झन्डै १० हजार कर्मचारीहरू कार्यरत रहेको नेपाल विद्युत् प्राधिकरण मुलुकको ठुलो सार्वजनिक संस्थान हो। विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणको स्थापना २०४२ भदौ १ गते भएको हो। स्थापनाको ४१ वर्ष पार गरेको यस संस्थानले करिब ९९ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुर्याउन सफल भएको छ। यस संस्थानका ६० लाखभन्दा बढी ग्राहक छन्।
नेपाल विद्युत प्राधिकरणको विकासक्रमलाई तीन चरणमा हेर्न सकिन्छ। पहिलो चरण थियो– विद्युत् पहुँच विस्तार। दोस्रो चरण थियो– विद्युत् आपूर्ति व्यवस्थापन र लोडसेडिङ अन्त्य। अब तेस्रो चरण सुरु भएको छ– ऊर्जा उत्पादन, आन्तरिक खपत, अन्तरदेशीय व्यापार र ऊर्जा पूर्वाधारको रणनीतिक व्यवस्थापन।
वास्तवमा यो तेस्रो चरण नै सबैभन्दा बढी चुनौतीपूर्ण छ। किनकि अब समस्या विद्युत् उत्पादनमा मात्र छैन। उत्पादन भएको विद्युत् कहाँ खपत गर्ने? कुन उद्योगमा पुर्याउने? कुन प्रसारण लाइनबाट बजारसम्म पुर्याउने? कुन देशमा कुन दरमा बिक्री गर्ने? हिउँदमा माग कसरी धान्ने ? वर्षायामको अतिरिक्त ऊर्जा कसरी व्यवस्थापन गर्ने ? लगानीकर्तालाई दीर्घकालीन बजार कसरी सुनिश्चित गर्ने ? यी सबै प्रश्न एकैपटक समाधान गर्नुपर्ने अवस्था आएको छ।
२०८२/८३ विद्युत् व्यापारमा ऐतिहासिक मोड
आर्थिक वर्ष २०८२/८३ नेपालको विद्युत् व्यापारका दृष्टिले ऐतिहासिक वर्ष बनेको छ। उक्त आर्थिक वर्षमा भारत र बंगलादेशतर्फ विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो आम्दानी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ थियो। अर्थात् एकै वर्षमा निर्यात आम्दानीमा करिब ६८ प्रतिशत वृद्धि भएको छ। अझ महत्त्वपूर्ण तथ्य अर्को छ।
२०८२/८३ मा विद्युत् आयात परिमाण ३१.५७ प्रतिशतले घटेर एक अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयात खर्च पनि अघिल्लो वर्षको १२ अर्ब ९२ करोड ३० लाखबाट घटेर १० अर्ब ५५ करोड ९९ लाखमा आएको छ। निर्यात आम्दानीबाट आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारमा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ। अघिल्लो वर्षको चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँको तुलनामा यो खुद बचत करिब चार गुणा पुगेको हो।
आज नेपालले वर्षायाममा आफ्नै उत्पादनको बिजुली भारत र बंगलादेशलाई बेचिरहेको छ। अझ उल्लेखनीय कुरा, आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ।
अघिल्लो वर्षको तुलनामा यो आम्दानी ६७.९६ प्रतिशतले बढी हो। निर्यात परिमाण समेत ६२.८९ प्रतिशतले बढेर तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ। नेपालको विद्युत् उत्पादन क्षमता अब चार हजार मेगावाटको आसपास पुगेको छ।
२०८२ फागुनसम्म कुल जडित विद्युत् क्षमता ४,१०५ मेगावाट पुगेको र राष्ट्रिय ग्रिडमा ३,९९७ मेगावाट जडान भएको तथ्यांक सार्वजनिक भएको छ। त्यसमध्ये निजी क्षेत्रको योगदान २,५८७ मेगावाट रहेको छ। वैकल्पिक ऊर्जासहित विद्युत् पहुँच ९९.१ प्रतिशत जनसंख्यामा पुगेको छ। विद्युत् ग्राहक संख्या झन्डै ६० लाख पुगेको छ। यो एउटा सामान्य तथ्यांक होइन, नेपालको ऊर्जा क्षेत्रमा आएको संरचनात्मक परिवर्तनको सूचक र आर्थिक समृद्धिको प्रमुख आधारशीला हो।
निजी क्षेत्र: उत्पादनको मेरुदण्ड
नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको योगदान अहिले निर्णायक बनेको छ। राष्ट्रिय ग्रिडमा जोडिएको करिब चार हजार मेगावाटमध्ये निजी क्षेत्रको हिस्सा २,५८७ मेगावाट पुगेको तथ्यांकले देखाउँछ। बाँकी सार्वजनिक–निजी साझेदारीको वास्तविक उत्पादन रहेको छ। यसबाट नेपाल विद्युत् प्राधिकरणको भूमिका पनि परिवर्तन भएको छ।
