हर्मुज जलडमरुमा हाल देखिएको संकटले २१औं शताब्दीमा शक्तिले कसरी काम गर्छ भन्ने स्पष्ट पारेको छ। यसले के स्मरण गराएको छ भने अमेरिकाका लागि सबैभन्दा ठुलो खतरा चीनको सैन्य विस्तार वा रुसको आक्रामकता होइन, बरु दोस्रो विश्वयुद्धपछि उसले निर्माण गरेको गठबन्धन प्रणालीको क्रमिक विखण्डन हो। पछिल्ला ८० वर्षदेखि यो रणनीतिक शक्ति साधारण सैन्य शक्तिभन्दा पनि बढी महत्त्वपूर्ण रह्यो, किनकि अमेरिकाका कुनै पनि प्रतिस्पर्धीले यसको बराबरी गर्न सकेनन्।
आपसी सहयोग र औपचारिक सुरक्षा साझेदारसहितका ५० भन्दा बढी सन्धिको व्यवस्थामार्फत अमेरिकाले इतिहासमै पहिलोपटक साँच्चिकै विश्वव्यापी सुरक्षा प्रणाली निर्माण गर्यो। चीनसँग व्यापारिक साझेदार त छन्, तर उसको सुरक्षा सहयोगी केवल उत्तर कोरिया मात्र छ। उता, रुसका पाँच सहयोगी देशहरू निर्भरता र दबाबमा आधारित छन्। केवल अमेरिकाले मात्र यस्तो विश्वव्यापी गठबन्धनको नेतृत्व गर्यो, जसमा देशहरूले स्वेच्छाले आफ्नो सुरक्षालाई उसैसँग जोड्दै आएका छन्।
निश्चय पनि डोनाल्ड ट्रम्पसहित अमेरिकाका धेरै राष्ट्रपतिले यस गठबन्धनको लागतबारे चिन्ता व्यक्त गर्दै आएका हुन् तर उनीहरूले कमजोरी ठानेको यही संरचनाले संकटका बेला अमेरिकालाई बहुराष्ट्रिय गठबन्धन जुटाउन सक्षम बनाएको थियो। उदाहरणका लागि सन् १९९१ मा अमेरिकाले कुवेतबाट इराकी सेनालाई हटाउन विशाल बहुराष्ट्रिय बल खडा गरेको थियो। नाटो सहयोगी, अरब साझेदार र एसियाली देशले सेनालगायत वित्तीय र सुरक्षा सामग्रीको सहयोग गरेका थिए।
सन् २००० को दशकको विभाजनकारी इराक युद्धमा पनि अमेरिकाले साझेदारहरू आफ्नो पक्षमा तान्न सफल भयो। सुरुको आक्रमणमा चार देश सहभागी भए, तर पछि करिब ४० देशले कुनै न कुनै समयमा सेना पठाए। धेरै देशको योगदान सानो थियो, जसअन्तर्गत केही सय सैनिक वा विशेष सहयोग इकाइहरू उपलब्ध गराइएको थियो तर राजनीतिक र सैन्य यथार्थ उस्तै रह्यो, किनभने विवादास्पद युद्धहरूमा समेत अमेरिकी शक्ति एकल रूपमा होइन, गठबन्धनमार्फत सञ्चालन भएको थियो।
अहिलेको अवस्था फरक छ। इरान वरपर तनाव बढ्दै जाँदा र तेलको मूल्य उकालो लाग्दा, ट्रम्प प्रशासनले हर्मुज जलडमरु हुँदै हुने ढुवानी सुरक्षित गर्न आफ्ना सहयोगीहरूलाई आग्रह गरिरहेको छ।
विश्वको २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास यही साँघुरो मार्ग हुँदै प्रवाह हुने भएकाले सहयोगीहरूलाई पनि यसलाई खुला राख्न प्रत्यक्ष दबाव र स्वार्थ देखिन्छ। यसपटक अमेरिकाका सुरक्षा साझेदारको प्रतिक्रिया कमजोर, अनिच्छुक वा नकारात्मक देखिएको छ। स्पेन, इटाली र जर्मनीले यो सहभागितालाई अस्वीकार गरिसकेका छन्। अस्ट्रेलियाले जहाज नपठाउने जनाएको छ भने क्यानडा पनि आक्रामक कारबाहीबाट पछि हटेको छ।
फ्रान्स, जापान र दक्षिण कोरियाले पनि अमेरिकी नेतृत्वको अभियानअन्तर्गत युद्धपोत पठाउन प्रतिबद्धता जनाएका छैनन्। बेलायतले विकल्पबारे छलफल गरिरहेको बताए पनि अहिलेसम्म कुनै सुरक्षा संयन्त्र तैनाथ गर्ने घोषणा गरेको छैन।
