आज विश्व अभूतपूर्व वैज्ञानिक प्रगति, प्रविधिको विस्तार र भौतिक समृद्धितर्फ तीव्र गतिमा अघि बढिरहेको छ। कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि, अन्तरिक्ष अनुसन्धान र चिकित्सा विज्ञानले मानव जीवनलाई सहज बनाएका छन् तर यही प्रगतिसँगै मानव समाजले अर्को गम्भीर चुनौती पनि सामना गरिरहेको छ।
नैतिक मूल्यको ह्रास, हिंसा, द्वन्द्व, असहिष्णुता, मानसिक तनाव, वातावरणीय संकट र मानवीय सम्बन्ध कमजोर हुँदै गएको छ। भौतिक सम्पन्नताले मात्र मानिसलाई पूर्ण सुखी बनाउन सक्दैन। मानिसले महँगो बिछ्यौना किन्न सक्छ, निद्रा किन्न सक्दैन। राम्रो खाना किन्न सक्छ, भोक किन्न सक्दैन। सबैको निराकरणका लागि मानवतालाई पुनः जागृत गराउन जीवन, जगत् र आत्माको अर्थ बुझ्ने आध्यात्मिक चेतना हुनुपर्छ।
दर्शन केवल शास्त्रीय अध्ययनको विषय मात्र होइन, जीवनलाई सही ढंगले बुझ्ने दृष्टिकोण पनि हो। जीवन के हो? मानिसको उद्देश्य के हो? सत्य के हो? नैतिकता किन आवश्यक छ? मानव जीवनको अन्तिम लक्ष्य के हो? जस्ता प्रश्नको उत्तर दर्शनमा छ। पूर्वीय दर्शनले आत्मज्ञान, संयम, करुणा, सहअस्तित्व र मोक्षलाई जीवनको उच्चतम उपलब्धिका रूपमा व्याख्या गरेको छ। वेदान्त, सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा तथा बौद्ध र जैन दर्शनले हजारौं वर्षदेखि मानव सभ्यतालाई नैतिक र आध्यात्मिक मार्गदर्शन प्रदान गर्दै आएका छन्।
वेद, उपनिषद् र भगवद्गीताजस्ता ग्रन्थहरूले आत्मानुशासन, सत्य, दया, सेवा र लोककल्याणलाई जीवनको आधार बनाएका छन्। बुद्धले करुणा, मध्यम मार्ग र अहिंसाको सन्देश दिए भने योग दर्शनले शरीर, मन र आत्माबिचको सन्तुलनलाई महत्त्व दिएको छ। यी सबै चिन्तन परम्पराको मूल उद्देश्य मानिसलाई असल, जिम्मेवार र मानवताप्रेमी बनाउनु हो। त्यसैले दर्शनलाई केवल धार्मिक विषयका रूपमा होइन, मानव सभ्यताको नैतिक आधारका रूपमा बुझ्न आवश्यक छ।
आज विश्वमा विभिन्न धर्मका करोडौं अनुयायी छन्। हिन्दु, बौद्ध, इस्लाम, इसाई, सिख, जैन, यहुदी तथा अन्य धार्मिक परम्पराले आआफ्नै आस्था र अभ्यासलाई निरन्तरता दिएका छन्। यद्यपि सबै धर्मको मूल उद्देश्य मानव कल्याण, शान्ति, प्रेम, सेवा र नैतिक जीवन नै हो। समस्या धर्ममा होइन, धर्मको गलत व्याख्या र संकीर्ण प्रयोगमा उत्पन्न हुन्छ। इतिहासमा धर्मका नाममा भएका युद्ध, विभाजन र हिंसाले मानव सभ्यतालाई ठुलो क्षति पुर्याएका छन्। त्यसैले आजको आवश्यकता धर्मलाई विभाजनको आधार होइन, सहिष्णुता र सद्भावको माध्यमका रूपमा स्थापित गर्नु हो।
