विचार

लोकतन्त्र र सञ्चार-जगत्

सञ्चार शब्दले व्यापक अर्थ राख्छ। पहिले अल्प अर्थमा सङ्कुचित सञ्चार शब्द अहिले व्यापक र बहुअर्थी बनेको छ। यसको मूल काण्ड सञ्चार–जगतकाे सन्दर्भमा कुरा गर्दा अहिलेको विश्वको राजकाज, राजनीति र व्यवसायमा यसको अर्थको व्यापकताभन्दा प्रभाव धेरै छ।

अहिले संसारमा प्रचलित जुनसुकै राजनीतिक प्रणालीले सञ्चार–जगतकाे माध्यमबाट राजनीति, शासन तथा व्यवसायमा आफ्नो पकड बलियो बनाउँछ। गैरलोकतान्त्रिक प्रणालीले सञ्चार–जगतलाई उपयोग गर्छ तर लोकतन्त्र सञ्चार–जगत्बाट पोषित हुन्छ। अहिलेको विश्वमा सञ्चार–जगत् लोकतन्त्रको आत्मा हो।

यदि स्वतन्त्र सञ्चार–जगत् छैन भने लोकतन्त्र पनि निष्प्राण छ भन्ने बुझे हुन्छ। जसरी प्राणवायुको अभावमा प्राणीको जीवन केही मिनेटमा नै अन्त्य हुन्छ, त्यस्तै स्वतन्त्र सञ्चार–जगतकाे अभावमा लोकतन्त्र पनि जीवित रहन सक्दैन। २०६२/६३ को आन्दोलनलाई हामीले लोकतन्त्र स्थापनाका लागि भनेर संघर्ष गर्‍यौ। त्योभन्दा पहिले २००७ सालमा प्रजातन्त्रका लागि र २०१७ सालपछि २०४६ सालसम्म प्रजातन्त्रको पुनर्स्थापनाका लागि भनेर लडेका थियौं।

हुन त राजनीतिक परिभाषामा लोकतन्त्र भन्नु र प्रजातन्त्र भन्नु एउटै हो तर नेपालमा तत्कालीन समयमा राजा रहेका हुँदा प्रजा शब्दले राजाको शासनको अस्तित्व बोध गराउने बुझिने हुँदा लोकतन्त्र भनी उल्लेख गरियो। लोकतन्त्र प्राप्त पनि भयो। प्राप्त लोकतन्त्रको जगमा २०६४ मा नेपाल गणतन्त्र बन्यो।

माथि उल्लेख गरियो - सञ्चार शब्दले व्यापक अर्थ राख्छ। लोक शब्द त्योभन्दा पनि व्यापक छ। पौराणिक लोक, त्रिदेवका लोक, ब्रह्माण्ड आदिका साथै हामीले प्रयोग गर्ने मानिसको लोक अर्थात् राजनीतिक लोक। कुनै देशको सन्दर्भमा भन्दा त्यस देशको चौहद्दीभित्रको लोक। तसर्थ लोकतन्त्र केवल मानिसको मात्र होइन, यस शब्दले नेपाल सरहदभित्र बस्ने यावत् प्राणी तथा जल, स्थल, नभ सबै पर्छन्।

लोकतन्त्रभित्र सबैको अधिकार सुरक्षित र सुनिश्चित हुनुपर्छ। सर्प, भ्यागुता, मृग, मृगेन्द्र, चिल, गिद्धदेखि वायुमण्डलसम्म सबै सुरक्षित रहे भने मात्र नेपालले लोकतन्त्रको समुचित प्रयोग वा उपभोग गरेको मानिन्छ। विज्ञानले पुष्टि गरिसकेको छ कि प्रकृतिले उत्पन्न गरेका यावत् जीव तथा वनस्पतिको उपयोगिता छ। यिनको विनाशले प्रकृतिको पारिस्थितिकी (इको सिस्टम) मा प्रतिकूलता उत्पन्न हुन्छ।

