विचार

कांग्रेस : सग्लाउने कि मुर्झाउने?

वैशाख ४ गते राति सर्वोच्च अदालतको डिभिजन बेन्चका न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष अधिवेशन पक्षलाई आधिकारिकता दिने निर्णय सुनायो। डिभिजन बेन्चको यो निर्णयमाथि पुनरावलोकनमा जान सक्ने बाटो बाँकी रहेको भए तापनि अहिले त्यसतर्फ जानुभन्दा कसरी मेलमिलाप गर्न सकिन्छ भन्ने बाटो खोज्नु नै उचित र श्रेयस्कर हुन्छ। आधिकारिकता पाएको पक्ष र आधिकारिकता नपाएको पक्षबिच एकता भई कांग्रेस एक ढिक्का भएर अगाडि बढ्ला कि विभाजित भएर जाला भन्ने संशय सञ्चार माध्यम तथा यत्रतत्र चर्चा हुनुले नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकका साथै नेपालमा लोकतन्त्रको स्थायित्व चाहने सबैमा चिन्ता छाएको देखिन्छ।  

फोनमा तथा भेटमा धेरै साथीको यो प्रश्नको सामना मैले पनि गरेको छु। यसबिचमा विशेष महाधिवेशन पक्षधर अथवा आधिकारिकता पाएको नेपाली कांग्रेस पक्षधर कतिपयले मेलमिलापको नाममा पुरानालाई भित्र्याई फेरि पनि कांग्रेसमा गुटगत राजनीति भित्र्याउनुहुँदैन भन्ने रहेको सुनिन्छ भने कतिपयले पार्टीलाई एकताबद्ध बनाउनुपर्छ भन्ने विचार राखेको सुनिन्छ। डिभिजन बेन्चको फैसलाबाट पराजित पूर्व संस्थापन समूहको विचार अहिले गौण बनेको छ, किनकि पार्टीभित्र एकता कायम गर्ने कि नगर्ने भन्ने निर्णायक अवस्थामा यो पक्षधर रहेन।  

अदालतको फैसलाले एकता गर्ने कि नगर्ने भन्ने निर्णायक स्थानमा सभापति गगन थापालाई पुर्‍याएको छ। अदालतको फैसलापछि पुरानो संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस एकताबद्ध भई जानुपर्छ र पार्टी एकताबद्ध हुने वातावरण बनाउने जिम्मेवारी सभापति गगन थापामा छ भनेबाट पुरानो संस्थापन समूह मेलमिलाप गरी जान तयार छ भन्ने सन्देश दिएको छ। पूर्णबहादुर खड्काको यो सन्देशपश्चात् सभापति गगन थापा पूर्णबहादुर खड्कालाई भेट्न जानुभएको समाचारमा आएको छ। यो भेट औपचारिकताका लागि मात्र हो वा पार्टी एकताबद्ध बनाउने कार्यको सुरुवात हो, त्यो आगामी दिनमा थाहा हुने नै छ।

गगन थापाको कार्यसमितिका एकताको विपक्षमा रहेका व्यक्तिहरूको भनाइ छ– एकताको नाममा गरिने भागबन्डाले पार्टीले गति लिँदैन। पार्टीभित्र दुई समूहको समूहगत भावना रहन्छ। यसबाट पार्टी झन् कमजोर बन्छ। यो कुरा सम्पूर्ण सत्य नभए तापनि समूहगत भावना रहेको कुरा सत्य हो। विगतमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको एकता भए तापनि त्यसको प्रभाव पछिसम्म पनि रह्यो। यस्ता समूहगत भावना केवल दुइटा समूह मिलेर मात्र बन्ने होइनन्।

निर्वाचन आयोगपछि अब सर्वोच्च अदालतले पनि वैधानिकता दिएपछि वैधानिकताको विवाद समाप्त भएको छ। तर विशेष अधिवेशनबाट सुरु भएको राजनीतिक विवादको समाधान नगर्ने हो भने नेपाली कांग्रेस पनि बोटबाट चुडिएको फूलजस्तै बन्नेछ।

प्रजातान्त्रिक पार्टीमा विचार भिन्नताको स्वतन्त्रता रहन्छ। एउटै नीति, सिद्धान्त मान्दा पनि तिनको व्याख्या वा कार्यान्वयनको सन्दर्भमा एउटै विचार नहुन सक्छ। फरक–फरक विचार भएका समूह जुनसुकै पार्टीभित्र पनि रहेका हुन्छन्। ती फरक–फरक विचारलाई व्यवस्थापन गर्न सक्नु नेतृत्वको कुशलता मानिन्छ। फरक विचारलाई समस्याको रूपमा बुझ्नुभन्दा यसलाई पार्टीको जीवन्तताको रूपमा बुझ्नुपर्छ। यो नै प्रजातान्त्रिक पार्टीको पहिचान हो। जुन पार्टीको नेतृत्वले फरक विचारलाई व्यवस्थापन गर्नुको बदला ती विचार तथा ती विचार बोक्ने समूहलाई समस्याका रूपमा बुझ्छ, त्यो पार्टीले कहिल्यै उन्नति गर्न सक्दैन। विचारविहीन तथा क्षुद्र स्वार्थका लागि बन्ने गुट भने पार्टीका लागि अभिशाप बन्छ। यस्ता विचारविहीन गुटलाई प्रश्रय दिँदा संगठनलाई हानि पुर्‍याउँछ।

