गौरा सुदूरपश्चिमको मौलिक पर्व हो। गौरा प्राचीन डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि सुदूरपश्चिममा यसको महत्त्व बढी छ। गौरा सुदूरपश्चिम, कर्णालीका केही जिल्ला र भारतका उत्तराखण्ड प्रदेशको कुमाउँ, गडवाल क्षेत्रमा समेत धूमधामसँग मनाइन्छ। यसबाट के बुझिन्छ भने–यो पर्वको परम्परा डोटेली सभ्यतासँग जोडिएको छ। डोटी जिल्लाको मात्रै होइन, कर्णाली, सुदूरपश्चिमदेखि कुमाउँ, गढवालसम्मको सभ्यता डोटेली सभ्यता हो। अचेल भाषा र भाषिकामा भेद छुट्याउन नसक्ने क्षेत्रीयतावादी विद्वानहरूले जिल्ला, गर्खा र गाउँपिच्छे बोलिने भाषिकालाई भाषामा दर्ज गराएका छन्।
गौरामा खास गरेर प्राचीन डोटी राज्य सञ्चालन, एकीकरणमा महत्त्वपूर्ण भूमिका निभाएका योद्धाका जीवन गाथा गीतका माध्यमबाट वर्णन गरिन्छ। त्यसै गरी यस क्षेत्रका महत्त्वपूर्ण देवीदेवताका गाथा र शक्तिको बखान पनि गौरा गीतमा पाइन्छ। यस पर्वमा गाइने गायनहरूमा चैत, ढुस्का, धमारी र चाँचरीहरूमा वीर वीरंगनाले दिएका योगदानको चर्चा गरिएको हुन्छ। अजयमेरुकोट, कुमाउँ गढवालमा रहेका कोट र किल्ला त्यससँग सम्बन्धित राजा रजौटा, रजबार र देवानका कथा समेत गौरामा गीति लयमा गाइन्छ। यसर्थ परापूर्व कालको राजनीति पनि गौरा गीतमा सुन्न पाइन्छ। जसमा कतिपय दस्तावेजीकरण हुन नसकेको इतिहास पनि गीतका लयमा सुन्न पाइन्छ ।
गौरा भित्र्याउँदा, नचाउँदा र बिर्सजन गर्दाका सगुन गीत लयबद्ध रूपमा गाउने प्रचलन छ। यसै गरी महाभारतमा कृष्ण र अर्जुनको भूमिका, कौरव पाण्डवको युद्ध र राम वनवास जानुका कारण समेत गौरा गीतमा सुन्न मिल्छ। तुलसी पूजन प्रक्रिया र त्यसको इतिहास पनि गौरा गीतमा हुन्छ।
गौरामा गाइने चैत, ढुस्का, धमारी गीतमा अजयमेरुकोटका चर्चित राजा नागी मल्ल, कटारी मल्ल, विक्रम शाही, नरी शाहीलगायतका राजाहरूको जीवनी गौरा गीतमा भेटिन्छ। यसै गरी त्यस समयका देवानहरू रजबार सुना देउवा, करन देउवा, ललु देउवाका बहादुरीका गाथा, भागेश्वर देवता, मष्ट देवता, तेडी देवता, केदार देवता र बहादुरीका गाथा समेटिएको पाइन्छ।
अहिले भने गौरा पर्वको मौलिकता हराउँदै गएको छ। खास गरेर गौरामा चैत, ढुस्का, धमारी, तुलसी गाथा, रामलीला र कृष्ण लीलाको स्थान गौरामा गौण हुँदै गएको छ। गौरालाई रमाइलो उत्सवका रूपमा सीमित पार्ने क्रम बढेको छ। गौरा पर्वमा देउडा खेल्ने र र्याप, पप गीतमा रमाउने क्रम बढेको छ।
