विचार

अमेरिका-इरान युद्धका आयाम

अप्रिल १ मा अमेरिकी जनतालाई दिएको लामो र एक असंगत सम्बोधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी युद्ध सफल भएको दाबी गर्दै काम छिट्टै सकिने वाचा गरे  तर त्यो दाबी स्पष्ट रूपमा तथ्यसँग मेल खाने खालको थिएन। अझै पनि इरानलाई अमेरिकाको अर्को एउटा सानो शत्रुका रूपमा ट्रम्पले हेर्न खोजिरहेका छन्, जसले केवल आक्रमणलाई सहन सक्छ, स्थानीय स्तरमा प्रतिक्रिया दिन सक्छ र अन्ततः निरन्तर सैन्य तथा आर्थिक दबाबअगाडि झुक्न बाध्य हुन्छ  तर वास्तविकता ठिक उल्टो छ। इरानले लामो समयदेखि अमेरिकी हस्तक्षेपवादको रणनीतिक मोडललाई उल्टाइदिएको छ।

दशकौंदेखि अमेरिकाले यस्तो विश्वास पाल्दै आएको थियो कि उसले विदेशमा युद्ध छेड्न सक्छ तर आफूले गम्भीर प्रतिशोधको जोखिम भोग्नुपर्दैन। यो सम्भव पनि थियो किनभने अमेरिकाले आफ्ना लक्ष्यहरू सावधानीपूर्वक छानेको थियो– जस्तै ग्रेनाडा, पनामा, इराक, लिबिया र भेनेजुएला, यी राष्ट्रसँग आफ्ना सीमाभन्दा बाहिर अमेरिकालाई उल्लेखनीय क्षति पुर्‍याउने क्षमता थिएन। ती देशहरूले अमेरिकी सम्पत्ति वा उसका सहयोगीमाथि दीर्घकालीन वा अर्थपूर्ण ढंगले प्रहार गर्न सक्ने अवस्था पनि थिएन। भियतनाम र अफगानिस्तानमा विद्रोही शक्तिहरूले अमेरिकी सेनालाई थकित बनाए पनि ती द्वन्द्वहरू भौगोलिक रूपमा सीमित रहे।

अमेरिकाले सुरु गरेको युद्धको अन्त्यमा अर्को पक्षले धेरै बढी मूल्य चुकाउनुपर्छ भन्ने ‘एसेमेट्रिक कस्ट’ मोडलले अमेरिकाको अजेयताको भ्रम जोगाइराख्न र उसका सैन्य हस्तक्षेपविरुद्ध देशभित्रको राजनीतिक विरोध सीमित गर्न महत्त्वपूर्ण काम गरेको थियो। यस पटक इरानले यही मोडललाई ध्वस्त बनाइदिएको छ।

इरानको सुरक्षा सिद्धान्त ‘फरवार्ड डिफेन्स’ अर्थात् अग्रमोर्चा रक्षा अवधारणामा आधारित छ। यस अवधारणाले आफूलाई जोगाउन र आफ्ना सीमाभन्दा बाहिर प्रभाव विस्तार गर्न आफ्ना सैन्य क्षमताहरू जस्तै ब्यालिस्टिक र क्रुज मिसाइल, ड्रोन तथा साझेदार र प्रतिनिधि (प्रोक्सी) नेटवर्क प्रयोग गर्छ। जब अमेरिका र इजरायलले आक्रमण गरे, इरानले यही रणनीतिक फाइदा उपयोग गर्दै तुरुन्तै नजिकै रहेका क्षेत्रका लक्ष्यहरूमाथि प्रतिशोध गर्न सक्यो, जसमा अमेरिकाका सहयोगी, सैन्य अड्डा र अग्रपंक्तिमा तैनाथ गरिएका सम्पत्ति थिए।

पूर्वाधार, हवाई अड्डा र हर्मुज जलडमरु मध्य तथा खाडी क्षेत्रको बाब अलमन्देब जस्ता आर्थिक ‘चोकपोइन्ट’हरूलाई धम्की दिएर इरानले प्रभावकारी रूपमा अमेरिकाका साझेदारहरूलाई पनि युद्धको लागत बाँड्न बाध्य पारेको छ।

