हाल चीनसँग सम्बन्धित समाचार प्रायजसो भू–राजनीतिक विषय र विशेष गरी अमेरिका–चीनबिचको प्रतिस्पर्धामा केन्द्रित छन्। चीनका १.४ अर्ब जनताका लागि सबैभन्दा जटिल समस्या भने संकुचन हुँदै गएको परिवार हो।
चीनमा हजारौं वर्षदेखि कन्फ्युसियस मूल्यले परिवारलाई सामाजिक व्यवस्थाको आधारका रूपमा व्याख्या गर्दै आएको छ। परिवारले जमिन र स्रोतहरूका लागि प्रतिस्पर्धा, वृद्ध अभिभावकको हेरचाह, व्यवसाय सञ्चालन, विवाह मार्फत पारिवारिक सञ्जाल विस्तारजस्ता कामहरू गर्दै आएको छ। यस्ता सामाजिक–आर्थिक कार्यहरू युरोपमा चर्चले गर्ने गर्थे भने चीनमा यी सबै पारिवारिक सञ्जालले गर्थ्याे।
यो संरचना १९५० देखि १९७० को दशकमा भएको ठूलो सामाजिक परिवर्तनको समयमा पनि बाँचेको थियो। त्यो बेला कम्युनिष्ट सरकारले मानिसहरूलाई परिवारदेखि टाढा ‘डर्मेटरी’मा बस्न लगाएको थियो र बालबालिकालाई राज्यद्वारा सञ्चालित बोर्डिङ स्कुलमा पठाउन प्रेरित गरेको थियो, यसले श्रम उत्पादनशीलता बढाउने लक्ष्य राखेको थियो।
आज चिनियाँ परिवार गहिरो संकटमा छ। प्रजनन दर सन् १९६३ मा प्रतिमहिला ७.५१ बाट घटेर २०२३ मा प्रतिमहिला एकमा झरेको छ। यस्तो जनसांख्यिक पतनले चीनको अर्थतन्त्र, समाज, र शासन प्रणालीमा ठूलो जोखिम निम्त्याएको छ।
चीनको यो अवस्था आकस्मिक भने होइन। सन् १९०० देखि १९७९ का बीचमा चीनको जनसंख्या ४० करोडबाट ९६.९ करोडमा पुगेको थियो। यो अवधिमा खाद्यान्न अभाव यति व्यापक थियो कि चीनलाई ‘भोकमरीको देश’ भनिन थालिएको थियो।
सन् १९५९–६१ को बीच चीनले इतिहासकै भीषण भोकमरी भोगेको थियो। यसबेला चीनमा दुई करोडदेखि ४.५ करोड मानिसको मृत्यु भएको थियो। त्यसपछि १९७० को दशकमा चीनले कठोर परिवार योजना लागु गर्यो, जसअनुसार प्रायः सबै परिवारलाई एउटा मात्र बच्चा जन्माउन अनुमति दिइयो। कानुन मात्र समस्याको मूल कारण होइन। सन् २०१६ मा यो नीति खुकुलो पारेर दुई सन्तान र २०२१ मा तीन सन्तानसम्मको अनुमति दिए पनि प्रजनन दरमा सुधार आएको छैन।
प्रजनन दर कम भएका जापान र दक्षिण कोरिया भन्दा फरक दृष्टिले चीन अझै पनि गरिब देशकै श्रेणीमा पर्छ। सन् २०२२ को तथ्यांकअनुसार सहरी क्षेत्रमा बसोबास गर्ने ९४ करोड मानिसको प्रतिव्यक्ति औसत वार्षिक आम्दानी ६ हजार २२४ अमेरिकी डलर (प्रति दिन १७ डलर) मात्र छ, ग्रामीण क्षेत्रमा बसोबास गर्ने ४६ करोड ५० लाख जनसंख्याको प्रतिव्यक्ति वार्षिक औसत आय दुई हजार ७७७ अमेरिकी डलर (प्रति दिन ७.६ डलर) छ।
अमेरिकामा यो ६३ हजार ५८९ अमेरिकी डलर छ। अमेरिकामा महँगो जीवनशैलीलाई ध्यानमा राख्दा समेत यो अन्तर अत्यधिक देखिन्छ। यसबाहेक, चीनमा युवाहरूका लागि सीमित आर्थिक अवसर र विश्वविद्यालयको डिग्री हुँदाहुदै पनि जागिर नपाइने अवस्था थपिँदा, अधिकांश चिनियाँ परिवारले धेरै बच्चा जन्माउन सक्ने अवस्था छैन।
