विचार

शिक्षा अवयव जड वस्तु कि चेतनशील एजेन्सी ?

भर्तृहरिले ‘नीतिशतकम्’मा ‘विद्या ददाति विनयं, विनयाद्याति पात्रताम्, पात्रत्वाद्धनमाप्नोति, धनाद्धर्मं तत: सुखम्’ भनेका छन्। मुलुकमा शिक्षामा गरिएको लगानी, सामाजिक मनोविज्ञानलाई हेर्दा किन शिक्षाले लक्ष्य हासिल गर्न नसकेको हो भनेर यो लेखमा चर्चा गर्न खोजिएको छ।

नेपालमा आधुनिक शिक्षाको विकासक्रम २००७ सालमा प्रजातन्त्रको उदयपछि मात्रै ठोस रूपमा आकार लिएर अघि बढेको आँकडागत तथ्यांकहरू आंशिक रूपमा भए पनि उपलब्ध पाइन्छन्। शिक्षाको विषयमा विद्यार्थी, अभिभावक, परिवार, शिक्षक, समाज, श्रमबजार, प्रशासनतन्त्र, सरकार तथा दल अवयव हुन् भने समग्र राष्ट्र ती अवयवको गतिशीलतालाई विकास तथा सीमित गर्न सक्ने मैदान हो। यी अवयवका बिचको अन्तरसम्बन्ध र सो अन्तरसम्बन्धमा अवयवहरूको मनोविज्ञान, समग्र अवयवहरूको आर्थिक सबलता र तिनीहरूको सामाजिक क्षमता शिक्षाको विकासका लागि महत्त्वपूर्ण हुन्छ। 

प्रजातन्त्रको अभ्युदयअघि लिच्छवि र मल्लकालका हस्तकला, काष्ठकला, मूर्तिकला र वास्तुकला नै सुरुआती व्यावसायिक सिपका उत्कृष्ट उदाहरण मानिन्छन्। भीमशमशेरले १९३० सालमा कुमारी चोकमा स्थापना गरेको ‘वसन्तपुर प्राविधिक विद्यालय’बाट औपचारिक व्यावसायिक प्रशिक्षणको थालनी भएको मानिन्छ। १९४० सालमा सुरु गरिएको ‘आधार शिक्षा योजना’अन्तर्गत १९४७ सालमा जुद्धशमशेरको पालामा स्थापना गरिएका ‘आधार स्कुल’मा हाते काम, सिप र व्यावहारिक ज्ञानलाई बढावा दिने गरी पठनपाठन भएको पाइन्छ। प्रजातन्त्रको अभ्युदयपछि आधार स्कुलको ठाउँमा ‘बहुमुखी विद्यालय’को अवधारणाअन्तर्गत १९६२ मा ‘मेकानिकल ट्रेनिङ सेन्टर’ र ‘बुटवल टेक्निकल इन्स्टिच्युट’ स्थापना गरी ‘प्रशिक्षण, इन्टर्नसिप र कार्यगत तालिम’ सञ्चालन गरियो।

१९७१ मा लागु गरिएको ‘राष्ट्रिय शिक्षा प्रणालीको योजना’ले हरेक माध्यमिक विद्यालयमा कम्तीमा एउटा व्यावसायिक विषय पढाउने व्यवस्था गरेको थियो। १९८९ सालमा ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्’ ऐनमार्फत स्थापना गरिएपछि मात्र व्यावसायिक शिक्षाले संस्थागत निर्णायक मोड लिएको हो। पछिल्लो समयमा विभिन्न उपक्रमहरू ‘पाठ्यक्रम प्रारूप, योग्यता प्रारूप, गुणस्तर प्रारूप तथा प्रशिक्षक दक्षता परीक्षण प्रारूप’ हुँदै अन्तर्राष्ट्रिय योग्यता प्रारूपसँगको मेलजस्ता गुणस्तर तथा प्रतिस्पर्धामा सहायक हुने विषयमा व्यावसायिक शिक्षा प्रवेश गरेको छ। नेपालको व्यावसायिक शिक्षाको विकास र इन्जिनियरिङ शिक्षा विकासको मूल एउटै भए पनि व्यावसायिक शिक्षाबारे मात्र यहाँ चर्चा गरिन्छ।

