कृत्रिम बुद्धिमत्ता (एआई)मा आधिपत्य जमाउने अमेरिका–चीनबीचको दौडमा अहिलेसम्म कसैले औपचारिक रूपमा विजय पताका फहराएका छैनन् तर बजारले भने अमेरिकाकै जित हुने बाजी लगाएको छ।
चिप निर्माता कम्पनी एनभिडिया हालै विश्वकै पहिलो ४० खर्ब डलर मूल्यांकन भएको कम्पनी बनेको छ। यसको प्रमुख कार्यकारी जेन्सन हुआङ अहिले विश्वस्तरीय चर्चित व्यक्ति बनिसकेका छन्। यसैगरी, ओपनएआईमा ठूलो लगानी गरेको माइक्रोसफ्ट कम्पनी पनि कुल ३७ खर्ब डलरको मूल्यांकनसहित एनभिडियाभन्दा धेरै पछि छैन।
नवप्रवर्तनको सन्दर्भमा भने सुरुआती अग्रताले नै अन्तिम विजय सुनिश्चित गर्दैन। पछिल्लो समय चीनले एआई क्षेत्रमा प्राप्त गरिरहेको अद्भुत प्रगतिबारे नयाँनयाँ विवरण दिनहुँ सार्वजनिक भइरहेका छन्। ओपनएआईले च्याटजिपिटीमार्फत अमेरिकाले नयाँ युगको थालनी गरे पनि चीनको डिपसिकले लागत मूल्य र प्रशोधन क्षमताका दृष्टिले आर वान नामक ल्याङ्ग्वेज मोडल बनाएर विश्वलाई चकित पारेको छ। यसै महिना, चिनियाँ स्टार्टअप मुनसट एआईले किमी केटु मोडल सार्वजनिक गरेको छ र यसले कतिपय मानकमा पश्चिमा प्रतिस्पर्धीलाई उछिनेको छ।
एनभिडियाका शक्तिशाली चिप मात्र होइन, प्रतिभा, सफ्टवेयर र रणनीतिक प्राथमिकताले पनि एआई दौडलाई निर्धारण गर्छन्। तत्कालका लागि सेमिकन्डक्टर निर्माणमा अमेरिकाको अग्रता देखिन्छ। बाइडेन प्रशासनको ‘सानो बगैंचा, अग्लो पर्खाल’ नीतिअनुसार उन्नत खालका सेमिकन्डक्टर निर्यातमा कडा प्रतिबन्ध लगाएको छ। यसको असर भने उल्टो पारेको छ किनभने यसले चीनलाई आफ्नै एआई चिप बनाउने दिशामा आक्रामक रूपमा अघि बढ्न प्रेरित गरेको छ।
हार्डवेयरभन्दा बढी सफ्टवेयरमा हुने रणनीतिक खोजको बलमा अन्ततः यो दौड जितिने सम्भावना छ। चीनले आठ वर्ष अघि बनाएको ‘न्यु जेनेरेसन एआई डेभलपमेन्ट प्लान’ पदचिह्न पछ्याउँदै अमेरिकी राष्ट्रपति ट्रम्पको हालैे एआई एक्सन प्लान सार्वजनिक गरेका छन्। त्यसो हुँदाहुँदै पनि चीन यो क्षेत्रमा दीर्घकालीन प्रभाव राख्न सक्ने स्थितिमा देखिन्छ।
नवप्रवर्तन मापन गर्ने ग्लोबल इनोभेसन इन्डेक्स २०२४ मा चीन अहिले ११औं स्थानमा छ। १५ वर्षअघि ४३औं स्थानमा रहेको चीनको लागि यो उ्ल्लेखनीय फड्को हो।
ग्लोबल इनोभेसन इन्डेक्सका सूचकहरूले नवप्रवर्तन प्रवाहको समग्र चित्र देखाए पनि यसमा एक महत्त्वपूर्ण पक्ष छुटेको छ - त्यो हो, आधारभूत सैद्धान्तिक अनुसन्धान। यसका लागि सरकारको भूमिका निर्णायक हुन्छ। निजी क्षेत्र नाफाको उद्देश्यले परिचालित हुन्छ भने सरकारी सहयोगले वैज्ञानिकहरूलाई अमूर्त अनुसन्धानतर्फ अघि बढ्न स्वतन्त्रता दिन्छ।
यो विषयमा अमेरिका पछाडि परेको देखिन्छ। अमेरिकाको नेसनल साइन्स फाउन्डेसनको आँकडाअनुसार अमेरिकाको कुल अनुसन्धान तथा विकास खर्चमा संघीय सरकारको हिस्सा सन् १९६४ को उच्चतम बिन्दुबाट निरन्तर घट्दो क्रममा छ। रुसले सन् १९५७ मा स्पुतनिक भूउपग्रह अन्तरिक्षमा पठाएपछि अमेरिकाले अनुसन्धान र विकासमा खर्च बढाएको थियो। अमेरिकामा सन् १९७० मा आधारभूत अनुसन्धानमा ३० प्रतिशत लगानी रहेकोमा सन् २०२३ सम्म आइपुग्दा यो १० प्रतिशतमा झरेको छ।
अझ चिन्ताजनक विषय के हो भने ट्रम्प प्रशासनले वैज्ञानिक अनुसन्धान र विविधता, समावेशिता र समानताका कार्यक्रम हटाउने बहानामा उच्च शिक्षामाथि आक्रमण गर्न थालेको छ र वैज्ञानिक उन्नतिका लागि भएको सहकार्यको संस्कृतिमा कटौती गरिएको छ।