मिल्दा वा भागबन्डा गर्दा पार्टी कमजोर हुन्छ, एकमतको कार्यसमिति हुँदा पार्टी बलियो हुन्छ भन्ने भाष्यलाई पनि तथ्यले खण्डित गरिसकेको छ। गएको निर्वाचन गगन थापा नेतृत्वमा एकमतको कार्यसमितिका साथ गएको थियो। फरक विचार राख्नेहरू उक्त समितिमा थिएनन्। न त फरक विचार लिएकाहरूले छुट्टै पार्टी गठन गरी निर्वाचनमा गएका थिए। एक–दुई जना नेताबाहेक अरू सबै उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारको प्रचारमा लागेका थिए। तर परिणाम नेपाली कांग्रेसको इतिहासकै सबैभन्दा कमजोर रह्यो। परिणाम मात्र होइन कि लोकप्रिय मत पनि अति कम प्राप्त भयो।

विगतमा कांग्रेसमा स्वार्थको आधारमा बनेका गुटहरूको वर्चस्व रह्यो। महाधिवेशनको समयमा समूह बनाई निर्वाचनमा प्रतिस्पर्धा गर्ने, निर्वाचनपछि विजेता र पराजितले आफ्नो पक्षमा लागेकाहरूको समूह कायम राख्ने। विजेताले सबैलाई समान व्यवहार गर्नुपर्ने र पराजितले पनि निर्वाचनपछि पराजयको कुण्ठामा नबसी सहयोगी भावना लिई काम गर्नुपर्नेमा दुवै पक्ष अनुदार भइदिनाले कांग्रेसमा दुई समूह कायम रह्यो। स्मरणयोग्य छ कि यो दुई समूहमध्ये एक समूहको नेतृत्वकर्ता वर्तमान सभापति नै हुनुहुन्थ्यो।

केही समयअघि सभापति थापाको एउटा मन्तव्य आएको थियो– १५औं महाधिवेशनको गाडी हिँड्यो, अब यसमा चढ्ने चढ्छन्, नचढ्ने छुट्छन् भन्ने। भर्खरै कोसी प्रदेश भेलामा पनि सभापति थापाले ‘नमिलेर कहाँ जाने?’ भनी प्रश्न गर्नुभयो। कमजोर इन्जिन भएको गाडी मर्मत नगरी हिँड्यो भने दुर्घटनाग्रस्त हुन्छ। जसरी हतारमा विशेष महाधिवेशनको गाडी दौडाउँदा लज्जाजनक पराजय भयो। परिणामको ख्याल नगरी नेतृत्वको मात्र लालसा गर्दा राम्रो नतिजा प्राप्त गर्न सकिँदैन। भोटको फूल सुन्दर देखिन्छ तर भोटबाट चुडालेको केही क्षणपछि मुर्झाएर मलिन हुन थाल्छ। निर्वाचन आयोगपछि अब सर्वोच्च अदालतले पनि वैधानिकता दिएपछि वैधानिकताको विवाद समाप्त भएको छ। तर विशेष अधिवेशनबाट सुरु भएको राजनीतिक विवादको समाधान नगर्ने हो भने नेपाली कांग्रेस पनि बोटबाट चुडिएको फूलजस्तै बन्नेछ।

२०८२ माघसम्ममा १५औं महाधिवेशन सम्पन्न हुनुपर्ने थियो। तर पुरानो कार्यसमितिको अदूरदर्शिताका कारण समयमा महाधिवेशन सुरु हुन सकेन। अब २०८३ माघसम्ममा १५औं महाधिवेशन सम्पन्न गर्नुपर्नेछ। २०८३ असोजसम्ममा महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित भइसकेको छ। यसबिचमा नेपाली कांग्रेसभित्रको राजनीतिक विवाद समाधान गरी सबै कार्यकर्ता तथा नेताहरू हर्षोल्लास र आत्मीयतासाथ १५औं महाधिवेशनमा सम्मिलित गराउने जिम्मेवारी सभापति गगन थापाको हो। यो जिम्मेवारी पूरा गर्ने उहाँको इच्छा भएमा अरू कसैबाट अवरोध हुन सक्दैन। तसर्थ कांग्रेसलाई एकताबद्ध बनाउने कि नबनाउने भन्ने सभापतिको इच्छामा निर्भर छ।