व्यावसायिक शिक्षामा विभिन्न चार प्रकारका शिक्षालय (आंगिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र संस्थागत निजी), पाठ्यक्रम, प्रशिक्षण, मूल्यांकन प्रणाली आदि सहितका संरचनाहरूको प्रणालीअन्तर्गतका अवयवहरू हुन्। त्यसैगरी पाठ्यक्रम तथा समकक्षता, व्यावसायिक योग्यता परीक्षण तथा प्रमाणीकरण, परीक्षा नियन्त्रण तथा प्रमाणीकरण, प्रशिक्षक विकास तथा प्रमाणीकरण, सम्बन्धन तथा स्तर निर्धारण, कर्मचारी क्षमता विकास, प्रशिक्षार्थी सहायता सेवा आदि माथि उल्लेख गरिएको प्रणालीभित्र क्रियाशील रहेर काम गर्ने अन्तरसम्बन्धित अवयवहरू उपप्रणाली हुन्।

यसभन्दा माथि र बाहिर रहेका सरकार, मन्त्रालय, रोजगारदाता तथा श्रम बजार, उच्च शिक्षा तथा प्राज्ञिक वर्ग, व्यावसायिक परिषद्हरू, ट्रेड युनियनहरू, दातृ निकाय, व्यावसायिक शिक्षामा समर्पित अन्तर्राष्ट्रिय संघसंस्थाहरू, नागरिक समाज आदि बाह्य वातावरण तथा नियामक निकायहरू सुप्रा प्रणाली हुन्। यी तीनवटा प्रणालीबिचको अन्तरसम्बन्ध र प्रणालीभित्रका अवयवको बाह्यसम्बन्ध नै व्यावसायिक शिक्षाका लागि सामाजिक क्षमता हो। यी अवयवहरूको सुदृढ अन्तरसम्बन्ध तथा बाह्य सम्बन्धका लागि आर्थिक सबलता तथा सामाजिक मनोविज्ञानले पार्न सक्ने प्रभावहरू उत्तिकै महत्त्वपूर्ण भए पनि तिनीहरूबारे यो आलेखमा चर्चा गरिएन।

यी तीन प्रकारका प्रणालीमा रहेका अवयवको अन्तरसम्बन्धबारे समाजशास्त्र तथा दर्शनशास्त्रमा दुई वटा फरक-फरक अवधारणा रहेका छन्। ती अवधारणालाई पनि भौतिक संरचना वा संगठन र संस्थाका दृष्टिले हेर्न सकिन्छ। पहिलो दृष्टिले अवयवहरूको आन्तरिक ढाँचा, तिनीहरूको अन्तरसम्बन्ध र पदानुक्रमबारे व्याख्या गर्छ। यसमा अवयवहरू के-के छन् र तिनीहरू कसरी जोडिएका छन् भन्ने नै प्रधान हुन्छ। योजनाकार, सरकार वा पदाधिकारीबाट निर्माण गरिने यो संरचना माथिबाट तल निर्देशित हुने विश्वास गरिन्छ।

दोस्रो दृष्टिमा दुई वटा पक्ष रहेका हुन्छन- एउटा मूर्त अस्तित्व भएको संरचनागत संस्था र अर्को अमूर्त अवधारणा भएको संस्थागत मूल्य, मान्यता र अभ्यास। यसमा काम कसरी हुन्छ भन्ने विषय प्रधान हुन्छ। समाज, इतिहास, संस्कृति र ऐनकानुनबाट निर्माण गरिने यो अवधारणा भने तलबाट माथि अभिप्रेरित भई निर्माण हुने विश्वास गरिन्छ। 

व्यावसायिक शिक्षामा भनिएका तीनवटा प्रणालीमा रहेका मूर्त अवयवहरूलाई वस्तुगत र अमूर्त अवधारणाहरूलाई समेत ठोस वस्तुजस्तो मान्ने मान्यता आधार अवधारणा हो। रुथ सी. स्मिथ (१९९३) ले संगठनलाई एउटा सीमित भाँडोका रूपमा परिभाषा गरेका छन् र त्यसभित्र रहेका अवयवहरूबिचमा मात्र सञ्चार गर्नुपर्छ। यी अवयवहरूले निर्देशित काम मात्र गर्छन् र यिनीहरू प्रगति तथा परिवर्तनका वाहक होइनन् भन्ने यसको आधारभूत मान्यता छ। कुनै सीमित आकार भएको भाँडोभित्र रहेका वस्तुहरूसँग यो अवधारणाको तुलना गर्न सकिन्छ। यी अवयवहरू संरचनाभित्र सीमित भएर बस्छन् र तिनले संरचनाको आकारभित्र सीमित हुनुपर्ने हुनाले संरचनाको आकारमा परिवर्तन ल्याउन सक्दैनन् भन्ने यसको विश्वास रहेको छ। 