संकेत स्पष्ट छ। पहिले अमेरिकासँगै उभिने सहयोगीहरू अहिले उसकै नेतृत्वमा सुरक्षा जोखिम लिन अनिच्छुक देखिन्छन्। ट्रम्प र उनका ‘मेक अमेरिका ग्रेट अगेन’ समर्थकहरूले वर्षौंदेखि सार्वजनिक रूपमा सहयोगीहरूको अवमूल्यन गर्नु, सुरक्षा प्रतिबद्धतामाथि प्रश्न उठाउनु र गठबन्धनलाई बोझका रूपमा हेर्नुले यसप्रकारको परिस्थिति निर्माण भएको हो।
गठबन्धनभित्र मतभेद नयाँ कुरा होइन। नेटोले सन् १९५६ को स्वेज संकटदेखि इराक युद्ध र ट्रम्प प्रशासनले इरान आणविक सम्झौताबाट फिर्ता हुने निर्णयसम्म आइपुग्दा धेरै पटक विवाद झेलेको छ तर यसपटक अवस्था फरक छ। अहिले सहयोगीहरूबिच अनिच्छा मात्र होइन, गहिरो संरचनात्मक परिवर्तन देखिँदै छ। फ्रान्स र इटालीजस्ता प्रमुख देशहरूले आफ्नै व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न इरानसँग प्रत्यक्ष वार्ता गर्ने सम्भावना खोज्न थालेका छन्। यस्ता प्रयासहरू प्रारम्भिक चरणका भए पनि यसको ऐतिहासिक महत्त्व ठुलो छ।
ऊर्जा बजारले यस तात्कालिकताको कारण स्पष्ट पार्छ । तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ र ढुवानी अवरुद्ध हुँदा युरोपमा ग्यासको मूल्य तीव्र रूपमा बढेको छ। जलडमरु लामो समय बन्द भए आर्थिक दबाब अझ बढ्ने डर युरोपेली सरकारहरूलाई छ तर सामूहिक रूपमा प्रतिक्रिया दिनुको सट्टा केही सहयोगीहरू अमेरिकासँग युद्धमा रहेको इरानसँगै अलग्गै सम्झौता खोजिरहेका छन्।
दशकौंदेखि अमेरिकी नेतृत्वले यस्तो छुट्टाछुट्टै व्यवहारलाई निरुत्साहित गरेको थियो, किनकि विरोधीसँग अलग्गै सम्झौता गर्दा गठबन्धनको एकता कमजोर हुन्छ भन्ने अमेरिकी बुझाइ थियो। गठबन्धन सामूहिक सुरक्षामा आधारित हुन्छ– जहाँ सदस्यहरू मिलेर खतरा सामना गर्छन् तर जब देशहरूले आफ्नै छुट्टै सम्झौता गर्न थाल्छन्, गठबन्धन समन्वित सुरक्षा प्रणाली नभई छुट्टाछुट्टै राष्ट्रिय रणनीतिहरूको समूहमा परिणत हुन्छ ।
गठबन्धनहरू प्रायः एकैचोटि ध्वस्त हुँदैनन्। सदस्यहरूले क्रमशः प्रणाली बाहिर आफ्नो सुरक्षा सुनिश्चित गर्न थालेपछि ती बिस्तारै क्षय हुन्छन्। यदि युरोपेली देशहरूले गठबन्धनमार्फत काम नगरी इरानसँग अलग्गै सुरक्षा सुनिश्चित गर्न सफल भए, त्यसको असर पर्सियन खाडीभन्दा धेरै परसम्म पुग्नेछ। यसले अमेरिकी शक्तिको मूल आधारमै प्रहार गर्नेछ र अमेरिकाकेन्द्रित वैश्विक सुरक्षा संरचनाको विघटनको सुरुवात हुन सक्छ।
यो संरचना निर्माण गर्न पुस्तौं लागेको थियो तर विद्यमान सुरक्षा विखण्डनले यसलाई धेरै छिटो भत्काउन सक्छ। हेक्का राख्नुपर्ने कुरा के हो भने अमेरिकाले आफ्नो शक्ति विस्तार गर्न यही गठबन्धन प्रणाली गुमायो भने उसले भविष्यमा केवल कम अनुकूल मात्र होइन, पूर्णतः अपरिचित विश्वको सामना गर्नुपर्नेछ। त्यतिबेला उसले दशकौंदेखि स्वाभाविक ठानेको प्रभुत्व कायम रहने छैन।
- नोर्लोफ टोरन्टो विश्वविद्यालयमा राजनीतिक विज्ञानकी प्राध्यापक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: १५ चैत्र २०८२ १०:४० आइतबार