विचार

भोटेकोसी बाढीको वितण्डाबाट सिक्नुपर्ने पाठ

नेपालमा बाढीको विनाश हामीले पटक–पटक सुनेका, देखेका र भोगेका छौं। हिमाल र पहाडले ठुलो भूभाग ओगटेको हाम्रो भूगोलमा साँघुरा खोँचहरू हुँदै बग्ने नदीहरू तल्लो भूभागतर्फ झर्दा तिनको बहाब फैलिँदै जान्छ तर वेग घट्नुको सट्टा साथमा बोकिने ढुंगा, गेग्रान, माटो र रूखका ठुटाहरूले विनाशको दायरा झन् फराकिलो बनाउँछन्। नदीको प्राकृतिक बहाब क्षेत्र साँघुरो पारेर बस्ती, बजार र सडक बनाइएका ठाउँमा बाढी केवल प्राकृतिक विपत्ति रहँदैन, त्यो मानवनिर्मित जोखिमको परिणामसमेत बन्छ।

इतिहासले दिएका चेतावनीहरू

नेपालको बाढी इतिहासमा यस्ता घटनाको लामो शृंखला छ। सन् १९९३ को बागमती बाढीले ब्यारेज र आसपासका संरचनामा ठुलो क्षति पुर्‍यायो। सन् २००८ मा कोसीको तटबन्ध भत्किएपछि नदीले धार परिवर्तन गर्दा एक लाखभन्दा बढी मानिस विस्थापित भए। सन् २०१४ को कर्णाली बाढीले पनि बस्ती, खेतबारी र पूर्वाधारमा ठुलो क्षति पुर्‍यायो। यी घटनाले एउटै कुरा पुष्टि गर्छन्– नदीलाई मोड्न खोजे पनि नदीले आफ्नो बाटो बिर्संदैन।

२०७८ साल असारमा मेलम्ची र हेलम्बुमा आएको बाढी र गेग्रान बहाबले दशकौं लगाएर बनेका बस्ती, सडक, पुल र मेलम्ची खानेपानी आयोजनाका संरचनामा ठुलो क्षति पुर्‍यायो, २५ जनाभन्दा बढीको ज्यान गयो र करोडौं डलर बराबरको क्षति भयो। मेलम्चीले छाडेको प्रश्न हो - हामी नदीको जोखिम बुझेर बस्ती र संरचना बनाइरहेका छौं कि नदीकै बाटोमा? यही प्रश्नको अझ भयावह उत्तर अहिलेको भोटेकोसी बाढीले दिएको छ।

भोटेकोसीको ताजा विनाश

२०८३ भदौ १० गते रसुवाको भोटेकोसीमा आएको अचानकको भीषण बाढीले टिमुरेबाट स्याफ्रुबेँसी, मैलुङ हुँदै नुवाकोटको बेत्रावती र त्रिशूलीसम्मका बस्ती र संरचनामा ठुलो विनाश मच्चायो। गल्छी–मलेखु–मुग्लिनसम्मको क्षेत्र पनि अछुतो रहेन।

टिमुरेमा घर, पसल, सवारीसाधन र सामान बगेर सम्पूर्ण स्वाहा भए भने रसुवागढी क्षेत्रका संरचना पनि गम्भीर रूपमा क्षतिग्रस्त भए। स्याफ्रुबेँसीमा घर, होटल, पसल, सडक र प्रहरी चौकीसम्म प्रभावित भए। बाढी बेत्रावती र त्रिशूलीतर्फ बढ्दा घर, सडक, पुल र कृषि भूमि पनि नष्ट भए। यस विनाशकारी बाढीले धेरै अमूल्य मानव जीवनको इहलीला समाप्त गर्‍यो, कैयौंलाई घरबारविहीन र आफन्तबाट बिछोड गरायो, जसको क्षतिपूर्ति कहिल्यै हुन सक्दैन।

चिन्ताजनक पक्ष के हो भने नदी किनारको तल्लो भूभागमा बाक्लिँदै गएका बस्तीहरू यस्ता आकस्मिक बाढीका लागि अत्यन्त संवेदनशील छन्। नदीको सतहबाट केही सय फिट माथिसम्म समेत बाढी प्रवेश गरेको तथ्य आएका छन्। हिजोसम्म बाक्लो बस्ती रहेका ठाउँ आज भग्नावशेषमा परिणत भएको दृश्यले हाम्रो विकासको ढाँचामाथि नै प्रश्न उठाएको छ।

