विचार

भूराजनीतिका प्रमुख शक्ति

वर्तमान समय अन्तर्राष्ट्रिय राजनीति र विश्वबजारका लागि अत्यन्त रोचक छ । विश्व अस्थिरताको अवस्थामा छ । अझै पनि प्रमुख महाशक्ति रहेको संयुक्त राज्य अमेरिका अब भरपर्दो शक्ति रहन छोडेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत ८० वर्षदेखि अमेरिकाले निर्माण र नेतृत्व गर्दै आएको अन्तर्राष्ट्रिय व्यवस्थालाई सक्रिय रूपमा विघटन गरिरहेका छन् । यसविपरीत वित्तीय बजारहरू भने उकालो लागिरहेका छन् । अमेरिकामा मात्र होइन, पूर्वी एसिया, दक्षिण अमेरिका र युरोपका धेरै भागमा पनि यो लागु हुन्छ । उसो भए, के लगानीकर्ताहरू गलत छन् अथवा यो विरोधाभास देखिएजति सरल छैन?

वर्तमान अवस्था जटिल छ, तर आगामी केही वर्षमा विश्व राजनीति र बजारलाई तीन प्रमुख कारकहरूले निर्धारण गर्नेछन्।

पहिलो, तीव्र गतिमा अघि बढिरहेको एआई विकासमा कुनै राजनीतिक नियन्त्रण छैन । यही एआई हालको बजार उछालको प्रमुख प्रेरक शक्ति हो र सकारात्मक तथा नकारात्मक दुवै परिणामसहित यसको विस्तार लगभग बेरोकतोक जारी रहने देखिन्छ । यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण प्राविधिक क्रान्ति हो र यसले असाधारण अवसरहरू सिर्जना गर्नेछ तर अभूतपूर्व जोखिमहरू पनि ल्याउनेछ । यो विकास त्यस्तो समयमा भइरहेको छ, जब विश्व भूराजनीतिक मन्दीको अवस्थाबाट गुज्रिरहेको छ । पुरानो विश्वव्यवस्था बिस्तारै समाप्त हुँदै छ तर त्यसलाई केले प्रतिस्थापन गर्ने हो, त्यो अझै स्पष्ट छैन।

विश्वका प्रमुख शक्तिहरूबिच सम्बन्ध बिग्रँदै जाँदा एआईमाथि प्रभावकारी नियमन लागु गर्ने सम्भावना झन् कमजोर बन्दै गएको छ । अत्याधुनिक एआई मोडल विकास गर्ने कम्पनीहरू अब सार्वभौम भूराजनीतिक खेलाडी बन्न थालेका छन् किनभने तिनका आविष्कारहरू भविष्यको सुरक्षा र समृद्धिका लागि अनिवार्य हुनेछन् । यो जंगलको नियमजस्तै हो, जहाँ अत्यन्त प्रतिस्पर्धी र विशाल लगानीयुक्त प्रविधि दौड चलिरहेको छ । एआईको हतियार होड अमेरिका र चीनबिच मात्र होइन, ओपनएआई, एन्थ्रोपिक र अन्य कम्पनीहरूबिच पनि चलिरहेको छ । हाल, सावधानीपूर्वकको विकासभन्दा तीव्र वृद्धिलाई प्राथमिकता दिने प्रोत्साहनहरू अत्यन्त बलिया छन्।

दोस्रो, एआईले बजारलाई माथि उठाए पनि भूमण्डलीकरणमाथि बढ्दो राजनीतिक करले त्यसको प्रभावलाई सीमित गर्नेछ । विगत आधा शताब्दीदेखि विश्व आर्थिक वृद्धिको मुख्य आधार खुला बजारलाई अमेरिकी प्रवर्धन थियो, जसले विचार, सूचना, मानिस, वस्तु, सेवा र विशेषगरी पुँजीको सीमापार प्रवाहलाई तीव्र बनायो । अब अमेरिकाले भूमण्डलीकरणको नेतृत्व गरिरहेको छैन । बरु, उसले व्यापार र वित्तीय सम्बन्धलाई सीमित राजनीतिक लाभका लागि प्रयोग गर्ने नीति अघि बढाइरहेको छ, जसका कारण अन्य देशहरू आफ्ना उद्योग र श्रमिकहरूको सुरक्षा गर्न संरक्षणवादी बन्न बाध्य भइरहेका छन् । ट्रम्पले यो प्रवृत्तिलाई तीव्र बनाएको भए तापनि डेमोक्र्याटहरू समेत उनी आउनुअघि नै स्वतन्त्र व्यापारबाट टाढा सर्न थालेका थिए।

यसको परिणामस्वरूप सकारात्मक–योग (सबैलाई लाभ हुने) सोचबाट शून्य–योग (एकलाई लाभ, अर्कालाई हानि) सोचतर्फ परिवर्तन भइरहेको छ । यद्यपि युरोपेली संघ, भारत, मर्कोसुर (अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वे), चीन, क्यानडालगायतका देशहरूबीच भएका हालैका व्यापार सम्झौताले धेरै देश अझै पनि भूमण्डलीकरण परित्याग गर्न इच्छुक छैनन् भन्ने देखाउँछन् । राजनीतिक उद्देश्यले प्रेरित संरक्षणवाद अब विश्वव्यापी नयाँ सामान्य अवस्था बन्न पुगेको छ।