अमेरिकन एसोसियन फर द एड्भान्समेन्ट अफ साइन्सको एक अध्ययन अनुसार ट्रम्पले सन् २०२६ का लागि प्रस्तावित बजेटमा आधारभूत अनुसन्धानमा गरिने संघीय लगानीलाई ३४ प्रतिशतले कटौती गर्दै लागेका छन्।
सन् २०२५ मा यो ४५ अर्ब अमेरिकी डलर रहेकोमा यसलाई सन् २०२६ मा ३० अर्ब अमेरिकी डलरमा घटाउने तयारी छ। त्यसो गरिए यो सन् २०२२ को स्तरको लगानी हुनेछ।
उता चीनको अवस्था भने ठीक विपरीत छ। सन् २०२३ मा रिसर्च एन्ड डेभलपमेन्टमा विश्वभर गरिएको लगानीमा चीनको २८ प्रतिशत हिस्सा थियो। सो वर्ष अमेरिकाको २९ प्रतिशत हिस्सा थियोे। पछिल्ला १० वर्षमा चीनको वार्षिक रिसर्च एन्ड डेभलपमेन्टको क्षेत्रमा गरिने लगानी औसत १४ प्रतिशतले बढेको छ, जुन अमेरिकाको ३.७५ प्रतिशत भन्दा तीन गुणाले बढी हो। यही कारणले सन् २०२४ सम्म आइपुग्दा लगानीको हिसाबले दुवै देशबिच दूरी घटेको देखिन्छ।
यद्यपि प्रत्यक्ष तुलना गर्न सकिने दृष्टिमा आधारभूत अनुसन्धानका तथ्यांक उपलब्ध छैनन् तर सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका गैरआवासीय विज्ञ जिम्मी गुडरिचका अनुसार आधारभूत अनुसन्धानमा गरिने सरकारी लगानीका दृष्टिले अमेरिकालाई उछिन्ने दिशामा चीन अगाडि बढेको छ।
ट्रम्पको दोस्रो कार्यकालका अन्य निर्णयमा पनि यस्तै छन्। भन्सार दर, वैदेशिक सहायता कटौती र स्वच्छ ऊर्जा पहलको खारेजी जस्ता उनका नीति समान प्रकृतिका छन्। उनको प्रोजेक्ट २०२५ अजेन्डा अनुसार यस्ता रुढीवादी नीतिलाई प्राथमिकता दिइएको छ। यसको एक मुख्य लक्ष्य अमेरिकी नवप्रवर्तन प्रणालीलाई सशक्त बनाउने त भनिएको छ तर आधारभूत अनुसन्धानको बजेट कटौती गर्नु भनेको पछाडि फर्कने कदम हो र यो अर्थव्यवस्था र प्रतिस्पर्धामा आत्मघाती सावित हुन सक्छ।
यस विपरीत, चिनियाँ राष्ट्रपति सी चिनफिङ आधारभूत अनुसन्धानलाई नवप्रवर्तनको मेरुदण्ड मान्छन्। सन् २०२३ को सुरुआतमा उनले भनेका थिए ‘आधारभूत अनुसन्धान सुदृढ गर्नु विज्ञान तथा प्रविधिमा आत्मनिर्भरता हासिल गर्न आवश्यक छ र विश्वस्तरको नेता बन्ने यो नै एकमात्र बाटो हो।’
आज एआईको विश्वव्यापी प्रतिस्पर्धालाई दुई प्रणाली बिचको संघर्षका रूपमा हेर्न सकिन्छ। ती हुन्, अमेरिकाको बजारमुखी मोडेल र चीनको राज्य समर्थित औद्योगिक नीति तर आधारभूत अनुसन्धान नै दुवैलाई बराबरी हैसियतमा ल्याउने तत्त्व हो। प्रणाली जुनसुकै होस् - राज्य होस् वा निजी क्षेत्र– नवप्रवर्तन अन्ततः खोजबाट उत्पन्न हुन्छ।
प्रख्यात कूटनीतिज्ञ हेनरी किसिन्जर, क्रेग मुन्डी र एरिक स्मिटद्वारा लिखित पुस्तक ‘जेनेसिस, आर्टिफिसियल इन्टलिलेन्स, होप एन्ड दी ह्युमन स्पिरिट’ शीर्षकको पुस्तकमा भनिएको छ, ‘खोज मानवीय क्षमतामध्ये सबैभन्दा रोमाञ्चक पक्ष हो।’
त्यसैले यसप्रकारको खोजको संस्कृतिलाई कायम राख्न व्यापक, अमूर्त र सैद्धान्तिक अनुसन्धानको लागि बलियो समर्थन आवश्यक हुन्छ। बारुद र कागजको आविष्कारकसमेत रहेको चीनले यो पाठ पहिले नै आत्मसात गरिसकेको छ। दुर्भाग्यवश अमेरिका यो पाठ फेरि सिक्ने चरणमा पुगेको देखिन्छ।
– लेखक रोच यल विश्वविद्यालयका फ्याकल्टी मेम्बर हुन्। उनी मोर्गान स्टानले एसियाका पूर्व अध्यक्ष पनि हुन्।
(प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: ११ श्रावण २०८२ ०७:५१ आइतबार