विद्युत्मा लगानीका लागि उचित वातावरण सिर्जना गर्नु नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको कर्तव्य हो। यसका लागि विद्युत् खरिद सम्झौता समयमै व्यवस्थापन गर्नुपर्छ। प्रसारण पूर्वाधार समयमै तयार गर्नुपर्छ। बजार सुनिश्चित गर्नुपर्छ। अनि त्यससँगै संस्थाको दीर्घकालीन वित्तीय दायित्व पनि व्यवस्थापन गर्नुपर्छ। यो साधारण प्रशासन होइन, न कि सार्वजनिक संस्थान व्यवस्थापनका अनुपम उदाहरण हो। तब मात्र निजी क्षेत्रलाई विद्युत् व्यवस्थापनमा सन्तुलित रूपमा अगाडि बढाउन सकिन्छ।
उत्पादनको बजार व्यवस्थापन
नेपालको ऊर्जा क्षेत्रमा अहिले एउटा नयाँ बहस सुरु भएको छ– विद्युत् निर्यात गर्ने कि देशभित्रै खपत बढाउने? वास्तवमा उत्तर सहज छैन। निर्यात गर्दा स्वदेशमा उद्योगधन्दा तथा कलकारखानाको विकास हुन सक्दैन। आन्तरिक खपत बढाउन मुलुकमा पूर्वाधार विकास र औद्योगिक विकासको गति छैन। देशभित्र लगानीको वातावरण र तत्परताको अवस्था सिर्जना गरी विद्युत्को उत्पादनशील खपत बढाउनुपर्छ अनि मात्र अतिरिक्त विद्युत् निर्यात गर्नुपर्छ।
विद्युत्को आन्तरिक खपतका लागि उद्योगमा विद्युत् खपत बढाउनुपर्छ। कृषिमा विद्युत् सिँचाइ विस्तार गर्नुपर्छ। विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्छ। विद्युतीय सवारी विस्तार गर्नुपर्छ।
नेपालको ऊर्जा प्रणालीको सबैभन्दा रोचक विरोधाभास के हो भने वर्षायाममा नदीमा पानी बढ्छ। ‘रन अफ रिभर’ आयोजनाको उत्पादन बढ्छ। चार हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुन सक्छ। घरेलु माग सीमित हुँदा अतिरिक्त ऊर्जा निर्यात गर्नुपर्ने अवस्था आउँछ तर हिउँदमा नदीको बहाव घट्छ, उत्पादन घट्छ, घरेलु माग पूरा गर्न भारतबाट विद्युत् आयात गर्नुपर्ने हुन्छ। त्यसैले अबको ऊर्जा नीति केवल थप मेगावाटमा केन्द्रित भएर पुग्दैन। हामीलाई जलाशययुक्त आयोजना, पम्प स्टोरेज आयोजना, ब्याट्री इनर्जी स्टोरेज सिस्टम, माग व्यवस्थापन चाहिन्छ।
प्रसारण लाइन: सम्भावनालाई बजारसँग जोड्ने राजमार्ग
नेपालमा जलविद्युत् आयोजना निर्माण गर्नु एउटा चुनौती हो तर उत्पादित विद्युत्लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु अझ ठुलो चुनौती बन्न थालेको छ।
हाल नेपाल–भारतबिच अन्तरदेशीय विद्युत् आयात क्षमता करिब १,५३० मेगावाट र निर्यात क्षमता १,८५० मेगावाट पुगेको विवरण सार्वजनिक भएको छ। आगामी प्रसारण पूर्वाधार विस्तारसँगै यो क्षमता अझ बढ्नेछ। नयाँ बुटवल–गोरखपुर, ढल्केबर–मुजफ्फरपुर तथा अन्य क्रस बोर्डर प्रसारण पूर्वाधार यसै रणनीतिक उद्देश्यका अंग हुन्।
नेपालले भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशमा विद्युत् निर्यात सुरु गरेपछि नेपालको ऊर्जा बजारको भौगोलिक दायरा विस्तार भएको छ। नेपाल र बंगलादेशबिचको ४० मेगावाटको विद्युत् व्यापार अहिले दक्षिण एसियाली ऊर्जा सहकार्यको एउटा व्यावहारिक उदाहरण बनेको छ।
अबको चुनौती र कार्यदिशा
अबको चुनौती विद्युत् पुगेका ठाउँमा गुणस्तरीय, भरपर्दो र उत्पादनशील उपयोग सुनिश्चित गर्नु हो। यस अर्थमा ९९ प्रतिशत भन्दा बढीको विद्युत् पहुँच उपलब्धि महत्त्वपूर्ण भए पनि त्यसपछि आउने प्रश्न अझ गम्भीर छन्– विद्युत् पहुँचलाई आर्थिक पहुँचमा कसरी रूपान्तरण गर्ने? विद्युत्को बजार व्यवस्थापन कसरी गर्ने? विद्युत् प्रसारण लाइनहरूको विस्तार कसरी गर्ने ? ठुला तथा बहुउद्देश्यीय आयोजना निर्माणमा कसरी लगानी जुटाउने? निजी क्षेत्रलाई विद्युत् उत्पादनमा कसरी सन्तुलित रूपमा अगाडि बढाउने ? प्राधिकरणको पुनसंरचनामा कुन मोडालिटी प्रयोग गर्ने? सबै सम्भावनाको केन्द्रमा एउटा कुरा छ– सक्षम संस्था। सक्षम संस्थाबिना सम्भावना कागजमै रहन्छ। तसर्थ समृद्धिको संवाहक विद्युत् विकासको अग्रणी संस्था नेपाल विद्युत् प्राधिकरणको सामयिक सुदृढीकरण जरुरी छ।
– शर्मा नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक हुन्।
प्रकाशित: ४ भाद्र २०८३ ११:२१ बिहीबार