पारिस्थितिकीमा प्रतिकूलता हुने काम मानिसबाटै हुन्छ र त्यसको दुष्प्रभावले मानिसलाई नै हानी गर्छ। त्यसैले व्यापक र बृहत् अर्थमा लोकमा अस्तित्ववान् सम्पूर्ण वनस्पति वा जीवको रक्षा गर्नु र सबै अधिकार सुरक्षित तथा सुनिश्चित गर्नु नै लोकतन्त्र हो। लेनिनवादी, माओवादी वा यस्तै अन्य साम्यवादी व्यवस्थाले शासनमा पकड राख्न सञ्चार–जगत्लाई पहिलेदेखि नै उपयोग गरिआएको हो।

अहिले लोकतन्त्रको नाममा सत्तामा पुगेका निर्वाचित उग्र दक्षिणवादी शासकहरूले विभिन्न माध्यमबाट सञ्चार–जगतलाई पकडमा राखी आफ्नो शासन बलियो बनाउन तथा जनमतलाई प्रभावित गर्न यसको उपयोग गरेका छन्। राजनीतिको अलावा सञ्चार–जगतकाे व्यापार व्यवसायमा पनि उत्तिकै प्रभाव पर्छ। पहिले विज्ञापन मार्फत उद्योगी व्यापारीहरूले छापा तथा रेडियो टेलिभिजनलाई उपयोग गर्ने प्रचलन थियो।

अहिले शासकका साथै विश्वका धनी उद्योगी व्यवसायीहरूले प्रभावकारी सञ्चार माध्यमको स्वामित्व खरिद गर्ने प्रचलन बढ्दै गएको छ। संसारको सबैभन्दा धनी व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्विटर किनेर नाम परिवर्तन गरी एक्सको नामबाट चलाइरहेका छन्।

दोस्रो धनी व्यक्ति मार्क जुकरवर्गले मेटाको आधिपत्य लिएका छन्, जो फेसबुक, ह्वाटसएप, इन्स्टाग्रामको प्यारेन्ट कम्पनी हो।

तेस्रो धनी व्यक्ति जेफ बेजोसको न्युजपेपर वासिङ्टन पोस्टमाथि सर्वाधिकार छ। चौथो धनी व्यक्ति लारी एलिसनको मिडिया कम्पनी प्यारामाउन्टको आधिपत्य छ, जो कोलम्बिया ब्रोडकास्टिङ सिस्टम सिबी यसको प्यारेन्ट कम्पनी हो र निकट भविष्यमा सिएनएन पनि लिने सम्भावना छ भनिन्छ। छिमेकी भारतमा सबैभन्दा धनी व्यक्ति मुकेस अम्बानीले नेटवर्क १८ मिडिया ग्रुपलाई कनट्रोल गरेका छन्, जसको भारतभरमा दर्जनौं टेलिभिजन समाचारपत्र माथि आधिपत्य छ।

भारतकै दोस्रो धनी व्यक्ति गौतम अडानीको एनडी टिभी नेटवर्कमा आधिपत्य छ। त्यस्तै अर्को धनी परिवार अशोक कुमार सरकारको परिवारको एबिपी मिडिया ग्रुपमा कन्ट्रोल छ, जसका टेलिभिजन, छापा पत्रिका प्रकाशित हुन्छन्। यी सबै व्यक्ति प्रधानमन्त्री नरेन्द्र मोदीका सहयोगी हुन्।

हंगेरीमा भिक्टर अर्वान सत्तामा आएपछि सञ्चार–जगत्लाई क्रमिक रूपमा आफ्नो प्रभावमा पारेका छन्। सार्वजनिक टेलिभिजन र रेडियोहरूले फिडेस पार्टी र यसका समर्थक थिंक ट्यांक, जनमत सर्वेक्षण संस्था जसले सरकार तथा फिडेस पार्टीबाट अनुदान प्राप्त गर्छन्। उनीहरूका विचार मात्र प्रसारित गर्छन्। निर्वाचनको समयमा विपक्षी प्रतिस्पर्धी पार्टीहरूलाई जम्मा पाँच मिनेटको समय दिइन्छ। अर्वानले यी मिडियालाई सरकारका तर्फबाट साथै उनका समर्थक पुँजीपतिमार्फत नियन्त्रण गरेका छन्। स्वतन्त्र पत्रकार भन्छन् - हंगेरीमा राज्यले गर्नुपर्ने आवश्यक काम गर्दैन।

