विचार

इरान युद्धको अन्त्य अन्योलपूर्ण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अझै स्पष्ट लक्ष्य प्रस्तुत गरेका छैनन् तर उनी ऊर्जा बजारमा पर्ने धक्का सीमित गर्न र लामो समयसम्म चल्ने सैन्य संलग्नताबाट बच्न चाहन्छन् तर इजरायल ट्रम्पको यो संकोचसँग सहमत छैन। उता, इरानले वर्तमान संघर्षलाई अस्तित्वकै प्रश्नका रूपमा हेरेको छ, त्यसैले एक पटक निस्किसकेको रहस्यमय ‘जिनी’लाई फेरि बोतलभित्र फर्काउन त्यति सजिलो हुने छैन।

त्यसो त, इरानमाथि अमेरिका र इजरायलले चलाएको युद्ध अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन हो तर सन् १९४५ मा संयुक्त राष्ट्रसंघको चार्टर पारित भएपछिका लगभग सबै युद्धहरूले कुनै न कुनै रूपमा यसलाई उल्लंघन गरेका छन्। उक्त चार्टरले आत्मरक्षाबाहेक बल प्रयोग निषेध गर्छ, जस्तै कोरियाली युद्ध (१९५०–५३) र खाडी युद्ध (१९९०–९१) लाई सुरक्षा परिषद्ले अनुमति दिएको थियो।

हालको इरान युद्ध गैरकानुनी मात्र होइन, यसमा कुनै स्पष्ट वा हासिल गर्न सकिने लक्ष्य नै देखिँदैन। अमेरिकी अधिकारीहरू कहिले शासन परिवर्तनको कुरा गर्छन्, त कहिले यो अभियान केवल इरानका आणविक तथा ब्यालिस्टिक मिसाइल केन्द्रहरू र नौसेनालाई नष्ट गर्ने लक्ष्यमा सीमित रहने बताउँछन्।

राष्ट्रपति ट्रम्पले भने इरानलाई बिनासर्त आत्मसमर्पण गर्न आह्वान गरेका छन् र त्यहाँ स्वीकार्य नयाँ नेतृत्व स्थापना हुनुपर्ने बताएका छन् तर उनले अमेरिकाले इरानमा ‘धेरै हिसाबले जितिसकेको’ पनि दाबी गरेका छन्, तर पर्याप्त रूपमा भने होइन।

ट्रम्प स्पष्ट रूपमा लामो समयसम्म चल्ने सैन्य संलग्नताबाट बच्न चाहन्छन्, किनभने यसले अलगाववादी ‘मेक अमेरिका ग्रेट अगेन’ समर्थकहरूबिच उनको समर्थन घटाउन सक्छ। त्यहीबिच उनलाई ऊर्जा बजारमा पर्ने धक्का पनि सीमित राख्नुपर्छ। कच्चा तेलको मूल्य अहिले नै २९ प्रतिशतले बढेर प्रतिब्यारेल झन्डै १२० डलर पुगेको छ।

तर इजरायलका लागि यो चिन्ता देखिँदैन। उसले ‘पूर्ण युद्ध’ रणनीतिका रूपमा तेहरानजस्ता घना बस्ती भएका स्थानका इन्धन भण्डारण केन्द्रसहित इरानका तेल संरचनाहरूलाई निसाना बनाइरहेको छ।

अमेरिका खाडी क्षेत्रका आफ्ना सहयोगीलाई युद्धले पार्ने प्रभावबारे इजरायलभन्दा धेरै चिन्तित देखिन्छ। इजरायल र ट्रम्पले इरानको नेता चयनमा भूमिका चाहन्छन् भने खाडी देशहरू यसमा सहमत छैनन्। उनीहरू युद्धको समग्र तर्क कमजोर रहेको ठान्छन्। हमलाअघि उनीहरूले कूटनीतिक समाधानको प्रयास गरेका थिए। यो इस्लामिक गणतन्त्रप्रतिको सहानुभूति होइन, बरु इरानको प्रतिशोधको मुख्य भार आफैंले नै बेहोर्नुपर्ने कारणले भएको थियो।

अहिले इरानले अमेरिकी सैन्य अड्डा र खाडीका तेल संरचनाहरूमा गरेको आक्रमणले यी देशहरूको अन्तर्राष्ट्रिय व्यापारका लागि सुरक्षित गन्तव्यको छवि कमजोर बनाइरहेको छ। इरानले उनीहरूको तेल क्षेत्रलाई निसाना बनायो भने विश्व ऊर्जा बजारमा अझ ठुलो उथलपुथल हुन सक्छ।

खाडी देशहरूलाई यो पनि थाहा छ कि शासन परिवर्तन लामो ऐतिहासिक प्रक्रिया हो, जसलाई युद्धले छिटो बनाउने कुनै ग्यारेन्टी छैन। साथै बिनासर्त आत्मसमर्पणको मागले युद्ध लामो बनाउन र लागत बढाउन सक्छ।

एथेन्सले ४८० इसापूर्व सालामिसको युद्धमा पर्सियनहरूलाई पराजित गरेपछि उनीहरूले पूर्ण आत्मसमर्पणको माग नगरी कूटनीतिक समाधानको बाटो खुला राखेका थिए।

यस विपरीत, इतिहासकार इयान केर्साले देखाएझैं दोस्रो विश्वयुद्धका क्रममा नाजी जर्मनीसँग मित्रराष्ट्रहरूले मागेको पूर्ण आत्मसमर्पणले जर्मनीलाई अन्तिम क्षणसम्म लडाइँ जारी राख्न प्रेरित गरेको हुन सक्छ। आज इरानले पनि त्यस्तै चुनौतीपूर्ण र अडिग व्यवहार देखाइरहेको छ।

