बहत्तरमा भूकम्प गयो। भूकम्प जान्छ। बाढी आउँछ। अपवादबाहेक दुवै घटिसकेपछि महसुस हुन्छन्। त्यसैले भूतकालमा भनिँदो रहेछ। भोटेकोसीमा बाढी आयो। बाढीको विपत्तिमा बाँचेकाहरू कसरी बलियो हुने? पानीको वेगले घर, खेत र जीवन बगाउँदा विवेकको केन्द्र कसरी जोगिन्छ? विवेकले बुद्धलाई सम्झाउँछ। के बुद्धले बाढीको सामना गरे?
बाढीको प्रसंग असाधारण रूपमा व्यापक छ। संसार र साहित्य दुवैमा। बाढी केवल नदीमा आएको पानी होइन। कहिले वर्षा हो। कहिले डुबान। कहिले जीविकाको विनाश। कहिले परिवारको मृत्यु। कहिले राजनीतिक हिंसाको अन्त्य वा सुरुवात। कहिले मानिसको परीक्षा र कहिले लोकको प्रलय वा उत्थानको संकेत। बुद्धले बाढीका लागि रूपक प्रयोग गर्छन्– ओघ। संसार आफैं एउटा बाढी हो। काम, भव, विभव तृष्णाले बगाइरहेको छ हरक्षण प्राणीहरूलाई। त्यसबाट तार्नेलाई ओघतारक भनिन्छ।
ब्रह्माण्डीय वर्षा र बाढी
सृष्टिको संवर्त र विवर्त हुन्छ। संवर्तमा संकुचन र विनाश हुन्छ। विवर्तमा त्यसको पुनर्विस्तार। जलप्रलय हुने संवर्तमा आकाशमा महाबादल उठ्छ। वर्षा सुरु हुन्छ। पानी बढ्दै जान्छ। असाधारण महावर्षाले महाभेल निम्त्याउँछ।
संरचनाहरू क्रमशः जलमग्न हुन्छन्। एउटा विश्वचक्रको अन्त्य हुन्छ तर विनाशपछि फेरि विवर्त आउँछ। विवर्तको संकेतका लागि पनि महावर्षाले भेल नै निम्त्याउँछ। सृष्टिले विकासको गति फेरि समात्छ। त्यसैले बौद्ध दृष्टिमा महाभेल केवल अन्त्यको अनुहार होइन। बरु अन्त्य पनि विकास प्रक्रियाको एउटा चरण हो। चक्र चलिरहन्छ– नित्य विनाश र अनित्य सृष्टिको नित्य उत्पत्ति।
धेरैजसो परम्परामा बाढी प्रायः दण्डका रूपमा आउँछ। पुराणमा बाढी साहित्यको नै बाढी देखिन्छ। बाइबलमा नोआको बाढी छ। मानिसको दुष्टताका विरुद्ध परमेश्वरले पृथ्वीलाई पानीले ढाक्छन्। नोआले जहाज बनाएर परिवार र जीवजन्तुहरू बचाउँछन्। चालिस दिनसम्मको वर्षापछि पानी घट्छ। र इन्द्रधनुष नयाँ करारको चिह्न बन्छ।
संस्कृत परम्परामा पनि वर्षा र बाढीले साहित्यिक रस थपेको छ। विष्णुको मत्स्य अवतारले आसन्न प्रलयको चेतावनी दिन्छ। मनुले डुंगा बनाएर प्रलयबाट बाँच्छन्। उनले नयाँ सुरुवातको बिउ रोप्छन्। मेसोपोटामियाको गिल्गमेश कथामा उत्नपिष्टिम् बाढीबाट बचेका छन्। देवताले सूचना दिएपछि कारिगर, परिवार र जीवजन्तुलाई जहाजमा राखेर बचाउँछन्।
कथाअनुसार देवताले उनलाई अमरत्व दिन्छन्। ग्रिक कथामा ड्युकालियन र पिर्रा बाँच्छन् ज्युसको बाढीबाट। पारनासस पहाडमा ठोकिन्छ उनीहरूको डुंगा। आमाका हड्डीहरू टाउकाको पछि फ्याँकेर जन्माउँछन् उनीहरूले नयाँ मानवता। आमा धर्ती हुन्। ढुंगा हुन् उनका हड्डी। ढुंगा पन्छाएर माटोमा खेती गरेको संकेत कथामा लुकेको हुनुपर्छ।