आध्यात्मिक दृष्टिले हेर्दा सम्पूर्ण मानव जाति एउटै चेतनाले जोडिएको मानिन्छ। पूजा गर्ने तरिका फरक हुन सक्छ, भाषाहरू फरक हुन सक्छन्, संस्कृतिहरू फरक हुन सक्छन् तर सत्य, करुणा, प्रेम र मानवता सबै धर्मका साझा मूल्य हुन्। यही साझा मूल्यलाई बलियो बनाउन सके मात्र विश्वमा स्थायी शान्ति सम्भव हुन्छ।
नेपाल यस दृष्टिले विश्वकै विशिष्ट राष्ट्रमध्ये एक हो। हिमालयको काखमा अवस्थित नेपाल केवल प्राकृतिक सुन्दरताको देश मात्र होइन, हजारौं वर्षदेखि विकसित आध्यात्मिक परम्पराको केन्द्र पनि हो। वैदिक ऋषिमुनिहरूको तपोभूमि, भगवान् बुद्धको जन्मस्थल तथा विविध धार्मिक र सांस्कृतिक सम्पदाले नेपाललाई विश्व मानचित्रमा विशेष स्थान दिलाएका छन्।
लुम्बिनी विश्व शान्तिको प्रतीक हो, जहाँ सिद्धार्थ गौतमले जन्म लिएर पछि बुद्धत्व प्राप्त गरे। पशुपतिनाथ हिन्दुहरूको महान् आस्थाको केन्द्र हो। मुक्तिनाथ मोक्षको विश्वाससँग जोडिएको तीर्थ स्थल हो। जनकपुरधाम राम–सीता परम्पराको सांस्कृतिक केन्द्र हो। स्वयम्भूनाथ र बौद्धनाथ बौद्ध आध्यात्मिकताको महत्त्वपूर्ण धरोहर हुन्। यी सम्पदाले नेपाललाई केवल धार्मिक पर्यटनको गन्तव्य मात्र होइन, अन्तरधार्मिक सहअस्तित्वको उत्कृष्ट उदाहरण पनि बनाएका छन्।
नेपालको अर्को विशेषता यसको धार्मिक सहिष्णुता हो। एउटै समुदायभित्र विभिन्न धर्मका मानिसहरू शान्तिपूर्वक बसोबास गर्ने संस्कार नेपालमा लामो समयदेखि कायम छ। हिन्दुले बौद्ध गुम्बामा श्रद्धा व्यक्त गर्छन्, बौद्धले हिन्दु मन्दिरमा सम्मान प्रकट गर्छन्, किरात, बोन तथा अन्य परम्पराहरू पनि समान रूपमा सम्मानित छन्। यही सहिष्णुता नेपालको सबैभन्दा ठुलो सांस्कृतिक शक्ति हो।
नेपालको आध्यात्मिक पहिचान, धार्मिक विश्वासका साथै योग, ध्यान, आयुर्वेद, प्राकृतिक जीवनशैली, पर्व–संस्कृति र सामुदायिक सहकार्यले पनि नेपालको मौलिक सभ्यतालाई समृद्ध बनाएका छन्। आज विश्वभर मानसिक तनाव, एक्लोपन र जीवनशैलीजन्य रोग बढिरहेका बेला योग र ध्यानप्रति बढ्दो आकर्षणले नेपाललाई नयाँ अवसर पनि दिएको छ। राज्य, निजी क्षेत्र र समुदायले मिलेर योग, ध्यान, आध्यात्मिक अध्ययन र सांस्कृतिक पर्यटनलाई व्यवस्थित रूपमा विकास गर्न सके भने नेपाल विश्वकै प्रमुख आध्यात्मिक गन्तव्य बन्न सक्छ।
यसका साथै नेपाल प्राकृतिक सम्पदाले पनि अत्यन्त सम्पन्न छ। सगरमाथासहित आठवटा आठ हजार मिटरभन्दा अग्ला हिमाल, हिमाली पदमार्ग, राष्ट्रिय निकुञ्ज, जैविक विविधता, नदी, ताल, झरना र हरियालीले नेपाललाई प्रकृतिप्रेमीहरूको आकर्षक गन्तव्य बनाएका छन्। प्रकृति र अध्यात्मको यो अद्वितीय संयोजन नेपालमा मात्र छ।