तेस्रो, विश्वले अहिले बढी र गम्भीर ‘टेल रिस्क’ अर्थात् दुर्लभ तर विनाशकारी जोखिमहरू उत्पादन गरिरहेको छ । यस्ता घटनाहरू अझै पनि कम सम्भावित छन्, तर पहिलेको तुलनामा तिनको सम्भावना बढेको छ । जब प्रमुख महाशक्ति नै अविश्वसनीय बन्छ, उसका परम्परागत साझेदारहरू सुरक्षा र आर्थिक रणनीतिमा विकल्पहरू खोज्न थाल्छन् र प्रतिद्वन्द्वीहरूले नयाँ अवसरहरूको परीक्षण गर्न थाल्छन् । सरकारहरूबीच बढ्दो तनावले अन्तर्राष्ट्रिय समस्याहरूको समाधान झन् कठिन र महँगो बन्छ।

अमेरिका–इजरायल र इरानबीचको युद्धलाई उदाहरणका रूपमा लिन सकिन्छ । ट्रम्पको इरानमाथि आक्रमण गर्ने निर्णय अत्यधिक आत्मविश्वासबाट प्रेरित थियो, तर यसले अमेरिकाका परम्परागत सहयोगीहरूसँगको सम्बन्ध कमजोर भइसकेको तथ्य पनि उजागर गर्‍यो, किनकि उनीहरूको निर्णय प्रक्रियामा कुनै प्रभाव रहेन । परिणामस्वरूप कोभिड–१९ महामारीपछि सबैभन्दा ठूलो व्यापारिक अवरोध उत्पन्न भयो।

युद्धले अहिलेसम्म विश्वव्यापी आर्थिक मन्दी निम्त्याएको छैन, तर हर्मुज जलडमरुको अवस्था वा इरानको आणविक कार्यक्रमसम्बन्धी सम्भावित वार्ताले जे परिणाम दिए पनि अब कुनै पनि बेला शत्रुता पुनः सुरु हुन सक्ने स्थायी जोखिम सिर्जना भएको छ । मध्यपूर्व अझ असुरक्षित क्षेत्र बनेको छ, जहाँ विद्रोही तथा गैरराज्य समूहहरूलाई सक्रिय हुने थप अवसर मिलेको छ । अमेरिकी प्रतिकारको कठोर शैलीले यमनका हुथी विद्रोही, इस्लामिक स्टेटजस्ता आतंकवादी संगठनहरू तथा नयाँ प्रविधिबाट सशक्त बनेका एकल आक्रमणकारीहरूलाई अझ कट्टर बनाउन सक्छ।

यस्ता जोखिम पश्चिम एसियामा मात्र सीमित छैनन् । हाल युक्रेनले रुसी आक्रमणविरुद्धको युद्धमा केही गति प्राप्त गरेको देखिन्छ, तर यसको अर्थ राष्ट्रपति भ्लादिमिर पुटिन झन् खतरनाक एकान्तमा धकेलिँदै छन् भन्ने पनि हो । युक्रेनले क्रेमलिनलाई जति बढी अपमानित गर्ने सम्भावना बढ्छ, पुटिनले खेलको दिशा बदल्न निराशाको अवस्थामा सामरिक आणविक हतियार प्रयोग गर्ने वा अग्रपङ्क्तिका नेटो सदस्य राष्ट्रहरूविरुद्ध प्रत्यक्ष र आक्रामक हमला गर्ने जोखिम पनि त्यति नै बढ्छ । युद्ध अन्त्यका लागि मध्यस्थता गर्ने भूमिकाबाट ह्वाइट हाउस पछाडि हटेको सन्दर्भले यी सम्भावनालाई अझ यथार्थपरक बनाएको छ।

यीमध्ये कुनै पनि खतरनाक परिदृश्य सम्भावित देखिँदैनन् तर धेरैले स्वीकार्न नचाहेका यी सम्भावनाहरू अहिले बढी वास्तविक भएका छन् । अझ यी त देखिइसकेका जोखिम मात्र हुन् । एआई तथा अन्य नयाँ युद्ध प्रविधिमाथि प्रभावकारी शासनको अभावले भविष्यका कुनै पनि द्वन्द्वलाई अझ अप्रत्याशित र खतरनाक बनाउनेछ । त्यस्तै, विश्व स्वास्थ्य क्षेत्रमा समन्वयको कमी तथा अमेरिकी नेतृत्वको कमजोर इच्छाशक्ति र स्रोत अभावले कमजोर बनेको विश्व स्वास्थ्य संगठनका कारण भविष्यमा नयाँ महामारी फैलिने सम्भावना बढाउनेछ र त्यसलाई नियन्त्रण गर्न झन् कठिन हुनेछ।

संक्षेपमा, बजारलाई माथि उकासिरहेका प्राविधिक उपलब्धिको विकासक्रम जारी रहने सम्भावना छ, तर त्यससँगै व्यापक अवरोध र संकटको जोखिम पनि बढिरहेको छ । धेरै कुरा राम्रो हुन सक्छन्, वा कम्तीमा अपेक्षाअनुसार चल्न सक्छन्, तर कुनै क्षण अचानक सबै कुरा बदलिन पनि सक्छ।

–ब्रेमर कृत्रिम बौद्धिकतासम्बन्धी सयुक्त राष्ट्र संघीय सल्लाहकार समितिका सदस्य हुन्।

(प्रोजेक्ट सिन्डिकेटबाट)  

प्रकाशित: २७ जेष्ठ २०८३ १०:२६ बुधबार