यी कथाहरूमा बाढी नैतिक पतनको सजाय हो। केही धार्मिक व्यक्ति जहाज वा डुंगामा चढेर बाँच्छन् र नयाँ सुरुवात हुन्छ। बौद्ध दृष्टि भने फरक छ। त्यहाँ बाढी कुनै परमेश्वरको भीषण पाइला होइन। यो ब्रह्माण्डीय चक्रको स्वभाव हो। बाढी आउँछ, जान्छ, फेरि आउँछ। त्यसैले बाह्य बाढीका लागि उपाय चाहिन्छ। आभ्यन्तर बाढीका लागि प्रज्ञा। प्रज्ञा र उपायको एकलोलीभूत समन्वयले जस्तोसुकै बाढी पनि डटेर सामना गर्न सकिन्छ।
बुद्ध र बाढी
बुद्ध बाढीसँगै देखिन्छन्। बोधि प्राप्तिदेखि महापरिनिर्वाणतर्फको यात्रासम्म। बोधिवृक्षमुनि बसिरहेका बेला घनघोर वर्षा हुन्छ। बाढी आउँछ। साहित्यले यो घटनाको जिम्मा मारलाई दिन्छ। विमति प्रकट गर्ने पक्षलाई मेट्न खोज्ने प्रवृत्तिलाई मारका रूपमा अथ्र्याइएको होला। नत्र मारले त्यतिविधि गर्दा गाउँलेहरू डराएर उठेको कुरा साहित्यमा भेटिन्न। छद्म रूपमा कार्य गर्नु मारको स्वभाव नै हो।
जे भए पनि अँध्यारो आकाशबाट भयानक वर्षा हुन्छ। यस्तो आकाश जहाँ केही देखिन्न। केवल मौन अनुमान गर्न सकिन्छ। तत्कालै आउँछ पानीको ठूलो भेल तर भिजाउन पाएन चीवरको धागोसम्म। सम्भवतः बाह्य विपत्तिले विश्वासलाई जित्न सकेन। त्यसैले भत्केन अठोटको आशालाग्दो दुर्ग। यो थियो बोधि प्राप्त हुनुभन्दा पहिलाको निर्णायक स्पर्धा। मारका सेनाहरू आउँछन्, आँधी र बाढी सबै लिएर। तर आफै अशान्त हुन्छन् सिद्धार्थको शान्ति भाँड्न नसक्दा।
बोधि प्राप्तिपछि मुचलिन्दको प्रसंग आउँछ। ज्ञान प्राप्त गरेको छैठौं हप्ताको कुरा। सात दिनसम्म चल्यो आँधीसहितको वर्षा। मुचलिन्दले बुद्धलाई बेर्यो आफ्नै शरीरले। जतनपूर्वक ओढायो जीवन्त फणाको छाता। अशान्त वातावरणबिच शान्त थियो बुद्धको मन। कसैले नभने पनि सहायता दियो मुचलिन्द नागले। सहयोगमा समेटिने निस्वार्थता कथाको सत्यासत्यभन्दा कति सानदार!
उरुवेल, सिद्धार्थले ज्ञान प्राप्त गरेको गाउँ। सारनाथको पहिलो उपदेशपछि बुद्ध उतै गए। त्यहाँ थिए तीन कश्यप भाइहरू। तीमध्ये जेठा हुन् उरुवेल कश्यप। सिद्धार्थले उनैको आश्रममा बिहानको खाना खान्थे। असामयिक वर्षा भयो। बाढीमा गाउँ डुब्यो। कश्यप डुंगा लिएर निस्के बुद्धलाई खोज्न। केही बेरमा भेटे सुरक्षित हिँडिरहेका बुद्धलाई। बुद्धको शक्ति कि पूर्वसतर्कता ? सम्भवतः पूर्वसतर्कता। बुद्ध जादूमा विश्वास गर्दैनन्।
घरको कामदारसँग भागी विवाह गरेकी थिइन् धनाढ्य कन्याले। दोस्रो बच्चा जन्माउन सुटुक्क हिँडिन् माइततिर। थाहा पाएपछि पतिले पछ्याए। अचानक पानी प¥यो। बाढी आयो। ओत बनाउन लाग्दा सर्पले पतिलाई डस्यो। उनी प्रसवपीडामा थिइन्। उज्यालो भएपछि हिँडिन् जसोतसो। रातभरको पानीले नदी बहुलाएको थियो। सानोलाई पल्लो तिरमा पु¥याएर ठुलो छोरा लिन नदीमा छिरिन्। उत्तिबेलै गिद्धले झम्ट्यो नाबालक शिशुलाई। बोलाएजस्तो मान्यो आमा चिच्याउँदा। हत्पत् नदीमा पसिहाल्यो ठुलो पनि। तत्कालै बिलायो बाढीको भेलमा। सानोलाई गिद्धले लुछ्यो। जसोतसो माइत पुगिन् चेली। बाढीले भत्काएछ माइतीघर। थिचिएर मरेछन् सबै। आँखै अगाडि देखिन् आमा, बाबा र दाजुको जल्दै गरेको चिता। पागल भइन् उनी। मानिसहरूले पटाचारा भने। बुद्धले फर्काएका थिए पीडित पटाचाराको होश।
