विचार

के अमेरिकाले इरान युद्ध धान्न सक्छ?

केही समयअघिसम्म मेक अमेरिका ग्रेट अगेन आन्दोलनप्रति गहिरो विश्वास थियो। अमेरिकी व्यक्ति र सपना देशभित्रै संकटमा रहेको बेला यो धारणाले मलजल पाएको थियो। तर अहिले यस आन्दोलनका प्रणेता राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्धको महँगो युद्धमा जबरजस्त प्रवेश गरिसकेका छन्।

इरानविरुद्धको अमेरिकी–इजरायली अभियानले अमेरिकी बजेटमा ठुलो स्तरको असर पार्ने निश्चित छ। यो त्यतिबेला भइरहेको छ, जतिबेला देशको सार्वजनिक वित्त पहिल्यै नै अस्थिर बाटोमा छ। यसले अन्तर्राष्ट्रिय तेल र ग्यासको मूल्य पनि बढाउनेछ। अमेरिकाले यसअघि नै किफायती तेलको अभाव भोगिरहेको छ। यी दुवै परिणाम अमेरिकी मुद्रास्फीति र रोजगारीका लागि राम्रो संकेत होइनन्। विशेषगरी हालैको अप्रत्याशित नकारात्मक मासिक रोजगारी रिपोर्टले अवस्था पहिले नै गम्भीर देखाएको छ।

इरान युद्ध सुरु हुनुअघि नै ट्रम्पले अमेरिकी रक्षा बजेटमा ठुलो विस्तार आवश्यक भएको सुझाव दिएका थिए। उनले हालको एक ट्रिलियन डलरको बजेटलाई प्रतिवर्ष पाँच सय अर्बले बढाउने प्रस्ताव गरेका थिए। अहिले अमेरिका पूर्ण स्तरको युद्धमा छ। यो युद्ध अनिश्चितकालसम्म लम्बिन सक्छ र यही कारणले विश्वको भूराजनीतिक नक्सा उल्टाउन सक्छ। यस सन्दर्भमा ट्रम्पको रक्षा खर्च बढाउने तर्क अझ बलियो देखिन्छ।

युद्धको प्रत्यक्ष लागत मापन गर्न अझै समय बाँकी छ, किनकि कसैले पनि यो युद्ध कति लामो र गहन हुनेछ भनेर अहिल्यै भन्न सक्दैन तर अहिले नै दैनिक करिब ४१ अर्ब डलर खर्च भइरहेको छ। ट्रम्पले अनुमान गरेको युद्धको मासिक बिल करिब ५० अर्ब डलर पुग्ने सम्भावना छ र युद्ध लामो समयसम्म चल्दा लागत अझ बढ्नेछ।

प्रत्यक्ष खर्चका अलावा अमेरिकी गोलाबारुद र उपकरणहरू प्रतिस्थापन गर्नुका साथै रक्षा बजेट बढाउने अन्य कारणहरू पनि छन्। पहिलो, पेन्टागनले यस्तो परिदृश्यका लागि तयारी गर्नुपर्ने हुन सक्छ, जहाँ सम्पूर्ण मध्यपूर्व अस्थिर हुन्छ।

विशेषगरी यदि ट्रम्प प्रशासनले इरानी कुर्दहरूलाई हतियार उपलब्ध गराउँछ भने यसले टर्कीलाई क्रोधित पार्नेछ र सम्भवतः यस कार्यले इरानभित्रका अन्य पृथक्तावादी आन्दोलनलाई उक्साउनेछ। दोस्रो, अमेरिकाको ध्यान अन्यत्र मोडिँदा रुस र चीनले युक्रेन र ताइवानमा आफ्नो दाबी अघि बढाउने अवसर देख्न सक्छन्, जसले अमेरिकी सैन्य खर्च अझ बढाउन बाध्य पार्नेछ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री मिल्टन फ्रेडम्यानले भनेझैं ‘निःशुल्क खाना भन्ने कुरा कहीं हुँदैन।’ सैन्य हस्तक्षेपमा यो भनाइ अझ उपयुक्त छ। भियतनाम, इराक र अफगानिस्तानका युद्धहरूले देखाएका छन् कि अमेरिकाले बन्दुक र नौनी अर्थात् सैन्य बनाम नागरिक खर्चबिच चयन गर्न राम्रोसँग सक्दैन। अमेरिकाले दुवै चाहन्छ, तर दुवै प्रयासले मुद्रास्फीतिको जोखिम निम्त्याउन सक्छ।