उसले अर्को कठोर धारका नेता आयतोल्लाह मोज्तबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको छ। साथै इस्लामिक रिभोल्युसनरी गार्डले राष्ट्रपति मसुद पेजेस्कियानले खाडी देशहरूमाथि आक्रमण रोक्ने घोषणा गरेपछि त्यसलाई उल्टाइदिएको छ।

इस्लामिक गणतन्त्रका लागि यो युद्ध अस्तित्वकै प्रश्न भएकाले उसले उपलब्ध सबै साधन प्रयोग गरिरहेको छ। ऊर्जा संरचनामाथि आक्रमणबाहेक उसले विश्वको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्यास जाने एक मात्र हर्मुज जलमार्ग प्रभावकारी रूपमा बन्द गरिदिएको छ।

इरानले मध्यपूर्वबाहिर पनि युद्ध विस्तार गर्ने धम्की दिएको छ। उसले साइप्रसस्थित बेलायती हवाई अड्डा र टर्कीको हवाई क्षेत्रलाई ब्यालिस्टिक मिसाइलको निसाना बनाइसकेको छ। इरानसँग करिब ६० प्रतिशतसम्म प्रशोधन गरिएको लगभग हजार पाउन्ड युरेनियम भएकाले आणविक जोखिम तीव्र रूपमा बढिरहेको छ।

इस्लामिक गणतन्त्र अन्ततः पतन भयो भने पनि शान्तिपूर्ण रूपमा मध्यमार्गी सरकार आउने अपेक्षा गर्ने आधार कम छन्। बरु अराजकता, चरमपन्थ र हिंसामा डुब्ने सम्भावना बढी छ।

त्यस्तो अवस्थामा उदीयमान उग्र समूहहरूले इरानका आणविक सामग्री हात पार्न सक्छन्– यो जोखिमलाई कुनै अन्तर्राष्ट्रिय सम्झौताले पनि रोक्न सक्दैन। साथै आणविक इरानले क्षेत्रीय आणविक हतियार दौड पनि सुरु गराउन सक्छ, त्यतिबेला टर्की र साउदी अरबजस्ता देशहरू पनि बम बनाउने दौडमा लाग्नेछन्।

अमेरिका–इजरायलको स्पष्ट विजय पनि खाडीलगायत इजिप्ट र थर्कीजस्ता देशका लागि स्वागतयोग्य विषय हुने छैन। उनीहरू इजरायललाई मात्र एक साझेदारका रूपमा चाहन्छन्, क्षेत्रीय प्रभुत्वशाली शक्तिका रूपमा होइन। अझ महत्त्वपूर्ण कुरा, बाह्य शक्तिहरूले मन नपरेका शासनहरू उल्टाउने सम्भावनालाई अरब निरंकुश शासकका लागि रुचिकर विषय पनि होइन।

अप्रत्याशित स्वभावका ट्रम्पले कुन विन्दुमा अस्पष्ट विजय घोषणा गर्दै युद्धबाट बाहिरिने निर्णय गर्छन् भन्न सकिन्न। उनको निर्णय चार प्रमुख कुराले प्रभावित हुनेछ– ऊर्जा मूल्य, सेयर बजार, मध्यावधि निर्वाचन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने आगामी शिखर वार्ता।

ट्रम्पले सम्भवतः सीसँग भेट्दा विश्वको करिब ३० प्रतिशत तेल भण्डार (भेनेजुएला र इरान) आफ्नो प्रभावमा ल्याउने आशा गरेका थिए तर इरान भेनेजुएलाभन्दा धेरै कठिन लक्ष्य साबित भएको छ र ट्रम्पले आफ्ना अवास्तविक अपेक्षालाई घटाउनुपर्ने अवस्था आएको छ।

तर अहिले बाहिर निस्किएको जिनीलाई फेरि बोतलभित्र फर्काउनु सजिलो हुनेछैन्, विशेषतः इजरायलको नेतृत्वले ट्रम्पजस्तो राजनीतिक दबाब भोग्नुपरेको छैन। दशकौंको प्रचारले इजरायली जनतालाई इरानी शासनलाई पूर्ण रूपमा दुष्ट शक्तिका रूपमा हेर्न प्रेरित गरेको छ। साथै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान, गाजा र हिजबुल्लाहविरुद्ध ‘पूर्ण विजय’ हासिल गर्नु आफ्नो राजनीतिक विरासतसँग जोडिएको विषयका रूपमा हेरेका छन्।

यस्तो लगभग असम्भव लक्ष्य पछ्याउँदाको मूल्य नेतान्याहुलाई सोचेभन्दा बढी हुन सक्छ। अमेरिकामा इजरायलले आफूहरूलाई महँगो युद्धमा तानेको भन्ने धारणा बढ्दै गएको खण्डमा त्यसले इजरायलको यसअघि नै कमजोर बनेको अन्तर्राष्ट्रिय छविलाई झन् बिगार्न सक्छ।

यी घटनाक्रम त्यतिबेला भइरहेका छन्, जतिबेला इजरायलले मध्यपूर्वमा कूटनीतिक सम्झौताको अवधारणालाई अस्वीकार गर्ने एक मात्र राष्ट्रका रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ, चाहे त्यो इरानको मुद्दा होस् वा प्यालेस्टाइनको।

(प्रोजेक्ट सिन्डिकेटबाट)

- स्लोमो  इजरायलका पूर्वविदेशमन्त्री हुन्।  

प्रकाशित: १ चैत्र २०८२ १०:१६ आइतबार