लामो समयदेखि अमेरिकी सुरक्षा छातामुनि बस्ने सर्तमा आफ्ना भूमिमा अमेरिकी सैन्य अड्डा राख्न दिने खाडी देशहरूले अहिले इरानी प्रतिक्रियाको मुख्य भार बेहोर्नुपरेको छ। त्यसैले अमेरिकाको गठबन्धनभित्र रणनीतिक तनाव बढ्न थालेको छ। इरानका कारण पश्चिम एसियामा अमेरिकी शक्ति प्रक्षेपण सम्भव बनाउने सहयोगीहरू अहिले उल्टै अमेरिकालाई संयम अपनाउन दबाब दिने अवस्थामा पुगेका छन्।

अमेरिकाले यो कुरा पहिल्यै बुझ्नुपर्थ्याे। सन् २०२० मा अमेरिकाले इरानी मेजर जनरल कासेम सुलेमानीको हत्या गरेपछि इरानले कुनै प्रोक्सी कारबाही वा तनाव वृद्धि गरेन, उसले प्रत्यक्ष रूपमा इराकस्थित अमेरिकी सैन्य अड्डा अल–असद एयरबेसमाथि ब्यालिस्टिक मिसाइल आक्रमण गर्‍यो। यसले एउटा कुरा स्पष्ट गरिदिएको थियो, इरान अमेरिकी सेनामाथि सटिक प्रहार गर्न सक्षम छ र त्यसो गर्दा ऊ तत्काल प्रतिशोधको डरले रोकिने छैन। त्यसयता इरानले आफ्नो ‘वितरित प्रतिशोध रणनीति’लाई अझ निखारेको छ।

ट्रम्प प्रशासनले यो एकदमै पूर्वानुमान गर्न सकिने प्रतिक्रियाको आँकलन गर्न नसक्नुको एउटा कारण अमेरिकी सैन्य योजनाकार र राजनीतिज्ञहरूमा रहेको अर्को पुरानो भ्रम पनि हो। उनीहरूमा के विश्वास थियो भने धेरै सैन्य खर्चले स्वचालित रूपमा युद्धक्षेत्रमा श्रेष्ठता दिन्छ। उनीहरूलाई लागिरह्यो कि अमेरिका यति व्यापक शक्ति प्रयोग गर्न सक्छ कि उसका शत्रुहरू तत्काल झुक्न बाध्य हुनेछन् तर भियतनाम युद्धदेखि २० वर्ष लामो अफगानिस्तान युद्धसम्म अमेरिकाले उल्टै महँगा, लामा र थकाउने युद्धहरूमा फस्नुपर्‍यो, जसलाई न त उसले निर्णायक रूपमा जित्न सक्यो, न त राजनीतिक रूपमा विजयलाई टिकाइराख्न सक्यो। अन्ततः अपमानजनक रूपमा फिर्ता हुनुपर्ने बाध्यतामा अमेरिका पुग्यो।

यद्यपि एउटा भ्रम भने टिकिरह्यो। इरानको रक्षा बजेट अमेरिकी बजेटको सानो अंश मात्र हुँदाहुँदै ट्रम्प प्रशासनले सायद इरानले खासै प्रतिरोध गर्न सक्दैन भन्ने ठानेको थियो तर उसले बुझ्न नसकेको कुरा के हो भने इरानलाई बराबरी क्षमता चाहिँदैन, उसले अवरोध सिर्जना गरे मात्र पुग्छ। उसका कम लागत तर उच्च प्रभाव पार्ने हतियार प्रणालीहरू पारम्परिक सैन्य विजयका लागि होइनन्, ती त रणनीतिक निषेधका लागि बनाइएका हुन्। तुलनात्मक रूपमा सस्तो ड्रोन वा मिसाइलहरूको झुन्डले संसारकै अत्याधुनिक वायु–रक्षा प्रणालीलाई समेत हायलकायल पार्न सक्छ, इजरायलले अहिले यही कुरा अनुभव गरिरहेको छ।

