१५ वर्षअघि जब कोलम्बियाको राष्ट्रपति बनेँ, पहिलो दिनमै मैले सिएरा नेभादा दे सान्तामार्तामा देशका चार आदिवासी समुदायका नेता कोगुई, अरुआको, विवा र कन्कुआमोसँग भेट गरेँ।
क्यारिबियन सागरको किनारमा रहेको भव्य पर्वतशृंखलाको पृष्ठभूमिमा भएको वार्ता तथा आदिवासी नेताको ज्ञानले देशको नेतृत्वकर्ताका रूपमा जिम्मेवारीप्रतिको मेरो दृष्टिकोण परिवर्तन गरिदियो। त्यसले हाम्रो यो संकट भोगिरहेको पृथ्वीमा अस्थायी बासिन्दा भएर बसिरहेका हामी मानवको सामूहिक जिम्मेवारीबारे पनि मेरो समग्र बुझाइलाई रूपान्तरण गर्यो।
त्यो अवसरमा शक्ति र जिम्मेवारीको प्रतीकका रूपमा मलाई काठको एउटा लट्ठी दिइयो, जसले दुई लक्ष्यका लागि प्रयास गर्न मलाई अभिप्रेरित गर्ने लक्ष्य लिएको थियो– पहिलो, ५० वर्ष लामो संघर्षपछि नागरिकबिच शान्ति कायम गर्नु र दोस्रो, प्रकृतिसँग पनि शान्ति स्थापना गर्नु। आदिवासी नेताले मलाई चेतावनी दिए, ‘मानव र प्रकृतिबिचको सम्बन्ध बिग्रिएको छ, प्रकृति रिसाएकी छिन् र हामीले त्यसको मूल्य चुकाउनेछौं।’
दुई हप्तापछि ला निन्या नामक विनाशकारी वर्षा र बाढीले कोलम्बिया तहसनहस बनायो र मेरो प्रशासनका पहिला दुई वर्ष पीडितलाई राहत पुर्याउन र आगामी वर्षमा हुन सक्ने प्राकृतिक प्रकोपको तयारीमा केन्द्रित रह्यो।
आज हामी एउटा यस्तो संसारमा बाँचिरहेका छौं, जहाँ भौतिक र वैचारिक दुवै प्रकारका आँधीबेहरी बढ्दो क्रममा छन्। हालै मात्रै पाकिस्तानमा आएको बाढीले कम्तीमा एक हजार ६ जनाको ज्यान लियो र करिब २५ लाख मानिस पञ्जाब र सिन्धप्रदेशबाट विस्थापित भए। तिनै क्षेत्र २०२२ मा पनि भीषण बाढीबाट प्रभावित थिए।
त्यति मात्र होइन, मानव अधिकार र द्वितीय विश्वयुद्धपछि स्थापित बहुपक्षीय संस्थाहरूमा भइरहेको आक्रमणले स्थिति झन् गम्भीर बनाएको छ। मानवीय मूल्य प्रणाली नै अहिले संकटमा परेको छ।
विश्वका पूर्व नेताहरूको द एल्डर्स (जसको हाल म अध्यक्ष छु) नामक संस्थाले भर्खरै एक विज्ञप्तिमार्फत ‘निराशावाद वा सनक कुनै पनि विकल्प होइन’ भनेको छ। हामीले सामना गरिरहेका संकट जति गम्भीर भए पनि समाधानको बाटो बहुपक्षीयतामार्फत नै सम्भव छ। मतभेद र विपत्तिबाट मानवतालाई पार लगाउने उद्देश्यका लागि यसको निर्माण गरिएको थियो।
यो नोभेम्बरमा दुई ठुला विश्व सम्मेलन हुनेछन्। पहिलो, विश्व सामाजिक विकास शिखर सम्मेलन हो। यस सम्मेलनको पहिलो संस्करण ३० वर्षअघि आयोजना भएको थियो र यसले मानव विकासका लागि बहुपक्षीयताको नयाँ अध्यायका रूपमा स्थापित गरेको थियो।
दोस्रो, संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०) ब्राजिलको बेलेंम सहरमा हुँदैछ, जसले तात्दै गएको विश्वको संकट समाधानमा प्रभावकारी पहल खोज्नेछ।
राष्ट्रपति हुँदा मैले देखेको कुरा के हो भने जब प्रकोप आउँछ, गरिबहरू सधैं सबैभन्दा बढी मारमा पर्छन्। त्यसैले सन् २०१० को बाढीपछि हामीले राहत र पुनःनिर्माणका लागि विभिन्न संयोजनात्मक संस्थाहरू गठन गरेका थियौं। अहिले हरेक देशले जलवायु चेतावनीलाई गम्भीरतासाथ लिँदै अनुकूलन र उत्थानशीलताको नीति विस्तार गर्न जरुरी छ।
ओक्सफोर्ड विश्वविद्यालय र संयुक्त राष्ट्र विकास कार्यक्रमको नयाँ प्रतिवेदनअनुसार १०८ विकासोन्मुख देशका करिब ८८ करोड ७० लाख मानिस बहुआयामिक गरिबीको मारमा छन् र तीमध्ये करिब ८० प्रतिशत कम्तीमा एउटा जलवायुसम्बन्धी जोखिम (जस्तै अत्यधिक तापक्रम, सुक्खा, बाढी, वायु प्रदूषण)को सामना गर्न बाध्य छन्।