राज्यले झुटा कुराको मात्र प्रचार गर्छ। हंगेरीका राजनीतिक विश्लेषक पिटर क्रेको भन्छन् -हंगेरीका जनताको मत प्रभावित गर्न सरकार तथा फिडेस पार्टीले न्युज आउटलेटहरूलाई हतियारका रूपमा प्रयोग गरेका छन्। यी आउटलेटमार्फत अर्वानका भ्रष्टाचार तथा पुँजीपतिहरूका कर छली, अनियमिततामाथि ढाकछोप गरिन्छ। विपक्षीहरूलाई हंगेरीलाई अस्थिर बनाउने तथा हंगेरीमा संकट ल्याउने भनी वर्णन गरिन्छ।

क्रेकोकै शब्दमा हंगेरी सूचनात्मक निरंकुशता तथा घुमाउरो किसिमले शासकीय निरंकुशतामा परिणत भएको छ। टर्कीमा रिसेप तैयप एर्दोगान राष्ट्रपति भएपछि लगातार स्वतन्त्र प्रेसमाथि आक्रमण गरेका छन्। स्वतन्त्र समाचारपत्र र सञ्चार माध्यम तथा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएका छन्।

सन् २०१६ मा उनले राज्यविरुद्ध काम गरेका भन्ने कुनै प्रमाण बेगरको झुटा आरोप लगाई टर्किस सिभिल ग्रुप निस्तेज पार्नमा सफलता प्राप्त गरेको भन्दै आत्म प्रशंसा गरे।

सन् २०१६ मा नै उनले २०० भन्दा बढी स्वतन्त्र पत्रकारहरूलाई गिरफ्तार गरे र एकसय बिस न्युज आउटलेटहरू बन्द गरे। फलस्वरूप ‘रिपोर्टर्स विदआउट बोर्डर्स’ले एर्दोगानलाई सञ्चार स्वतन्त्रताको दुस्मन भनी निन्दा गर्‍यो। साथै प्रजातन्त्रको नाममा आफ्नो आक्रामक अधिनायकत्वलाई छोपेका छन् भन्यो। उनको पछिल्लो कदम टर्कीको लोकप्रिय पत्रिका जमानलाई जफत गर्नु थियो। ६ लाख ५० हजार ग्राहक भएको जमान ४ मार्च २०१६ मा बन्द गरियो। किन धनी व्यक्ति र शासकहरू स्वतन्त्र सञ्चारको स्वामित्व लिन र स्वामित्व लिन नसकेको अवस्थामा तिनीहरूलाई बन्द गर्न उद्दत रहन्छन्? निरंकुशताप्रेमी सरकार आफ्नो निरंकुशतालाई कायम राख्न र जनतालाई अन्धकारमा राखी आफ्नो निरंकुश छविलाई ढाकछोप गर्न स्वतन्त्र सञ्चारलाई बन्द गर्छ।

धनी व्यक्तिहरू सञ्चार माध्यमको स्वामित्व लिई आफ्ना अवैध धन्दा तथा कर छलीहरूलाई ढाक छोप गर्न, त्यस सम्बन्धमा कहींबाट सत्य समाचार बाहिर आयो भने त्यसको खण्डन गरी जनतालाई भ्रममा राख्न आफ्ना स्वामित्वका सञ्चार माध्यमको उपयोग गर्छन्। साथै सरकारको समर्थन र उसको गुणगान गरी सरकारी अनुदान प्राप्त गर्न वा अन्य सहयोग प्राप्त गर्न पनि यसबाट उनीहरूलाई सहयोग हुन्छ। सरकारलाई पनि सञ्चार माध्यम बन्द गर्ने अप्रिय काम गर्नुभन्दा धनी व्यक्ति मार्फत नियन्त्रण गर्दा उसको छवि खराब देखिनबाट जोगिन सहयोग पुग्छ।

