नेपालको हिमाली भूभागबाट पहिरो, हिमपहिरो, हिम–चट्टानयुक्त पहिरो, हिमताल फुटेर आउने बाढी, गेग्य्रानयुक्त बाढी र आकस्मिक बाढी जस्ता विपद् छुट्टाछुट्टै नभएर शृंखलाबद्ध बन्न सक्छन् भन्ने तथ्य ल्हेन्दे जलाधार क्षेत्रमा गएको चट्टानसहितको हिउँ पहिरोले उजागर गरिदियो। हिमनदी, हिमताल विस्फोटन वा ठुला पहिरो खस्दा तलको खोला वा नदी थुनिन सक्छन्।
केही समय पानी र गेग्य्रान जम्मा भएर अवरोध हटेपछि अत्यन्त तीव्र वेगले पानी मिश्रित गेग्य्रान तलतिर दौडिनु स्वाभावकि नै भयो। यस्ता घटनालाई ‘शृंखलाबद्ध विपद्’ भन्न सकिन्छ। उपलब्ध तस्बिरहरूले भने १० भदौमा ल्हेन्दे खोला–लाङटाङ क्षेत्रबाट सुरु भएको चट्टानयुक्त हिम पहिरो छोछेन वा ल्हेन्दे खोलामा थुनिएर धेरै ठुलो अस्थायी ताल बनाएको र विस्फोटन भएको भने देखिँदैन।
छोटो समयमा अकल्पनीय मानवीय र भौतिक क्षति हुन पुग्यो। सरकारी विवरणअनुसार १ हजार ४५४ जनाको मृत्यु पुष्टि भएको, ५ हजार ५५० जना हराइरहेका वा सम्पर्कविहीन छन्। ७ हजार ५०० भन्दा बढी निजी घरमा क्षति, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, जलविद्युत् आयोजना र व्यवसायमा ठूलो क्षति पुग्यो। प्रारम्भिक क्षति तथा आवश्यकता मूल्यांकनले भौतिक तथा आर्थिक क्षति प्रत्यक्षतर्फ करिब २७५ अर्ब र अप्रत्यक्ष १३४ अर्ब रुपैयाँ आकलन गरिएको छ।
हिमपहिरो/हिम–चट्टान झरेको क्षेत्रको ‘क’ बिन्दुदेखि ‘ख’ बिन्दुसम्म स्थलाकृति देखाइएको छ। अध्ययन गर्दा हिम–चट्टानसहितको पहिरो ५ हजार १०० मिटरबाट तल ३ हजार ७५० मिटरमा अर्थात् करिब १ हजार ३५० मिटर उचाइबाट छोछेन खोलाको शिर भागमा बजारिएको देखिएको छ।
वैज्ञानिकहरूले सन् २०२५ मा स्विट्जरल्यान्डको ब्लाटेन घटनामा यस्तै ठुलो हिम–चट्टान खस्दाखस्दैका तथ्यांक लिएर बहावको प्रकृति लगायतका विषयमा अध्ययन गरेका थिए। त्यस बेला करिब ९.३ मिलियन घनमिटरको पिण्ड हिम–चट्टान करिब १ हजार २०० मिटर ठाडो उचाइबाट तल झरेको थियो।
हिमपहिरोको अधिकतम औसत गति करिब २०० किमी प्रतिघण्टा ५५.६ मिटर प्रतिसेकेन्ड भएको देखिएको थियो। त्यस्तै अध्ययनको आधारमा हिसाब गर्दा ल्हेन्दे जलाधारमा खसेकोे हिम–चट्टानको गति करिब १२० मिटर प्रतिसेकेन्ड अर्थात् ४३० किमि प्रतिघण्टाको गतिले बजारिएको देखिन्छ।
चित्र १ (लाङ्टाङ्ट हिमाल उत्तर वरपरको भू–आकृतिक अवस्था, हिमपहिरो स्थल तथा बहावको प्रारम्भिक मार्ग। दायाँः ड्रोनबाट खिचिएको तस्बिर जहाँ खुला चट्टानी क्षेत्रमा देखिएका चट्टानयुक्त हिमपहिरो (तस्बिर स्रोतः गुओ–क्सियोङ झेङ)।
एक अध्ययनअनुसार खसेको हिमचट्टानकोे आयतन करिब १० करोड ३० लाख घनमिटर थियो। जसमा १ करोड २६ लाख घनमिटर बरफ र ९०.४ मिलियन घनमिटर चट्टान रहेको अनुमान छ। यसको आकार करिब ११० वटा फुटवल मैदान बराबरको देखिन आउँछ।