अचेल गौरा पर्व भन्दै देउडामा कुम जोड्नेहरूको भिड हुन्छ। गौरा पर्व सुदूरपश्चिममा मात्रै नभएर यहाँबाट बसाइसरेर अन्यत्र गएका डोटेली भाषी पनि मनाउने गर्छन्। देश परदेशमा समेत डोटेली भाषीले गौरा खेल्छन्। यस पर्वलाई महत्वका साथ लिने गरेका छन्।
गौरालाई देउडा खेल्ने पर्वको रूपमा मात्रै बुझ्नु समस्या हो। गौरामा गाइने गीत देउडा मात्रै हुँदैनन्। गौरा गीत त नितान्त फरक विधा र गायन शैली हुन्छ। गौरा पर्वलाई देउडा पर्वका रूपमा बुझ्यौ भने समस्या हुन्छ। महत्त्व देउडा र गौरा दुवैको छ, तर देउडा नै गौरा हो भन्ने बुझाइले गौरालाई अन्याय हुन्छ।
गौरा पर्वको मौलिकता बुझ्न सबैभन्दा पहिला गौरा पर्वको समग्र पक्षका विषयमा बुझ्न जरुरी छ। होइन भने गौरा पर्व देउडा पर्वमा परिणत हुने खतरा छ। गौराको अन्तरे र वास्तविक अर्थ झल्काउने गौरा गीत, भाका र लय हराउँदा यसको मौलिकता रहने छैन। त्यसले डोटेली भाषीको पहिचान र संस्कृतिभित्रको अनन्य पक्ष हराउने छ।
गौरा पर्व देउडा पर्वमै सीमित हुनुमा पुरानो र नयाँ पुस्ता सबै दोषी छन्। पुरानो पुस्ताले गौरा पर्वको महत्त्व, महिमा र गरिमा नयाँ पुस्तालाई हस्तान्तरण गर्न चुकेका छन्। वर्तमान सधैँ वर्तमान हुँदैन, त्यो भोलि इतिहास बन्छ। त्यस कारण आफूसँग भएका परम्परा, लोक संस्कृति, ज्ञान सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको दायित्व पनि हुन्छ। आफूसम्म पुगेको परम्परागत संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण नगर्दा ऐतिहासिक अन्याय भएको हुन्छ। त्यसले मौलिक लोककला र संस्कृति हराउनुको दोष त्यो पुस्ताको काँधमा आउँछ।
नयाँ पुस्ताले पनि आफ्ना पुर्खाले जगाएर ल्याएको लोकसंस्कृति ग्रहण गर्नुपर्छ। तर, अहिलेको पुस्ता ग्रहण गर्न चाहिरहेको देखिन्न। कतिपयको बुझाइमा लोक संस्कृति र परम्परा पछौटेपनका मानक हुन्। त्यसलाई अवलम्बन गरे आधुनिक भइँदैन।
अहिले गौरामा देखिएको त्यही हो। गौरा पर्व के हो ? यसको महत्त्व के हो ? के कस्ता गीत कस्तो लयमा गाइन्छन् ? अथवा गौरा गीतमा कसरी नाचिन्छ? भन्नेतिर कसैको ध्यान छैन। न पुराना पुस्ताले यसको ख्याल राखेका छन्, न नयाँ पुस्ता सिक्न र ग्रहण गर्न तयार छ।
यसैले डोटेली लोकसंस्कृतिको धरोहर रहेको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गौरा पर्वको मौलिकता जगाउन विशेष ध्यान दिनु आवश्यक छ। गौरा पर्वको प्रचार पर्याप्त भइसकेको छ, तर यसको मौलिकता र विशेषताको ख्याल पनि उसै गरी राख्नु जरुरी छ। औपचारिकता वा देखासिकीमा मात्रै गौरालाई नराखेर यसबारे गहन खोज अन्वेषणको पक्षमा पनि सरोकारवालाको ध्यान पुग्नुपर्छ।
प्रकाशित: १५ भाद्र २०८२ २०:०५ आइतबार