नयाँ पुस्ताका चिनियाँ अभिभावकहरूलाई थप मानसिक चुनौती पनि छ। उनीहरूसँग ठूलो परिवारको अनुभव छैन। धेरैजसो एकल बच्चाका रूपमा हुर्किएका छन्। तिनका अभिभावक दुई बच्चाको वातावरणमा हुर्केका थिए। उनीहरूले खेल्नका लागि दाजुभाइ, दिदीबहिनी नभई हेरचाह गर्ने (केयर गिभर) वयस्कहरू थिए। यसले गर्दा धेरैलाई ठूलो परिवारको आवश्यकता महसुस नै हुँदैन तर ती सबै हेरचाह गर्ने वयस्कको उमेर ढल्किसकेको छ।
अबको सानो श्रमशक्तिले ठूलो वृद्ध जनसंख्यालाई धान्नुपर्नेछ– त्यो पनि न्यून वेतन, कम अवसर र सीमित सामाजिक सुरक्षाबीच। उनीहरूलाई आर्थिक मात्र नभई शारीरिक र भावनात्मक समर्थन पनि उत्तिकै आवश्यक रहन्छ।
आफ्ना आमाबुबा र हजुरबुबा–हजुरआमाका लागि प्रत्येक युवा र बालबालिका एक मात्र आशा र गर्वको विषय हुन्। ती अभिभावकले तिनकै लागि सम्पूर्ण समय, ऊर्जा र सम्पत्ति खर्चेका हुन्छन्। अब ती युवाले आफ्नो कमाइबाट त्यो लगानी ‘फिर्ता’ गर्नुपर्ने जिम्मेवारी बोकेका छन्।
चीनका युवालाई अहिले यो जिम्मेवारी बाल्यकालदेखि नै थोपिरिएको छ। विद्यालयपछिका समय र सप्ताहन्तमा चीनका पार्कहरू वृद्धले भरिएका हुन्छन्, खेलमैदानहरू प्रायः खाली हुन्छन्। अधिकांश बालबालिका घरमा पढाइमा व्यस्त हुन्छन्। यस्तो अत्यधिक दबाबले युवापुस्तामा डिप्रेसन र आत्महत्याको दर वृद्धि हुने सम्भावना रहन्छ।
अबका दिनमा यो अवस्था झन् बिग्रिने देखिन्छ। सुस्त आर्थिक वृद्धि र युवाहरूको बेरोजगारी दरले झन् गम्भीर प्रतिस्पर्धा निम्त्याएको छ, जसले सरकारको पेन्सन वृद्धि गर्ने क्षमतामा पनि बाधा पु¥याउँछ।
त्यसो त चीन सरकारले परिवार संकटको समाधान खोज्ने प्रयास गरिरहेको छ किनभने आर्थिक र सामाजिक समस्याले चाँडै राजनीतिक अस्थिरताको रूप लिन सक्छ। आर्थिक प्रोत्साहन होस् वा अन्य व्यवस्था हुन्, सरकारी नीतिहरूले चीनमा हालसम्म सन्तान जन्मदर बढाउन सकेको छैनन्।
अब प्रश्न उठ्छ– एकल सन्तान, बिना दाजुभाइ–दिदीबहिनी वा काका–काकीको पुस्ताले त्यही पारिवारिक संरचनामा आधारित समाज र सभ्यतालाई कसरी अगाडि बढाउला ? हेरचाह गर्न थोरै युवा हुँदा वृद्धहरूको जीवन कस्तो हुनेछ?
परिवारलाई जीवनको आधार र मूल्य मान्ने चिनियाँहरू सन्तानविना कत्तिको सन्तुष्ट हुन सक्लान्? यिनै कारणले चीनमा सामाजिक र आर्थिक उथलपुथलको छायाँ मडारिइरहेको छ। अनि चीनले यी प्रश्नहरूको उत्तर खोज्न अत्यावश्यक छ।
(प्रोजेक्ट सिन्डिकेटबाट) लेखक नान्सी नर्थवेस्टर्न विश्वविद्यालयमा अर्थशास्त्रकी प्राध्यापक हुन्।
प्रकाशित: २२ श्रावण २०८२ ०७:१२ बिहीबार