फरक विचार प्रजातान्त्रिक पार्टीको कमजोरी होइन, जीवन्तता हो। ती विचारलाई व्यवस्थापन गर्न नसक्ने नेतृत्व असफल हुन्छ तर विचारविहीन गुटबन्दीले भने पार्टीलाई कमजोर बनाउँछ र संगठनमा दीर्घकालीन क्षति पुर्‍याउँछ।

यसैबिच पूर्णबहादुर खड्का समूहबाट भेलाहरूको आयोजना गरी समानान्तर गतिविधि सञ्चालन भएका छन्। १५औं महाधिवेशनको मिति तोकेर अधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि सबै नेता–कार्यकर्ता अधिवेशन सम्पन्न गर्न लाग्नुपर्ने हो। तर अहिलेसम्मको अवस्था हेर्दा खड्का समूह अहिलेकै अवस्थामा महाधिवेशनमा सम्मिलित हुने देखिँदैन। अहिलेको केन्द्रीय समिति सबै महाधिवेशन प्रतिनिधि सम्मिलित भई निर्वाचित भएको होइन, जसमा गगन थापाकै दाबीअनुसार पनि ५० प्रतिशतभन्दा केही बढीको मात्र उपस्थिति रहेको थियो। करिब आधा प्रतिनिधि अनुपस्थित रहेको उक्त विशेष अधिवेशन एउटा समूहको अधिवेशन मात्र हो भन्ने खड्का समूहको बुझाइलाई पनि अनुचित भन्न मिल्दैन। यसरी एकपक्षीय रहेको अधिवेशनले गठन गरेको कार्यसमितिमा अर्को पक्षले अपनत्व अनुभूति गर्न नसक्नु स्वाभाविक छ। त्यसैले अर्को पक्षलाई अपनत्व अनुभूति गर्न सक्ने वातावरण बनाउने जिम्मेवारी सभापतिको हो।

१५औं महाधिवेशनको एउटा महत्र्वपूर्ण काम नेतृत्व चयन गर्नु हो। वडादेखि केन्द्रसम्मको नेतृत्वका लागि महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धाका लागि सबै प्रतिस्पर्धीहरूले समान धरातलीय अवस्था खोज्नु स्वाभाविक हो। यसको लागि या त निर्वाचन आयोगजस्तै निष्पक्ष आयोगले निर्वाचन गराउने र निर्वाचनको समयमा आउन सक्ने विवाद सोही आयोगले निरूपण गर्ने वैधानिक व्यवस्था हुनुपर्‍यो। अन्यथा सबै पक्षलाई पार्टीको केन्द्रीय समिति र निर्वाचन समितिमा उचित स्थान दिनुपर्छ। वर्तमान समयमा पार्टीको केन्द्रीय समिति र निर्वाचन समिति एकपक्षीय छ। यस्तो अवस्थामा अर्को पक्षले असुरक्षित महसुस गर्नु स्वाभाविक छ। असुरक्षित अनुभूति गरेको पक्षलाई निष्पक्षताको अनुभूति दिलाउनु सभापतिको कर्तव्य हो।

शेरबहादुर देउवाको सभापतित्वमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री हुनुहुन्थ्यो। केन्द्रीय समितिमा शेरबहादुर देउवाको बहुमत भए तापनि उहाँहरूको पनि शक्तिशाली उपस्थिति थियो। त्यो समयमा वर्तमान सभापति गगन थापाले शेरबहादुर देउवातर्फ लक्षित गर्दै भन्नुभएको थियो, ‘नेपाली कांग्रेस लास र दास मात्र भएको पार्टी होइन, हामी प्रश्न गर्छौं।’ प्रजातन्त्रमा प्रश्न मर्नुहुँदैन। पार्टी प्रजातान्त्रिक तथा नेतृत्व पनि प्रजातान्त्रिक छ भने त्यहाँ प्रश्न गर्न पनि पाइन्छ र प्रश्नको उत्तर पनि दिनुपर्छ। आज उहाँ शेरबहादुर देउवाभन्दा पनि अझ शक्तिशाली सभापति बन्नुभएको छ। हिजोको उहाँको विचार र मान्यतामा आज पनि अडिग हुनुहुन्छ कि अवस्था परिवर्तन भएपछि विचार र व्यवहार पनि परिवर्तन भयो? पार्टी एकताबद्ध हुने कि दुई फ्याक हुने? यही प्रश्नको उत्तरमा निहित छ। नेपाली कांग्रेसका इमानदार तथा निष्ठावान कार्यकर्ता र लोकतन्त्रप्रेमी नेपाली जनताले व्यग्रताका साथ सभापति थापाको निर्णय कुरिरहेका छन्।

प्रकाशित: २२ वैशाख २०८३ १०:११ मंगलबार