बस्ती बसाल्दा ख्याल गर्नुपर्ने नदीको बाटो

हामीले विकासका नाममा नदीका किनार, बगर र बाढी फैलिने प्राकृतिक क्षेत्रलाई क्रमशः अतिक्रमण गर्दै आएका छौं। सडक चाहियो, बजार चाहियो, जलविद्युत् आयोजना चाहियो तर यी कहाँ बनाउने, नदीको बहाब क्षेत्र कति हो, सय वा हजार वर्षमा एकपटक आउन सक्ने बाढीको जोखिम कति छ भन्ने प्रश्नलाई योजनाको सुरुवातमै पर्याप्त महत्त्व नदिँदा त्यसको मूल्य निकै महँगो पर्न सक्छ। पहाडी र माथिल्लो तटीय क्षेत्रमा पूर्वाधार र लगानी तीव्र रूपमा बढे पनि तिनलाई प्राकृतिक विपद्बाट जोगाउने संयन्त्र निकै कमजोर छ।

भोटेकोसी–त्रिशूली बाढीले यही कमजोरी उजागर गरेको छ। नदीको बहाव क्षेत्र साँघुरो पारेर बनाइएका संरचना, किनारमा फैलिएका बजार र जोखिमयुक्त बस्तीहरू केही मिनेटको अत्यधिक बहाबअगाडि कति कमजोर हुन्छन् भन्ने दृश्य टिमुरेदेखि त्रिशूलीसम्म देखियो। यसले प्रस्ट देखाउँछ– सडक, बजार वा जलविद्युत् जस्ता पूर्वाधार निर्माणअघि गरिने वातावरणीय तथा विपद् जोखिम अध्ययनहरू या त पर्याप्त गहिराइका थिएनन्, या भए पनि तिनका सुझाव व्यवहारमा उतारिएनन्। त्यसैले अब प्रश्न ‘बाढी आयो भने कसरी उद्धार गर्ने?’ मा मात्र सीमित हुनु हुँदैन। प्रश्न हुनुपर्छ, ‘बाढी आउँदा पनि मानवीय क्षति न्यून हुने गरी हामीले जोखिम मूल्यांकनका आधारमै बस्ती र पूर्वाधार बनाएका छौं कि छैनौं?’

प्राकृतिक विपत्ति पूर्ण रूपमा रोक्न सकिँदैन। हिमपहिरो, हिमताल विस्फोट, अत्यधिक वर्षा वा हिमनदीसँग सम्बन्धित घटनाहरू मानव नियन्त्रणभन्दा बाहिर हुन सक्छन्। भोटेकोसी घटनाको वास्तविक कारणबारे थप वैज्ञानिक अध्ययन आवश्यक भए पनि, प्रारम्भिक विश्लेषणले हिमाली क्षेत्रमा भएको हिमचट्टान पतन वा हिमनदीसँग सम्बन्धित घटनाले फ्ल्यास फ्लड निम्त्याएको संकेत गर्छन्। विपत्ति प्राकृतिक भए पनि क्षतिको आकार भने हाम्रो तयारी र योजनामा नै निर्भर हुन्छ।

अहिले बस्ती बसेका धेरै ठाउँ इतिहासको कुनै न कुनै कालखण्डमा नदी नै बग्ने ठाउँ थिए। नदी क्रमशः गहिरिँदै गएपछि मात्र ती ठाउँमा मानिस बस्न थालेका हुन्। बेत्रावती, त्रिशूलीबजार जस्ता स्थानहरू वास्तवमा नदीले नै बनाएका ‘बेसिन’ हुन्, जुन कुनै समय बाढीले नै निर्माण गरेका ठाउँ हुन् भन्नेमा दुईमत छैन। त्यस्ता ठाउँ अन्ततः नदीकै हुन् भन्ने कुरा हामीले बुझ्नुपर्छ। दीर्घकालीन रूपमा सुरक्षित बस्ती बसाउने हो भने सरकारले स्पष्ट नीति लिनैपर्छ र आमजनतालाई पनि यस्तो जोखिमबारे सचेत गराउनुपर्छ। नेपालजस्तो हिमाली भूबनोटमा यस्ता घटनाले ‘मानवीय बस्ती आखिर कहाँ राख्ने?’ भन्ने ठुलो प्रश्न पनि खडा गरेको छ।

मेलम्ची, कर्णाली, कोसी र बिपी राजमार्गमा रोसी खोलाले दिएका चेतावनीलाई भोटेकोसी र त्रिशूलीले अझ ठुलो आवाजमा दोहोर्‍याएका छन्। अब नदी किनारका बस्तीको जोखिम नक्सांकन, बाढीको प्राकृतिक बहाब क्षेत्रको संरक्षण, जोखिमयुक्त बस्तीको वैज्ञानिक पुनस्र्थापना, प्रभावकारी पूर्वसूचना प्रणाली र स्थानीयदेखि राष्ट्रिय तहसम्मको विपद् पूर्वतयारी अनिवार्य बन्नुपर्छ।