यति ठुलो हिउँयुक्त चट्टान करिब १ हजार ३५० मिटर माथिबाट तल झर्दै छोछेन खोलाको शिर भागमा बजारिँदा ढुंगा र बरफ फुटेर टुक्रिने, घर्षण हुने, बरफ पग्लने र खोला–किनारको भित्तासँग हुने घर्षणसमेतले गेग्य्रान पानीमा घुलमिल भई लेदोको रूपमा बगेको हो।
लेदो गेग्य्रान ३७५० मिटर माथिबाट ठाडो छोछेन खोला हुँदै करिब २ हजार ९०० मिटर तल ल्हेन्दे खोलामा ओइरिएको देखिन्छ। तल झर्दै गर्दा छोछेन खोला र किनारमा गेग्य्रानले ढाकिएको हिउँ र गेग्य्रानसमेत लतारेर सँगै ल्हेन्देमा पुर्याएको देखिन्छ। ल्हेन्देसम्म पुग्दा त्यसको गति करिब ९६ मिटर प्रतिसेकेन्ड अर्थात् ३४६ किमि प्रतिघण्टा देखिन्छ।
सुरुमा ऊत्तर दिशा हुइँकिएको हिउँयुक्त गेग्य्रान पहिरोकै रूपमा ल्हेन्देमा पुनः बजारिएपछि पश्चिम दिशा मोडियो। ल्हेन्दे खोलाको करिब १३– १४ किमिको दूरी करिब ६ मिनेटमा पार गरी रसुवागढी नेपाल चीनबिच सीमा नाकामा गेग्य्रानभेल सुनामीको ढाँचामा पुगेको देखिन्छ।
भेलको औसत यात्रा वेग करिब ३८ मिटर प्रतिसेकेन्ड, अर्थात् १३७ किमि प्रतिघण्टा देखिन्छ। यो सम्पूर्ण पानी वा प्रत्येक ढुंगाको वेग होइन; देखिएको बाढी/गेग्य्रानको अगाडिको भागले दूरी पार गर्न लागेको औसत गति हो। भेल कति उचाइ ढाकेर आएको थियो भन्ने दृश्य रसुवागढीको सिसी टिभीमा देखिएको छ।
पहिरो बजारिँदा ५.२ स्केलको भूकम्पसरहको कम्पन नेपाली समय ८ बजेर ३७ मिनेटमा रेकर्ड भएको थियो। रसुवागढी सीमाको सिसिटिभी फुटेजले ८ बजेर ४४ मिनेटमा गेग्य्रानसहितको हुन्डरी मडारिएको देखाउँछ। ल्हेन्दे खोलासम्म झर्दाको १ मिनेट गरी करिब ७ मिनेटमा रसुवागढीसम्म आउँदा हिमयुक्त गेग्य्रान हुन्डरीयुक्त भेलमा परिणत भएको देखिन्छ।
भेलको गहिराइ ४० देखि १३४ मिटर देखिए पनि औसतमा ५९ मिटर देखिन्छ। भोटेकोसीलाई नै भेलले ठेलेर माथिसम्म उल्टो धकेलेको देखिन्छ। त्यसैले यो घटनालाई सामान्य वर्षाबाट आएको बाढी भनेर मात्र बुझ्दा यसको वास्तविकता छुट्न सक्छ।
टिमुरेसम्म पुग्दा वेगमा केही कमी आएको देखिन्छ। कारण भोटेकोसी नदीको भिरालोपन कम हुनु र चौडाइ बढ्नु हो। गेग्य्रान नदी किनार र नदीपिँधसँग घर्षण हुँदा, ढुंगा–गेग्य्रान ठोकिँदा र समथर ठाऊँमा जम्मा हुँदै जाने हुँदा गति र बेगमा कम हुन्छ।
भोटेकोसीको सीमा नाकादेखि तलको बाटोमा माटो तथा गेग्य्रान थपिनु, थुप्रिनु र सहायक नदी दोभान पनि हुनुले बेगमा केही कमी आए पनि गेग्य्रान भेलको मात्रामा कमी भएको देखिँदैन। रसुवागढी–बेत्रावतीबिच बनाइएका संरचनाले भेलमा आएका गेग्य्रान केही ठाउँमा जम्मा भएको र केही ठाउँबाट थपिँदै गएको पनि देखिन्छ।