निम्न मध्यम आययुक्त देशका मानिस निम्न र उच्च आय भएका राष्ट्रको तुलनामा धेरै प्रकारका जलवायु जोखिममा छन्। यद्यपि उच्चमध्यम आय भएका देशमा गरिबहरूको संख्या कम छ तर तिनीहरू अझै पनि वायु प्रदूषण र बाढीको मारमा छन्। यी तथ्यले न्यायपूर्ण ऊर्जान्तरणको आवश्यकता झन् प्रखर बनेको देखाउँछन्।
त्यसै उद्देश्यका लागि ल्याटिन अमेरिकीमा कोलम्बियाले सन् २०१६ मा पहिलो कार्बन कर लागु ग¥यो । अहिले द एल्डर्स समूहले जी–२० देशलाई पेरिस जलवायु सम्झौता र विश्व जैविक विविधता रूपरेखाको कार्यान्वयनलाई ‘टर्बोचार्ज’ गर्न आर्थिक स्रोत परिचालन गर्न आह्वान गरेको छ।
गत वर्षको कोप २९ मा विश्व नेताहरूले तीन सय अर्ब अमेरिकी डलर उपलब्ध गराउने वाचा गरे पनि वास्तविक हिसाबमा यो आवश्यकता १३ खर्ब डलरभन्दा बढी छ। यही अन्तरलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय न्यायालयले भर्खरै दिएको परामर्शात्मक मतले राष्ट्रहरूलाई जीवाश्म इन्धन उद्योगका कारण उत्पन्न जलवायु क्षतिका लागि कानुनी रूपमा जिम्मेवार ठहर गरेको छ।
सन् २०११ मा मेरा दुई कर्मचारी पौलाका बालेरो र प्याट्टी लोंदोनोले मलाई विकासको केन्द्रमा दिगोपना राख्ने सुझाव दिए। त्यसै अवधारणाअन्तर्गत संयुक्त राष्ट्रसंघमा दिगो विकासका लक्ष्य अर्थात् दिगो विकास लक्ष्यको विषयले प्रवेश गरेको थियो। म त्यो अभियानलाई विश्वव्यापी समर्थन गर्न पाउँदा गर्वित थिएँ र बहुपक्षीय ढाँचाको कारणले सन् २०१५ मा संयुक्त राष्ट्रसंघले ती लक्ष्य सर्वसम्मत रूपमा स्वीकृत पनि गर्यो।
त्यो क्षणको खुसी मेरो जीवनभर रहिरहने छ तर अहिले उत्सवको समय सकिएको छ। केही आशाका झिल्का अझै बाँकी छन्, यसै वर्ष ऐतिहासिक सामुद्रिक संरक्षण सन्धि पारित भएको छ तर पृथ्वीको प्राकृतिक पीडा अझ गहिरिँदै छ।
भर्खरै न्युयोर्कमा ‘प्लोनेटरी गार्डियन्स’ले प्रस्तुत गरेको ‘प्लोनेटरी हेल्थ चेक २०२५’ प्रतिवेदनले पृथ्वीका नौमध्ये सात सीमाहरू (जस्तै महासागरको अम्लीयकरण) यसअघि नै पार भइसकेको पुष्टि गरेको छ।
पृथ्वीको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको र जोखिमपूर्ण निर्णायक मोडहरू नजिकिँदै गएको चेतावनीबिच अब हामीले कहाँ र कसरी ‘पृथ्वी र मानवता दुवै पीडामा छन्’ भन्ने बुझाइलाई अझै परिष्कृत गर्न आवश्यक छ। त्यसका लागि जलवायु कारबाही र गरिबी निवारणका आपसमा जोडिएका एजेन्डालाई पुनः जीवन दिन जरुरी छ।
सन् २०१८ मा जब म आफ्नो पदबाट बाहिरिएँ, म फेरि तिनै आदिवासी नेताहरूसँग भेट्न गएँ। मैले त्यो लट्ठी फिर्ता गर्न खोजेँ तर उनीहरूले त्यो मसँगै राख्न भने र एउटा नयाँ सिद्धान्त अगाडि ल्याए, जुन आजको विश्व समुदायले पनि आत्मसात् गर्नुपर्छ।
उनीहरूले भनेका छन्– ‘मानव र प्रकृतिबिच आत्मिक सम्बन्ध हुन्छ। केही लिनुअघि अनुमति माग्नुपर्छ र बदलामा केही दिनुपर्छ।’
हामीले यो सम्बन्ध तोड्यौं भने त्यसको परिणाम भोग्नुपर्छ। अहिले मानिस–मानिस र मानिस–प्रकृतिबिच सम्बन्ध टुटेको छ।
- लेखक जुआनम्यानुएल सान्तोस कोलम्बियाका पूर्वराष्ट्रपति, द एल्डर्सका अध्यक्ष तथा सन् २०१६ का नोबेल शान्ति पुरस्कार विजेता हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: १० कार्तिक २०८२ ०७:४१ सोमबार