कुनैकुनै धनी व्यक्ति सानका लागि तथा व्यवसाय वृद्धिका लागि पनि सञ्चार माध्यमको स्वामित्व ग्रहण गर्छन्। स्वतन्त्र सञ्चार–जगतले लोकतन्त्रको रक्षा गर्छ, साथै लोकतन्त्रमाथि हमला भयो भने त्यसविरुद्ध जनतालाई जागरुक बनाउन तथा दूरदराजमा सूचना तथा समाचारको सञ्चार गर्न मद्दत गर्छ। यसको शक्ति र उपयोगिता हामीले ज्ञानेन्द्रको शासनकालमा देखिसकेका छौं।

ज्ञानेन्द्रले आफ्नो तानाशाहीको संगठित विरोध हुन नसकोस् भन्ने हेतुले जब देशभरका टेलिफोन सेवा बन्द गरे र टेलिभिजन तथा समाचारपत्रहरूका अफिसमा सैनिक पठाई नियन्त्रण गरे, त्यो समयमा तीन सयभन्दा बढीको संख्यामा जिल्ला तथा गाउँमा रहेका एफएम रेडियोहरूले सूचना तथा समाचार सम्प्रेषण गरे। साथै ज्ञानेन्द्रको तानाशाहीतन्त्रको विरोधमा जनआन्दोलन चलाइरहेका राजनीतिक दलको कार्यक्रम प्रसारित गरी आन्दोलन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेले। त्यसैले लोकतन्त्रको सुरक्षाका लागि स्वतन्त्र सञ्चार–जगतकाे सञ्चालन अत्यावश्यक हुन्छ। स्वतन्त्र सञ्चारको रक्षाका लागि पनि लोकतन्त्र त्यत्तिकै आवश्यक हुन्छ।

लोकतन्त्रको अभावमा सञ्चार–जगतले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सक्दैन भन्ने माथि विभिन्न देशका सर्वाधिकारवादी शासकले सञ्चार माध्यममाथि गरेका व्यवहारबाट प्रस्ट भएको छ। तसर्थ जहाँ सञ्चार–जगत् लोकतन्त्रको रक्षाका लागि प्राणवायु हो भने स्वतन्त्र सञ्चार–जगत्का लागि पनि लोकतन्त्र यसको नसा नसामा पुग्ने तातो रगत हो। यी दुवै एकअर्कामा अनन्योनाश्रित छन्। एउटाको अभावमा अर्को जीवित रहन सक्दैन।

लोकतन्त्रले सञ्चार–जगत् स्वतन्त्र रहने वातावरण सिर्जना गर्छ तर लोकतन्त्र मात्रले सञ्चार माध्यमहरू स्वतन्त्र रहन सक्छन् भन्ने सुनिश्चितता हुँदैन। यदि त्यस्तो भएको भए माथि उल्लेख गरिएका देशमा पनि लोकतन्त्र थियो र ती देशमा अझै लोकतन्त्र शान्तिपूर्ण तरिकाले फर्किने सम्भावना छ तर ती देशमा सञ्चार माध्यमले आफ्नो स्वतन्त्रता जोगाउन सकेनन्। सञ्चार–जगत् स्वतन्त्र राख्नका लागि त्यस देशका नागरिकको र तत् तत् सञ्चार माध्यमका पाठकको पनि दायित्व हो।

पाठकको चन्दा, सदस्यता र आर्थिक दानबाट अझै पनि विश्वका नामी खबर पत्रिकाहरू चलेका छन्। बेलायतको ‘द गार्डियन’, फ्रान्सको ‘ली मोन्डे’, अमेरिकाको ‘न्युयोर्क टाइम्स’, भारतको ‘द वायर’ आदि पत्रिका पाठकको चन्दा, सदस्यता, आर्थिक दान र परोपकारी संस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगबाट चलेका छन्। साथै, आफ्नो स्वतन्त्रता जोगाउन सकेका छन्। हामीले पनि हाम्रो देशको लोकतन्त्रको रक्षाका लागि सञ्चार–जगतकाे स्वतन्त्रता कायम राख्न आफ्नो तर्फबाट योगदान गर्नुपर्छ।

प्रकाशित: २८ मंसिर २०८२ १०:१५ आइतबार