भेलको गति टिमुरे, स्याफ्रुबेंसीसम्म करिब ३६ मिटर प्रतिसेकेन्ड मैलुङसम्म २९ मिटर प्रतिसेकेन्ड बेत्रावतीसम्म करिब १८ मिटर प्रतिसेकेन्ड देखिन्छ। बेत्रावती काटेपछि नदी पथमा भिरालोपन धेरै कम भएको छ। यस कारण पनि गेग्य्रान सुनामीको गतिमा कमी आई गेग्य्रान माटो, बालुवा जम्मा हुने प्रक्रियामा बढोत्तरी देखिन्छ। बाढी कति शक्तिशाली थियो भन्ने तथ्य बेत्रावती नदीकिनारको भीमकाय सन्धि–ढुंगा करिब ४० किमि तलसम्म बगाएको दृश्यले प्रमाणित गर्छ।
चित्र २ः त्रिशूली बजार गेग्य्रानयुक्त भेलआउनु अघि र भेलपछि बगेको–पुरेको खण्ड (स्रोत सामाजिक सन्जाल)
ल्हेन्दे खोलामा मिसिँदासम्म बाढीको अगाडिको लहर मूल पहिरोको ‘प्रतिलिपि’ भएको र पछि गेग्य्रान–पानी–नदीको बदलिँदो संयुक्त प्रणाली बनेको भनेर बुझ्न सकिन्छ। बाटोमा नदीको माटो, ढुंगा र गेग्य्रान तानिएर बहावको मात्रा र प्रकृति बदलिँदै कतै गेग्य्रान थुप्रिने र कतै फेरि वरपर किनारको माटो–ढुंगा पानीले बगाउँदै गेग्य्रानयुक्त बाढीकै रूपमा तल तलसम्म अगाडि बढेको देखिएको छ। यही पहिरो माघ–चैतबिचको समयमा खसेको हुन्थ्यो भने बेत्रावती पुग्दा नपुग्दै भेलको मात्रा र गतिमा निकै कम भइसकेको हुन्थ्यो। यत्रो क्षति हुने थिएन।
विश्वका पुराना घटनासँग तुलना गर्दा पेरुको सन् १९७० हुवास्कारान घटना, भारतको २०२१ चमोली घटना र नेपालको २०२४ थामे घटना उपयोगी उदाहरण हुन्। सन् १९७० मा हुवास्कारानमा ठूलो चट्टानयुक्त हिम पिण्ड तीव्र गतिमा तल झरेर युंगे क्षेत्रमा विनाश भयो। अध्ययनमा यसको आयतन करिब ५०–१०० मिलियन घनमिटर अनुमान गरिएको छ।
चमोलीमा करिब २७ मिलियन घनमिटर चट्टान र हिमको ठूलो भू–द्रव्य खसेपछि पानी तथा नदीको गेग्य्रान मिसिँदा धेरै कुँडाकर्कटयुक्त प्रवाह बनेको थियो। ५ मे २०१२ मा माछापुच्छ्रे–अन्नपूर्ण क्षेत्रमा यस्तै हिम–चट्टानसम्बन्धी घटना र त्यसबाट उत्पन्न ठूलो जलप्रवाह सेती नदीमा प्रवेश गर्दा अचानक विनाशकारी बाढी आएको थियो। बाढीले पोखरा क्षेत्रमा ठूलो जनधनको क्षति गर्दै करिब ७० जनाको मृत्यु वा बेपत्ता भएको र घर, सडक, पुल लगायतका भौतिक संरचनामा व्यापक क्षति पुर्याएको थियो। स्विट्जरल्यान्डको ब्लाटेन (भेलिस) मा ठूलो चट्टान–हिमरपहिरो घटना २८ मे २०२५ मा भएको हो। त्यस दिन ‘ब्रिच ग्लेसियर’को ठूलो भाग खसेर तलको लोत्सेन्ताल उपत्यकामा पुगेको थियो र ब्लाटेन गाउँको ठुलो भाग अवशेषले पुरिएको थियो। यी घटनाको शिक्षा ‘हिमाली विपद् एकल नभई धेरै प्रक्रिया जोडिएको शृंखला’ भन्ने हो।
भविष्यका लागि पाठ
सबैभन्दा बलियो मात्रात्मक प्रमाण ल्हेन्दे खोलामा करिब १३ देखि १४ किमिको दूरी करिब ६ मिनेटमा पार भएको प्रमाण हो। बाढीको अगाडिको लहरको औसत यात्रा/प्रसार वेग करिब ३७.८ मिटर/सेकेन्ड थियो। हिमाल, पहाडका भिराला र साँगुरा खोचबाट बग्ने नदी, खोलामा ठुला ठुला पैरो खस्दा ४० देखि १३४ मिटर अग्ला गेग्य्रान भेल बन्दा रहेछन् भन्ने यो घटनाले पुनः स्मरण गरायो।
