वा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने ठुलो उत्पादन क्षमता छैन। पेट्रोलियमको सम्भावना देखिए पनि त्यसको व्यावसायिक उपयोग दीर्घकालीन र अत्यधिक खर्चिलो प्रक्रिया हो। यही बौद्धिक पुँजीलाई राष्ट्रिय आर्थिक रणनीतिसँग जोड्न सकियो भने चिकित्सा शिक्षा विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, अनुसन्धान, सेवा निर्यात, अन्तर्राष्ट्रिय प्रतिष्ठा र आर्थिक कूटनीतिको प्रभावकारी आधार बन्न सक्छ। त्यसैले अब चिकित्सा शिक्षालाई चिकित्सक उत्पादन गर्ने शैक्षिक कार्यक्रमसँगै राष्ट्रिय विकासको रणनीतिक क्षेत्रका रूपमा हेर्ने समय आएको छ।
चिकित्सा शिक्षा आयोगको पछिल्लो विवरणअनुसार स्वास्थ्य विज्ञानअन्तर्गत स्नातक तहमा करिब नौ हजारभन्दा बढी अध्ययन सिट उपलब्ध छन्, जसमध्ये करिब ७० प्रतिशत निजी क्षेत्र र ३० प्रतिशत सरकारी तथा सार्वजनिक संस्थाले सञ्चालन गरिरहेका छन्।
एमबिबिएसदेखि स्नातकोत्तर तहसम्म निजी क्षेत्रको उल्लेखनीय सहभागिताले नेपालको स्वास्थ्य जनशक्ति उत्पादनमा यसको भूमिका पूरक मात्र नभई आधारभूत रहेको स्पष्ट हुन्छ। स्वतन्त्र अध्ययनहरूले निजी मेडिकल कलेजहरूमा खर्बौं रुपैयाँ बराबरको स्थिर लगानी भएको देखाएका छन्। शिक्षण अस्पताल, प्रयोगशाला, अत्याधुनिक उपकरण, छात्रावास तथा अनुसन्धान पूर्वाधारमा भएको यो लगानीले राज्यको आर्थिक भार उल्लेखनीय रूपमा घटाएको छ।
मुलुकको आर्थिक पाटो भित्र लुकेको अर्को गम्भीर यथार्थ पनि हाम्रो सामु छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै उच्च शिक्षा अध्ययनका लागि एक खर्ब ३८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ।
चिकित्सा शिक्षा अध्ययनका लागि मात्रै हजारौं नेपाली विद्यार्थी अर्बौं रुपैयाँ लागनी गरेर भारत, बंगलादेश, चीन, फिलिपिन्स, रुस, काजाखस्तान लगायतका मुलुक जाने गरेका छन्। यसले विदेशी मुद्रा बाहिरिएको तथ्यलाई उजागर त गर्छ नै नेपालको आफ्नै शैक्षिक क्षमता र पूर्वाधार अझै पूर्ण रूपमा उपयोग हुन नसकेको यथार्थसमेत देखाउँछ।
यही चुनौतीभित्र नेपालको ऐतिहासिक अवसर लुकेको छ। दक्षिण एसियामा चिकित्सा शिक्षाप्रतिको माग बर्सेनि तीव्र रूपमा बढिरहेको छ। सन् २०२६ को भारतको राष्ट्रिय चिकित्सा स्नातक प्रवेश परीक्षामा २२ लाख ७९ हजार ७४३ विद्यार्थीले रजिष्ट्रेसन गरेका थिए। तीमध्ये करिब २० लाख परीक्षार्थी सहभागी हुँदा ११ लाख २१ हजार १८५ जना स्नातक अध्ययनका लागि योग्य भए तर शैक्षिक सत्र २०२६–२७ का लागि भारतभर उपलब्ध एमबिबिएस सिट केवल एक लाख ३६ हजार ९३९ मात्र छन्। अर्थात् योग्य ठहरिएका अधिकांश विद्यार्थीले एमबिबिएस अध्ययन गर्ने अवसर पाउँदैनन्। यही कारण प्रत्येक वर्ष उल्लेखनीय संख्यामा भारतीय विद्यार्थी नेपाल, बंगलादेश, रुस, काजाखस्तान, उज्बेकिस्तान, जर्जिया, फिलिपिन्स र चीनलगायतका मुलुकमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने गरेका छन्।
यता नेपालले शैक्षिक सत्र २०२५/२६ मा एमबिबिएस सिट संख्या दुई हजार ६३५ तथा छात्रवृत्ति सिट ६९१ पुर्याए पनि उच्च सिट संख्या तथा अन्य संरचनागत कारणले प्रत्येक वर्ष ठुलो संख्यामा नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि बिदेसिने गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा र चिकित्सा शिक्षा आयोगको तथ्यांकअनुसार वार्षिक एक हजार तीन सयभन्दा बढी नेपाली विद्यार्थीले चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जाने अनुमति लिने गरेका छन्। तीमध्ये करिब ७० प्रतिशत बंगलादेश जाने गर्छन् भने चीन र भारत पनि प्रमुख गन्तव्यका रूपमा रहेका छन्।
नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको विशेष (स्पेसल) परीक्षाको नतिजाले नेपालको चिकित्सा शिक्षाको गुणस्तर र विश्वसनीयतालाई पुनः पुष्टि गरेको छ। नेपाल तथा विदेशका विभिन्न शैक्षिक संस्थाबाट चिकित्सा शिक्षा अध्ययन गरेका परीक्षार्थी सहभागी उक्त परीक्षामा समग्र उत्तीर्ण दर ९३.४८ प्रतिशत रहेको छ।
विशेषगरी नेपालका मेडिकल कलेजबाट अध्ययन गरेका परीक्षार्थीको ९८.३७ प्रतिशत उत्तीर्ण दरले स्वदेशी चिकित्सा शिक्षाको प्रदर्शन उल्लेखनीय रहेको देखाएको छ।
काउन्सिलले श्रावण ७ र ८ गते सञ्चालन गरेको परीक्षाको नतिजा श्रावण २२ गते सार्वजनिक गरेको हो। कुल १,०१३ परीक्षार्थी सहभागी परीक्षामा ९४७ जना उत्तीर्ण भएका छन् भने ६५ जना अनुत्तीर्ण भएका छन्। नेपालका मेडिकल कलेजबाट अध्ययन गरेका ९१९ परीक्षार्थीमध्ये ९०४ जना उत्तीर्ण भएका छन् भने १५ जना मात्र अनुत्तीर्ण भएका छन्। यसअनुसार स्वदेशी मेडिकल कलेजका परीक्षार्थीको उत्तीर्ण दर ९८.३७ प्रतिशत पुगेको छ।
विदेशबाट चिकित्सा शिक्षा अध्ययन गरेका परीक्षार्थीको नतिजासँग तुलना गर्दा पनि स्वदेशी मेडिकल कलेजको प्रदर्शन प्रभावशाली देखिन्छ।
भारतबाट अध्ययन गरेका १७ परीक्षार्थीमध्ये १३ जना उत्तीर्ण भई ७६.४७ प्रतिशत उत्तीर्ण दर हासिल गरेका छन्। चीनबाट अध्ययन गरेका ३७ जनामध्ये आठ जना मात्र उत्तीर्ण हुँदा उत्तीर्ण दर २१.६२ प्रतिशत रहेको छ।
त्यस्तै, इजिप्टबाट १९ जनामध्ये आठ जना अर्थात् ४२.११ प्रतिशत, किर्गिस्तानबाट पाँच जनामध्ये दुई जना अर्थात् ४० प्रतिशत र फिलिपिन्सबाट पाँच जनामध्ये दुई जना अर्थात् ४० प्रतिशत उत्तीर्ण भएका छन्। यो नतिजा यसअघि जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको नेपाल मेडिकल काउन्सिलको परीक्षाको परिणामसँग तुलना गर्दा पनि महत्त्वपूर्ण देखिन्छ।
उक्त परीक्षामा नेपालमा अध्ययन गरेका एमबीबीएस स्नातकको उत्तीर्ण दर ७६.७९ प्रतिशत रहेको थियो। चीनबाट अध्ययन गरेर आएका परीक्षार्थीको उत्तीर्ण दर १५.०४ प्रतिशत, बङ्गलादेशबाट अध्ययन गरेकाको ४१.१४ प्रतिशत र भारतबाट अध्ययन गरेकाको ४२.३१ प्रतिशत रहेको थियो।
विकसित मुलुकहरूको तुलनामा अध्ययन तथा जीवनयापन खर्च अपेक्षाकृत कम हुनु, अधिकांश चिकित्सा कार्यक्रम अंग्रेजी माध्यममा सञ्चालन हुनु, शिक्षण अस्पतालहरूमा पर्याप्त क्लिनिकल एक्सपोजर, अनुभवी प्राध्यापक, सांस्कृतिक रूपमा सुरक्षित र सहिष्णु समाज, नेपालीहरूको आतिथ्य, हिमालदेखि तराईसम्म फैलिएको प्राकृतिक विविधता तथा दक्षिण एसियाको रणनीतिक भौगोलिक अवस्थिति नेपालका महत्त्वपूर्ण प्रतिस्पर्धात्मक विशेषता हुन्।
यी सबै पक्षलाई योजनाबद्ध रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न सकियो भने नेपाल दक्षिण एसियाकै आकर्षक चिकित्सा शिक्षा गन्तव्यका रूपमा स्थापित हुन सक्छ।
चिकित्सा शिक्षाको प्रभाव विश्वविद्यालय वा अस्पतालभित्र सीमित हुँदैन। एउटा शिक्षण अस्पताल वा मेडिकल कलेजले विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, प्रयोगशाला प्राविधिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा प्रशासनिक जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिनुका साथै घरभाडा, होटल, यातायात, कृषि, खाद्यान्न, निर्माण, सूचना प्रविधि, बैंकिङ, बिमा र अन्य सेवा क्षेत्रलाई समेत चलायमान बनाउँछ। विदेशी विद्यार्थीको आगमनले यो प्रभाव अझ व्यापक हुन्छ। उनीहरूले तिर्ने शिक्षण शुल्कसँगै बसोबास, भोजन, यातायात, सञ्चार, स्वास्थ्य बीमा, पर्यटन र दैनिक उपभोगमा हुने खर्चले स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष ऊर्जा प्रदान गर्छ। नेपालले पनि चिकित्सा शिक्षालाई यही दृष्टिकोणबाट अघि बढाउन सके विदेशी मुद्रा आर्जन गर्ने दिगो र विश्वसनीय क्षेत्रका रूपमा स्थापित गर्न सक्छ।
प्रकाशित: १ भाद्र २०८३ ०८:४४ सोमबार