लामो छ बाढीको ताण्डव शृंखला। केही प्रतिनिधि कथा मात्र लिऊँ। जीवनको उत्तरार्धतिर विटटुभको प्रसंग आउँछ। जातीय विभेदको बदला लिन शाक्यहरूको कत्लेआम गर्छन् उनले। नाताले उनी शाक्यहरूका भाञ्जा नै हुन्। झुक्काएर दासीकन्या दिइएको थियो प्रसेनजित्लाई। उनैका छोरा थिए विटटुभ। जितको अभिमानसहित फर्कने क्रममा नदी किनारमा बसे फौजसहित। रातिकै बाढीमा बग्यो उनको सम्पूर्ण सैन्यबल। विजेता आफैं पनि बगे। हिंसाको बाढीले सम्बन्ध बगायो। प्राकृतिक बाढीले अतिक्रमण र अभिमान।
शरीर त्याग्नु अघि बुद्धले गंगा तरेका छन्– बाढी आएको गंगा। सबैजना भौंतारिको बेला बुद्धले सजिलै नदी तरे। यो घटनामा बुद्धको संक्षिप्त अभिव्यक्ति छ– बुद्धिमान्हरू तर्न सक्छन्। यी सबै प्रसंगलाई हेर्दा एउटा स्पष्ट रेखा देखिन्छ। बोधि प्राप्तिअघिको बाढी परीक्षा हो। प्राप्तिपछि तुरुन्तै संरक्षण र स्थिरताको प्रदर्शन। बाढी बुद्धको जीवनभरि रह्यो तर बुद्ध कहिल्यै बगेनन्।
आजको प्रश्न
प्राकृतिक बाढी थुन्न सकिन्न। दुःखको बाढीसँग जुध्न सकिन्न। समय र मृत्युको बाढी रोक्न सकिन्न। संवर्तको अर्थात् विनाशको महाभेल पनि अवश्यमभावी छ। तर विवर्तका लागि पनि महाभेल नै चाहिन्छ– नयाँ सुरुवातका लागि। त्यसैले विपत्ति नआओस् भन्ने कामना गर्न सकिन्छ तर विपत्तिमा पनि विवेकको केन्द्र हराउन नदिन आशाकै बीजारोपण गरिरहनुपर्छ।
यी पङ्क्ति लेख्दै गर्दा पनि भोटेकोसी उर्लिएको छ। बाढीका विरुद्ध बलियो बाँध र व्यवस्थापन केवल तात्कालिक हो। पूर्वसूचना प्रणाली, उद्धारको तयारी, पुनःस्थापनाको योजना सबै तात्कालिक हुन्। यीभन्दा महत्त्वपूर्ण हो विवेकपूर्ण विकासे योजना। सदियौंदेखि पानीको बग्ने र जम्ने स्वभाव बदलिएको छैन। बदलिनुपर्ने कुरा हाम्रो सहरीकरणको योजना हो।
छोटोमा भनौं– नदी किनारका पानी लाग्ने हरिया फाँटहरूमा धान रोप्न छोडेर सहरको घान थाप्यौं। हातले नापेर बेचिएको ऊर्वर धर्तीमा बित्ता बराबरको विकास ग¥यौं। सिमेन्ट र बालुवाको कलाहीन घोलमा सुविधाको सौन्दर्य खोज्यौं। यो क्रम चल्दासम्म अहिलेजस्तै उर्लिरहनेछन् करोडौं भोटेकोसीहरू। आँखाको तिब्बती पठारबाट गालाको रसुवासम्म तिनको बेग तत्काल थामिन सक्दैन।
बुद्ध बाढी रोक्ने पात्र होइनन्। बाढीलाई नकार्ने पात्र पनि होइनन्। बाढीको स्वभाव बुझेर त्यसमा नडुबी, आफू पार हुने र अरूलाई तार्ने पात्र हुन्। उनी ओघतारक हुन्। बाढी आउँछ, जान्छ, फेरि आउँछ तर जसले बाढीको स्वभाव चिन्छ, ऊ डुब्दैन। आफू बलियो रहन्छ। अरूलाई पनि बाटो देखाउँछ। विपत्का बेला सरकारलाई बुद्धको बल मिलोस्।
प्रकाशित: १५ भाद्र २०८३ ०७:५० सोमबार