सडक, पुल, जलविद्युत् आयोजना र बजार निर्माण गर्दा आजको आवश्यकता मात्र होइन, भोलिको चरम बाढीको सम्भावना पनि गणना गर्नुपर्छ। नदी थुनेर वा मोडेर हामीले केही समयका लागि जमिन पाउन सक्छौं तर बाढी आएको दिन त्यही नदीले आफ्नो पुरानो बाटो खोज्दै हाम्रो विकासको कमजोरीलाई विनाशमा बदल्न सक्छ।

जलवायु परिवर्तनको परिदृश्य, पूर्व चेत्तावनी र तयारी

विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभाव सम्पूर्ण हिमाली क्षेत्रमै पर्न थालेको छ, जसको एउटा परिणाम भोटेकोसीको बाढी पनि हुन सक्छ। लाङटाङमा मात्र नभई नेपालका पूर्वी–पश्चिमी भेग र भारततर्फको हिमाली क्षेत्रमा समेत विगतमा मिल्दाजुल्दा घटना देखिइसकेका छन्, जसले यसको मूल कारण जलवायु परिवर्तन नै हो भन्न सघाउँछ।

तापक्रम वृद्धिका कारण एक्कासी हुने प्रलयकारी बाढीजस्ता विपद् बढिरहेकाले अब कस्तो ठाउँमा बस्ने र कस्तो ठाउँमा नबस्ने भन्नेबारे स्पष्ट र कठोर निर्णय गर्ने समय आइसकेको छ।

भदौ १० मा रसुवामा आएको विनाशकारी बाढीलाई अकल्पनीय भनेर पन्छिन मिल्ने अवस्था देखिँदैन। सेती, मेलम्ची, रोसी र थामे बाढीदेखि हिमालय क्षेत्रका विभिन्न विपद्ले यस्ता जोखिम बढिरहेको संकेत दिँदै आएका छन्।

अध्ययनहरूले नेपालका हिमाली तथा पहाडी भूभागको ठुलो हिस्सा हिमपहिरो र हिमताल विस्फोटजन्य बाढीको जोखिममा रहेको देखाएका छन्। इसिमोड र युएनडिपीसहितका अध्ययनले कोसी, गण्डकी र कर्णाली जलाधारका तीन हजार ६ सय २४ हिमतालमध्ये ४७ वटा जोखिमयुक्त रहेको पहिचान गरिसकेका छन्।

विज्ञहरूले हिमताल, हिमनदी, हिउँ र बरफको निरन्तर निगरानी, जोखिम पहिचान र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड दिँदै आए पनि सरकारको तयारी र कार्यान्वयन अझै पर्याप्त हुन सकेको छैन। रसुवा घटनाले हिमताल मात्र होइन, हिमनदी र हिमचट्टानको अवस्थासमेत सूक्ष्म रूपमा अध्ययन गरी बहुजोखिम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट सन्देश दिएको छ।

अगाडिको बाटो

अन्ततः प्राकृतिक विपत्तिसँगको हाम्रो लडाइँ नदीसँग होइन, जोखिमसँग हो। हामी प्रकृतिका नियन्त्रक होइनौं, बरु प्रकृतिले दिएको सीमाभित्र रहेर कार्य गर्ने प्राणी हौं भन्ने यथार्थ बुझेरै भौतिक संरचना निर्माण गर्दा हाम्रो कल्याण छ। भौगोलिक जोखिम बुझेर बस्ती बसाल्ने, जोखिमअनुसार पूर्वाधार बनाउने र समयमै पूर्वसूचना तथा उद्धारको व्यवस्था गर्ने हो भने प्राकृतिक विपत्ति पूर्ण रूपमा रोक्न नसके पनि त्यसबाट हुने मानवीय र भौतिक क्षति निश्चय नै घटाउन सकिन्छ।

भोटेकोसीले यसपटक हामीबाट धेरै कुरा खोसेको छ। अब कम्तीमा यसले दिएको पाठ भने हामीले गुमाउनुहुँदैन। अर्को ठुलो वर्षा आउनुअघि हामीले आफैंलाई सोध्नैपर्छ, ‘हामीले नदीको बाटो बिर्सेका हौं कि नदीले हाम्रो बाटो सम्झिरहेको छ?’

प्रकाशित: १९ भाद्र २०८३ ०७:५८ शुक्रबार