सम्भावना मात्र पर्याप्त हुँदैन। त्यसलाई योजनाबद्ध विकाससँग जोड्न आवश्यक हुन्छ। धार्मिक सम्पदाको संरक्षण, तीर्थस्थलहरूको व्यवस्थापन, सांस्कृतिक सम्पदाको संवर्धन, योग तथा ध्यान केन्द्रहरूको विकास, धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्धन, अनुसन्धान तथा प्रकाशनको विस्तार र आध्यात्मिक अध्ययनलाई आधुनिक शिक्षासँग जोड्ने नीति आवश्यक छ। यसले नेपालको अन्तर्राष्ट्रिय छवि मात्र सुदृढ बनाउँदैन, आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ।
नेपालको शिक्षा प्रणालीमा पनि नैतिक शिक्षा र जीवनदर्शनलाई स्थान दिनुपर्ने देखिन्छ। आज विद्यार्थीहरूले प्रविधि, विज्ञान र व्यावसायिक ज्ञान त प्राप्त गरिरहेका छन् तर सहिष्णुता, जिम्मेवारी, सेवा, करुणा र नैतिक नेतृत्वजस्ता जीवनोपयोगी मूल्य कमजोर बन्दै गएका छन्। ज्ञान र सिपसँगै चरित्र निर्माण पनि शिक्षाको अभिन्न अंंग हो। विद्यालयदेखि विश्वविद्यालयसम्म नैतिक शिक्षा, दर्शन र नागरिक उत्तरदायित्वसम्बन्धी विषयलाई प्रभावकारी रूपमा समावेश गर्न सकियो भने भविष्यको समाज अझ जिम्मेवार र मानवतामूलक बन्न सक्छ।
नेपाल आज विकासको नयाँ यात्रामा छ। कृषि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, उद्यमशीलता र सेवा क्षेत्रमा प्रशस्त सम्भावना छन् तर आर्थिक विकाससँगै सांस्कृतिक पहिचान र आध्यात्मिक मूल्यलाई पनि सँगै अगाडि बढाउन सकियो भने मात्र विकास दिगो र अर्थपूर्ण हुनेछ। आर्थिक समृद्धि र आध्यात्मिक चेतनाको सन्तुलन नै समुन्नत राष्ट्र निर्माणको आधार हो।
विश्वले आर्थिक शक्ति भएका राष्ट्र मात्र खोजिरहेको छैन, शान्ति, सहअस्तित्व, वातावरण संरक्षण, सांस्कृतिक विविधता र मानवीय मूल्यलाई जोगाउन सक्ने नेतृत्व पनि खोजिरहेको छ। नेपालसँग यस्तो सन्देश दिने ऐतिहासिक अवसर छ। भगवान् बुद्धको जन्मभूमि, हिमालयको तपोभूमि र बहुधार्मिक सहिष्णुताको देशका रूपमा नेपालले विश्वलाई शान्ति, करुणा र मानवताको मार्ग देखाउन सक्छ।
नेपाललाई हिमाल, पहाड र तराईले बनेको भौगोलिक संरचनाका रूपमा मात्र हेर्न मिल्दैन। यो हजारौं वर्षको सभ्यता, अध्यात्म, संस्कृति, प्रकृति र मानव चेतनाको संगम हो। यही पहिचान नेपालको सबैभन्दा ठुलो सम्पत्ति हो। यसको संरक्षण, संवर्धन र विश्वसामु सम्मानपूर्वक प्रस्तुति हाम्रो साझा जिम्मेवारी हो।
हामीले हाम्रो सनातन आध्यात्मिक विरासतलाई आधुनिक विकाससँग जोड्न सक्नुपर्छ। नैतिक शिक्षालाई सुदृढ बनायौं र मानवतालाई राष्ट्रिय विकासको केन्द्रमा राख्न सक्यौं भने नेपालले आफ्ना नागरिकको जीवनस्तर मात्र उकास्ने छैन, विश्वलाई पनि शान्ति, सहिष्णुता र मानवीय सभ्यताको नयाँ सन्देश दिन सक्नेछ। यही सन्देश नेपालको वास्तविक शक्ति हो, यही यसको वैश्विक पहिचान हो र यही भविष्यको उज्यालो मार्ग पनि हो।
प्रकाशित: ३१ असार २०८३ ०७:०६ बुधबार