यही रणनीतिले इरानलाई अमेरिकाको सबैभन्दा ठुलो बल मानिएको उसको विश्वव्यापी सैन्य उपस्थितिलाई नै कमजोरीमा बदल्ने अवसर दिएको छ। यसले अमेरिकी युद्धशैलीको एउटा आधारभूत कमजोरी पनि उजागर गरेको छ– अत्यधिक मूल्यवान् र महँगा सैन्य सम्पत्तिहरूमा निर्भरता, जसलाई निरन्तर सानो दबाबले कमजोर बनाउन सकिन्छ। यसप्रकारको असन्तुलन केवल रणनीतिक वा सैन्य मात्र होइन, आर्थिक पनि हो। अहिले अमेरिका आफ्ना सम्पत्ति र सहयोगीहरूलाई जोगाउन अर्बौं डलर खर्च गर्न बाध्य छ, ती हतियारहरूविरुद्ध जसलाई बनाउन र प्रहार गर्न तुलनात्मक रूपमा निकै कम लागत लाग्छ।

अमेरिकाले इरानविरुद्ध युद्ध छेड्दा आफ्नो पुरानो ढाँचा नै अपनायो, जुन ढाँचा कमजोर र बढी अलग–थलग पारिएका शत्रुहरूविरुद्ध प्रयोग गरेर निखारिएको थियो। अमेरिकाले ठान्यो कि सैन्य शक्ति र आर्थिक दबाबको संयोजनले अन्ततः इरानलाई झुकाउँछ तर उसले यस्तो राज्यसँग सामना गर्‍यो, जसले यस्तै प्रकारको द्वन्द्वका लागि वर्षौंदेखि तयारी गर्दै आएको थियो, जसले आक्रमण सहन सक्थ्यो र क्रमशः युद्धको लागत बढाउँदै लैजान सक्थ्यो। यति हुँदाहुँदै पनि ट्रम्प अझै चाँडै आत्मसमर्पण हुनेछ भन्ने आशामा देखिन्छन्।

ट्रम्प प्रशासनको रणनीतिक भुल केवल इरानको प्रतिशोध क्षमतालाई कम आँक्नु मात्र होइन। यो आधुनिक युद्धको प्रकृतिलाई नै गलत ढंगले बुझ्नु हो। आर्थिक परस्पर निर्भरता, भौगोलिक रूपमा फैलिएको सैन्य क्षमता र कम लागतका हतियार प्रणालीहरूको युगमा, परम्परागत सैन्य मापदण्डअनुसार कमजोर देखिने देशले पनि गम्भीर क्षति पुर्‍याउन सक्छ। सन्देश स्पष्ट छ, अमेरिकाले चाहेझैं लगभग निःशुल्क युद्ध लड्ने युग समाप्त भइसकेको छ।

अमेरिकासँग अझै पनि अत्यधिक सैन्य शक्ति प्रयोग गर्ने र ठुलो विनाश मच्चाउने क्षमता छ तर अब उसले त्यसका परिणामहरू नियन्त्रण गर्न वा त्यसको असर सीमित राख्न सक्दैन। इरानले देखाएको कुरा केवल सहनशीलता मात्र होइन, त्यो भनेको एउटा कमजोर राज्यले पनि कसरी बिस्तारै एउटा महाशक्तिका तुलनात्मक फाइदाहरूलाई निस्तेज पार्न सक्छ भन्ने पनि हो। एक समय आफूलाई अजेय ठान्ने महाशक्तिले अब यस्ता प्रतिद्वन्द्वीहरूसँग जुध्नुपरेको छ, जसले उसका खजाना खाली गराउन सक्छन्, उसका सहयोगीहरूलाई थकित पार्न सक्छन् र उसका रणनीतिक आँकलनलाई नै उल्ट्याइदिन सक्छन्।

अमेरिकाले इरानसम्बन्धी आफ्नो गलत आँकलनबाट पाठ सिक्छ कि सिक्दैन भन्ने कुरामा मध्यपूर्वको भविष्य र अमेरिकी शक्तिको भविष्य पनि निर्भर रहने देखिन्छ। उसले सिकेन भने ऊ फेरि पनि त्यस्ता युद्धहरूमा अल्झिरहनेछ, जसलाई न उसले निर्णायक रूपमा जित्न सक्छ, न सस्तोमा धान्न सक्छ, न उसले रणनीतिक रूपमा युद्धलाई उचित ठहर गर्न सक्छ।

(प्रोजेक्ट सिन्डिकेटबाट)

– चेलानी नयाँ दिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्चमा रणनीतिक अध्ययन विषयका प्राध्यापक हुन्।

प्रकाशित: २३ चैत्र २०८२ ०९:२७ सोमबार