आजको अवस्थामा यो अझ प्रासंगिक छ। कंग्रेसनल बजेट अफिसका अनुसार अमेरिकी बजेट घाटा जिडिपीको ६ प्रतिशतभन्दा बढी रहने अपेक्षा छ। यसको अर्थ द्वितीय विश्वयुद्धको अन्त्यमा रहेको ऋण जिडिपी अनुपातलाई पार गर्ने बाटोमा अमेरिका अघि बढिरहेको छ।

त्यसो त ट्रम्प प्रशासनलाई अमेरिकाको बिग्रँदो सार्वजनिक वित्तको चिन्ता नहुन सक्छ, तर बन्ड बजारलाई अवश्य छ। सामान्यतया जब भूराजनीतिक तनाव उच्च हुन्छ, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू अमेरिकी ट्रेजरीको सुरक्षातर्फ आकर्षित हुने गर्छन् तर अर्को संकेत के देखिन्छ भने विदेशी लगानीकर्ताहरू अमेरिकी बन्डमा पैसा लगाउन कम उत्साहित छन् र यसका कारण ब्याजदर बढ्दै गएको छ।

अमेरिकी सरकारले दुई ट्रिलियन डलरको बजेट घाटा वित्तपोषण गर्दै छ र यस वर्ष करिब नौ ट्रिलियन डलर ‘म्याच्योर’ हुने बन्ड ‘रोलओभर’ गर्दै छ, त्यसैले विदेशी लगानीकर्ताको चासो हराउन सक्छ। यो अमेरिकाका लागि रुचिको विषय होइन। अमेरिका ऊर्जा मूल्यको धक्का सहन सक्ने अवस्थामा पनि छैन तर त्यही हुने जस्तो देखिन्छ।

इरानी शासनले युद्धलाई गल्फ छिमेकीतर्फ फैलाउने र हर्मुज स्ट्रेटमा ढुवानी रोक्ने प्रयास गरिरहेको छ, जसले विश्वको तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्छ। मार्च ४ मा गोल्डम्यान स्याक्सले अनुमान गरेको थियो कि यो महŒवपूर्ण जलमार्ग पाँच हप्ता बन्द भए तेलको मूल्य प्रतिब्यारेल १०० डलर पार गर्न सक्छ। वास्तवमा, त्यो सीमा अहिले नै पार भइसकेको छ।

अमेरिकी अर्थतन्त्र यसअघिको ऊर्जा–मूल्य वृद्धिको समयमा जस्तो अहिले तेल आयातमा अत्यधिक निर्भर नभए पनि, वर्षको सुरुदेखि तेल मूल्य लगभग दोब्बर हुँदा यसको प्रभावबाट बच्न पाउने छैन। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार ‘यदि ऊर्जा मूल्य एक वर्षको अवधिमा मात्र १० प्रतिशत बढ्छ भने यसले मुद्रास्फीतिमा ०.४ प्रतिशत अंक थप्नेछ र विश्वव्यापी आर्थिक वृद्धिलाई ०.१–०.२ प्रतिशतले घटाउनेछ।’ यस्तो ‘स्ट्यागफ्लेसनरी’ असरले पहिले नै कठिन अवस्थामा रहेको बजेट स्थितिलाई अझ बिगार्नेछ र कर राजस्व घट्नेछ।

राजनीतिक रणनीतिकार जेम्स कारभिलले भनेका थिए कि निर्वाचन जित्दा अर्थतन्त्र नै सबैथोक जस्तो मानिन्छ। यदि उनी अहिले पनि सही छन् भने लामो समयसम्म चल्ने इरानी युद्ध ट्रम्पको रिपब्लिकन पार्टीका लागि नोभेम्बर मिडटर्म चुनावमा वास्तविक समस्या बन्न सक्छ। यदि अमेरिकाले बन्ड बजार संकट, उच्च मुद्रास्फीति र आर्थिक सुस्तता एकैपटक भोग्छ भने ट्रम्प र उनको पार्टीले ‘अमेरिका पहिलो’ अजेन्डालाई विश्वासघात गरेको ठहरिन सक्छ।

–लाचमन अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को नीति विकास तथा समीक्षा विभागका पूर्व उपनिर्देशक हुन्।

(प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २८ फाल्गुन २०८२ ०८:३३ बिहीबार