अर्कातर्फ प्रणालीहरूमा रहेका वस्तुगत मूर्त अवयव र अमूर्त संस्थागत अवधारणाहरू छुट्टाछुट्टै नभई त्यही प्रणालीको विकासलाई सहयोगी तत्त्व हुन् भन्ने अवधारणालाई निर्माणकारी दृष्टिकोण मानिन्छ। निकलस लुहमन, १९८४, ले यो अवधारणा सामाजिक प्रणालीमा उल्लेख गरेका छन्। माथिल्लो अवधारणामा भाँडोमा भएका वस्तुहरूले भाँडोको आकार र चरित्रमा असर गर्न सक्दैनन् भन्ने विश्वास हुन्छ भने यो अवधारणामा ती वस्तुहरूले भाँडोको चरित्र र आकार पनि परिवर्तन गर्न सक्छन् भन्ने विश्वास गरिन्छ। 

यी दुई अवधारणाको संक्षिप्त व्याख्यापछि नेपालमा व्यावसायिक शिक्षामा भएका संगठनात्मक तथा संस्थागत विकासमा स्वभावैले पहिलो भाँडोको अवधारणालाई नै आधार बनाएकोमा थप चर्चा गर्नुपरेन। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को व्यावसायिक शिक्षा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ९-१२ को प्राविधिक धार र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको ६ महिनाभन्दा कमको सिप विकास तालिमले व्यावसायिक शिक्षामा तीनवटा मानक र तीनवटा नियामक निकाय भएको पुष्टि गर्छन्। त्यसमाथि आगामी आर्थिक वर्ष (२०२६-२७) का लागि समग्र बजेटको शिक्षामा १०.२७ (२१८,३०० मिलियन) प्रतिशत र व्यावसायिक शिक्षामा शिक्षा बजेटको ३ प्रतिशत हाराहारीको विनियोजनले सरकारी प्राथमिकताबारे बुझ्न थप मद्दत गर्छ। त्यसमाथि व्यावसायिक शिक्षाको उच्च नियामक निकाय मानिने परिषद्बारे बजेट वक्तव्यको बुँदा नं. ३० (ग) मा ‘उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौं।

राष्ट्रिय योग्यता ढाँचा तथा पूर्वसिकाइ मान्यता लागु गरी प्रवासी, अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौं। शिक्षाको विकासका लागि संगठन तथा संस्थामा आबद्ध अवयवहरूलाई मूर्त जड वस्तु ठान्ने सोचबाट अघि बढी चेतनशील एजेन्सीको सोचतर्फ जाने रूपान्तरणकारी बाटो पहिल्याउन ढिलो गर्नुहुँदैन। व्यावसायिक शिक्षामा समसामयिक विकासका लागि प्राज्ञिक स्वायत्ततासहितको एकीकृत नियमनकारी ऐन, कार्यस्थलको सिकाइमा आधारित तथा उद्योग व्यवसाय सम्मिलित उत्पादन तथा सेवा लक्षित प्रशिक्षण, प्रशिक्षक विकासमा केन्द्रित प्रशासनिक संगठन र साझेदारी तथा अन्तरक्रियामुखी व्यवस्थापन नै निर्माणकारी अवधारणाका प्रारम्भिक चरणहरू हुन सक्छन्।

व्यावसायिक शिक्षा प्रणालीका तीनै तहमा रहेका अवयवहरू जड वस्तुमात्र नभई चेतनशील कर्ता पनि भएकाले यसको उन्नयनका लागि उनीहरूको तीनै तहका प्रणालीमा रहेका अवयवहरूमाझ आन्तरिक र बाह्य संवाद तथा सञ्चार गर्न आवश्यक छ। माथि भनिएजस्तै प्रणालीका सबै मूर्त र अमूर्त पात्रलाई पनि मूर्त मानेर तिनीहरूको अस्तित्व, संरचना, आन्तरिक क्रियाकलाप तथा बाह्य वातावरणसँगको अन्तरक्रियाले संज्ञानको निर्माण मात्र नभई सोको कर्तापन र स्वामित्वपन विकास हुन जान्छ।

शिक्षक, विद्यार्थी, उद्योग व्यवसायी, नीति निर्माता, प्रशासक आदि सबै निर्माणकारी अवयवहरू भएकाले उनीहरूको अस्तित्व, संरचना, अनुभव र तीन प्रणालीहरूसँगको अन्तरक्रिया नै शिक्षामा विकास तथा रूपान्तरणका लागि महत्त्वपूर्ण हुन जान्छ। कतै हामीले पूर्वीय संस्कृतिका विनय र पात्रताजस्ता गुणलाई कालजयी सन्देशहरूको उपेक्षा गरी हाम्रो अवस्था र क्षमतासँग मेल नखाने शिक्षा प्रणाली त विकास गरेका छैनौं?
-भट्टराई सिटिइभिटीका पूर्वसदस्य-सचिव हुन्। 

प्रकाशित: ६ आश्विन २०८३ १३:२६ मंगलबार