चीनको एक संस्थाको अध्ययनअनुसार चट्टान–हिमपहिरो गएको स्थानदेखि तलतिर ९७.२ किमि नदी क्षेत्रमा, २०८३ साउन २७ मा नदीको पानीले ढाकेको क्षेत्र ६.३९ वर्ग किमि थियो। २०८३ भदौ १० गते १२ः४८ बजे (बेइजिङ समय) सम्म यो क्षेत्र बढेर ३०.९९ वर्ग किमि पुग्यो। यसको अर्थ, नदीमा गेग्य्रान भेलले ढाकेको क्षेत्र करिब ३८५ प्रतिशतले बढेको थियो। यसले किनारबाट २४.६ वर्गकिमि क्षेत्रभित्रका संरचना, जनधन पुरियो, बग्यो र भत्कियो। तलतिर वेग घट्नुले विपद् कमजोर मात्र भयो भन्ने अर्थमा बुझ्नु हुँदैन भन्ने शिक्षा यस महाविपद्ले दिएको छ।
बहावले बाटोमा नयाँ गेग्य्रान सोहोर्न, नदी कटान गर्न, अस्थायी रूपमा सामग्री थुपार्न र फेरि बगाउने प्रक्रिया हुँदो रहेछ भन्ने यस घटनाले छर्लंग परिदिएको छ। अध्ययनले प्रारम्भिक वेगयुक्त हिमस्खलन वा गेग्य्रानको तीव्र भेल जस्तो चरणबाट मध्यवर्ती च्यानल अन्तरक्रिया र ऊर्जा क्षय हुँदै तल्लो भागतिरमा बढी जलप्रवाह पूर्णरूपले नियन्त्रित गेग्य्रान बढी भएको बाढीतर्फ रूपान्तरण भएको सम्भावना देखाएको छ।
अत्यधिक सघन प्रवाह भन्ने निश्चित वर्गीकरणका लागि भने गेग्य्रानको मात्रा, कणको आकार निक्षेप र बहावको गहिराइ जस्ता थप प्रमाण आवश्यक छन्। समग्रमा बहावको रूप एकै तरिकाले नै बदलियो भनेर हेरिनु हुँदैन भन्ने पाठ दिएको छ।
यो घटना चेतावनीसहितको विशेष पाठ हो। १३.६ किलोमिटर दूरी करिब ६ मिनेटमै पार हुन सक्छ भने तलको नदीको पानीको स्तर बढेपछि मात्र चेतावनी दिने प्रणालीले धेरै ढिलो सूचना दिन सक्छ। त्यसैले उच्च हिमाली स्रोत क्षेत्रमा उपग्रहबाट निगरानी, स्वचालित क्यामेरा, नदीको पानी सतह मापन उपकरण, जमिन कम्पन पत्ता लगाउने, मौसम मापन र सम्भावित नदी–अवरोध निगरानीलाई बहु–जोखिम प्रणालीमा जोड्नुपर्छ।
अबको अनुसन्धानमा वास्तविक त्रि–आयामिक नदीको मध्यरेखा, उच्च रिजोलुसन उच्च विवरणयुक्त उचाइ नक्सा, स्रोत क्षेत्रको घटनाअघिको र पछिको नक्सांकन, नदीको अनुप्रस्थ काट, सिनित्त पार्ने, गेग्य्रान थुप्रिने प्रक्रिया, बहावको गहिराइ, बहाव मात्रा, गेग्य्रानको मात्रा र स्थानसँग मिलाइएको श्रव्यदृश्य कालक्रम (भिडियो क्रोनोलोजी) तयार गर्नुपर्छ।
यो घटनाले नेपालमा वर्षाबाट वा हिमताल विस्फोटनबाट मात्र ठुला बाढी आउँछन् भनेर बुझ्नु हुँदैन भन्ने सिकाएको छ। यस्तै तलतिर बहावको वेग घट्दै गए पनि त्यसले जोखिम समाप्त हुन्छ भन्ने अर्थ निकाल्नु हुँदैन किनभने गेग्य्रान, कटान, पानीको भण्डारण र नदी चौडाइ बदलिँदा बहावको प्रकृति पनि बदलिन्छ भनेर बुझ्नुपर्छ।
मनसुन वर्षा, पृथ्वीका टेक्टोनिक गतिविधि र सौर्य मण्डलका गतिविधिका कारण पृथ्वीको जलवायुमा परिवर्तन भइरहेको छ। मानव सिर्जित कारणले तापक्रम बढाउन तीव्रता ल्याएको कुरामा शंका छैन। यसमा हाम्रो स्थानीय कारण पनि छ।
प्रकाशित: १५ आश्विन २०८३ १०:३९ बिहीबार